मधेसमा दलित भूमिहीनता
०५ असोज २०८०
•
४ मिनेट पाठ
मधेसमा दलित भूमिहीनता
गुजरा नगरपालिका–७ रौतहट परसवाको पश्चिम गुजरा खोलाको किनारमा औरही डिह गाउँ छ । तत्कालीन प्रधानपञ्च पलट चौधरीले २०२८ सालमा रौतहटकै संग्रामपुर, शितलपुर बैंरगनिया, प्रतापपुर पल्टुवालगायतका गाउँहरूबाट बसाइँ सरी आएकाहरूलाई ऐलानी जग्गा दिइ बस्ने व्यवस्था मिलाएका थिए । उनीहरूलाई प्रतिपरिवार तीनदेखि पाँच कठ्ठासम्म जग्गा दिइएको थियो । त्यहाँ सबैले पुरानो झाडी, पर्ती सफा गरेर बसोबास सुरु गरेका थिए ।  




बिस्तारै घर/परिवार बढ्दै गएर अहिले ५२ पुगेका छन् । तीमध्ये ४५ घरधुरी दलित राम (चमार) र पासवान (दुषाद) र बाँकी केही चौधरी (थारू) र महतो (कोइरी) समुदायका मानिस बसोबास गर्छन् । बस्तीका मानिस प्रायःजसो सबै इँटा बनाउने तथा घोडा जोतेर चलाउने गाडा (टाँगा) ले इँटा ओसारपसार गरेर जीविका चलाउने गर्छन् ।

यहाँ बसोबास सुरू गरिएको ५० वर्ष भयो । तत्कालीन प्रधानपञ्चको मौखिक निर्णयबाट बसोबास सुरु भएको थियो । जग्गा ऐलानी । रैकर गराउन धेरै प्रयास भयो । प्रत्येक घरधुरीबाट हप्ता, पन्ध्र दिनमा १० देखि २० रुपियाँ करका रूपमा पैसा पनि उठाइन्थ्यो । पैसा तिर्न नसके ज्यालाबुनी गरेर भए पनि तिर्नुपथ्र्यो । जग्गा रैकर गराइदिन्छु भन्दै पटक÷पटक पैसा उठाएर लगे तर जग्गा भूमिहीनको नाममा होइन, विद्यालयको नाम दर्ता भयो ।  

तराईका खासगरी दलितलाई कसरी भूमिहीन बनाइन्छ भन्ने यो त एउटा उदाहरण मात्र हो । यस्ता हजारौँ परिवार छन्, जसलाई वर्षौँदेखि बसिआएको, खनिखोस्री गरिआएको जमिनबाट वञ्चित गराइएको छ । बरु विद्यालय, धार्मिक संस्था, सामाजिक संस्थाका नाममा जग्गाको स्वामित्व दिन तयार हुने तर गरिब परिवारका नाममा कसैगरी नदिइने षडयन्त्रको मारमा दलित समुदाय पर्दै आएका छन् ।  

नागरिकताको समस्या

नागरिकता समस्याको कारणले पनि दलित समुदाय भूमिबाट वञ्चित भएका छन् । भूमि आयोगमा निवेदन दर्ता गर्नका लागि नागरिकता अनिवार्य चाहिने नियम छ । गुजरा नगरपालिका– २ चोचा गाउँका सात मुसहरसँग नागरिकता छैन । पहिले वंशजका आधारमा नागरिकता बनेको थियो । तर केही काम गराइदिन्छु भनेर त्यहाँका केही साहू/महाजनले नागरिकता लगेर उनीहरूले वंशजको आधारमा पाएको नागरिकतामा केरमेट गरी जन्मको आधारमा पाएको भनी लेखिदिएछन् । त्यसो हुँदा आफ्नो छोराछोरीको नागरिकता बनाउन पनि समस्या परिरहेको बताएका छन् । सच्याउन पनि समस्या भइरहेको छ । यो नियति पनि भूमिहीन दलितले नै भोगिरहेका छन् ।  

आयोगबाट पनि मिलेन पुर्जा  

अहिले राष्ट्रिय भूमि आयोग बनेर काम अघि बढेको भए पनि यहाँका भूमिहीन दलितले लालपुर्जा पाउन सकेका छैनन् । भूमि आयोगले स्थानीय सरकारलाई नै जग्गाको नाप जाँच, सर्जमिन मुचुल्का, जग्गा एकिन गर्नेदेखि वितरण गर्नेसम्मको अधिकार दिएको छ । स्थानीय सरकारले चाहेमा जोतभोग गरेकाले त्यसको लालपुर्जा तथा जसको जोतभोगमा जग्गा छैन भने उसलाई कतैबाट सात धुर घरेडीको व्यवस्था गर्नुपर्ने हुन्छ । जुन कानुनमै व्यवस्था गरिएको छ । तर दलित, भूमिहीन, सुकुम्बासीहरूको समस्याप्रति स्थानीय सरकार सम्वेदनशील तथा प्रतिबद्ध देखिँदैन ।  

दलितको जग्गा खोसियो  

रौतहटको गुजरा नगरपलिका – २ को चोचामा करिव ५० वर्षदेखि बसोबास गर्दै पाँच सय थारू समुदाय पनि बस्छन् । त्यहाँका दलितहरू कामका लागि बाहिर जान्छन् । चितवन, मकवानपुर काठमाडौँसम्म पुग्छन्, मजदुरी गर्छन् । उनीहरू त्यहाँ बसे पनि उनीहरूसँग बसोबास गरेको जग्गाको स्वामित्व छैन । तर उनीहरूले तीनदेखि १० धुरसम्म जग्गा ओगटेका थिए तर त्यहाँ फनपार्क  बनाउने भनी दलित समुदायले जोतभोग गर्दै आएको जग्गा खोसियो ।  

नजिकै शिवशक्ति सामुदायिक वन थियो । यहाँ २०४६ सालदेखि भूमिहीन दलितले उपभोग गर्दै आएको जग्गामा केही उत्पादन गरी जीविकोपार्जन गर्ने गर्थे । गाउँ समाज, बुद्धिजीवी, भद्रभलाद्मीहरूको सर्वसम्मतिमा ५ कठ्ठाको दरले वितरण गरिएको थियो । यहाँ बसोबास गर्ने भूमिहीन मुसहर समुदायले १० बिघा जमिन जोतभोग गर्दै आएका थिए । आफ्नो हकभोगमा पनि केही जग्गा भएपछि मुसहरहरू त्यहीँ काम गर्न थाले । साहू/महाजनको काम गर्न जान कम गर्न थाले । त्यसबाट साहू÷महाजन रिसाउने नै भए । फलस्वरूप दलित मुसहर समुदायले खनजोत गर्दै आएका करिब १० बिघा जग्गा हडपेर फन पार्क बनाउने निर्णय गरियो । त्यहाँ सामुदायिक वन बन्नु भन्दा पहिलेदेखि बस्दै आएको मुसहरलाई हटाइयो तर अरूलाई भने केही पनि गरिएन ।  

अस्थायी निस्सामा भूमिहीन  

रौतहटका अधिकांश भूमिहीन परिवारसँग लालपुर्जा होइन, अस्थायी निस्सा मात्र छ । थोरै जमिनमा धेरै परिवार साघुँरो घेरामा बस्नुपरेको छ । परिवार बढ्दो छ, जग्गा भने खुम्चँदो छ । सानो सानो झुपडीमै भए पनि परिवारका सदस्यहरू बस्नुपरेको छ । सरकारले अहिलेसम्म भूमिहीनलाई दिएको भनेको अस्थायी निस्सा मात्रै हो ।  

राष्ट्रिय भूमि आयोगले दलितहरूलाई घरबास तथा कृषि खेतीका लागि जग्गा दिने भन्ने नीति छ । तर पनि भूमिहीन दलितलाई राज्यले अपेक्षाअनुसारको जग्गा वितरण गर्न सकेको छैन । जसले गर्दा वर्षाैँदेखि भूमिहीनको जीविकामा रहेकाहरूलाई समस्या परिरहेको छ । सरकारले जग्गा देला अनि सुखले जीवन बिताउँला भन्ने दलित भूमिहीनको सपना पूरा हुन सकेको छैन ।  

नेपालको संविधानको मौलिक हकअन्तर्गत दलितको हकको धारा ४० को उपधारा ५ मा राज्यले भूमिहीन दलितलाई कानुनबमोजिम एकपटक जमिन उपलब्ध गराउनुपर्ने र उपधारा ६ मा राज्यले आवासबिहीन दलितलाई कानुनबमोजिम बसोबासको व्यवस्था गर्ने स्पष्ट किटान गरेको छ । यो निकै राम्रो व्यवस्था हो तर यो हालसम्म पनि कार्यान्वयनमा आउन नसक्नु भने दुःखलाग्दो विषय हो ।  
अर्को समाचार
चिसोले महोत्तरीका दलित बस्तीमा बिचल्ली
२८ पौष २०८०
•
५ मिनेट पाठ
चिसोले महोत्तरीका दलित बस्तीमा बिचल्ली
 पुस अन्त्यतिर मधेसमा चिसो बढ्दो छ। मधेसका जिल्लामा घाम देखिँदा हर्षबढाइ हुन्छ। बाक्लो हुस्सुले डम्म ढाकेर चिसो स्याँठ चलिरहँदा सर्वसाधारण काममा निस्कन सकेका छैनन्। पछिल्लो साता बढेको चिसोकै कारण महोत्तरीका विद्यालयमा जाडो बिदा दिइएको छ। माघेसङ्क्रान्ति पर्व नजिकिए पनि हाटबजारमा चहलपहल घटेको छ।




चिसोले सबै क्षेत्रलाई प्रभाव पारे पनि यहाँका गरिब तथा दलित बस्तीको अवस्था नाजुक छ। पराले झुप्राका गुजुमुज्ज बस्तीमा ससाना नानीको जाडो छल्ने सहारा सडकमा मिल्किएका चिथ्रा थाङ्ना, प्लाष्टिक र कसिंगर सोहोरिएर बालिने ‘घुर’ (कसिङ्गर जम्मा पारेर बालिएको आगो) बनेको छ। न ओढ्ने, ओछ्याउने न शरीर ढाक्ने लुगा ! शीतले भिजेका कसिङ्गर सल्काउँदा निस्कने धुवाँको मुस्लोभित्रको ‘घुर’ वरिपरि बसेर मनमनै तातोको अनुभूति गर्नपर्ने जिन्दगी यहाँका मुसहर, बाँतर, मेस्तर, डोम, चमार र दुसाध बस्तीमा देखिँदो छ।

‘यो मुटु कमाउने जाडोमा न बनिबुतो गर्न निस्कन सकिन्छ न घरमा पानीबाहेक तताएर खाने सरदाम केही छ’, भङ्गाहा– ३ सकरी बस्तीको मुसहरीटोलकी रामराजी सादा (मुसहर) भन्छन्, ‘बच्चाबच्ची स्याहार्न मुस्किल छ।’ सो बस्तीकी अगुवा रामराजी बढ्दो चिसोका कारण दैनिक ज्यालादारी श्रम गरेर गुजारा गर्नुपर्ने आपूmहरुका लागि जाडो मौसम सधैं कष्टदायक रहँदै आएको बताउँछन्।

महोत्तरीको मध्य र दक्षिणी भेगमा लाग्दो पुसदेखि नै बिहान हुस्सुले ढाक्दै आएको छ। उत्तरी क्षेत्रमा कहिलेकाहीँ झल्याकझुलुक देखिने घाम पनि पारिलो हुँदैन। झल्याकझुलुक देखिने घाम मधुरो हुने र चिसो सिरेटो लगातार चलेपछि जाडोको कहर निकै बढेको हो।

महोत्तरीको उत्तरी भेगको पूर्वपश्चिम राजमार्गवरपर मंसिरसम्म बिहानै घाम देखिए पनि पुस लागेयता भने यो भेगमा पनि धेरैजसो यसपालि बिहानैदेखि डम्म हुस्सुले ढाक्दै आएको छ। बाक्लो हुस्सुसँगैको चिसो सिरेटो चल्ने क्रमले हात गोडा कठ्याङ्ग्रिएर कुनै काममा निस्कन नसकिएको यहाँका सर्वसाधारण बताउँछन्। मध्य र दक्षिणी भेगमा त घाम नदेखिएको कैयौ दिन हुन्छन्। अहिले बहने चिसो हावाले लगलगी मुटु कमाउने जाडो बढाएको जलेश्वर नगरपालिका २ का सामाजिक कार्यकर्ता जिरेखन पासवान बताउँछन्।

निरन्तरको चिसोले व्यापार व्यवसाय मात्र नभएर कृषि कार्य पनि प्रभावित भएका छन्। अहिल्यै यस्तो विजोग भएपछि अब माघसम्म कस्तो होला भन्ने सोचेरै यहाँका बुढापाका जाडो कसरी काट्ने भन्ने चिन्तामा छन्।

‘खै उमेरले भर्खर ६० नाँघियो, यसरी लगलगी कमाउने जाडो त यसअघि त्यति भोगेको सम्झनै छैन’, महोत्तरीको भङ्गाहा नगरपालिका ४ रामनगरका ६१ वर्षीय किसान सत्यनारायण यादवल भन्छन्, ‘खै परारको (कोभिड १९) कहरले चाँडै जाडो बढाएको त हैन ?’ परार र त्यसअघिको वर्षको कोरोना कहर सम्झँदै यादवले लख काटे।

बढ्दो जाडोले यस भेगका गरिब र दलित बस्ती बढी जोखिममा परेका छन्। दैनिक ज्यालादारी गरेर गुजारा गर्नुपर्ने श्रमिक काममा जान नपाएपछि भोकभोकै बस्नपर्ने अवस्था बनेको छ। ‘जाडो त सबैलाई हो तानि..! हुनेखाने जाडोबाट बच्ने सरजाम (बन्दोबस्त) घरमै जुटाउलान्, हामी बनी (मजदुरी) गरेर गुजारा गर्नेको के हविगत हुने हो अब ?’ जिल्लाको बलवा नगरपालिका १० को मुसहरीटोलका पलट माझी मुसहरले चिन्ता व्यक्त गरे।

चिसो बढ्दै जाँदा वृद्धवृद्धा, सुत्केरी र ससाना नानीको स्याहार, सम्भार कठिन भएको छ। घरमा पोषणयुक्त ताजा खाना, न्यानो लुगा र घर वरपर सरसफाइमा कमी हुँदा पराले झुप्राका बस्ती बढ्दो जाडोले बढी प्रभावित भएका देखिन्छन्।

जिल्लाका सबैजसो स्वास्थ्य संस्था रुघाखोकी, श्वासप्रश्वास र हाडजोर्नी दुख्ने व्यथाका बिरामीले भरिभराउ देखिँदा छन्। ‘बढ्दो चिसोले ग्रामीण बस्तीमा बिरामी हुने क्रम बढेको छ, अस्पताल आएका बिरामीलाई सेवा दिन हामीलाई भ्याइनभ्याइ परेजस्तै छ’, बर्दिबास अस्पतालका मेडिकल अधिकृत डा चन्द्रमणि खत्री भन्छन्।  

यसैबीच महोत्तरीका स्वास्थ्य संस्थाहरुले धमाधम सूचना प्रशारण गराएर चिसोमा आफ्नो घरपरिवारको स्याहार सम्भारमा ध्यान दिन आग्रह गरेका छन्। घरमा आफ्नै ओरपर पाइने सागपात र गेडागुडीको झोल खान, जरुरी काम नपरी बाहिर ननिस्कन, न्यानो ठाउँमा बस्न र घरवरपरको सरसफाइमा ध्यान दिन स्वास्थ्य संस्थाका तर्फबाट सूचना जारी गरिएका छन्।

यसबाहेक फोहर कपडा, मिल्किएका कसिङ्गर, झुत्रा प्लास्टिक र चिसो झ्यास सल्काएर ‘घुर’ नबाल्न आग्रह गरिएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ। यस्तो आगो बालिएको ठाउँबाट निस्कने धुवाँले पुराना बिरामीको श्वासप्रश्वास समस्या झनै बढाउने र नयाँमा थपिने कार्यालय प्रमुख सुनिता गुप्ता बताउँछन्।  

चिसोले जनजीवन कष्टकर बनाउन थालेपछि गरिब र दलित बस्तीमा तत्काल आगो बाल्न काठ, खानपिनका सामग्री र न्याना लुगा जुटाउने पहलकदमीका लागि स्थानीय तहसँग सामाजिक संघसंस्थाले आग्रह गरेका छन्।

‘क्षति हुन थालेपछि मात्र राहतका पोका बोक्ने बानी छ हाम्रो, अब स्थानीय तहको नेतृत्व चनाखो हुनपर्छ’, प्रयास महोत्तरी (सामाजिक संस्था) का अध्यक्ष प्रवीण कर्णले भने, ‘अहिलेको तदारुकताले क्षति रोक्न सकिन्छ।’ गरिब बस्तीका बासिन्दाले जाडोबाट बचाउने उपायका लागि आआफ्ना बस्तीका स्थानीय तहका प्रतिनिधि गुहार्न थालेका छन्।्

यसैबीच जिल्लाका औरही र मनराशिशवा नगरपालिकाले गरिब बस्ती र बाक्लो ओहोरदोहोर हुने चोकमा आगो बाल्ने चाँजो मिलाएका छन्। जिल्ला समन्वय समितिको कार्यालय महोत्तरीले जिल्लाका १५वटै स्थानीय तह र जिल्ला दैवी प्रकोप उद्धार समितिसँग चिसोबाट बर्सेनि हुँदै आएको जनधनको क्षति हुन नदिन पूर्व सतर्कता र आवश्यक तयारीका लागि आग्रह गरेको छ।

‘हामीले जिल्लाका १५ वटै स्थानीय तहलाई तत्काल आवश्यक सहयोग, समन्वयका लागि अनुरोध गरेका छौं’, जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुमनकुमार लाल कर्ण भन्छन्, ‘समयमै तदारुकता अपनाइयो भने क्षति रोक्न सकिन्छ।’ पछिल्ला तीन÷चार दिनयता ठाउँठाउँमा आगो बाल्ने र गरिब बस्तीमा ओढ्नेको प्रबन्ध भएको कर्णले बताए। गौशाला नगरपालिका ९ मा गरिब परिवार पहिचान गरी ज्येष्ठ नागरिकलाई  सिरक वितरण गरिएको छ। –रासस
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस