सच्याउनुपर्ने अदालती आदेश
२८ भदौ २०८१
•
७ मिनेट पाठ
सच्याउनुपर्ने अदालती आदेश
सर्वोच्च अदालतले २०८० पुस ३ मा नदीसम्बन्धी एउटा मुद्दामा फैसला गर्‍यो- उपत्यकाका सबै खोलाको दायाँबायाँ ‘थप’ २० मिटर छाडेर मात्र निर्माण गर्न पाइने। फैसला सात महिनाअघि नै भए पनि यसको पूर्ण पाठ भर्खरै आएपछि उपत्यकाबासी झसङ्ग हुन पुगेका हुन्।




यो फैसलालाई सोझो अर्थमा बुझ्दा खोलाको दायाँ वा बायाँ ४० मिटरभित्र जग्गा हुनेले अब त्यसमा कुनै निर्माण कार्य गर्न पाउँदैन। जसले बनाइसकेको छ, त्यो पनि कुन दिन भत्काउनुपर्ने हो भन्ने कुनै ठेगान छैन। किनकि कानुनबमोजिम नक्सा पास गरी पहिले नै भवन आदि संरचना निर्माण गरिएको अवस्थामा नदी किनार क्षेत्रमा सडक, ढल वा प्रशोधन केन्द्र आदि संरचनाहरू निर्माण गर्न र नदी तथा खोलाहरूको सहज प्रवाहका लागि आवश्यक पर्ने जग्गा क्षतिपूर्ति प्रदान गरी प्राप्त गर्ने पनि सोही फैसलामा उल्लेख छ।

कसरी भयो फैसला?

१. २०६५ मङ्सिर १ को मन्त्रिपरिषद् बैठकले वाग्मती, विष्णुमती र मनोहरा किनारका २० मिटर क्षेत्रभित्र संरचना बनाउन नपाइने निर्णय गरेको थयो। उक्त निर्णयले धेरैलाई अन्यायमा पारेको भन्दै सुरु भएको विरोध अहिलेसम्म जारी छ। अर्थात् यो निर्णय भइसकेपछि पनि कतिले अझै मुआब्जा पाएका छैनन् भने कतिपयका मुद्दा अझै जारी छन्। यही गन्जागोलबीच अहिले फेरि सर्वोच्च अदालतले त्यसमा पनि दुवैतिर थप २०/२० मिटरमा निर्माण नगर्न र निर्माण भएका वा प्रयोगमा रहेकालाई पनि असुरक्षित तुल्याइदिएपछि हजारौँ स्थानीय मर्कामा  पर्ने छन्।

काठमाडौँका एमाले नेता तथा वाग्मती प्रदेशका पूर्व भौतिक विकास मन्त्री रामेश्वर फुयाँलका अनुसार अदालतको यो फैसला कार्यान्वयन भएमा सिङ्गो उपत्यकामा एक लाख परिवार प्रभावित हुनेछन् भने स्थानीयले करिब तीन लाख कित्ता जग्गा गुमाउनुपर्नेछ। समग्रमा ६ लाख मानिस समस्यामा पर्नेछन्। यसमध्ये कैयौँ परिवारको अन्यत्र जमिन नभएकाले यो निर्णय कार्यान्वयनसँगै उनीहरू सुकुमबासी हुनेछन्।

२. यसअघि निर्माण भइसकेका संरचना तत्काल भत्काउन वा हटाउन नभने पनि यस्तो फैसला भइसकेपछि कानुनतः त्यो कुनै पनि बेला हट्न वा भत्कन सक्ने त्रास रहन्छ। अर्थात् न यो सुरक्षित भयो न त ढुक्कसँग यसैका आधारमा केही गर्न सकिने भयो। यस्तो क्षेत्रभित्र बनेका घर/संरचनालाई पनि खोटो बनाइदियो फैसलाले।

अब यस्तो जग्गा/संरचना न कसैले किन्छ न त वित्तीय संस्थाले धितो स्वीकार गर्छ। मानिसले जिन्दगीभरको पसिना हालेर किनेको वा पुख्र्यौली जग्गा बेचेर वा धितो राखेर खाँचो टार्न नपाएपछि ऊ विचल्लीमा पर्छ। यसको क्षतिपूर्ति कसरी हुन सक्छ ?

३. नोबेल पुरस्कार विजेता प्रा. डेन सेटम्यानले भनेका छन्- ‘दिगो विकासका लागि मानवीय वृद्धि चाहिन्छ। त्यसका लागि जनता सबैभन्दा महत्त्वपूर्ण स्रोत हुन।’ अहिले अदालतले जे फैसला गरेको छ, त्यसले स्थानीयलाई भड्काउने काम गरेको छ। दुनियाँमा कुनै पनि प्राकृतिक स्रोत, चाहे त्यो ज·ल होस् या नदी, सिमसार होस् या निकुञ्ज, स्थानीयको सहयोगबिना संरक्षण भएका इतिहास पढ्न पाइन्न। तर यो फैसलाले स्थानीयको यो भूमिकालाई बेवास्ता गरेको छ। यसैले फैसला कार्यान्वयन नै शङ्कामा पर्नु स्वाभाविक हो।

४. देवका पनि देव महादेवको मन्दिर पशुपतिनाथ सार्न सम्भव छ ? गुहेश्वरी सारिन्छ ? थापाथलीको प्रसूति गृह सार्न सहज छ ? थापाथली चोकदेखि टेकूसम्मका धार्मिक थलो, सत्तल कसरी सार्न सकिन्छ ? आर्यघाट संरचना हो कि होइन ? ४० मिटर वरपरलाई संरचनाबिहीन बनाउने भएपछि यो घाट कहाँ सारिन्छ ? बस्तीमा शव जलाउन मिल्छ ? यी सबै यस्ता थलो हुन् जससँग पाइला पाइलामा नेपालीको संस्कार जोडिएको छ। के  संस्कार सारेर सारिन्छ ? अनि कुनै संरचना नसारे पनि हुने, कुनैचाहिँ सार्नैपर्ने पक्षपात गर्न पाइन्छ विधिको शासनमा ? त्यसैले पनि यो फैसला कुनै पनि दृष्टिकोणबाट विवेकसम्मत मान्न सकिन्न।

मुआब्जाको कुरा

५० वर्षअघि अर्थात २०३१ सालमा पञ्चायत स्मारक बनाउन भनेर सरकारले विमानस्थलनजिक, तीनकुनेको ३५ रोपनी जमिन अधिकरण गरेको थियो, प्रतिरोपनी चार हजार रूपैयाँ दिने गरी। तर कसैले थोरै भयो भनेर नलिँदा, कोही अदालत जाँदा र कतिपय अवस्थामा सरकारले दिन नसक्दा यहाँको किचलो अहिलेसम्म जारी छ। यति थोरै जमिनको मुआब्जा विवाद त ५० वर्षसम्म सुल्टाउन नसक्ने सरकारले करिब तीन लाख कित्ताको मुआब्जासहितको व्यवस्थापन कसरी गर्न सक्छ?

फैसलाबारे अध्ययन गर्न सरकारले गठन गरेको सहसचिव पदम मैनाली संयोजकत्वको समिति (भदौ २५ गते बुझाइएको) ले फैसला कार्यान्वयनमा लैजाने हो भने आठ हजार घर र ३० हजार रोपनीको मुआब्जा दिनुपर्ने उल्लेख गरेको छ।

एउटा घरको एक करोडले मात्र हिसाब गर्दा पनि आठ हजार घरको ८० अर्ब रूपैयाँ आवश्यक पर्छ। त्यसैगरी प्रतिआना औसतमा २५ लाखका दरले मात्र राख्ने हो भने पनि ३० हजार रोपनीको  १२ खर्ब रुपियाँ चाहिन्छ।

नेपालको आर्थिक वर्ष २०८१/८२ को बजेट नै १८ खर्ब ६० अर्ब ३० करोड रूपैयाँ छ। जसमा ११ खर्ब ४० अर्ब त चालु/नियमित खर्च छ। अनि राजस्व अनुमान १२ खर्ब ६० अर्ब रूपैयाँ छ। यस्तो अवस्थामा १२ खर्ब ८० अर्ब रूपैयाँ कहाँबाट ल्याएर मुआब्जा दिन सक्छ यो हरितन्नम सरकारले ? यसर्थ पनि यो फैसलामा विवेक अभाव देखिन्छ।

महानगर प्रमुखको रहस्यमयी कर्म

मुलुकमा न्यायिक र अर्धन्यायिक निकायले गर्ने सबै फैसला कार्यान्वयन भएका छैनन्। एकातिर नेताहरू संसद् र सार्वजनिक कार्यक्रमहरूमा भाषण ठोकिरहने, विभिन्न पदमा कायम रहने तर सुरक्षाकर्मी भने तिनलाई ‘फरार’ देखिरहने मुलुक हो यो।

सर्वोच्च अदालतको प्रतिवेदनअनुसार नै पनि २०८० असारसम्म एक लाख नौ हजार वर्षभन्दा बढी कैद र ३९ करोड ८४ लाख रूपैयाँभन्दा बढी असुल हुन बाँकी छ। यस्तो अवस्थामा सर्वोच्चको थप २० मिटरसम्बन्धी पूर्ण पाठ आएलगत्तै काठमाडौँ महानगरपालिका प्रमुखले अन्य जनप्रतिनिधिलाई समेत थाहै नदिई अदालतको यो आदेश कार्यान्वयनका लागि सूचना जारी गर्नु पनि रहस्यमय छ।

हुन त उनले यसअघि पनि सुकुमबासी बस्तीमा डोजर लगाएर होस् वा जीविकोपार्जनका लागि फुटपाथलाई सहारा बनाएकाहरूको हुर्मत लिएकै हुन्। आफ्नो सम्पत्तिको रक्षा गर्न पाउने, त्यसको परिचालन गरेर जीवन उन्नत बनाउन पाउने तथा गरिखान पाउने जनअधिकारमाथि बारम्बार धावा बोलेर उनले कसको सेवा गरिरहेका छन् भन्ने प्रश्न पनि यतिबेला टड्कारो बनेको छ।

आफ्नो कार्यक्षेत्रका जनताको पीरमर्का सुनेर त्यसको कानुनी समाधानतर्फ अग्रसर हुनुपर्ने भूमिकायुक्त स्थानीय सरकार स्वयं परपीडक बनेपछि जनतासँग आन्दोलनको के विकल्प रहन्छ र?

के गर्ने त?

अहिले सामान्य पानी पर्दा पनि बाढी आउने र बस्तीभित्र पसेर ताण्डव निम्त्याउने गरेको ध्रुवसत्य हो। तर यो सबैको कारक नदीछेउ जग्गा भएकाहरू मात्रै हुन त ? नदी किनारमा जमिन हुने सबैले अतिक्रमणै गरेका हुन त ? यहाँ कसैको पुख्र्यौली सम्पत्ति हुन सक्दैन ? कसैले जिन्दगीभरको पसिना हालेको हुन सक्दैन ? काठमाडौँ बाँचेको यहीँका वाग्मती, विष्णुमती, मनमती र इच्छुमती जस्ता नदीको उत्पादनले हैन? के यी सबै जमिनमा खोलै बग्थ्यो त पहिले पहिले ? त्यसैले खोला/बाढीले पनि हानि नगर्ने र स्थानीयलाई पनि मर्का नपर्ने रणनीति अपनाउनु यो समस्याको उचित समाधान हुन सक्छ।

पहिलो कुरा त सबै फैसलाले न्याय नै दिन्छन् भन्ने हुँदैन। दोस्रो कुरा, सबै निर्णय न्यायकै लागि गरिन्छन् भन्ने पनि हुँदैन। अनि सबै निर्णयकर्ताको मन न्यायिक नै हुन्छ भन्ने पनि हुँदैन। कहिलेकाहीँ फैसलाकर्ताको मन बहकिन पनि सक्छ र यस्तो बेला विवेकले प्राथमिकता नपाउन पनि सक्छ। त्यसैले सर्वप्रथम यो फैसलाप्रति पुनरवलोकनको जुन चौतर्फी ‘सुझाव’ उठिरहेको छ, त्यहीमार्फत सच्याउने हो। यसमा अप्ठेरो मान्नुपर्ने कुनै कारण नै छैन किनकि महात्मा गान्धीले पनि भनेकै छन् कि न्यायको अदालतभन्दा माथि अर्को उच्च अदालत छ र त्यो भनेको विवेकको अदालत हो।

वाग्मती, धोवीखोला आदिका अधिकांश भागमा करिडोर बनिसकेको छ। मनोहरा नदीमा पनि जडीबुटीदेखि माथि पेप्सीकोला हुँदै मूलपानीतर्फ करिडोरको अवधारणाअनुसार खोला च्याप्ने केही काम भएको (अहिले भने खोइ किन हो रोकिएको) देख्न सकिन्छ। तसर्थ नदीको दायाँ/बायाँ २० मिटर छाड्नुपर्ने पहिलेकै नियम कायम राख्ने र दुवैतर्फ करिडोरको अवधारणा अघि बढाउनुपर्छ। यसो गर्दा २०२१ सालको नापीलाई आधार मान्नुपर्छ जसले गर्दा खोलो कहाँबाट हिँडाउने भन्ने विवाद हुँदैन। मनोहराको सवालमा पनि यही नियम लागु गरिएको छ। जसअनुसार पेप्सीकोलाबाट सानोथिमीतर्फ जाने क्रममा मनोहरा पुल तरेपछि उत्तरतर्फ देखिने आकर्षक रेस्टुरा र होटलहरू नदी करिडोरलाई कसरी आकर्षक बनाउन सकिन्छ भन्ने उदाहरण हुन्।

नदीलाई बलियो पर्खालले च्याप्ने, त्यसका दुवैतर्फ रुख लगाउने अनि करिडोर निर्माण गर्ने र करिडोरबाहिर निश्चित स्थानहरूमा मनोरञ्जन, रेस्टुरा, सैलुन, पार्क आदिका ‘हब’ निर्माण गर्न सकिन्छ। यसो भएमा आफ्नो क्षति रोक्नकै लागि पनि खोलालाई व्यवस्थित गराउने कार्यमा स्थानीय नै लागि पर्नेछन्। यो कामको पहल कदमीचाहिँ सरकारले नै लिनुपर्छ। ततर यस्ता सम्भावित पक्षमा ध्यान नदिने, उल्टै असम्भव फैसला गर्ने र त्यो फैसला कार्यान्वयन गर्छु भनेर जनतालाई आतङ्कित पार्दै हिँड्ने काम आन्दोलनको आँधीबेहरीलाई निम्तो मात्र हो।

अन्त्यमा,

केही समयअघि मात्र ब·लादेशमा विद्यार्थीले सुरु गरेकासरकारी जागिरमा आरक्षण विरोधी आन्दोलनकै क्रममा त्यहाँको सर्वोच्च अदालतले आरक्षणको प्रतिशत ५६ बाट झारेर सातमा ल्याएको थियो। त्यसमा पनि आन्दोलनको तारो बनेको मुक्ति योद्धाका लागि ३० बाट पाँच प्रतिशत मात्र हुने फैसला गरेको थियो। तर पनि आन्दोलन रोकिएन। सत्तै ढल्यो। प्रधानमन्त्री देशै छाडेर कुलेलम ठोक्नुपर्ने अवस्था आयो। बरु प्रधान न्यायाधीशलगायत आधा दर्जन न्यायाधीशले राजीनामा दिनुप¥यो। समय घर्किएपछिको औषधिले उपचार नहुने पाठ यो घटनाबाट पनि सिक्ने कि ?
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १० मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस