जोगीदेखि भैँसी, भैँसीदेखि जोगी
२७ जेष्ठ २०६७
•
१५ मिनेट पाठ
जोगीदेखि भैँसी, भैँसीदेखि जोगी
हिजो साँझ कवि गोविन्द वर्तमानले कटाक्षकारी मुद्रामा मलाई सुनाए - दाइ! केपी शर्मा ओलीमा हठात् कलाचेतको फोहरा फुटेछ। सुनेर म बिलखबन्द परेँ।
अहो! केपी र कलाचेत! यी दुई तत्वको मेल कसरी सम्भव छ? गोविन्दले खुलाए - सत्ताको सर्वोच्च कुर्सी पड्काउने दाउमा यो सम्भव छ, दाइ। बुझ्दा कुरो गहिरो रहेछ। सर्वोच्च हरूवा श्री माधवकुमार नेपालपछि मध्यम हरूवा श्रीमान् केपीलाई प्रधानमन्त्री बन्न जङ चलेछ। सके पारि कतैबाट आश्वासन पाएका पनि होलान्। र, आफ्नो महिमा मण्डन गरिदिने भजनमण्डलीको खोजीमा केपीले लेखककलाकार भनिने जीवात्लाई मांस एवं मदिरा खिलाएछन्। दरबारमार्गको सालिकका महेन्द्रलाई साक्षी राखेर। सालिकछेवैको सीडब्लु रेस्टुरामा।

केपी गुरूको सपना मलाई ठीकै लाग्यो। उनका छायाँतुल्य माधव प्रधानमन्त्री रहिरहनुभन्दा छायाँको सक्कल काया नै प्रधानमन्त्रीको कुर्सीमा उदाउनु राम्रो हो। अधोगामी राजनीतिमा यो एक छलाङ हो। पहिले ज्ञानेन्द्रले छलाङ मार्दा गणतन्त्र आएको थियो। केपीबाबुले छलाङ मार्दा पनि केही राम्रै चिज आउला कि!
केपी शर्मा ओली परे एमालेका सर्वाधिकारी सुप्रिम कमान्डर। उदात्त विचारमा दरिद्र तर उत्पात तुक्काविद् यी ओली भाँती पारेर साँचो बोल्छन्।

यिनको सत्यमा दक्षिणमुखी दक्षिणपन्थ स्पष्टै ध्वनित हुन्छ। महिना दिनजसोअघि यिनले भनेथे - राजनीतिमा कलह र विग्रह भएको माओवादी ज्यास्ती बलियो भएर हो। कुरा पक्का हो। ऊ एक दल ज्यास्ती बलियो भयो, अरू अनेक दल ज्यास्ती निर्बलिया भए। चुनावी बाकसबाट ऊ ठोस पहरोको स्वरूपमा फुत्त बाहिर निस्कियो, अरू फस्को ढिस्कोजस्ता देखिए। निर्बलियालाई बलियाको डाहा भयो, बलियो हुँकार गर्दै घमण्डले फुल्यो। र, बलियोसँग निर्बलिया डरले थुरथुर भए। ओलीले माओवादीको बलको स्रोत खुलाएनन्। तर, उनको आँले अलंकार बुझायो।

नभन्दै डाँडापाखा थर्काउँदै विद्रोहबाट आएको माओवादीका अनेक बल छन्। ऊसँगसिद्धान्तको बल छ। ऊसँग परिवर्तनका एजेन्डाको बल छ। ऊसँग संघर्षका कथा र बलिदानका गाथाको बल छ। ऊसँग मुख खोल्दै र पौँठेजोरी खेल्दै हक दाबी गर्न उठेको र जुटेको युवा शक्तिको बल छ। ऊसँगआफू हिँडेर आएको बाटोको ऊर्जादायी स्मृति-शृंखलाको बल छ। ऊस"ग जुझारू कार्यकर्ता जमातको बल छ। ऊसँगगरिखाने जनाधारको बल छ। ऊसँगजनपरिचालन गर्ने जोस र जाँगर एवं चातुर्य र कलाको बल छ। ऊसँगतीव्र आवेगको बल छ। ऊसँग दम्भको बल छ, हुँकारको बल छ, फुँकारको बल छ, जोरजुलुमको बल छ। र, गाँठ्ठी कुरा, ऊसँग सैन्यबल छ।

मलाई लाग्छ, केपी शर्मा ओलीको त्रसित चोर औँलो माओवादीका अरू बलतर्फ होइन, यही सैन्यबलतर्फ ठडिएको हुनुपर्छ। त्यसैले त केपी महलका राजनीतिक खेलाडी र घागडान बुद्धिकर्मीहरू भन्छन्- खुरूक्क सेना र हतियार हामीलाई बुझाएर माओवादी नागरिक पार्टी बनोस्। अन्यथा ऊसँग पानी बाराबारको साइनो कायम रहनेछ। बस्, शान्ति प्रक्रियाको गाँठो यही सैन्यबलमा छ। क्यान्टोनमेन्टको सैन्यबलमा र जंगी अड्डाको सैन्यबलमा। गठबन्धनका सहस्र दाज्यैज्यूहरू सशकिंत मुद्रामा जब क्यान्टोन्मेन्टतिर पुलुक्क हेर्छन्, तिनका नौनाडी गल्छन्। बाइसे महलका खान्दानी बुद्धिकर्मी जब आतेसको भावमा क्यान्टोन्मेटमाथि दृष्टिपात गर्छन्, तिनका सपना बिग्रिन्छन्। र, नौनाडी गलेका यी दुःखीहरू र सपना बिग्रिएका यी अभागीहरू टाउको लुकाउने ठाउँको खोजीमा जंगी अड्डातर्फ पुलुक्क हेर्छन्।

हो, सत्तागठबन्धनका श्री हजुरहरूको सङ्कटग्रस्त अस्तित्वको आधार जनबल होइन, सैन्यबल भएको छ। ती आपत्कालीन सहाराको आशा गर्दै जङ्गी अड्डाको मूल द्वारबाट यसो चियाउँछन् र चैनको सास फेर्छन्। अनि सोच्छन्, क्यान्टोन्मेन्टमा उसका लडाकु छन् त जंगी अड्डामा हाम्रा पनि छन्। उस्तै परे गरिन्छ यिनलाई परिचालन र दिइन्छ हामीजस्तै बन्न आनाकानी गर्ने नाथेलाई दरो दनक। उसका त्यति थोरै छन्, हाम्रा यति धेरै छन्। तैपनि ऊ भित्तामा सिँगौरी खेल्दै हामीसँग थान थाप्ने? ए रात्तै! यो 'ए रात्तै'को तामस यता सत्तागठबन्धनमा पनि छ, उता माओवादीमा पनि छ। 'ए रात्तै'को यो ठोकाबाजी वास्तवमा सैन्यबलमाथिको दुईतर्फी निर्भरताबाट पैदा भएको कलहकारी तुजुक हो। हो, शान्ति प्रक्रिया यही आपसी तुजुकमा अल्भि्कएको छ।

गठबन्धका अनेकथरी अन्तरेहरू र तिनका समवर्गी एवं आज्ञाकारी बुद्धिकर्मी लडाकुलाई त्याग्, आजै त्याग्, अहिल्यै त्याग् भनेर माओवादीलाई र्‍याख्र्‍याख्ती पारिरहेका छन्। वास्तवमा यो 'त्याग्, त्याग्' एकाबिहानै विजुलीको लठ्ठामा बसेर समवेत स्वरमा कराउने कागहरूको 'काक् काक्' सरह भएको छ। कानै कोक्याउने गरी उच्चाटलाग्दो। शान्ति सम्झौताको स्रेस्तामा दुईवटा सर्त हाराहारी छन्। माओवादीले आफ्ना लडाकु र हतियार राज्यलाई सुम्पुवा गर्ने र सँगसँगै शाही संस्कारग्रस्त नेपाली सेनामा जनमुखी सधार गरिने। हाम्रा ज्ञानवान् 'काक् काक्'हरू पहिलो सर्तको अहोरात्र रट लगाउँछन्, दोस्रो सर्तको कुरै सुन्न चाहँदैनन्। कसैले कुरा उठाए दुध कुण्डमा नुहाएको र अत्तर छर्किएको नेपाली सेना स्वतः पवित्र र बास्नादार छ, यसमा केको सुधार भन्ने आशयको हुँकार गर्छन्। यताको हुँकारको जबाफमा माओवादी मूक भाषामा भन्छ - तैँले तेरो सेनालाई नसुधारे म किन सुम्पुवा गर्छु त"लाई मेरो सेना? जानाजान निहत्था भएर तेरा हातबाट ढाड सेकाइमाग्नु छ र?

जसको जीवनको अन्तिम आधार जे हो, उसलाई त्यो परमप्रिय त हुने नै भयो। र, जेसुकै कुरालाई दाउमा राखेर होस्, उसले त्यसको हिफाजत पनि गर्ने नै भयो। सत्तागठबन्धनका गुरुजीहरू नेपाली सेनालाई आँखा चिम्लेर काखी च्याप्दै, धाप मार्दै, पुल्पुल्याउँदै, जे भन्न र जे गर्न पनि छूट दिँदै हिफाजत गर्न कटिबद्ध छन्। नेपाली सेनाले शाही सामन्ती पाठशालाबाट ग्रहण गरेको लोकतन्त्रप्रतिको उग्र अरुचिसहित, जनआकांक्षाको आदर गर्ने भावनाको अनिकालसहित, समस्त कुसंस्कारको थुप्रोसहित, बेलगाम भ्रष्टाचारसहित, यावत् मैमत्तापनसहित, तलकामाथि माथिकाको दासवत् व्यवहारसहित। सैनिक अधिकारीका निधारमा मानवअधिकारलाई कुल्चिएको कलंक लागोस्, क्वै बात छैन। फगत छूट छ। तिनलाई ब्यारेकभित्रै अकिंचन र अबोध किशोरीको बध गरेको बात लागोस्, क्वै बात छैन। छूट छ। तिनलाई नागरिकलाई बेपत्ता पारेको अभियोग लागोस्, क्वै बात छैन। छूट छ। आ.., बित्थामा नेपाली सेनाको केको लोकतन्त्रीकरण? केको सुधार? केको सुसंस्कारीकरण? त्यो छ र नै मेरो अस्तित्व छ। त्यो बेखुस भए मेरो के गति हुन्छ! तर, माओवादीले आफ्नो सेना हामीलाई बुझाउनै पर्छ। र, ऊ साइजमा हामीजस्तै ठिक्कको र विचार, संस्कार र शैलीमा विद्वान् दमननाथ ढुङ्गानाका पुराना शब्दमा हामीजस्तै 'खाओवादी'मा रूपान्तरित हुनैपर्छ। तब न मिल्छ हाम्रो भावना। तब न एक मनले र एक मतले लेखिन्छ हामीले पितापुर्खाका पालादेखि खाइपाइ आएको खान्की ट्याक्क जोगिने खालको गुनिलो संविधान।

बस्, शान्ति प्रक्रिया उग्र अगतिमा पर्नुमा भित्री रहस्य यस्तो छ। यी दुई थरीलाई आआफ्नो सेना प्यारो छ। कुरा अस्तित्वको छ। कुरा आफूसुहाउँदो आदर्श र स्वार्थको छ। तर, मुख फोरेर भनिदैन। भन्नै मिल्दैन। भन्न नहुने तर सुन्दा आङ सिरिंग हुने बिठ्याइँको अहिले चर्चा चलिरहेछ। नेपाली सेनाको बजेटमा भयंकर वृद्धि, नेपाली सेनाको सङ्ख्या वृद्धि, ब्यारेकहरूको बृद्धि, झनै घातक र अचुक हतियारमा नेपाली सेनाका हालका हतियारको बढुवा - अहो! यो सब सोचाइ, यो सब योजना, यो सब तयारी कोसँग लड्न? कुन बाजी जित्न? कुन कीर्तिमान राख्न? सरकारी महलको बिठ्याइँको यो कथा जब माओवादीका कानमा पर्छ, ऊ झस्किन्छ। ऊ आशंकित हुन्छ, कतै आफूलाई केही गर्न त यो सब गरिँदै छैन? माओवादी क्यान्टोन्मेटतिर पुलुक्क हेर्छ। र, लामो सास फेर्छ। आत्मलाप गर्दै ऊ मन बुझाउँछ। मेरो संख्या कम छ त के भो? बढी संख्या हुनेको दम आखिर पहिले देखिएकै त हो।

माओवादी र अन्य वादीको आपसी नाता जोगीदेखि भैँसी डरा, भैँसीदेखि जोगी डरा टाइपको छ। तर, प्वाक्क भन्न मिल्दैन। दुनियाँलाई भन्नैपर्दा हामी बुँदेसुँदे के के बनाएर शान्ति र संविधानको रथ हाँकिछाड्छौँ भन्नुपर्छ। नत्र शान्ति र संविधानविरोधी भइन्छ।

नांगा आँखाले शिरमाथि कालो बादल मडारिएको देख्दादेख्दै काखीमुनिको छाता कसैले पनि दान गर्दैन। कुनै शंकास्पद पात्रले नाकैअगाडि हतियार उध्याएको अनिष्टकारी दृश्य देख्दादेख्दै आफ्ना हातको हतियार कसैलाई बुझाएर कसैले पनि वैराग्यको मुद्रामा निधारमा खरानी धस्दैन। भन्नेहरूले उही काक् काक्को भाकामा तँ हतियार बुझा भनिरहलान्। हतियारधारी एक कानले सुनेर अर्को कानले उडाइदिन्छ। कुटिल मुद्रामा, कपटयुक्त भाषामा, कुत्सित मनसायले शान्तिको माला जपेर नीलो आकाशबाट शान्तिको वर्षा हुँदैन। ताली बजाउन दुई हातको मतो मिल्नुपर्छ। दुई हातबीच जब फगत गाली चलिरहन्छ तब के बज्छ ताली?

कथित शान्तिको विद्रूप कथा यही हो। राजनीतिमा धुर्त्याइँ, जालझेल, विश्वासघात र षड्यन्त्रसिवाय केही बाँकी छैन। तर, इमानसाथ यो यथार्थ भनिँदैन। भन्नै मिल्दैन। जंगी अड्डामा उपद्रवकारी युद्धको पृष्ठाभ्यास गर्न आतुर अन्तरेहरूले भन्नुपर्छ - यो सब राष्ट्रिय अखण्डता र राष्ट्रिय एकताको रक्षाका लागि हो। यो सब धनजनको रक्षाको लागि हो। यो सब राष्ट्रको गौरवका लागि हो। र, कपटयुक्त काक् काक्को प्रत्युत्तरमा अर्को पक्षले भन्नुपर्छ - हल, पर्ख। बिस्तारै पारा मिलाएर हजुरछेउ म आफ्ना लडाकु र हतियारका साथ सविनय हाजिर हुनेछु। एकातिर जोगी भैँसीको डरले कुद्दो छ, अर्कातिर भैँसी जोगीको डरले कुद्दो छ। बीचमा तीनबु"दे कपटकला अलपत्र छ।
 
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस