पुर्ख्याैली पेसाप्रति जलारी युवाको घट्दो रुचि
२० मंसिर २०८१
•
६ मिनेट पाठ
पुर्ख्याैली पेसाप्रति जलारी युवाको घट्दो रुचि
फेवातालको किनारमा रहेका जलारी समुदायका लागि माछा मार्ने पेसा पुर्ख्याैली परम्परा मात्र होइन, जीविकोपार्जनको आधार पनि हो। तर, अहिलेका जलारी युवाहरूको रुचि भने पुर्ख्याैली पेसाभन्दा वैकल्पिक पेसा एवं रोजगारीतर्फ आकर्षित हुन थालेको छ।




जलारी पोखराको फेवाताल आसपास बसोबास गर्दै आएको परम्परागत माछा मार्ने समुदाय हो। उनीहरूले आफ्नो मुख्य पुर्ख्याैली पेसा माछा मारेर र बेचेर जीविकोपार्जन गर्दै आइरहे पनि माछा उत्पादनमा आएको कमी, बजार व्यवस्थापनमा चुनौती र आधुनिक जीवनशैलीप्रतिको आकर्षणले यो समुदायको युवाले पुर्ख्यौली पेसाप्रति कम रुचि देखाउन थालेका हुन्।

जलारी मत्स्य सहकारी सङ्घका अध्यक्ष ज्ञानबहादुर जलारीले परिवर्तित समयसँगै जलारी युवा पनि अन्य क्षेत्रतर्फ आकर्षित हुँदै गएको बताए, “अहिलेका युवाहरू पढेलेखेको र योबाहेकका पेसामा पनि आफ्नो भविष्य देख्न थालेपछि उनीहरूको पुर्ख्याैली पेसामा सीमित हुन चाहेका छैनन्, अर्कोतर्फ तालमा माछा उत्पादन घट्लै जान थालेपछि जीविकोपार्जनमा पनि समस्या हुन थाल्यो।”

आफ्नो परम्परा र पुर्ख्याैली पेसामा नै आफ्नो समुदायका लागे हुन्थ्यो भन्ने लागे पनि पुस्ता हस्तान्तरण गरेर यसमा टिकाउन त्यति सहज नभएको उनको भनाइ छ। “आजका युवाहरूमा पुर्ख्याैली पेसाप्रति एक प्रकारको उदासिनता छ। तालको वातावरणीय सङ्कट र पेसाबाट आउने आर्थिक समस्याका कारण उनीहरूले पुर्ख्याैली पेसामा रुचि देखाउन छाडेका छन्”, ज्ञानबहादुरले भने।

जलारी समुदायलाई पेसामा टिकाइराख्न राज्यस्तरबाटै व्यावसायिक प्रविधिको प्रयोग, ताल संरक्षण र सहकारीले माछा उत्पादनमा लगानी गर्न सक्ने दीर्घकालीन योजना आवश्यक रहेको उनको भनाइ छ।

“युवा पुस्तालाई ताल र समुदायसँग जोड्न तालको दिगो व्यवस्थापन र आर्थिक रूपमा लाभप्रद बनाउनेतर्फ ध्यान दिन सके मात्र यो पेसा दिगो रूपमा बचाउन सकिन्छ”, उनले भने।

फेवाताल किनारमै जन्मेहुर्केर बाबुबाजेसँगै माछा मार्ने पेसालाई नजिकबाट नियालिरहेका २० वर्षीय राजीव जलारी अहिले वैदेशिक रोजगारीको तयारीमा छन्।

“मेरै बुबा–हजुरबुबाको पुर्ख्याैली पेसा भए पनि म यसमा राम्रो भविष्य देख्दिनँ, यो हाम्रो पुर्ख्याैली पेसा हो, माछा मारेर हाम्रो परिवारले पुस्तौँदेखि जीविकोपार्जन ग¥यो तर अहिले म यसमा भविष्य नदेखेर विदेश जाने तयारीमा छु।”

राजीव भन्छन्, “माछा घट्दै गएको छ, ताल प्रदूषित छ अनि तालमै निर्भर हाम्रो समुदाय आर्थिक रुपमा सक्षम हुन सकेको छैन, पेसालाई निरन्तरता मात्र दिने कि सुरक्षित भविष्य पनि हेर्ने?” उनी साेध्छन्।

उनी थप्छन्, “हामी जस्तै धेरै जलारी युवा वैकल्पिक पेसा खोज्दैछौँ, यदि तालको संरक्षण, माछा उत्पादनमा वृद्धि र आधुनिक प्रविधिसँग युवालाई जोड्ने हो भने सायद हामीले पनि यो पेसा गर्वका साथ अगाल्न सक्थ्याैं तर अहिलेलाई यो पेसा जारी राख्न सक्ने आधार गुम्दै छन्। गुजारा टार्ने काम मात्र भएको छ। यही परिस्थितिले मैले विकल्प खोज्न थालेको हुँ।”

हर्पन फेवा मत्स्य सहकारी संस्थाका पूर्वअध्यक्ष एवं साइनो किचनका सञ्चालक शैलेन्द्र जलारीले आफ्नो समुदायको परम्परागत पेसालाई निरन्तरता दिन खोजे पनि आउने पुस्ताले रुचि देखाउन छाडेको बताए, “पुर्ख्याैली पेसाप्रति हाम्रो अगाध प्रेम र लगाव छ तर तालको संरक्षण र माछा उत्पादन बढाउन ठोस कदम नहुँदा वैकल्पिक पेसातर्फ युवाको आकर्षण बढ्न थालेको छ।”

उनले समुदायको पेसा जोगाउन सरकारी तथा गैरसरकारी निकायबाट ताल संरक्षण र माछा उत्पादनको दीर्घकालीन योजना बनाइनुपर्नेमा जोड दिए।

माछा उत्पादन बढाउन पोखरा महानगरपालिका र अन्य  केही संस्थाले प्रयास गरे पनि ती प्रयास प्रभावकारी हुन नसकेको उनको भनाइ छ। “तालमा माछाका भुरा छोड्न केही प्रयास भए पनि समुदायले व्यावसायिक रूपमा माछा उत्पादनको विकास गर्न पर्याप्त स्रोत र सीप पाएका छैनन्। यो पेसा दिगो रहन व्यावसायिक उत्पादन, तालको उचित संरक्षण र प्रविधिगत सुधार आवश्यक हुन्छ।”

उनले जलारी समुदायको परम्परागत पेसा जोगाउन जैविक विविधता, आर्थिक स्थायित्व र ताल संरक्षणका लागि दीर्घकालीन समाधान रणनीति आवश्यक रहेको बताए।

फेवातालमा परम्परागत माछा मार्ने पेसा कठिनाइसँग जुधिरहेको बताउँछन् स्थानीय राजु जलारी। “मैले छसात वर्षदेखि माछा मार्न छोडेको छु। अहिले माछा खरिद गरेर विक्रीवितरण गर्दैछु तर तालमा माछा उत्पादन घट्दा यो व्यवसाय गर्न पनि अझै गाह्राे हुँदै गएको छ।”

उनका अनुसार कुनै समय दिनमै एकसय ५० किलो माछा मारेको अनुभव छ तर अहिले मुस्किलले एकदुई किलो मार्न पनि समस्या छ।

“माछा उत्पादन घट्न थालेको छ, माछाका भुरा बगाउने समस्या पनि उस्तै छ। तालछेउमा बसेर तराईबाट माछा ल्याएर बेच्नुपर्ने अवस्था आउनु भनेको दुःखद् हो, हाम्रो समुदायको भविष्य नै अन्योल छ।”

उनले आफ्नो बीस वर्षीय छोराले पनि पुख्यौली पेसामा भविष्य नदेखेपछि  विदेश जान तयारीमा रहेको बताए। “आर्थिक रूपमा सुरक्षित भविष्य नदेखेपछि नयाँ पुस्ताले वैकल्पिक पेसा रोज्न थालेका छन्, योसँगै जलारी समुदायको परम्परागत पहिचान हराउने खतरा पनि बढेको छ।”

आफ्नो पुर्ख्याैली पेसालाई आत्मसम्मानका साथ निरन्तरता दिन चाहे पनि पछिल्लो समय धेरै चुनौती थपिएको उनको भनाइ छ। नयाँ प्रविधि र व्यावसायिक दृष्टिकोणबाट माछापालनलाई मजबुत बनाउन सके जलारी समुदायको परम्परागत पेशा बच्ने र आत्मसम्मानका साथ नयाँ पुस्ताले अँगाल्ने बताए।

प्राकृतिक रूपमा माछा उत्पादन गर्ने क्षमतामा आएको कमी, वातावरणीय असन्तुलन, प्रदूषण यसका प्रमुख कारण हुन्। यसले गर्दा माछा मार्ने पेसाबाट निरन्तरता नपाइने भएकाले नयाँ पुस्ताका लागि यो पेसा आकर्षक नरहेको उनको बुझाइ छ।

मत्स्य अनुसन्धान केन्द्र, पोखराका वरिष्ठ वैज्ञानिक डा. मोहम्मद अकबाल हुसेनले जलारी समुदायका युवाको अन्य पेसा व्यवसायप्रति रुचि बढ्नु स्वभाविक भए पनि परम्परागत माछापालनलाई आधुनिक र व्यावसायिक बनाउन सके युवाहरू पुनः यस पेसातर्फ आकर्षित गराउन सकिने बताउँछन्, “जलारी समुदायको हितका लागि आधुनिक सीप र प्रविधि आवश्यक छ, परम्परा र आधुनिकतालाई समन्वय गरेर आर्थिक सशक्तीकरणसँगै दिगोपना खोज्न नयाँ पुस्तालाई परम्परागत पेशाप्रति सकारात्मक दृष्टिकोण बनाउनुपर्छ।”

उनले पोखरा तालैतालको सहर भएकाले माछापालनबाटै आर्थिक निर्भर हुन सक्ने प्रशस्त आधार रहेको जनाउँदै जलारी समुदायको पुर्ख्याैली ज्ञान र सीपलाई नयाँ पुस्तामा जोड्न सके सम्भावना रहेको बताए।

उनका अनुसार अहिले पोखराका फेवाताल, बेगनाताल र रुपातालबाट वार्षिक एक सय २० मेट्रिक टन माछा उत्पादन हुन्छ तर बजारको माग तीन सय मेट्रिक टनभन्दा बढी छ।

जलारी समुदायको संरक्षणका लागि केन्द्रले माछाका भुरा छोड्ने र माछा पालन सम्बन्धी आवश्यक सरसल्लाहहरु साथै तालिम पनि प्रदान गर्दै आएको छ। उनले पछिल्लो समय स्वास्थ्यका दृष्टिले पनि माछा राम्रो मानिएकाले स्थानीय तालको माछाप्रति ग्राहकको रुचि बढेसँगै माग पनि बढेको बताए।

फेवातालको सौन्दर्य र जैविक विविधतासँगै जलारी समुदायको माछा मार्ने पेसा तालको सांस्कृतिक सम्पदासँग गहिरो रूपमा जोडिए पनि यो पेशामा नयाँ युवाको रुचि कम देखिएको बताउँछन् पोखरा पर्यटन परिषद्का उपाध्यक्ष एवं पर्यटन व्यवसायी हरि भुजेल। उनी जलारी समुदायको दीर्घकालीन सुदृढीकरणका लागि ताल संरक्षण, माछा उत्पादनमा वृद्धि, र युवा पुस्तालाई आकर्षित गर्ने नयाँ रणनीति आवश्यक रहेको बताउँछन्।

पोखरा महानगर आर्थिक महाशाखा प्रमुख मनहर कडरियाले जलारी समुदायको पुख्यौली पेसा संरक्षण र उनीहरुको जीवनस्तर उकास्न महानगर तयार रहेको बताए।

उनी भन्छन्, “जलारी समुदायका युवा पुस्ताको रुचि बढाउन र आवश्यक सीपका लागि तालिमको आवश्यकता समुदायले गरेमा महानगर साझेदारी गर्न तयार छ।”

युवा पुस्तालाई तालसँग जोड्न माछा उत्पादन बढाउन, ताल संरक्षणमा ध्यान दिन र आधुनिक तरिकाबाट आर्थिक रूपमा लाभप्रद बनाउने उपायहरूको खोजी नै उत्तम विकल्प हुनसक्ने उनको भनाइ छ।

अहिले फेवातालमा माछा मारेर जीविकोपार्जन गर्दै आउने करिब एक सय घरधुरी जलारी छन्। पोखरा महानगरले जलारी समुदायलाई माछा मार्न अनुमतिपत्र प्रदान गरेको छ। तोकिएको स्थानमा जलारी समुदायले माछा मार्दै आएका छन्।

-जमुना वर्षा शर्मा/ रासस
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस