अकस्मात देखिएको राजनीति
१९ असार २०६७
•
१२ मिनेट पाठ
अकस्मात देखिएको राजनीति
प्रधानमन्त्रीको पद छाड्न सबैको आग्रह, अनुरोध, दबाब र आन्दोलनलाई नकार्दै आएका माधवकुमार नेपालले अचानक स्वेच्छिक अवकाश लिएपछि तीन ठूला दलका नेताको अनुहारमा धमिला र चम्किला चमक देखिन थालेका छन्। भावनात्मक उत्तेजनाका कारण एमाले अध्यक्ष झलनाथ खनालको नाडी र हृदयको गति अचानक बढेको छ।
माओवादीसँगको शान्ति वार्ता र त्यसपछिका प्रक्रियामा सभापति गिरिजाप्रसाद कोइरालाका विशेष दूतका रूपमा अहोरात्र खटेका नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले बदलिएको परिस्थितिमा राजनीतिक अस्तित्व कायम राख्नपनि कार्यवाहक सभापति सुशील कोइरालाको एकोहोरो र एकसूत्रीय नीतिको अनुसरण गर्नैपर्ने आत्मज्ञान अचानक प्राप्त गर्नु भएको छ।




माधव नेपालको अवकाशपछि अचानक अरू पनि धेरै घटना भएका छन्। गैरमाओवादी दलका रोमान्टिक नेताहरू, आर्थिक संसारका धुरन्धर व्यक्तित्व, नागरिक समाजका स्वनामधन्य प्रवक्ता, लेखक, पत्रकार र स्तम्भकार - देशका इनेगिनेका सबै माओवादी पार्टीभित्रका सबैभन्दा उदार, गतिशील र वौध्दिक व्यक्तित्व मानिएका नेता वावुराम भट्टराईको गृह जिल्ला गोरखामा कांग्रेस समर्थक शिक्षक अचानक धमाधम भकुरिन थालेका छन। यसबारे भट्टराईको प्रतिक्रिया आएको छैन। त्यो अचानक आउने विषय पनि होइन। प्युठानमा स्वर्गद्वारी आश्रमको जग्गामा माओवादी कव्जाको समाचार लेख्ने रेडियो पत्रकार, अचानकै 'माओवादीहरूको जस्तै कुरागर्ने' अज्ञात समूहबो अपहरणमा परेर मर्नु न बाँच्नुको अवस्थामा भर्खरै मुक्त भएका छन्।

यति नै बेला, भारतका माओवादीले छत्तीसगढ राज्यमा दोस्रोपटक सुरक्षाकर्मीको सामूहिक हत्या गरेका छन्। भारतीय समाचारपत्रहरूले नेपालमा माओवादी पार्टीको पोलिटब्युरो बैठकले भारतीय माओवादीको मुक्ति अभियानमा ऐक्यबध्दता जनाएको समाचार प्रमुखताका साथ छापेका छन्। चार वर्षअघि हिंसा त्यागेर शान्ति प्रक्रियामा आएका नेपाली माओवादी र भारतीय माओवादीबीच राजनीतिक र भावनात्मक सम्बन्ध रहनु अस्वाभाविक न होला। यो नृशंस घटनाको छिटा नेपालका माओवादीको अनुहारमा पर्न खोज्नु भने पक्कै पनि स्वाभाविक होइन। तर, अचानक नै हुन नपर्ने कुरा हुन थालेका छन्।

माओवादी सत्ताको केन्द्रमा स्थापित हुने सम्भावनाका पालुवा अंकुरित हुन थाल्नेबित्तिकै हिंसात्मक घटना एकमुष्ठ प्रकट हुन थाल्छन् र ती घटनासँग त्यस पार्टीको सम्बन्ध घनीभूत हुँदै गएका दृश्य सतहमा आउन थाल्छन। त्यसबाहेक, पार्टीका गतिशील व्यक्तित्वहरू पार्टी सरकारमा जाने सम्भावना देखिनासाथ अचानक जुर्मुराउन थाल्छन्। सरकारमा जाने चर्चा मात्रैले पनि उनीहरूको जोस र जाँगर पलाउन थाल्छ। अझ, पार्टी सरकारमा गै सकेपछि त उनीहरूको प्वाँखै उम्रिन थाल्छ। उनीहरू स्वच्छ सरकारी आकाशमुनि निर्बाध विचरण गर्न थाल्छन् यसअघि, माओवादीले सरकार गठनगर्दा यस्ता दृश्य जताततै देखिएका थिए।

राष्ट्रपतिद्वारा सरकार गठनका लागि तोकिएको सातदिने म्यादभित्र मुलुकमा अझै अचानक के के घटना हुने हुन्? कसैले भन्न सक्दैन। ब्राजिल विश्वकप फुटबल प्रतियोगिताबाट अचानक बाहिरिएला भन्ने कसैले सोचेको थिएन। सोचेका सबै कुरा पूरा हुनैपर्ने कुनै त्यस्तो मान्यता पनि स्थापित भएको छैन। जे हुने हो त्यो अचानक हुन्छ। अथवा, अचानक नै केही पनि हुँदैन। तर, नेपाली राजनीतिको खेलमा धेरै विषय अचानक हुने गरेपनि प्रधानमन्त्री पद अचानक पाइँदैन। पदका प्रत्याशीले यो कुरा बुझे अरू धेरै बुझिरहने झन्झटमा पर्नु पर्दैन।

राष्ट्रिय सहमतिको नाममा माओवादी र एमाले सरकार निर्माणको कसरतमा लागि रहेका बेला कांग्रेस सरकार चलाउने पालो आफूले पाउनुपर्ने दाबी गर्दैछ। उसलाई आफनो वास्तविक स्थितिको पत्तो छैन। माधव नेपालले अचानक प्रधानमन्त्री पदबाट अवकाश लिँदा आफनो उत्तराधिकारीको किटान गर्नु भएको छैन। यति बेला उहाँ त्यस्तो उत्तराधिकारी तोक्नसक्ने अवस्थामा पनि हुनुहुन्न। पार्टीभित्र आफनो पक्ष बलियो भएको भए उहाँले अचानक सरकार छाड्ने निर्णय गर्नुहुने पनि थिएन होला। कांग्रेसका तर्फबाट त उहाँलाई रतीभर खतरा थिएन।

सबै दलहरूको सहमतिमा राष्ट्रिय सरकार नबन्ने निश्चित्जस्तै देखिएको अवस्थामा एमाले आफनो टाउकोमाथि कांग्रेस सरकारको भारी थाप्न तयार नहुने सम्भावना उत्तिकै बढेको छ। माओवादीभित्र प्रधानमन्त्री बन्ने व्यक्तित्वका बारे अहिलेसम्म विवाद जारी देखिएको छ भने झलनाथ खनाल यतिखेर चुनौती मुक्त अवस्थामा देखिनु भएको छ। त्यसैले, यसपटक उहाँको च्याँखे दाउ अचानक बल्झिन पनि सक्छ। माधव नेपालले स्वेच्छिक अवकाश लिनु भएको अवस्थामा कामरेड के.पी.ओलीले झलनाथ खनालका विरुध्द कांग्रेसको पक्ष लिने कुरै उठ्दैन। उति बेला त गिरिजाप्रसाद कोइराला जीवित हुनुहुन्थ्यो। कोइरालाको वचन काट्नु ओलीका लागि सम्भव थिएन। अहिले त्यो विशिष्ट परिस्थिति छैन। यतिखेर, पार्टीकै खातिर पनि, कामरेड ओली झलनाथ विरुध्दको शत्रुवत् अभियान स्थगित राख्नैपर्ने वाध्यताको छेउछाउमा उभिनु भएको देखिन्छ।

एमालेले जीवनभर कांग्रेसको साथ नछोड्ने कसम नखाएको अवस्थामा कांग्रेस अचानक सरकारमा जान जुरमुराउनु राजनीतिमा रुची राख्ने सबैका लागि रमाइलो विषय हो। झलनाथ खनाल आफनै पक्षमा नलागेर कांग्रेस नेतृत्वका पक्षमा लाग्नु होला भन्ने धेरैले सोचेका छैनन्। तर, नेपाली राजनीतिमा अचानक जे पनि हुन सक्छ। त्यो जे पनि हुन सक्ने अवस्थामा माओवादीको समर्थन झलनाथले पाउन सक्तैनन् भन्नु तर्कसम्मत हुँदैन।

कांग्रेस वा कुनैपनि पार्टी एक्लाएक्लै वा आंशिक गठबन्धनका रूपमा सरकारमा गएर संविधान लेख्न सकिँदैन। कांग्रेस माधव सरकारमा थियो। माधव नेपाल कांग्रेसको काखमा हुनुहुन्थ्यो। तर, देशको संविधान लेखिएन। संविधान साँच्चै लेख्ने हो र एक वर्षभित्रै लेख्ने हो भने तीनवटै ठूला दलसहित पच्चीसै दलको सहमति र सहभागितामा कामचलाउ (लो-प्रोफाइल) सरकार बन्नुपर्छ। जेठ १४ पछिको अवस्थामा संविधानसभा स्वयं पनि 'काम चलाउ' संस्थामात्रै हो।

संविधान सभा आफैँले संविधान निर्माणका लागि आफनो आयु बढाएको हो। निर्वाचित संस्थाको प्रतिनिधित्वको हैसियत नै अधरमा झुन्डिएको अवस्थामा दलहरूले किचलो निकालेर आफनै तमासा देखाउनु जनताको अपमानमात्र होइन, देशप्रतिको गम्भीर अपराध पनि हो।

माओवादी शान्ति प्रक्रियामा आएपछि नेपाली राज्यको परम्परागत स्वरूपमा ठूलो विचलन आएको छ। जनआन्दोलनमार्फत् नेपाली समाजमा आएको परिवर्तनलाई संस्थागत नगरेसम्म विचलनले ल्याएको यस कम्पनलाई यथास्थितिमा कुनै पनि दलले रोक्नसक्तैन।

कांग्रेसले माओवादीको तुलना पोलपोटसँग गर्ने, माओवादीले कांग्रेसको तुलना सुहार्तो र मार्कोससँग गर्नेजस्ता 'तुलनात्मक' आरोप प्रत्यारोपको जालमा देश र जनतालाई बन्दी बनाइ राख्ने अधिकार कुनै पनि दललाई छैन। अतीतका चिहान उत्खनन गरेर निकालिएका यस्ता आरोपले कसैलाई कहीँ पनि पुर्‍याउँदैन ।

दलहरूले आफनो सैध्दान्तिक अस्तित्वका लागि पनि संविधाननिर्माणजस्तो मूलभूत विषयमा एकै ठाउँमा उभिनै पर्छ। युध्दमा होस् वा चुनावमा, कसैले पनि एक्लाएक्लै जित्न नसकेको अवस्थामा मेलमिलापको विकल्प छैन।

सामान्य मानिसका लागि यतिखेर प्रधानमन्त्रीको आसनमा बस्नु भनेको तराईको उखरमाउलो गर्मीमा जस्ताले छाएको सिनेमाघरमा तरतरी पसीना काढेर 'मेरा पिया घर आया' बोलको गीतमा रमाउनुजस्तै हो। तर, सत्ताका सन्दर्भमा नेपालका राजनीतिकर्मी आगोको प्रचण्ड रापमा कसरत गरेर शरीरको बोसो पगाल्न पनि तयार हुने गरेका छन्। हेरौं, यसपटक कसको कति बोसो पग्लिने हो।
 
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस