एघारौँ घन्टे संस्कृति
१६ जेष्ठ २०६७
•
१५ मिनेट पाठ
एघारौँ घन्टे संस्कृति
नेपालको समकालीन राजनीतिक इतिहासमा शुक्रबारको दिन संयोग बारजस्तै भएको छ। धेरैजसा राजनीतिक घटना, दुर्घटना र परिवर्तन शुक्रबारै भएका छन् । यस्तो संयोग संविधानसभाको म्याद थप गर्ने दिनमा पनि दोहोरियो - ०६७ जेठ १४ गते शुक्रबारका रूपमा।
संयोगवश ०६४ जेठ १५ गतेको गणतन्त्र घोषणा गरिएको दिन र अहिले गणतन्त्रदिवसको पूर्वसन्ध्यामा संविधानसभाको म्याद थपिएको दिन पनि शुक्रबारै पर्‍यो।




भनिन्छ, अगुल्टोले हानेको कुकुर बिजुली चम्किँदा पनि तर्सिन्छ। धेरैजसो राजनीतिक घटना र दुर्घटनाको संयोग शुक्रबारै भएकाले पनि संयोगप्रति अन्धविश्वास भएको जनमानसमा डरत्रास पैदा हुनु अनौठो होइन। तर, घटना र दुर्घटनाले पुरानै तिथिमिति र बारको संयोग हेर्दैनन्, देशकाल, परिस्थिति अनि कारण हेर्छन्। देशकाल, परिस्थिति अनि कारणको योगबाट नियमित हुन्छन् घटना र दुर्घटना।

बुद्धले भनेजस्तै कार्य र कारणबीचको सम्बन्धलाई हेरिएन भने भाग्यवादी होइन्छ। शुक्रबारकै दिन संविधान सभाको म्याद थपिएको सन्दर्भलाई पनि भाग्यवादी होइन, वस्तुवादी आँखाबाट हेर्नु जरुरी छ। पक्कै पनि शुक्रबारकै दिन संविधान सभाको म्याद थपिनु संयोग हो, तर यो संयोग मूलतः केही नियमित कार्य कारणको योग हो, केही पुराना कार्य संस्कृति र वैचारिक प्रवृत्तिको निरन्तरता पनि हो।

नेपाली समाज सामन्तवादी समाजबाट पुँजीवादी समाजतिर बामे सर्दै गएकाले हुनसक्छ, राजनीतिक नेताहरू पुरानै सामन्तवादी कार्य संस्कृतिमा अभ्यस्त छन्। त्यस्तो सामन्तवादी कार्य संस्कृति हो, एघारौँ घन्टामा पुगेपछि मात्र अन्तिम निर्णय गर्ने, त्यसभन्दा अघिसम्म समय बाँकी छँदै छ भन्दै अलमलिने र राष्ट्रिय विषयमा पनि संवेनशील नहुने। एघारौँ घन्टे कार्य संस्कृतिकै एउटा ज्वलन्त द्योतक हो, संविधान सभाको आयु एक घण्टा १० मिनेटमात्रै बाँकी रहँदा तीन दलीय सहमति हुनु र अन्तिम घडीमा एक वर्षका लागि अवधि थपिनु। शुक्रबार राति १० बजेर ५८ मिनेट जाँदा तीन ठूला दलबीच संविधान सभाको म्याद एक वर्ष थप्ने नगदी सहमति हुनु र प्रधानमन्त्रीले यथाशीघ्र राजीनामा दिने उधारो सहमतिमा पुग्नु कुनै सुव्यवस्थित र वैज्ञानिक कार्य संस्कृति होइन। यस्तो एघारौँ घन्टे कार्य संस्कृतिले हतारोमा, हचुवा निर्णय गर्ने बानीलाई नै निरन्तरता दिएको छ र त्यसमा क्रमभंग गरेको छैन।

एघारौँ घन्टे कार्य संस्कृति कुनै गौरव गर्न लायकको सुव्यवस्थित र वैज्ञानिक पद्धति होइन। र पनि देश र जनताको भाग्य निर्माण विनिर्माण गर्ने हाम्रा राजनीतिक नेतामा भने यही संस्कृतिप्रति गज्जबको गौरवबोध रहेछ। र, उनीहरूको त्यही कार्य संस्कृति र गौरवबोध नै जनतादेखि प्रखर बौद्धिकको पनि आशाको त्यान्द्रो हुँदै आएका छन्। आफ्नो सपनाको केन्द्रका रूपमा रहेको एकमात्र निर्वाचित संस्था बाढीमा डुबेर मर्नै लाग्दा पनि नेपाली जनता भने त्यही आशाको त्यान्द्रोमै झुन्डिएर बाँच्न विवश भए। यस्तो विवशताले लोकतान्त्रिक गणतन्त्रका नेपाली जनगणलाई निरीहताको खाडलबाट मुक्त गरी सशक्तीकरणको चुचुरोमा पुर्‍याउन मद्दत गर्दैन।
लोकतान्त्रिक गणतन्त्रको ०६४ जेठ १५ गते भएको घोषणा र ०६७ जेठ १४ गते भएको संविधान सभाको म्याद थपको दिन शुक्रबारै पर्नु पक्कै पनि संयोग हो। तर, गणतन्त्रको घोषणा र गणतन्त्र दिवसको पूर्वसन्ध्यामा संविधान सभाको म्याद थपमा देखिएको एघारौँ घन्टे कार्य संस्कृति भने संयोग होइन।

 

यो त हाम्रा नेताहरूको नियमित कार्य संस्कृति हो। गणतन्त्र घोषणाको शुक्रबारे रात पनि हाम्रा नेताहरूले नयाँ संविधान लेखनका लागि नेपाली जनताबाट निर्वाचित पहिलो संविधान सभाको हुर्मत लिएका थिए, एघारौँ घन्टे कार्य संस्कृति प्रयोग गरेर। रातको बाह्र बज्न लाग्दा उनीहरूले नेपाललाई शाही राजतन्त्रबाट मुक्त भएको र लोकतान्त्रिक गणतन्त्र स्थापना भएको घोषणा गरेका थिए। त्यत्रो ऐतिहासिक उद्घोषलाई पनि सामान्य दिनको शुभकामना कार्ड बाँडेझैं गरेर। आज ०६७ सालमा आएर पहिलो जननिर्वाचित संविधान सभाको म्याद थपेर ब्युँताउने कि घाटमा लगेर सेलाउने भन्ने ऐतिहासिक निर्णय पनि अनेक आशंका र भयत्रासबीच मध्यरातमै गरे, म्याद थपको महत्व र गणतन्त्र दिवसको महत्ता एवं उत्सवी वातावरणलाई नै फिक्का पार्नेगरी।

संविधानसभाबाट गणतन्त्रको घोषणा र संविधान सभाको म्याद थपको उद्घोषमा पोखिएको एघारौँ घण्टे कार्य संस्कृति कुनै संयोग नभएजस्तै दुवै प्रकरणमा देखिएको आत्मकेन्द्रित मोलतोल र लेनदेनको प्रवृत्ति पनि आकस्मिकता होइन। फरकफरक दल भएपछि अलगअलग हित र स्वार्थ हुनु, ती हित र स्वार्थ पूर्तिका लागि सहमति वा संघर्ष, लेनादेना वा छिनाझपटी हुनु अनौठो होइन। तर, ०६३ सालको जनआन्दोलनको जनादेशअनुसार दसौं वर्षसम्म सहमतीय राजनीति गरी देशलाई समृद्ध लोकतान्त्रिक गणराज्य बनाउने उद्घोष गरेका राजनीतिक नेताहरूबाटै गणतन्त्र घोषणा र बहुमतीय शासनलाई मोलतोल र लेनदेनको विषय बनाइनु भने अस्वाभाविक थियो।

अहिले शुक्रबारे रात 'शान्ति र संविधानका लागि राष्ट्रिय सहमतिको सरकार' र 'प्याकेजमा सहमतिसहित संविधानसभाको म्याद थप'लाई मोलतोल र लेनदेनको विषय बनाइएजस्तै त्यतिबेला लोकतान्त्रिक गणतन्त्रको घोषणालाई बनाइएको थियो। आफूलाई लोकतन्त्र वा प्रजातन्त्रका मसिहा ठान्ने नागरिक दलहरूबाट गरिएको यस्तो सफल सौदाबाजी न त पहिलो थियो, न त अन्तिम नै हुने देखिन्छ। त्यतिखेर राष्ट्रिय सहमतिको सरकार निर्माण गर्नुपर्ने संवैधानिक प्रावधान संशोधन गर्ने सर्तमा मात्रै लोकतान्त्रिक गणतन्त्र घोषणा गरी जानाजान विषवृक्ष रोपियो। गणतन्त्रको मूल्यमा समेत अन्तरिम संविधानमा संशोधन गरी राष्ट्रिय सहमतिका आधारमा मात्रै सरकार गठन गर्ने प्रावधानमाथि सौता हालियो, बहुमतीय प्रणालीका आधारमा पनि सरकार गठन गर्न सकिने प्रावधान थपेर।

आफू बलियो भए खेलको नियम एउटा हुने, आफू कमजोर भए खेलको नियम नै फेर्ने। यस्तो झेली खेललाई नै कानुनी खोल ओढाइएको हो, सहमतीय राजनीतिको स्थानमा बहुमतीय राजनीतिको प्रावधान राखेर। संविधान सभाको चुनावमा धेरै दल र शक्ति राष्ट्रको अपेक्षाविपरीत माओवादीले ४० प्रतिशत मत लिएपछि खेलको नियम नै फेरिएको हो। नेपाली कांग्रेस वा नेकपा (एमाले)ले संविधान सभामा बहुमत सिट जितेका भए तिनकै नेतृत्वमा सहमतीय राजनीति जारी राखिन्थ्यो। तर, माओवादीले ती दुवै दलको तुलनामा बढी जितेको र उसले जितको दम्भ देखाएको स्थितिमा खेलको नियमै परिवर्तन गरियो। माओवादीको नेतृत्वमा सहमतीय राजनीति गरियो भने दसौं वर्ष उसकै हातमा शासन रहने त्रास र 'सर्वसत्तावाद' लाद्ने कल्पित भयका कारण बहुमतीय पद्धति लादियो र सहकार्यका सट्टा हिंस्रक प्रतिस्पर्धाको नीति लिइयो।

पुरानै असफल संसदीय राजनीतिको खेती गर्ने राजनीतिक जिम्मुवालहरूले जवाफ दिनुपर्छ, रोप्ने बेलामा बहुमतीय शासन प्रणालीको विषवृक्ष रोप्ने अनि फल्ने बेला अमृतरूपी सहमतीय शासन कसरी फल्छ? तिनलाई पुरानै असफल संसदीय राजनीतिले जस्तै दुई वर्षको प्रतिस्पर्धात्मक र असहमतीय राजनीतिक अभ्यासले राम्ररी देखाइसकेको छ - बहुमत होइन, सहमत हुने राजनीति गरिएन भने न शान्तिप्रक्रियाको तार्किक निष्कर्षमा पुग्ने र लोकतान्त्रिक गणतन्त्र संस्थागत हुने सम्भावना छ। यस्तै न त संविधान सभाबाट अबको एक वर्षमा नयाँ संविधानको लेखन नै सम्भव छ, न त पुरानो राज्यको पुनर्संरचना गरी समावेशी संघीय धर्मनिरपेक्ष नयाँ नेपाल नै सम्भव छ।

तर, पुरानै बहुमतीय संसदीय राजनीतिक पद्धति कायम राखेर, पुरानै वर्गीय, लिङ्गीय, जातीय, क्षेत्रीय प्रभुत्व यथावत् राखेर, पुरानै कार्य संस्कृति र प्रवृत्ति बोकेर समावेशी संघीय धर्मनिरपेक्ष नयाँ नेपालतिर अग्रगमन गर्न खोजेको दाबी गर्नु काठको घोडा चढेर विश्व-भ्रमणमा निस्कनु हो। तर, काठको घोडा चढेका नयाँ बादशाह भने नयाँ नारा र चालका साथ जसरी पनि आफ्नो आभिजात्य भूस्वर्ग कायम राख्न तल्लीन छन्। त्यसका लागि सहमतीय राजनीतिको जनादेशलाई पनि कुर्सीमा भोग दिन परे परोस् भन्ने मनस्थितिमा छन्।

हुनत, अनेक संयोग, अनेक नियमित आकस्मिकताबीच संविधानसभाको म्याद थप्ने निर्णय गर्ने क्रममा फेरि एकपटक 'सहमति र सहकार्यको राजनीतिक यात्रा'को शंखघोष ठूलठूलो आवाजमा गरिएको छ। यो मसानघाटको वैराग्यको अभिव्यक्ति होइन भने, पुरानो संसदीय राजनीति र दुई वर्षको बहुमतीय पद्धतिको असफलताको पुनर्पाठ हो भने, बाह्रबुँदे समझदारीदेखि जनआन्दोलन र सहमतीय सरकारसम्मको पुनःअनुमोदन हो भने, यस्तो शंखघोषलाई सकारात्मक रूपमै लिनुपर्छ। तर, 'सहमति र सहकार्यको राजनीतिक यात्रा' गर्न बाटामा केही पुराना सामन्तवादी कार्यसंस्कृति, केही प्रभुत्वशाली पुराना वर्गीय हित र स्वार्थ तगाराका रूपमा जब्बर ढंले तेर्सिएको कटु यथार्थलाई भने कदापि बिर्सन सकिँदैन।

मुखले सहमति र सहकार्यको राजनीतिको माला जप्दै 'लोकतान्त्रिक सर्प'ले जस्तै व्यवहार गरिरहने अनि बगलीमा छुरा हाल्दै प्रभुत्वशाली वर्गीय हित र स्वार्थसहित असहमति, असहकार्य र भिडन्तको चक्रब्यूह रच्दै बस्ने हो भने 'सहमति र सहकार्यको राजनीतिक यात्रा' कुनै पनि बेला फेरि धरापमा पर्ने नै छ। सायद त्यस्तो धरापयुक्त घटनाका लागि गणतन्त्रको तेस्रो वर्षगाँठको पूर्वरात संविधानसभाको आयु पुनः थप्ने समयसम्म कुर्नु जरुरी नहुन सक्छ। त्यस्ता दुर्घटनाको घोप्टेभीर राष्ट्रिय सहमतिको सरकार निर्माण, माओवादी लडाकुको समायोजन र पुनःस्थापन अनि माओवादीलाई आफूजस्तै नागरिक दलमा रूपान्तरण गर्ने संसदीय दलहरूको अभियानको बाटामा छिट्टै आउनसक्छ।

मसानघाटे वैराग्य होइन र संसदीय राजनीति तथा दुई वर्षको बहुमतीय पद्धतिको असफलताबाट सिकेको हो भने 'सहमति र सहकार्यको राजनीतिक यात्रा'को शंखघोषलाई सकारात्मकरूपमै लिनुपर्छ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस