महान् पर्व महँगी उपहार
०२ कार्तिक २०८०
•
५ मिनेट पाठ
महान् पर्व महँगी उपहार
महान् पर्व दसैँ, तिहार, छठ जस्ता ठूला चाडपर्व घरदैलोमा प्रवेश गरिसकेका छन्। यी चाडपर्वमा पारिवारिक भेटघाट, मठमन्दिरमा गरिने पूजाआजा मात्र नभई बजारमा वस्तु तथा सेवाको माग समेत अन्य समयको तुलनामा ज्यादा हुने गर्छ।




चाडपर्व भन्नेबित्तिकै मिठो खाने, राम्रो लाउने, घुमफिर गर्ने, साथीभाइ तथा आफन्तजनसँग रमाइलो गर्ने जस्ता क्रियाकलापले प्राथमिकता पाएका हुन्छन्। तर यस्ता क्रियाकलाप त्यतिबेला सम्भव हुन्छ जब हामीले वस्तु तथा सेवा सजिलै किनमेल गर्न सक्छौँ। अहिले नेपाली बजारमा उपभोक्ताले सोचे जस्तो अवस्था छैन।

एकातिर आफूले खोजेका सबै वस्तु बजारमा उपलब्ध छैनन्। अर्कोतर्फ भएका वस्तु पनि छुनै नसकिने गरी महँगो भएका छन्। यस्तो अवस्थामा यो वर्षका चाडपर्वहरूसमेत खल्लो हुन सक्ने भन्दै उपभोक्ताहरू निराश देखिएका छन्। बजारमा वस्तुहरूको कृतिम अभाव र अचाक्ली मूल्य बढ्नुका पछाडि व्यवसायीहरूको कालोबजारी र फितलो सरकारी अनुगमन रहेको उपभोक्ता अधिकारकर्मीहरूको ठम्याइ छ।

नेपाली बजारमा पाइने अधिकांश वस्तु आयातित छन्। विशेषगरी खाद्यान्नको आयात छिमेकी मुलुक भारतबाट बढी हुने गर्छ।
पछिल्लो समय भारतले गहुँ, चामल, मैदा, चिनी जस्ता खाद्य वस्तुहरूको निर्यातमा कडाइ गर्नुका साथै यस्ता वस्तुमा लाग्ने करका दरहरू समेत वृद्धि गरेको छ। यसको प्रभाव प्रत्यक्षरूपमा नेपाली बजारमा परेको छ।

यसैगरी चालु आवको बजेटमार्फत नेपाल सरकारले आलु, प्याज, हरियो सागसब्जी, फलफूल, मासु जस्ता वस्तुहरूमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) थप गरेको छ। यसअघि यस्ता कृषिजन्य उपजहरूमा नौ प्रतिशत कृषि सेवा शुल्क र अग्रिम आयकर पाँच प्रतिशत गरी १४ प्रतिशत कर लाग्दै आएको थियो। यो नयाँ कर नीतिसमेत दैनिक उपभोग्य वस्तुहरू महँगो हुनुको एक प्रमुख कारक तत्व बनेको छ।

नेपाल राष्ट्र बैंकले जनाएअनुसार चालु आर्थिक वर्ष २०८०÷८१ को पहिलो दुई महिनाको मुद्रास्फीति दर ८.१९ प्रतिशत पुगेको छ। अघिल्ला महिनाहरूको तुलनामा अहिले मूल्य वृद्धि बढेको देखिएको छ। यो दर अघिल्लो महिना ७.४ प्रतिशतको हाराहारीमा थियो। तथ्यांकमा उल्लेख भएअनुसार सबैभन्दा बढी मरमसलामा ४५.४६ प्रतिशतसम्म मूल्य वृद्धि देखिएको छ। त्यस्तै, चिनी तथा चिनीजन्य वस्तुमा १७.८६, तरकारीमा १४.५१, खाद्य तथा खाद्यजन्य पदार्थमा १३.३८ र दुग्ध पदार्थ तथा अण्डामा १२.६० प्रतिशत मूल्य बढेको छ।

यसैगरी गैरखाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १५.५५, विविध वस्तु तथा सेवाहरू १२.२१ प्रतिशत, शिक्षा क्षेत्रमा ९.१ प्रतिशत, घरायसी उपयोगका वस्तुमा ८.११ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणमा ६.५९ प्रतिशतले मूल्य बढेको छ। यो अवधिमा काठमाडौँ उपत्यकाको मुद्रास्फीति ९.८३ प्रतिशत, तराईको ७.३ प्रतिशत, पहाडको ८.९ प्रतिशत र हिमालको ११.३२ प्रतिशत छ।

सरकारी तथ्यांकमा मूल्य वृद्धिको आँकडा ८ प्रतिशतको हाराहारीमा देखिए पनि वास्तविकता भने फरक छ। राष्ट्र बैंकको सूचकांकभन्दा महँगी दोब्बर रहेको भन्दै सत्ता पक्षकै सांसदले सदनमा कुरा उठाएका समाचारहरू बाहिर आएका छन्। यसको गतिलो उदाहरण अहिले बजारमा चिनीको मूल्य वृद्धिलाई लिन सकिन्छ। केही समयअघिसम्म ९० रुपियाँ प्रतिकिलो किन्दै आएको चिनी अहिले बजारमा १ सय ५० भन्दा बढी मूल्यमा बिक्री हुँदै आएको देखिन्छ। बजारमा चिनीको कृतिम अभाव देखाइ व्यापारीहरूले भाउ बढाएको उपभोक्ताकर्मीहरूले आरोप लगाएका छन्।

करिब ११ उद्योगीले चिनीमा सिन्डिकेट लगाए जस्तै गरी व्यापार व्यवसाय गरिरहेको उनीहरूको आरोप छ। आयातकर्ता र उद्योगी एउटै भएकाले बजार उनीहरूको कब्जामा रहेको र आफूअनुकूल मूल्य निर्धारण गर्ने गरेको उपभोक्ताकर्मीको भनाइ छ।

 चिनीमा मात्र नभई तेल, मसला, चामल, गहुँ, आलु, प्याज जस्ता खाद्य वस्तुहरूमा समेत सीमित व्यापारीहरूको सिन्डिकेट चलिरहेको अवस्था छ। यसै कारण बजारमा यी वस्तुको मूल्य रातारात अप्रत्याशित रूपमा बढ्ने गरेको पाइन्छ।
व्यापारीले भन्सार र लागत जोडेर मूल्य निर्धारण गर्नुपर्ने भए पनि कानुनविपरीत २० प्रतिशतभन्दा बढी नाफा राखेर वस्तु तथा सेवाहरूको मूल्य निर्धारण गर्नाले उपभोक्ता महँगीको मारमा परेका सरोकारवालाहरूको भनाइ छ।

सरकारले ठूला चाडपर्वलाई लक्षित गर्दै हरेक वर्ष सञ्चालन गर्दै आएको सहुलियत पसल यस वर्ष पनि सञ्चालनमा ल्याएको छ। यस वर्ष गत असोज २१ बाट देशका विभिन्न स्थानहरूमा सहुलियत पसलहरू सञ्चालनमा आएका छन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ४९, साल्ट ट्रेडिङ कर्पोरेसनले ३५ र दुग्ध विकास संस्थानले  ११ आउटलेटबाट आफ्ना सामानमा छूट दिएको जनाएका छन्। यसले समेत उपभोक्ताहरूको समस्यालाई सम्बोधन गर्न नसकेको देखिन्छ। यस्ता पसलमा सीमित वस्तुहरू मात्र पाइने भएकाले उपभोक्ताहरूले अपेक्षित लाभ लिन नसकिरहेको गुनासो सुनिएको छ।

यसैगरी सबैजसो सहुलियत पसलहरू बजारकेन्द्रित मात्र भएकाले ग्रामीण तथा दूरदराजका जनताका लागि यो ‘आकासको फल आँखा तरी मर’ भने जस्तै भएको छ। करिब तीन करोड नेपालीका लागि सरकारले सञ्चालनमा ल्याएको ९५ वटा सहुलियत पसल हात्तीको मुखमा जिरासमान देखिएको छ।

आन्तरिक बजारमा अनियन्त्रित र अस्वाभाविक मूल्य वृद्धि हुनुको मुख्य कारण फितलो सरकारी अनुगमन, कालो बजारी र उद्योगीहरूले अपनाएको अदृश्य सिन्डिकेट प्रणालीलाई लिन सकिन्छ।

चाडपर्वका बेला केही स्थानमा सरकारी अनुगमन टोली सक्रिय देखिए पनि अन्य समयमा भने नगण्य मात्रामा अनुगमन हुने गरेको देखिन्छ। चुस्त एवम् पारदर्शीरूपमा सरकारी अनुगमन हुन नसक्दा कालो बजारी तथा सिन्डिकेटका नाइकेहरूलाई कारबाहीको दायरामा ल्याउन सकिएको छैन। यसले गर्दा बजारमा बेथिति मौलाउने वातावरण बनिरहेको देखिन्छ।

बजारमा अनियमितता गर्ने व्यापारीहरूलाई कारबाही गर्न बनेको कानुनसमेत फितलो हुँदा यसको नियन्त्रणमा बाधा पुगेको सरोकारवालाहरूको भनाइ छ। कानुनविपरीत व्यावसायिक क्रियाकलाप गर्ने व्यवसायीलाई ठूलो सजाय गर्ने कानुन नभएकाले उनीहरू ठूलो अपराध गर्न प्रेरित देखिन्छन्। जति ठूलो अपराध गरे पनि सामान्य सजाय हुने भएकाले बजार नियन्त्रणमा अहिलेको कानुन प्रभावकारी बन्न नसकेको देखिएको छ। मुलुकमा समयसापेक्ष कानुन बन्न नसक्दा आमउपभोक्ता आफ्नो अधिकार प्राप्त गर्नसमेत वञ्चित हुनुपरेको छ।

(भट्टराई अर्थशास्त्रका अध्यापक हुन्।)
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस