१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
विचार

किन भीम रावल चाहँदैन ओली एमाले?

जनताको बहुदलीय जनवादलाई आत्मसात गर्दै समाजको राजनीतिक आर्थिक सामाजिक सांस्कृतिक सबै पक्षका समस्याको पहिचानसहित समाधानको प्रयोग ठोस रूपमा गर्ने मूलमन्त्रका साथ करिब ७४ वर्षअघि स्थापित एमालेले आफैँभित्रको सुशासन र लोकतन्त्रलाई निमोठ्नु अशोभनीय मात्रै छैन, पार्टीकै लागि आत्मघाती अस्त्र हो।

लोकतन्त्रभित्रको सुदृढीकरणलाई संग्ल्याउनुपर्छ र मात्रै जनमुखी सुशासनको प्रत्याभूत गर्न सकिन्छ भनेर नथाकेका पार्टी नेतृत्वले नै लोकतन्त्रको सुदृढीकरण खोज्ने पार्टीभित्रै लोकतान्त्रिक चरित्रको खोजी गर्ने स्वस्थ प्रतिस्पर्धाको मार्गलाई बलियो बनाउन खोज्नेलाई पाखा लगाउने अलोकतान्त्रिक अभ्यासमा पार्टी नेतृत्व देखिनु दुःखद पक्ष हो।

एमालेले आफूलाई श्रमजीवी वर्गको राजनीतिक अगुवाका रूपमा परिचित गराउँछ। श्रमिक किसानमैत्री पार्टी भन्ने गर्छ। पार्टीको अधिकतम कार्यक्रम समाजवाद हो भन्ने उक्ति नेतृत्वले भन्न छोडेका छैनन्। तर पार्टीको चरित्रमा त्यस्तो देखिँदैन। इतिहासतिर फर्किने हो भने पनि नेपालमा कम्युनिष्ट पाटीको स्थापना दूरगामी महत्त्वको परिघटनाका रूपमा लिन सकिन्छ।

एमालेले आफूलाई राष्ट्रवादको पक्षमा उभ्याउने जमर्को गरेकै थियो। यद्यपि आफैँभित्रको जनमुखी आवाजहरूलाई भने सधैँ दबाउने, पाखा लगाउने खेलमा पनि एमाले नेतृत्व लागिपरेका घटनाक्रमले पुष्टि गरिरहेकै छन्।

पार्टीलाई लोकतान्त्रिक विधिमा हिँडाउन खोज्दा पार्टीभित्रको वैचारिकीलाई नयाँ सिराबाट स्वस्थ प्रतिस्पर्धाका रूपमा अगाडि बढाउँदै पार्टीभित्रै आजीवन त्याग र तपस्या गरेकालाई अवसरको ढोका खोलिदिन भन्ने अभियान चलाउनेहरू नेतृत्वको निसानामा परे/पारिए।

पार्टीभित्रको लोकतान्त्रिक सुदृढीकरणलाई पार्टी नेतृत्वले तिकडम, हुलहुज्जत, संगठनात्मक अराजकता, वैचारिक क्षयीकरण, दक्षिणपन्थी अवसरवादका रूपमा लिनु नै आज भीम रावल जस्ता आवाज पाखा लगाइनु हो। नेतृत्वको अहंकारवाद, एकलवाद र हैकमवादको चपेटामा पार्टीको लोकतन्त्र परेको/पारिएको कसैबाट छिपेको छैन।

पार्टीभित्र वा बाहिर कसैसँग पनि बैरभाव नराख्नु पार्टीको घोषित नीति हो भन्ने कुरालाई कुठाराघात गर्ने भिड पार्टीभित्रै सलबलाउँदा भीम रावलजस्ता नेताको बहिर्गमन हुँदैछ। नेकपा माओवादी केन्द्र र नेकपा एमालेलाई अदालतले आआफ्नो घर फर्काइदिएपछि पार्टीभित्र नेताहरू चोइटिने, छोडिने, पाखा लाग्ने, लगाउने प्रपञ्चहरू चल्न थालेका देखिन्छ।

झलनाथ खनाल, माधव नेपाल, घनश्याम भुसालहरू क्रमशः पाखा लागे। त्यसले पनि पार्टीलाई घाटा नै भयो। करिब दुईतिहाइको कम्युनिस्ट सरकार छिन्नभिन्न भयो। सातै प्रदेशको एमाले नेतृत्वको सरकार भताभुंग भयो। कारण थियो नेतृत्वको हैकमवादी चालचलन।

नेतृत्वसँग सधैं एकल लडाइँमा जुधिरहेका भीम रावल अन्ततः पार्टीबाट अलग हुने संघारमा पुगेका छन्। सर्वहारा भुइँमान्छेको आवाज हो भन्ने एमाले नेतृत्वले आफ्नै पार्टीभित्रका नेतालाई सर्वहारा भुइँमान्छे बनाउनु कस्तो लोकतन्त्र हो?

एमालेमा विशेषगरी केपी शर्मा ओलीपछिको नेता को हो? दोस्रो वरियातका नेतामध्ये पार्टीलाई सबै हिसावबाट मजबुत बनाएर अगाडि ओलीपछि कसले लान्छ? भन्ने चासो पार्टीभित्र र बाहिर छँदैछ। सबैले ओलीपछिको नेता सुवास नेम्वाङलाई बुझेका थिए तर उनको देहावसान भइसकेको छ। पार्टीमा युवालाई अगाडि ल्याउनुपर्छ भन्ने पक्ष पनि बलियो नै छ तर अहिले युवामा भरोसा भने गरेको पाइँदैन।

रावल एमालेको स्टेयरिङ चलाउन सक्ने हैसियतका नेता हुन् भन्ने धेरैको अनुमान थियो र छ पनि तर उनैलाई पार्टीले बढारेर बाहिर धकेल्न खोज्दैछ। गलत मार्गमा बरालिइएको नेतृत्वको विचारलाई सही मार्गमा हिँडाउने कोसिस रावलहरूले गर्दा पाखा लाग्नुपरेको हो भन्ने नेता पार्टीभित्रै छन्।

विशेषगरी राजनीतिशास्त्रका स्वर्णपदकधारी, अंग्रेजी र नेपाली भाषाका ज्ञाता रावल पार्टीमा गहिरो ज्ञान भएका जनमुखी नेताका रूपमा थिए र छन्। हुनसक्छ एमाले नेतृत्व उनको यही कुरासँग त्रस्त छ, त्यसैले उनीहरू चाहन्छन् उनी जहाँ, जे सुकै गरून्, जता सुकै जाऊन तर एमालेमा नरहुन्।  

प्रकाशित: १७ वैशाख २०८१ ०६:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App