२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
विचार

जो मुस्किलमा पनि मुस्कुराउँछन् !

ओरालोलाग्दो अर्थतन्त्र, अस्थिर राजनीति, अनिश्चित भविष्य अनि अन्योलग्रस्त समाज। यस्तो अवस्थामा पनि नेपालीले मुस्कुराउन छाडेका छैनन्। मुस्किलमा पनि मुस्कुराउने गरेको पछिल्लो प्रमाण हो ‘विश्व खुसी प्रतिवेदन– २०२४’। दक्षिण एसियाकै खुसी देशको लिस्टमा यसपटक पनि नेपालले पहिलो स्थान हासिल गरेको छ।

‘विश्व खुसी प्रतिवेदन– २०२४’ ले फिनल्यान्डलाई विश्वकै सर्वाधिक खुसी देश देखाउँदै गर्दा नेपाल दक्षिण एसियामा पहिलो स्थानमा परेको हो। उमेरगत हिसाबले खुसीको मापन गरिएको यो प्रतिवेदनमा ६० वर्षमाथिको उमेर समूहमा नेपाल ७६औं स्थानमा र ३० वर्षमुनिको उमेर समूहमा ९२औं स्थानमा परेको छ। खुसीको मापदण्डमा पाकिस्तान १०८आंै, भारत १२६ औं, श्रीलंका १२८औं, बंगलादेश १२९औं र अफगानिस्तान १४३औं स्थानमा रहे।  

प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन, सामाजिक सहयोग, स्वस्थ आयु, आफ्नो जीवनका छनोटको स्वतन्त्रता, आमनागरिकको उदारता र भ्रष्टाचारको स्तरसम्बन्धी आन्तरिक तथा बाह्य अवधारणाका आधारमा यो प्रतिवेदन तयार गरिएको हो। तर, भारत र पाकिस्तानजस्ता देशका भन्दा निकै कम प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन भएको नेपाल खुसी हुने मामिलामा भने उनीहरूभन्दा अगाडि कसरी सम्भव भयो त ?

‘नेपालीहरू सामान्य, अनौपचारिक र तनावमुक्त भएकाले पनि खुसी देखिएका हुन्,’ त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा भन्छन्, ‘युरोप–अमेरिकाबाट आएकाहरू पनि नेपालीको यो अनौठो मुस्कान देखेर खुसी हुन्छन्।’

नेपाली समाज ‘कम्प्रोमाइजिङ’ भएको बताउँदै गुनासो पनि कम गर्ने क्षमता नेपालीमा रहेको उनले सुनाए। ‘तीनवटा बटम हुनुपर्ने कोटमा दुईवटा बटम भए पनि नेपाली चुप लाग्छन् र भन्छन् चलिहाल्छ,’ नेपाली समाजको चरित्रबारे उनले उदाहरण दिए, ‘यदि यही विषयमा अमेरिकन अथवा युरोपियन हुँदो हो त तीनवटै बटम चाहिन्छ भन्थ्यो, कम्रोपाइज गर्दैनथ्यो।’

नेपालीका यी गुण कतिपय अवस्थामा सकारात्मक भए पनि कहिलेकाहीं यही गुणले समस्यामा पार्ने उनले बताए। ‘जीवनलाई हेर्ने दृष्टिकोणमा नेपालीको यो बानी ठिकै होला,’ उनी भन्छन्, ‘काम गर्ने सबालमा पनि यही बानी भइदियो भने त्यो त्यति व्यावहारिक नहुन सक्छ।’

मानवशास्त्री सुरेश ढकाल सनातन भनाइका कारण पनि नेपालीमा बढी सन्तुष्ट देखिएका सुनाउँछन्। आदर–सत्कार र मायाको महत्व सिक्दै आएका नेपालीले मुस्कुराउँदै स्वागत गर्ने गरेको उनले सुनाए। यसबाहेक गुनासो गर्ने बानी कम भएका कारण पनि नेपाली तनावमा नदेखिएको उनको बुझाइ छ।

तर सधैं यसलाई राम्रो मात्र मान्न नसकिने उनी सुनाउँछन्। कतिपय अवस्थामा कमजोर भएका कारण पनि सहनशील हुन बाध्य भएको भेटिन्छन्। त्यो राम्रो पक्ष नभएको उनले बताए। उनले भने, ‘सामाजिक सद्भावसहितको खुसीले समाजलाई अगाडि बढाउँछ।’  

मनोसामाजिक परामर्शदाता शर्मिला महर्जन मुलुकको मनोसामाजिक अवस्थाले खुसी बनाउने धारणा राख्छिन्। ‘नेपालीमा प्रतिस्पर्धाको भावनाभन्दा पनि ‘केयर’ को भावना धेरै छ,’ महर्जनले सुनाइन्, ‘त्यसैले प्रतिकूल आर्थिक अवस्थामा पनि नेपाली मुस्कुराइरहेका भेटिन्छन्।’

भूकम्प र नाकाबन्दीको कठिन समयमा पनि पालभित्र मुस्कुराइरहेका मनहरू भेटेको सुनाउँदै त्यति बेला खाने मात्र होइन, मिलेर खाने गरेको दृश्यले धेरैको ध्यान छोएको उनले सुनाइन्। त्यस्तै कोभिडको कठिन समयमा पनि नेपालीले मुस्कुराउन नछाडेको उनी सुनाउँछिन्। ‘जस्तोसुकै कठिन अवस्थामा पनि अरूको केयर गर्ने नेपालीपन मरेको छैन,’ उनले थपिन्, ‘जीवन्त खुसीको मुख्य राज यही हो।’

उनको जस्तै धारणा राख्छन् मनोचिकित्सक विश्वबन्धु शर्मा पनि। नेपालीहरू अरूलाई चाँडै विश्वास गर्ने भएकाले पनि खुसी देखिएको हुनसक्ने उनको अनुमान छ। ‘कसैले गरेको वाचामा पनि नेपाली खुसी भइहाल्छन्,’ उनले भने, ‘तर यही विश्वासले गर्दा कतिपय अवस्थामा ठगिएका पनि छन्।’ नेपाली खुसी र विनम्रताबाट विदेशी पनि निकै प्रभावित बनेका थुप्रै उदाहरण भेटिन्छन्।

२०७२ सालको भूकम्पको समयमा समाचार सम्प्रेषण गर्न आएका एक विदेशीले नेपाली विनम्रताको खुलेर प्रशंसा गरे। ‘नेपालकी यी महिलाले भूकम्पबाट आफूसँग भएको सबै थोक गुमाए पनि अरूलाई दिउँसोको खाना खुवाउँछिन्,’ २०७२ सालको भूकम्पलगत्तै पत्रकार माइक रबर्टस्ले साँखुकी महिलाको हँसिलो तस्बिरसहित ट्विट गरेका थिए– ‘हम्बलिङ’।

साँखुकी कान्छीमाया शाक्यको तस्बिरसहितको त्यो ट्विट संसारभर फैलिएको थियो। एक वर्षपछि कान्छीमायालाई भेटेर उक्त समयको कुरा सोध्दा उनको अनुहार हँसिलै थियो। भूकम्पले भत्काएको घर बनेको थिएन र उनको मन अझै ठडिएकै थियो। ‘भूकम्पको बेलामा हामीले सक्दो सहयोग गरेका हौं,’ उनले भनेकी थिइन्, ‘बरु राज्यले सोचेजस्तो गरेन।’ उनले यसो भन्दा पनि अनुहारमा मुस्कान कायमै थियो।

पीडामा पनि मुस्कुराउन सक्ने नेपाली समाज निकै रहरलाग्दो रहेको धेरैको बुझाइ छ। समय र कालखण्डमा अनगिन्ती दुःख र पीडा खपेका नेपालीलाई अब कुनै दुःखले पनि नछुने कतिपयको बुझाइ छ। अझ यसमा धार्मिक मान्यता र सकारात्मक सोचले पनि नेपालीलाई अरूभन्दा फरक बनाएको छ।

आमनेपालीमा रहेको आध्यात्मिक पक्ष पनि आफ्नो ठाउँमा छ। अध्यात्म, जीवन जगत्लाई हेर्ने दृष्टिकोण र अब केही राम्रो होला भन्ने आशाले मानिसलाई सुखी बनाउने हो। यस्तो गुण भने नेपालीमा भलिभाँती देखिन्छ। त्यसैले होला, अध्यात्ममा बढी रुचि राख्ने प्रभा विष्टले धार्मिक भावनाका कारण पनि नेपाली बढी खुसी भएको हुनसक्ने सुनाइन्। 

‘तिमी कर्म गर फलको आशा नगर भन्ने कथनले पनि नेपालीलाई खुसी बनाएको हुनसक्छ,’ विष्ट अनुमान गर्छिन्, ‘त्यसैले नोक्सान हुँदा पनि भगवान्को लीला भनेर चुप लाग्छन्।’ मनोविज्ञ शर्मिला भने यसलाई प्रमुख कारण मान्न तयार छैनन्। ‘सकारात्मक मनोसामाजिक भावना नै मुस्कुराउने प्रमुख कारण हो,’ उनले थपिन्, ‘अन्य कुरा पछि आउँछ।’

नेपालीलाई खुसी हुन कुनै कारण नै चाहिन्न। दाँत भएका मात्र होइनन्, एउटै दाँत भएकाहरू पनि अझै केही त छ भन्ने हिसाबले मुस्कुराइरहेका भेटिन्छन्। धान फल्ला नफल्ला, खेती सकाएपछि किसान मुस्कुराउँछन्। परीक्षा जस्तोसुकै बितोस्, परीक्षा सकिएपछि विद्यार्थी मुस्कुराउँछन्। चङ्गा चेट हुँदा होस् या आकासिँदा, बालबालिका रमाउँछन्। फागुको रङ अरूको अनुहारमा दल्दा मात्र होइन, आफ्नै अनुहारमा पोतिँदा पनि उत्तिकै खुसी हुन्छन्।

महाव्याधिले खोस्न नसकेको खुसी  

नेपालीहरू मुस्किलमा पनि कसरी मुस्कुराउँछन् भन्ने उदाहरण कोरोनाकालमा भक्तपुरमा देखिएको थियो। रोगसँगै जीवन मरणको युद्धमा संसार थियो। तर यहाँका प्राचीन पाटीमा बसेका वृद्धवृद्धाको अनुहारमा रत्तीभर क्लेश थिएन। उनीहरू केही नबुझेर मुस्कुराएका मात्र थिएनन्, मुस्कुराएको कारण दिन समेत सक्षम थिए।

मध्यकोरोनाकालमा सात दशक उमेर पार गरिसकेका भक्तपुरका हर्षलाल कुसीलाई भेट्दा उनको अनुहारमा बिस्मातको अँध्यारो थिएन। कोरोना महामारीका कारण अन्यले जस्तै उनले समस्या नभोगेका होइनन्। तर, लकडाउनको सानो घेरामा खुम्चिनुपरे पनि कोरोनाको त्रास उनको फराकिलो अनुहारमा पटक्कै देखिएन।

‘अँध्यारो अनुहारले कोरोना भाग्ने होइन,’ उनले त्यति बेला मुस्कुराउँदै भने, ‘त्यसैले हामीले हाँस्न छाडेका छैनौं।’ लकडाउनका कारण अन्यले जस्तै उनले पनि विभिन्न समस्या भोगे। खेतीपातीदेखि बजार–व्यवसाय सबै क्षेत्र प्रभावित भए। तर उनी निराश भएनन्।

‘नगरपालिका र सरकारले भनेका नियम पालना गर्दै होसियारी गर्ने गरेका छौं,’ उनले भने, ‘यही बिचमा साथीहरूसँग बसेर मुस्कुराउन छाडेका छैनौं।’  उनी मात्र होइन, त्यतिबेला कोरोना महामारीका माझ पनि सांस्कृतिक नगरी भक्तपुरको मुस्कान हराएन।

नाचगानको सहर भक्तपुर लकडाउनले केही थामिएजस्तो देखियो। पर्यटकको चहलपहलले गुलजार हुने दरबार क्षेत्र सुनसान रह्यो। जात्रा र पर्वले भरिभराउ हुने यहाँका गल्लीमा चहलपहल रहेन। गीतसंगीत र भजनले गुञ्जायमान हुने पाटीहरू प्रायः रित्ता बने। तर, भक्तपुरभित्रको भक्तपुरको मुस्कान पटक्कै हराएन।  

गछेटोलमा किराना पसल चलाउँदै आएकी गणेशकुमारी ज्ञानमरूले पनि जीवनमा थुप्रै समस्या आए पनि मुस्कुराउन नछाडेको सुनाएकी थिइन्। थर ज्ञानमरू (अज्ञान) भए पनि जीवन जिउने कला उनले जानेकी थिइन्। ‘हामी होसियार भएका छौं,’ उनले त्यति बेला भनेकी थिइन्, ‘तर डराएका छैनौं।’

उनीहरूलाई एक दिन राम्रो हुन्छ भन्ने विश्वास थियो। ‘चाँडै सब ठिक हुन्छ भन्ने विश्वास छ,’ ८५ वर्षे भरत प्रजापतिले भनेका थिए, ‘अनि हाम्रो सांस्कृतिक नगर पहिलेकै रूपमा फर्कने छ।’ नभन्दै वैशाखको बिस्कामा उपत्यका सिन्दूर दल्दै रमायो। भरतले भनेजस्तै सांस्कृतिक नगरीमा मात्र होइन, सिङ्गो नेपाल उत्सवमा रमायो।

भूकम्प र नाकाबन्दीको कठिन समयमा पनि नेपालीको मन भत्कन सकेन। नेपाली समाज आत्तिएन बरु एकअर्कासँग मिलेर समस्याको समाधान निकाल्यो। हातेमालो गर्दै भत्किएका संरचना उठायो। नाकाबन्दीको अभावमा रोटी बाँडेर खाए। जीवन फेरि जुर्मुरायो। अनि आफ्नै लयमा फर्कियो र मुस्कुरायो।

नेपालीहरूमा मुस्किलमा पनि रमाउन सक्ने अद्भुत क्षमता भएको मनोसामाजिक परामर्शदाता डा. नम्रता पाण्डेय सुनाउँछिन्। मुस्किलमा समेत हरेस नखाने यो समाजमा यदि सहजता आउने हो भने समाज सबैभन्दा अब्बल हुने उनको बुझाइ छ।

‘मुलुकको आर्थिक, सामाजिक र राजनीतिक अवस्था सुध्रिने हो भने हामी खुसीको निकै माथिल्लो स्थानमा पुग्ने छौं, पाण्डेय भन्छिन्, ‘त्यो दिनको कल्पनाले मात्र पनि नेपाललाई झनै खुसी बनाउने छ।’

प्रकाशित: १७ वैशाख २०८१ ०९:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App