२३ वैशाख २०८१ आइतबार
image/svg+xml
विचार

घातक डिजिटल कुलत

मानिस कर्मशील प्राणी हो। काम सँगसँगै उसलाई आराम पनि उत्तिकै आवश्यक पर्छ। निद्रा नै आराम गर्ने उपयुक्त प्राकृतिक माध्यम हो तर मान्छेले आज आफ्नो प्राकृतिक जीवनशैलीमाथि खेलवाड गरिरहेको छ। सुत्ने समयमाथिको ढिलाइ आज समाजमा देखिँदै गएको एउटा चुनौतीपूर्ण र अपेक्षाकृत नयाँ अवधारणा हो।

निद्रासम्बन्धी यो अवधारणा र व्यवहारलाई आज कतिपय परिवारले कुनै मतलब गरेको पाइँदैन र यो कुरालाई सामान्यीकरण गर्नेहरूको संख्या दिन/प्रतिदिन बढ्दो क्रममा छ। तपाईँहरूमध्ये कसैले पनि सामाजिक सञ्जालमा भेटिने रिल, भिडियोलगायतका डिजिटल सामग्रीहरू राति अबेरसम्म स्क्रोल गर्दै निद्रा बिथोलेर बस्ने गर्नुभएको छ ? यसो गर्नुभएको छ भने सम्झनूस्, तपाईँ पनि निद्रामाथिको ढिलाइ (रिभेन्ज बेडटाइम प्रोक्रास्टिनेसन) क्लबको सदस्य बनिसक्नुभएको छ। यस किसिमको व्यवहारलाई एउटा बानी वा प्रवृत्ति मात्र भन्न सकिँदैन। यो त आजको समाजको भयानक र महामारी रोग हो। निद्राको स्वतन्त्रता र आत्महेरचाहमाथिको सिधै आक्रमण पनि हो। अहिलेसम्म निद्राको ढाँचा र व्यवहारको विषयमा गम्भीर र व्यापक अध्ययन भएको छैन तर भएका अध्ययनहरूलाई आधार मानेर हेर्दा किशोर र वयष्क उमेरका मानिसमा यो रोग वनमा लागेको डढेलो जस्तै व्यापक बन्दै गइरहेको छ।

हामीले देखिरहेका छौँ, संसार हरेक कुरामा अगाडि बढेको छ तर यसरी अगाडि बढ्दै गर्दा आइपर्ने खतरा र जोखिमहरूले हामीलाई पछाडि पनि त धकेलिरहेका छन्। अनेक किसिमका चिन्ता, तनाव र विचलनबाट मुक्ति पाउन मानिसले डिजिटल मनोरञ्जनको सहारा लिएको छ। वास्तवमा यो बाटो हाम्रो विचलित मनलाई सान्त्वना दिने समाधानको अस्थायी उपाय मात्र हो। यसले समस्याको दीर्घकालीनरूपमा पूर्ण समाधान दिन सक्दैन।

आजको डिजिटल युगका कारण हरेकका व्यक्तिगत समय तालिका निरन्तर विचलित र प्रभावित हुँदै गएका छन्। उज्यालोको समयमा अन्य कार्य व्यस्तताले गर्दा त्यसैको क्षतिपूर्तिस्वरूप डिजिटल मनोरञ्जनका नाममा सुत्ने समयतालिकामाथि बदला लिन पुगेको छ। यसलाई डिजिटल दुनियाँले मानिसको सुत्ने समयमाथि गरेको विद्रोहका रूपमा बुझ्न सकिन्छ। त्यसैले डिजिटल मनोरञ्जनले मानव जीवनको कल्याणमाथि ठूलो खतरा निम्त्याएको छ। हाम्रो स्वायत्तता र विश्रामको भावनामाथि आगो लगाएको छ।

आज हामीले नचाहेरै निद्राको बलिदान गरिरहेका छौँ। यसबाहेक राति अबेरसम्म सामाजिक सञ्जालले प्रदान गर्ने क्षणिक मनोरञ्जन र सन्तुष्टि धेरैका लागि विशुद्ध मनोरञ्जन लाग्न सक्छ तर सामाजिक सञ्जालप्रतिको आशक्ति र निद्राप्रतिको अवज्ञाले मानिसको शारीरिक र मानसिक स्वास्थ्यमा अनि जीवनको गुणस्तरमा गहिरो नकारात्मक परिणामहरू ल्याउन सक्छ। त्यसैले भन्न सकिन्छ, डिजिटल मनोरञ्जन मुखमा अमृत लेपन गरिएको विषले भरिएको घडा जस्तै हो।

विशेषगरी आजका किशोर/किशोरीको निद्रा डिजिटल संसारले खोसिदिएको छ। प्रविधिसँगको रात्रिकालीन गतिविधि र सामीप्यताले उनीहरूको सामान्य दिनचर्यालाई नराम्रोसँग बिथोलिदिएको छ। उनीहरूका निम्ति घर/परिवार, आफन्त, साथीभाइभन्दा नजिकको मित्र स्मार्टफोन बन्न पुगेको छ। किशोर/किशोरीका बीच आदान–प्रदान गरिने सूचना, सन्देश र मनोरञ्जनमूलक क्रियाकलापले कुनै युद्धमा जस्तै रातभरि नै गोलावर्षा र बमबारी गरिरहेको हुन्छ। सामाजिक सञ्जालमा उपलब्ध अनलाइन खेल र श्रव्यदृश्य सामग्रीहरूको आकर्षणले उनीहरूलाई डिजिटल मनोरञ्जनले तत्कालको सन्तुष्टिको अगुवाइ गर्छ तर यसले सामाजिक सम्बन्ध र उनीहरूको प्राकृतिक निद्रा चक्रमा गम्भीर बाधा पुर्‍याउँछ। भनिन्छ, एक दिनको अनिद्राले नौ दिन असर गर्छ, झन् त्यसमा दैनिक अनिद्राले उनीहरूमा थकान, चिडचिडापन र संज्ञानात्मक क्षमतामा नराम्रो असर निम्त्याएको हुन्छ। साथै यसले किशोर÷किशोरीहरूको स्वस्थ आनीबानी र आत्महेरचाह गर्ने कुरामा पनि बाधा पु¥याइरहेको हुन्छ।

आजका कतिपय किशोर/किशोरीहरूका अनलाइन गृहकार्य हुने गर्छन् जो मध्यरातभित्रै पठाइसक्नुपर्ने हुन्छ। यसैका कारण उनीहरू केही हतासपन र विचलित पनि भइरहेका हुन्छन्। यही हतासपन र विचलनलाई पन्छाउन उनीहरू आफ्नो फोनलाई स्क्रोल गर्न थाल्दछन्। सुरुमा एकछिन मात्र हो भनेर फोन चलाउन थाले पनि उनीहरूले रात कटेको पत्तै पाउँदैनन्। यो कुरा आजका किशोर÷किशोरीहरूको छुटाउनै नसकिने लत र प्रवृत्ति जस्तै बन्न पुगेको छ। यसरी जब उनीहरू रमाइला भिडियोहरू हेर्न, साथीहरूसँग च्याट गर्न, फोटोहरू ब्राउज गर्न थाल्छन्, तब उनीहरू गर्दै गरेको गृहकार्य पनि स्थगित गरी डिजिटल संसारमा लिप्त हुन पुग्छन्। अनि गृहकार्य बुझाउन मध्यरातको ५/१० मिनेट बाँकी रहँदा अझ उनीहरू अत्यधिकरूपमा तनावग्रस्त र विचलित हुन थाल्छन्।

किशोर/किशोरी मात्र होइन, उमेर खाइसकेकाहरू पनि डिजिटल संसारमा हराएर ढिलोसम्म अनिदो बस्ने प्रचलन सामान्य जस्तै भएको छ। खासगरी मेरो व्यक्तिगत समय (मि टाइम) का नाममा नेटफ्लिक्स शृङ्खलाको सहायतामा उनीहरूले आफ्ना सयौँ साथीका घटना, कथा र गतिविधिहरू हेर्दै र सुन्दै गर्दा आफ्नो निद्रा बिथोलिरहेका छन्।

वास्तवमा मानिसको प्राकृतिक जीवनशैली र निद्रासँग बदला लिन खोजिरहेको यो प्रवृत्तिले मानिसको शारीरिक स्वास्थ्यलाई मात्र होइन, मानसिक स्वास्थ्यलाई पनि क्षतविक्षत र तहसनहस बनाएको छ। यसैका कारण अनावश्यक तनाव सिर्जना हुने र विभिन्न किसिमका मानसिक विकृतिहरू निम्तने गर्छन्। यही ढिला सुताइ र सिलसिलाबिहीन व्यवहारका कारण किशोर/किशोरीहरूले सुरुमै शिक्षक सामाजिक सम्बन्ध र आत्मपहिचानका क्षेत्रबाट दबाब महसुस गर्छन्। अनिदोपनले यी तनावलाई झनझन बढाइरहेका हुन्छन्। जसका कारण व्यक्तिमा भावनात्मक अस्थिरता सिर्जना हुन्छ र समग्र जीवनको गुणस्तरलाई घटाउने काम गर्छ। यसले आफन्त र प्रियजनहरूबीच बेवास्ता बढाउने, आक्रोश र असन्तुष्टिको भाव वृद्धि गर्ने काम मात्र गर्छ। खाना खाने समयमा परिवारको कुनै सदस्य त्यस्तो नहोस् जसले पूरै खाना खाने अवधिभर फोन नछोएको होस्। के यस्तो कुरा मोबाइल लतको अर्को बलियो उदाहरण हुन सक्दैन र ?

हामी डाक्टरकहाँ पुगेर आफ्नो स्वास्थ्यसम्बन्धी जानकारी लिइरहँदा उनीहरूले अनिदोपनका कारण असङ्ख्य स्वास्थ्य समस्या निम्तने गरेको सुन्छौँ। मोटोपन, मुटु रोग, मधुमेह र कमजोर प्रतिरक्षा प्रणाली जस्ता जटिल रोग र समस्याहरू अनिद्राकै कारण हुने गर्छन्। न्युरो वैज्ञानिकहरूका अनुसार मस्तिष्क निद्रालाई व्यवस्थित गर्न, मस्तिष्कका नसा र कोषलाई सन्तुलित अवस्थामा राख्न निद्राले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। खासमा मस्तिष्क न्युरोन्स र न्युरोट्रान्समिटरहरूको सञ्जाल आफैँमा जटिल हुने गर्छ, जसमा हाइपोथ्यालेमस, थालामस र ब्रेन स्टेम जस्ता प्रमुख क्षेत्रहरूले निद्राका ढाँचाहरूलाई व्यवस्थित र समन्वय गर्न महŒवपूर्ण भूमिका निर्वाह गरेका हुन्छन्। अपर्याप्त निद्राले यी सबै कुराको सन्तुलनमा बाधा पुर्‍याउँछ र किशोर/किशोरीहरूको मानसिक स्वास्थ्य थप जोखिमपूर्ण र चुनौतीपूर्ण बन्न पुग्दछ। वास्तवमा सुत्ने समयको ढिलाइका कारण मानसिकता, मानसिक ऊर्जा र जीवनको समग्र गुणस्तरमा असर पुर्‍याउँछ। समयचक्रसँगै मानिसलाई हरेक क्षेत्रमा झन पछि झन् कमजोर बनाउँदै लैजाने गर्छ।

अनिद्राको सामना

वर्तमान परिवेशमा निद्रामा ढिलाइको समस्या सीमित घर/परिवारको मात्र समस्या नभई समाजको साझा समस्या बन्न पुगेको छ। त्यसैले यसलाई व्यापक दृष्टिकोणबाट सम्बोधन गरिनु जरुरी छ। यसका लागि सर्वप्रथमतः व्यक्तिले आफ्ना जीवनका प्राथमिकता र उद्देश्य के/के हुन् भनेर बुझ्नुपर्छ । मैले काम नगरी हुँदैन वा मेरो प्राथमिकता अध्ययन नै हो भनेर आफ्नो कामप्रति जिम्मेवार बन्न सके यस्तो समस्यासँग हामीले सम्झौता गर्नुपर्दैन । केही घर÷परिवारले फोन वा ग्याजेटको प्रयोगलाई सीमित गरेर एकै ठाउँ जम्मा पारेर राखी आफ्ना प्राथमिकतामा केन्द्रित भई सफलता प्राप्त गरेका उदाहरण हामीले देख्दै र सुन्दै आइरहेका छौँ । यो पनि एउटा कार्य व्यवस्थापन र मोबाइल वा ग्याजेट प्रयोगको उचित माध्यम हो।

यसैगरी स्वस्थ जीवनका लागि निद्रा किन आवश्यक छ भनी यसको महत्त्वबारे ज्ञान र शिक्षा दिन सकेमा पनि निद्राको स्वतन्त्रता र समय व्यवस्थापनको कुरालाई सहजै समाधान गर्न सकिन्छ । निद्राको आवश्यकता र महŒवका विषयमा घरमा बुबा, आमा र विद्यालयमा शिक्षक, शिक्षिकाहरूले खुला बहस गराउनुपर्छ। जस्तो कि घरमा बुबा आमाले आफ्ना बालबच्चालाई समयमा सुत्ने बानी विकास गर्नुपर्छ भनी सम्झाउने, उनीहरूलाई आराम र निद्राका लागि उपयुक्त स्थान बनाइदिने गर्नाले रातमा सुताइमा ढिलाइ गर्ने प्रवृत्तिलाई केही हदसम्म कम गर्न सकिन्छ। निद्रालाई कसैले अपहरण गर्नुहुँदैन। यो मानव जीवनका लागि अति संवेदनशील कुरा हो भनी विद्यालय पाठ्यक्रममा समावेश गर्ने तथा तनाव व्यवस्थापन एवम् तिनको सामना गर्न उपयुक्त माध्यम र स्रोतहरू उपलब्ध गराउन सक्नु पनि यसको समाधानको उपयुक्त विकल्प हुन सक्छ।

फोन प्रयोगको प्रभावकारी तरिका

सुत्नुअगाडि आफूलाई स्क्रिनमुक्त बनाइ शान्त राख्नुपर्छ साथै निदाउनुपूर्व पुस्तकहरू पढ्ने, सङ्गीत सुन्ने तथा अन्य आरामका विधि प्रयोग र अभ्यास गर्नुपर्छ। स्पष्ट र निश्चित समय तालिका निर्माण गरी आफूलाई लयबद्ध बनाउने प्रयास गर्नुपर्छ। मैले आवश्यकताअनुसार मोबाइल र ग्याजेट चलाउने हो, मोबाइल वा ग्याजेटले मलाई चलाउने होइन भन्ने कुरामा आफू प्रष्ट हुनुपर्छ। त्यसैले मोबाइल वा ग्याजेटलाई बिस्थापित गर्दै लैजान बरु निश्चित र छोटो समयका लागि टेलिभिजन हेर्न सकिन्छ। यसले तपाईँलाई धैर्य र शान्त बनाउन तथा स्क्रिनमुक्त बनाउन थप सहयोग पुर्‍याउन सक्दछ।

अहिले प्रायः सबै फोनमा डु नट डिस्टर्ब (मलाई अवरोध नगर) भन्ने विकल्पसहित आउने गर्छन्। यस्तो विकल्प आफूले चाहेको समयमा प्रयोग र सञ्चालन गर्न सकिन्छ। हामीले यस्ता विशेषताको फाइदा लिन सक्नुपर्छ। रातको समयमा अनिदो बसीबसी फोन चलाउदिन भन्ने सङ्कल्पप्रति आफूलाई दृढ राख्नुपर्छ। त्यस्तो बेला कहिलेकाहीँ फोन चलाउन मन लाग्न सक्छ तर आफ्नो सङ्कल्प पूरा गर्न आफू कठोर बन्नुपर्छ। यस्ता बेला आफूलाई अनावश्यक मोबाइल नचलाउनाले नै स्वस्थ छु र मिठो निद्रा सुत्न पाएको छु भन्ने कुरा सम्झिराख्नु पर्छ।

आफ्नो सुत्ने समयलाई परपर सार्ने र पछि सुतौँला भनेर साँच्ने गर्नाले जीवनको समग्र गुणस्तरमा हानि पुर्‍याउँछ। निद्राको अपरिहार्यता स्वास्थ्यसँग जोडिएको हुन्छ। निद्रा स्वास्थ्यको अभिन्न आधार हो भन्ने बुझाइलाई अझै सशक्त र प्रभावकारी बनाउन अति आवश्यक छ। क्षणिक आनन्द र रमाइलोभन्दा जीवनलाई दीर्घकालीनरूपमा हरकिसिमले स्वस्थ राख्नु सबैको आफैँप्रतिको दायित्व हो। यसैमा हामी सबैको कल्याण हुन्छ।

प्रकाशित: १४ वैशाख २०८१ ०७:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App