प्रचण्ड र पोलपोटको मखुन्डो
१२ असार २०६७
•
१५ मिनेट पाठ
प्रचण्ड र पोलपोटको मखुन्डो
आफ्ना स्वार्थ समर्थक नेतालाई देवता बनाइदेऊ, विरोधीलाई राक्षस। यो सूत्रवाक्य हो- तथ्य, प्रमाण र कार्य-कारण नखोतल्ने संस्कृति भएको समाजको। विवेकलाई स्वार्थको पाउमा बन्धकी राखेर कसैलाई 'गड' र कसैलाई 'डग' बनाउने संस्कृतिबाट नेपाली समाज ग्रस्त छ।
विगतमा प्रचण्डदेखि गिरिजाप्रसाद कोइरालालाई देवताजस्तै बनाउन खोजियो, जसले विवेक र आलोचनात्मकता होइन, अन्धता र दासता बढाएको देखियो।

देवत्वकरणकै एउटा पाटो हो, आफ्नो स्वार्थविरोधीलाई राक्षसीकरण गर्ने प्रवृत्ति। शत्रु, विरोधी र प्रतिस्पर्धीलाई जनताका आँखामा राक्षस बनाऊ अनि जनमानसमा बस्ने राक्षसको भयलाई दुहेर स्वार्थसिद्धि गर। यही सूत्रको प्रयोग अचेल माओवादी अध्यक्ष प्रचण्डमाथि पनि गरिँदैछ। यसकै उदाहरण हो, प्रचण्डलाई कम्बोडियाका पूर्वप्रधानमन्त्री पोलपोटका रुपमा प्रस्तुत गर्ने अभियान। प्रचण्डको अनुहारमा पोलपोटको डरलाग्दो मखुन्डो भिराएर जनमानसमा त्रास सञ्चार गर्नु अनि त्यही त्रास दुहेर स्वार्थसिद्धि गर्नु यस अभियानको अभीष्ट हुनसक्छ।

भय-दोहनकै क्रममा वामपन्थी-वृत्तलाई पोलपोटको प्रेतका रुपमा चित्रण गर्ने काम न पहिलो हो, न अन्तिम। अहिले माओवादीलाई 'खमेर रुज' (लाल खमेर)का हकवाला र प्रचण्डलाई खमेर रुज नेता पोलपोटका नातेदारका रुपमा प्रस्तुत गरिँदैछ। पोलपोटले खमेर रुजको शासनकालमा दसौँ लाख कम्बोडियालीको हत्या गरेको र जघन्य अत्याचार गरेको प्रचारलाई पनि ऐतिहासिक सत्यकै रुपमा स्थापित गर्न खोजिँदैछ। यसैक्रममा प्रचण्डले पोख्ने आक्रोशमा त्यस्तै अत्याचार र नरसंहार गर्ने नियतको झलक पाइएको प्रचार पनि गरिँदैछ।

म न पोलपोटका अन्ध-समर्थक हुँ, न त प्रचण्डकै अन्धविरोधी। तर, समग्र वामपन्थलाई सिकार गर्न थालिएको यस्तो प्रचारबाजीमा निहित स्वार्थजन्य अन्धता र गोयबल्स शैलीको पोपोगाण्डाको भने विरोधी हुँ। त्यसैले मेरो मनमा प्रश्न उठेको छ, आफ्ना स्वार्थका विरोधी हुँदैमा माओवादी र प्रचण्डलाई खमेर रुज र पोलपोटसँग तुलना गर्नु उचित होला? म खमेर रुजको शासनकालमा कम्बोडियाली जनतामाथि कुनै अत्याचार भएन भन्ने पक्षमा छैन। न त प्रधानमन्त्री पोलपोटका खमेर रुज छापामारबाट कोही मारिएनन् भन्ने पक्षमै छु। तर, मेरो मस्तिष्कमा उठेको सबाल के हो भने अमेरिका र अमेरिकी समर्थन-प्राप्त शासनविरुद्ध युद्ध गर्दै क्रान्तिबाट सत्तासीन खमेर रुज नरसंहारकारी आन्दोलन नै थियो र? दसौँ लाख कम्बोडियालीको हत्या गर्ने नरसंहारकारीका रुपमा बदनामीको विशाल भारी बोकाइएका खमेर रुजले ४४ महिनाको छोटो शासन अवधिमा महिनाको २५-३० हजारका दरले मान्छे मारेका होलान् त?

प्रमाण र विवेकबिनाको प्रचारबाजीले मेरो मन-मस्तिष्कमा प्रश्न उठाएको छ: 'किलिङ फिल्ड्स' (बधशाला)का रुपमा कुख्यात कम्बोडियाको रक्ताम्य इतिहासमा खमेर रुजलाई मात्रै किन नरसंहारकारीका रुपमा बदनाम गरियो? के कम्बोडियामाथि सन् १८६३ देखि १९५३ सम्म शासन चलाउने फ्रान्सले अहिंसा र शान्तिले भरिपूर्ण भू-स्वर्ग बनाएको थियो? लगभग सय वर्षको औपनिवेशिक शासनबाट मुक्तिपछि राजकुमार नरोद्दम सिंहानुकले चलाएको दुई दसक लामो राजतन्त्रले 'बुद्धिस्ट सोसलिज्म' निर्माण गरेको थियो? सन् १९७० मा सिंहानुकको राजतन्त्रलाई सैनिक बल र अमेरिकी बुद्धिका आधारमा कु देताँद्वारा फ्याक्ने प्रधानमन्त्री तथा सेनापति लोननोलले राजधानी नोम्हपेन्हमा गरेको हजारौं भियतनामी शरणार्थीको हत्या के नरसंहार थिएन? लोननोललाई अर्ती र अस्त्रको कोसेली दिने अमेरिकाले दसौँ वर्षसम्म सैन्य अभियान चलाउँदा कीराफ्ट्याँग्रामात्रै मारिएका थिए?

खमेर रुज र पोलपोटलाई मात्रै नरसंहारकारी देख्ने अन्धताग्रस्त व्यक्तिहरूले बेवास्ता गर्ने पक्ष हो: कम्बोडियामा औपनिवेशिक र नवऔपनिवेशिक शासन चलाउने फ्रान्सदेखि अमेरिकाले चलाएको नरसंहार, सिंहानुकको राजतन्त्र र लोननोलको सैन्य शासनले थोपरेको हिंसा र आतंकको ताण्डवनृत्य। त्यसबेला मारिएका लाखौँ कम्बोडियालीको रगत पनि 'शान्तिका लागि' दिइएको रक्तदान होइन। त्यतिखेर जलेका गाउँबस्तीबाट सहरतिर लखेटिएका र खुट्टा दुईतिर फटाएर शरीरै च्यातिएका हजारौँ गाउँलेलाई पनि 'लोकतन्त्रका लागि' बलि दिइएको पक्कै होइन। अमेरिकाले भियतनाम र लाओसमा जस्तै कम्बोडियामा कम्युनिष्ट सखाप गर्ने नाममा गरेको भिषण बमवर्षा र नरसंहार पनि 'शान्ति र लोकतन्त्रको आवरण' दिइनाले पवित्र भएको होइन। तर, यस्ता नरसंहारको दुःखद् इतिहास चटक्कै बिर्सन्छन् हाम्रा प्रजातान्त्रिक नेताहरू।

उनीहरूले कहिल्यै उच्चारणसमेत नगर्ने इतिहास हो, अमेरिकाले १८ मार्च १९६८ बाट थालेको गोप्य बमवर्षा, हवाई सेना र स्थल सेनामार्फत् गरेको कार्पेट बम्बिङ। त्यस्तै १८ मार्च १९७० मा सिआइएमार्फत् सिंहानुकको राजतन्त्रविरुद्ध गरिएको सैनिक विद्रोह सफल भएपछि खमेर रुज छापामार र खमेर रुज समर्थक गाउँलेमाथि गरिएको हिंसा र दमनबारे पनि उनीहरू बोल्नै चाहँदैनन्। उनीहरूले मुख खोल्नै नचाहे पनि 'जनरल अकान्टिङ अफिस'ले खोलेको कटु तथ्य हो: खमेर रुज र सिंहानुकवादी सैनिकको प्रतिरोध नष्ट गर्न १९७० को आधा दसकसम्म गरेको भीषण बमवर्षा, असंख्य नागरिकको संहार, गाउँबस्तीको विनाश अनि ७० लाख जनसंख्या भएको देशमा ३० प्रतिशत जनतालाई आन्तरिक शरणार्थीका रुपमा सहरतिर खेद्ने अभियान। खमेर रुजले सहरबाट गाउँतिर मान्छे लखेटेको आरोपमात्र लगाउँदै खेदो खन्नेहरू यो तीतो इतिहासबारे किन मौन छन्?

अमेरिकी विद्वानद्वय नोम चोम्स्की र एडवर्ड एस. हर्मनले 'म्यानुफ्याक्चरिङ कन्सेन्ट'मा गरेको विश्लेषणअनुसार तोपको आक्रमण र बी ५२ विमानद्वारा गरिने बमवर्षाबाट धेरै संख्यामा कम्बोडियाली शरणार्थी बन्ने र मृत्युको मुखमा पुग्ने काम भयो। फिनिस इन्क्वायरी कमिसनको अनुसन्धान र सिआइएको आँकलनअनुसार ६ लाख मानिसको हत्या भयो र २० लाख मानिस शरणार्थी भए। अमेरिकाद्वारा इन्डो-चाइना युद्धको क्रममा नियोजित र व्यवस्थित रुपमा गरिएको कम्बोडियाको विनाशकै जगमा अमेरिकाद्वारा थोपरिएको हिंसाचार र लोननोलको सैन्यवादी शासनको आतंकविरुद्ध विकल्पको रुपमा उदायो खमेर रुज। कम्बोडिया मामिलाका विज्ञ मिसेल भिकरीका अनुसार सिंहानुकको राजतन्त्रकालमा सानो छापामार समूहको रुपमा क्रियाशील खमेर रुज अमेरिकी हिंसा र आतंकको सिकार भएको भित्री कम्बोडियाका लाखौँ किसानको बलमा सशक्त छापामार आन्दोलनको रुपमा फैलियो।

सन् १९७० को दसकको आधाआधीतिर पुग्दा अमेरिकी आक्रमण र गृहयुद्धको विस्तारका कारण गाउँवस्ती खण्डहरमा, जंगल र जमिन मरुभूमिमा र नोम्हपेन्हजस्ता सहर 'हरर च्याम्बर'मा फेरिए अनि वार्षिक १ लाख मानिस भोकका कारण मर्ने मुलुकमा बदलियो कम्बोडिया। अन्ततः अप्रिल १९७५ मा अमेरिका र लोननोललाई पराजित गर्दै प्रधानमन्त्री पोलपोटको नेतृत्वमा सत्तासीन भएको खमेर रुजको क्रान्तिसामु थियो, ध्वस्त कम्बोडिया। त्यसमाथि क्रान्तिको क्रममा आधार र तयारीबिना साम्यवादतिर छलाङ मार्ने नाममा अनेक गल्ती, कमजोरी र अपराध पनि भए, तर ती स्वर्गतिर जान खनिएका नर्कका बाटाजस्तै भए।

भिकरीको अध्ययनअनुसार, युद्धमा विजयी भएपछि खमेर रुज शासनकालको सुरुमा नोम्हपेन्ह र अन्य सहरबाट जनतालाई गाउँगाउँ फिर्ता पठाइयो, जसले आमजनतामा आतंक नै फैलियो। त्यसपछि पनि फैलियो खमेर रुज आतंक। यसरी फैलिनुमा अमेरिकी आक्रमण हुने त्रास, प्रतिक्रान्ति हुने भय र प्रतिशोधको भावले काम गरे। भिकरीका अनुसार पहिलेका देशी-विदेशी शक्तिबाट भएका अमानवीय हत्या र आतंक देख्ने-भोग्नेहरू नै छापामार बनेका थिए। त्यसैले उनीहरूले लोननोलको सेनालाई निर्ममतापूर्वक मारेको हुनसक्छ, अन्धतापूर्वक बदला लिने क्रममा। तर जेजस्तो कारणबाट गरिएको भए पनि त्यस्ता हत्या र आतंक स्वीकार्य र न्यायोचित हुन सक्दैनन्। यसको अर्थ दसौँ लाख मानिसलाई योजनाबद्ध ढंगले मारिएको प्रचारमा सत्य छ भन्न खोजेको होइन। यस्तो प्रचारबाजीको जालो बुन्ने र भयदोहन गर्ने दुष्कर्ममा अमेरिकाद्वारा प्रायोजित दक्षिणपन्थीदेखि 'वामपन्थी' मस्तिष्कको प्रयोगलाई अस्वीकार गर्न सकिँदैन।

हुन त यस्ता प्रचारबाजी गर्न र भयदोहन गर्न पल्केकाहरूले प्रचण्ड र पोलपोटलाई जोडेर विदेशी हस्तक्षेपविरोधी संघर्षलाई पनि लाञ्छित गर्न खोजेका छन्। देशभक्तिको भावविहीनताका क्रममा उनीहरूले कम्बोडियामा फ्रान्स, जापान, अमेरिका र पछि भियतनामले सन् १९७९ देखि गरेको सैन्य आक्रमणलाई स्वागत गरेको देखिन्छ, परोक्षरुपमा। त्यस्ता आक्रमण र हस्तक्षेपको विरोधमा भएका संघर्षलाई मूर्खतापूर्ण राजनीति साबित गर्न खोज्दा उनीहरूले आफ्नो प्रजातान्त्रिक मुखुन्डो खसेको पनि भेउ नपाउनु लज्जास्पद पक्ष हो। कुनै पनि खालका सैन्य आक्रमण वा अन्य हस्तक्षेपको विरोधमा हुने संघर्ष नकार्ने प्रवृत्ति प्रजातान्त्रिक र देशभक्त चरित्र हुन सक्दैन।

 

पोटपोटको आतंकको प्रचार गर्ने निहुँमा सिंगो वामपन्थविरुद्ध जेहाद छेड्दै हिँडेका प्रजातन्त्रवादीहरूले अमेरिका-भक्तिलाई देशभक्तिको मानक सम्झेका हुन सक्छन्। त्यसो हो भने अमेरिकाका हरेक सैन्य हस्तक्षेप र अप्रजातान्त्रिक कदमप्रति उनीहरूले आँखा चिम्ले भने पनि अनौठो हुँदैन।

सबैलाई हेक्का रहोस्, शीतयुद्धकालमा सोभियत संघको खेमामा रहेको र इन्डो-चाइना वारमा बेइज्जत हुनेगरी आफूलाई पराजित गरेको देश: भियतनामविरुद्ध लड्न अमेरिकाले सन् १९७९ देखि दसौँ वर्षसम्म खमेर रुज र पोलपोटसँगै सहकार्य गरेको थियो। खमेर रुज र पोलपोटको उपयोगिता समाप्त भएपछि अमेरिकाले उनीहरुलाई राक्षसका रुपमा प्रचार गर्ने क्रममा नरसंहार र अत्याचारको मुद्दा उठाएको हो। फेरि पनि प्रश्न उठ्छ: खमेर रुज र पोलपोट नरसंहारकारी थिए भने अमेरिका मात्रै कसरी शान्तिकामी र लोकतन्त्रवादी भयो? प्रजातान्त्रिक खेमाले ऐतिहासिक साक्षी-प्रमाणका साथ यसको जवाफ दिनुपर्छ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस