‘सुरक्षित कर्णाली विशेष अभियान’ एक अनुकरणीय प्रयास
०३ मंसिर २०८१
•
८ मिनेट पाठ
‘सुरक्षित कर्णाली विशेष अभियान’ एक अनुकरणीय प्रयास
सूचना र प्रविधिको तीव्र विकास भइरहेका बेला पनि कर्णालीलाई दूरी र भूगोलका हिसाबले निकै जटिल एवं कठिन क्षेत्रका रूपमा हेर्ने गरिन्छ। दुःख, कष्ट, गरिबी, अशिक्षा र भोकको पर्यायका रूपमा उदाहरण दिँदा काठमाडौँको कर्णाली, सुर्खेतको कर्णाली, बाँकेको कर्णाली, पोखराको कर्णाली भनिन्छ।




यथार्थमा यही हो र कर्णाली? के काठमाडौँ, पोखरा, चितवन कर्णालीका लागि विकट छैनन्? के काठमाडौँमा गरिब, मागेर गुजारा चलाउने, सडक मानव र विकासले छुन नसकेका ठाउँ नै छैनन्? बरु त्यसको चरम हद र अवस्था कर्णालीमा भेटिँदैन। समयको गतिसँगै अब सबैखाले परम्परागत भाष्य आजको सूचना र प्रविधिको युगले चिरिदिएको छ।

काठमाडौँबाट हेर्नेभन्दा यहीँ पुगेर भोग्नेहरूको नजरमा कर्णाली नितान्त फरक छ। यहाँ पुग्ने जो कोही व्यक्तिले कर्णाली आउनै र अध्ययन गर्नैपर्ने ठाउँका रूपमा बुझ्छन्। विकटता, अशिक्षा, गरिबी र दुर्गमताको उपमा दिनेहरूलाई पद्मकन्या क्याम्पस काठमाडौँमा अध्यापनरत उपप्राध्यापक डा. भगवती सेढाइँले आफ्नो अनुसन्धानका क्रममा कर्णाली घुमेर फर्केपछि यसबारे काठमाडौँको एक कार्यक्रममा सहभागी भएर मुक्तकण्ठले तथ्याङ्कीय विवरण प्रस्तुत गरेकी थिइन्।

उनका अनुसार काठमाडौँ महानगरपालिकाको कुनै एक वडाको कार्यक्रममा सहभागी हुँदै उक्त कार्यक्रमका विशेष अतिथिले ‘यो वडा त काठमाडौँको कर्णाली’ भनेका थिए। त्यहाँ कर्णाली भन्नाले विकासका गतिको हिसाबले पिछडिएको भन्न खोजिएको थियो। यो सुन्दा भने कर्णाली यात्राको अनुभूति सँगालेर फर्किएकी उनलाई खसखस लागिरहेको थियो, कारण त्यहाँ व्यक्त गरिएको कथ्यमा जस्तो कर्णाली तथ्यमा थिएन।

कर्णाली प्रदेश विकासको मन्द गतिको उपनाम नभई नवीनतम् कार्य गर्न उद्गम र उर्वर भूमि भएको उनी बताउँछिन्। कर्णाली घुमेपछि उपप्राध्यापक सेढाईंले यहाँ उल्लेख गर्न खोजेको चाहिँ सुरक्षित कर्णाली अभियानको ‘क्युआर कोड’ र कर्णाली प्रदेशका घरमा प्रहरीले टाँस गरेको ‘स्टिकर’का बारेमा हो।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले २०८० सालमा कर्णालीका १० वटै जिल्लामा ‘सुरक्षित कर्णाली विशेष अभियान’ थाल्यो। यसको उद्देश्य नागरिकको सुरक्षाका लागि हरेक टोल, बस्ती, घर र व्यक्तिसम्म राज्यको उपस्थित गराउनु थियो । नागरिकले आफ्नो समस्या, घटना तथा गुनासाहरू कुनै पनि बिचौलियाको सहयोगबिना छिटोभन्दा छिटो प्रहरीसामु पुर्‍याउनु एवं सेवाग्राही र सेवाप्रदायक बीच राम्रो सम्बन्ध स्थापना गर्नु पनि हो।

उनका अनुसार गुनासो पेटिका राख्दा झन्झटिलो हुने, तत्काल सम्बन्धित व्यक्ति/निकायसमक्ष गुनासो नपुग्ने र समय पनि धेरै लाग्ने भएकाले समयको मागसँगै यस कार्यक्रमका लागि उच्चतम प्रविधिको प्रयोग भएको रहेछ।

कर्णाली प्रदेशअन्तर्गतका सम्पूर्ण प्रहरी कार्यालयहरुमा कार्यरत प्रहरी कर्मचारीहरुले सम्पादन गरेका प्रहरी सेवासम्बन्धी कुनै गुनासो/पीरमर्का, सल्लाहसुझाव, पृष्ठपोषण, सूचना माग तथा कुनै पनि घटनाको सम्बन्धमा तत्काल प्रतिक्रिया गर्नुपर्ने भएमा ‘क्युआर कोड’ मार्फत सिधै कर्णाली प्रदेश प्रहरी कार्यालयको उजुरी छानबिन शाखामा सेवाग्राहीले आफ्नो भनाइ राख्न तथा सम्पर्क गर्न सकून् भनी क्युआर कोडको प्रयोग भएको रहेछ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालको नेतृत्वमा थालिएको अभियानको प्रमुख उद्देश्य प्रहरीमा नागरिकको सहज सूचनाको पहुँच पुर्‍याउनु, अपराध अनुसन्धान कार्यलाई थप प्रभावकारी बनाई नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउनु नै हो।

यस क्युआर कोडभित्र सूचना दिनेको नाम, इमेल, सम्पर्क नम्बर, विषय, गुनासोको सङ्क्षिप्त विवरण उल्लेख गर्न मिल्नेगरी तयार गरिएको र सर्वसाधारणले सजिलै प्रयोग गर्न सक्नेगरी बनाएको उपप्राध्यापक डा.सेढाईंले उल्लेख गरेकी छन्।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार यस सुरक्षित कर्णाली अभियानका लागि नेपाल प्रहरीले स्टिकर बनाई कर्णाली प्रदेशका १० जिल्लामा तीन लाख ७१ हजारभन्दा बढी घरधुरीमा प्रहरीको फोन नम्बर भएको स्टिकर प्रत्येक घरको मूल ढोकामा टाँस्ने लक्ष्य लिइएको थियो जसलाई निरन्तरता दिइएको छ।

कार्यालय, विद्यालय, कलेजमा भने उक्त भवनको मूल प्रवेशद्वारमा र होटेल तथा पसलहरूमा काउन्टरको सामुन्ने टाँस गरिएको देखिन्छ। कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार २०८१ सालको असार ३१ सम्म दुई लाख ३९ हजार एक सय ३३  घरधुरीमा स्टिकर टाँस भएको र गुनासो ‘रिपोर्टिङ’को सङ्ख्यामा ५७ प्रतिशत वृद्धि भएको छ।

एक वर्षपछि यसलाई फर्केर हेर्दा यो प्रयासले समुदायमा सकारात्मक परिवर्तनको थालनी भएको प्रस्ट सङ्केतका साथै यस कार्यले नागरिक सुरक्षामा महत्त्वपूर्ण भूमिका खेल्ने देखिएको छ। यसै सन्दर्भमा उद्योग वाणिज्य सङ्घ सुर्खेतका अध्यक्ष लक्ष्मण कँडेल सुरक्षित कर्णाली विशेष अभियान कार्यक्रम आफैँमा नमूना कार्यक्रम भएको बताउँछन्।

तत्कालीन प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ढकालले सुरु गरेको यो अभियानलाई पछिल्लो नेतृत्वले पनि निरन्तरता दिनुपर्ने उनको भनाइ छ। अध्यक्ष कँडेलले यो अभियानले व्यापार तथा होटल व्यवसायीलगायत समाजमा घट्ने जस्तोसुकै घटनाको खबर तत्काल प्रहरी कहाँ पुर्‍याउन र त्यसको आवश्यक खोजअनुसन्धानबाट समस्याको सम्बोधन गर्न महत्त्वपूर्ण सहयोग पुगेको प्रतिक्रिया दिए।

घरदैलोमा स्टिकर टाँस्ने कार्यक्रमसँगै घरपरिवारको नाम, ठेगाना, फोन नम्बर, परिवार सङ्ख्या, पेसा र व्यवसाय लगायतका लगत विवरण समावेश हुने भएकाले शान्तिसुरक्षा अमनचयन कायम गर्न सहयोग पुग्नाका साथ प्रदेशस्तरीय नीति तथा कार्यक्रम तर्जुमा गर्दा उपयोगी हुने डा. सेढाईं बताउँछिन्।

घरपरिवार लगत एउटा महत्त्वपूर्ण तथ्याङ्क भएकाले यसको समुचित प्रयोगबाट तथ्याङ्कपरक नीति, कार्यक्रम निर्माण र सम्पादन गर्न सकिन्छ। क्युआर कोडमार्फत पठाइएको गुनासो सिधै कर्णाली प्रदेश प्रहरी कार्यालयमा उजुरी छानबिन शाखामा पुग्ने व्यवस्था गरिएको छ। प्रदेश प्रहरी कार्यालयका अनुसार उजुरीमार्फत आएका सूचनाहरूलाई गोप्य राख्नका लागि उच्चतम सतर्कता अपनाइएको छ।

कर्णाली प्रदेशका सामाजिक अगुवा पिताम्बर ढकाल यो अभियान राम्रो भए पनि व्यापक रूपमा प्रचारप्रसार हुन नसक्दा नागरिकलाई जानकारी नभएको बताउँछन्।

उनले भने, “यसबारे म आफैँलाई पनि थाहा नहुँदा के गर्ने भन्ने विषयमा ज्ञान थिएन। क्युआर कोडमा आफ्ना गुनासा तथा उजुरीहरू कसरी प्रविष्ट गराउने र प्रविधिको प्रयोगका लागि सुविधा के भन्ने विषयमा सुसूचित गराउनुपर्दछ।”

शिखर मावि दशरथपुर सुर्खेतका शिक्षक जनकबहादुर सिंहले घर, विद्यालय तथा पसलहरूमा प्रहरीले स्टिकर टाँसेको भने पनि त्यसबारे आफूहरूलाई थाहा नभएको प्रतिक्रिया दिए।

कुनै घटना परिघटना पर्दा सहजै प्रहरी प्रशासनसँग सम्पर्क गर्न सकिने र नागरिकको सुरक्षामा सहयोग पुर्‍याउने यो अभियान प्रशंसायोग्य भएकाले यसको व्यापक रूपमा प्रचारप्रसार हुनुपर्ने उनको भनाइ छ।

चन्दननाथ नगरपालिका–५ जुम्लाका स्थानीय लक्ष्मीकन्या बुढाका अनुसार ‘सुरक्षित कर्णाली विशेष अभियान’ अन्तर्गत सञ्चालन गरिएका कार्यक्रम निकै महत्त्वपूर्ण र ग्रहणयोग्य छ। यद्यपि क्युआर कोड, विद्यालय, क्याम्पस, सार्वजनिकस्थलका साथै सार्वजनिक गाडीहरूमा पनि टाँस्नुपर्ने र त्यसको प्रयोगका विषयमा आमनागरिलाई आधारभूत ज्ञानसहित प्रयोग विधिका बारेमा जानकारी गराउनुपर्ने उनको सुझाव छ।

प्रहरी अधिकारीहरूका अनुसार क्युआर कोडमार्फत यहाँका नागरिकहरूले शान्तिसुरक्षामा भएका समस्या र कमजोरीका साथै सुदृढ सेवाप्रवाहका लागि घर वा बाटोघाटो, पाटीपौवा जहाँबाट पनि प्रविधिमार्फत उजुरी दिनसक्ने सुविधा उपभोग गर्न सक्नेछन्। उनीहरूलाई कुनै गुनासा राख्न, उजुरी वा निवेदन दिन सम्बन्धित निकाय धाउनुपर्ने छैन र उजुरीकर्ताको नाम भने प्रहरीले गोप्य राख्ने प्रावधान छ।

अनुसन्धानकर्मी एवं उपप्राध्यापक सेढाईं क्युआर कोडमार्फत गुनासालाई अति जरुरी, जरुरी र साधारण वर्गमा राखेर त्यसको सम्बोधन गर्ने, अति जरुरी उजुरीलाई तत्काल, जरुरी प्रकारको भए तीन दिनभित्र र साधारण खालको भए पाँच दिनभित्र उजुरीको छानबिन गरी उजुरीकर्तालाई विवरणसहितको जानकारी दिने व्यवस्था मिलाइएको र परिणाम पनि सकारात्मक देखिएकाले यो अभियानलाई देशव्यापी रूपमा विस्तार गर्नुपर्ने सुझाव दिन्छिन्।

सरोकारवालाहरूले क्युआर कोडको प्रयोगले नागरिक सम्बन्ध नजिक बनाउन, सुरक्षाप्रतिको विश्वास बढाउन, सहज सेवा प्रदान गर्न, समयको सदुपयोग तथा नागरिकलाई सेवा लिन जाँदा हुने दुःख पूर्ण रूपले हट्ने प्रतिक्रिया दिएका छन्।

तिला गाउँपालिका–३ जुम्लाका स्थानीय निराजन गौतम अभियान थालनी भएयता क्युआर कोडको प्रयोग, स्टिकर टाँसले चोरीचकारी, झैंझगडा र मादकपदार्थ सेवन गर्ने जस्ता कुलतमा लागेकाहरू बढी सशङ्कित भएको बताउँछन्।

यो सुविधाले गाउँ वा शहर जहाँतहीँ कोही कसैलाई आपत्विपत् पर्‍यो भने कहाँ खबर गर्ने भन्ने बारेको पूर्ण जानकारी लिन सहयोग पुग्ने देखिन्छ। यद्यपि नागरिकलाई यसको उपयोग र फाइदाबारे जानकारी गराउनुपर्ने गौतमको भनाइ छ।

यस अभियानअन्तर्गत १४ कार्यक्षेत्र निर्धारण गरी दुई लाख ३९ हजार चार सय २४ घरमा स्टिकर टाँस, क्युआर कोड (द्रुत जवाफ) को प्रयोग, पीडित सहायता कार्यक्रम, लालटिन अभियान, अन्तरक्रियात्मक गस्ती, यात्रुमैत्री निःशुल्क निवेदन लेखन, नागरिक सहजकर्ता परिचालन, दुर्व्यसनिविरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएकाले यसलाई अनुकरणीय प्रयासका रूपमा लिइएको छ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नारायण डाँगीले क्युआर कोडमार्फत केही गुनासाे तथा उजुरी आए पनि यसलाई प्रतिफल र परिणाममुखी बनाउन थप प्रयास आवश्यक रहेको बताए।

नागरिक गुनासाहरू बढाउन र समाज घट्ने सबै खाले घटनाबारे प्रहरीसमक्ष पुर्‍याउनुपर्छ भन्ने जानकारी नागरिकसम्म पुर्‍याउन सञ्चारजगत्ले पनि सहयोग गर्नुपर्ने उनको भनाइ छ।

पद्मकन्या क्याम्पसकी उपप्राध्यापक सेढाईं देशव्यापी अध्ययनअनुसन्धानका क्रममा मुलुकको तराईसहित पहाडी र हिमाली क्षेत्रको आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, स्वास्थ्य, शान्तिसुरक्षा लगायका विविध विषयका तथ्यतथ्याङ्क सङ्कलन तथा विश्लेषण गरी त्यसतर्फ देखिएका समस्या र चुनौतीको समाधान गर्न सहयोग पुगोस् भनी प्रतिवेदन सार्वजनिक गर्दै आएकी एक अनुसन्धानकर्मीका हैसियतले कर्णाली प्रदेशमा लागू भएको ‘क्युआर कोड’ अभियान फलदायी रहेको निष्कर्षसहित अझ परिष्कृत ढङ्गबाट देशव्यापी रूपमा विस्तार गर्नुपर्ने सुझाव दिन्छिन्।

शुरबहादुर सिंह /रासस   
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस