मिङ्मा अर्थात् ‘किलर माउन्ट केटु’ का कीर्तिमानी आरोही
३० जेष्ठ २०८२
•
११ मिनेट पाठ
मिङ्मा अर्थात् ‘किलर माउन्ट केटु’ का कीर्तिमानी आरोही
सन् २०२१ को जनवरी १६, शनिबार साँझ ४ः४८ बजे। दश नेपाली आरोही एक अर्काका हात समातेर राष्ट्रिय गान गाउँदै पाकिस्तानको केटु हिमालको चुचुरोमा पुगेका थिए।




हिमाल आरोहणको इतिहासमै ‘विन्टर’ सिजनमा पहिलो पटक नेपाली आरोहीहरूले केटुको शिखर चुमेर विश्व कीर्तिमानी कायम गरेका थिए। संसारकै जोखिमपूर्ण मानिने केटुमा विन्टर सिजनमा सफलतापूर्वक आरोहण गर्नु असम्भवझैँ मानिन्थ्यो। त्यो जोखिमलाई चुनौती दिँदै नेपाली आरोहीले बनाएको विश्व कीर्तिमानी सम्भवतः नेपाली आरोहीको इतिहासकै गर्विलो दिन थियो। उनीहरूले आरोहण गरेको खबर विश्वका अधिकांश सञ्चारमाध्यममा ‘ब्रेकिङ न्युज’ बन्यो।

केटु हिमाल आरोहणको ६७ वर्षको इतिहासमा यसअघि कसैले पनि विन्टर सिजनमा आरोहण गर्न सफल भएका थिएनन्। त्यसो त माउन्ट केटुलाई आरोहणको दृष्टिबाट संसारकै जोखिमपूर्ण हिमालका रूपमा चिनिन्छ। सन् १९५२ मा अमेरिकी आरोही जर्ज बेलले केटुबारे भनेका थिए, “इट इज स्याभेज माउन्टेन, द्याट ट्राइज टु किल यु।”

केटु चढ्न जाने आरोहीमध्ये औसतमा २३ देखि २५ प्रतिशत आरोहीको मृत्यु हुने भएकाले पनि केटुलाई चुनौती दिनु भनेको मृत्युसँग पौँठेजोरी खेल्नु हो भनिन्छ। सम्झिँदै भयानक र गर्विलो त्यही टोलीका एक सदस्य थिए, मिङ्मा डेभिड शेर्पा।

“विन्टरमा केटु आरोहण हाम्रा लागि ठूलो उपलब्धि थियो, कैयौँ हिमाल कैयौँ पटक आरोहण गरेको अनुभव हुँदा पनि हामीले त्यो क्षणलाई ऐतिहासिक मानेका छौ”, मिङ्माले कुराकानीमा भने, “त्यसअघि विन्टरमा गरिएका ४८ प्रयास असफल भएका थिए, हामीले पहिलो प्रयासमै पूरा गर्‍यौँ।”

सफल आरोहण हुनुका कारण टिमवर्क हो भन्छन्, मिङ्मा। उनकाे अनुसार त्यस समयमा सबै नेपाली व्यक्तिगत कीर्तिमानीका लागि केटु आरोहणको योजना बनाएका थिए। सबैलाई कीर्तिमान आफ्नो नाममा होस् भन्ने चाहना थियो तर त्यसअघिका असफल प्रयासबारे अध्ययन गर्दा टिमवर्क नभएकाले हो भन्ने निष्कर्ष निस्कियो। त्यसैले व्यक्तिगत कीर्तिमानभन्दा पनि सामूहिक रूपमा प्रयास गरौँ भन्ने सहमति जुट्यो।

“हामीबीच कैयौँ पटक छलफल भयो, त्यसमा सामूहिक प्रयासमा मात्रै आरोहण गर्नेमा सहमति जुट्यो, चुचुरोभन्दा १० मिटर तलबाट हातेमालो गर्दै नेपालको राष्ट्रिय गान गाउँदै एकसाथ शिखर चुम्ने निर्णय भयो”, मिङ्माले भने, “राष्ट्रिय भावनाले हामीलाई एकजुट बनायो।”

त्यो घटना केटुको इतिहासमा नयाँ थियो भने मिङ्माका लागि भने तेस्रो विश्व कीर्तिमान। हाल उनका नाममा पाँच विश्व कीर्तिमान छन्। ती सबै केटुसँगै जोडिएका छन्। उनै मिङ्मा यतिबेला छैटौँ विश्व रेकर्डका लागि केटु आरोहणको तयारीमा छन्।

“म आगामी जुलाईमा सबैभन्दा बढी केटु आरोहण गर्ने आफ्नै रेकर्ड तोड्ने तयारीमा छु”, केही दिनअघि आरोहण सम्बन्धी कार्यक्रममा भाग लिन लन्डन जानुअघिको भेटमा उनले बताए। उनकाे अनुसार पहिलो विश्व रेकर्ड ६१ दिनमै सगरमाथा र केटु आरोहणपछि बनेको थियो। दोस्रो रेकर्ड सन् २०१९ मा केटु आरोहणपछि सबैभन्दा सानो उमेरमा आठ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल चढ्ने नाममा बनेको थियो। तेस्रो रेकर्ड १० जनाको समूहमा विन्टरमा केटु आरोहण गरेर भएको थियो भने चौथो विश्व रेकर्ड सबैभन्दा बढी केटु आरोहण गरेर बनेको थियो।

सन् २०२३ मा उनले सबैभन्दा छिटो अर्थात् आधार शिविरबाट चुचुरोमा १४ घण्टा २२ मिनेटमा पूरा गरेर पाँचाँ विश्व रेकर्ड कायम गरे। अब उनी छैटौँ विश्व रेकर्डका लागि सातौँ पटक केटु आरोहणको तयारीमा छन्।

मिङ्मा केटु आरोहण गर्न गएको पहिलो पटक सन् २०१३ मा हो। पहिलो पटकको प्रयास असफल भए पनि दोस्रो पटक भने सफल भयो। केटुमा उनका हालसम्म चार प्रयास असफल भएका छन्। “केटु हिमाल आरोहण आरोहण आफैँमा गाह्रो छ, त्यसैले त सगरमाथामा एकै व्यक्तिले ३१ पटक आरोहण गर्दा केटुमा छ पटक चढेको रेकर्ड छ”, उनले भने।

मिङ्मा शेर्पा समुदायको भए पनि हिमाल आरोहण गर्ने उनी गाउँकै पहिलो व्यक्ति हुन्। फक्ताङ्लुङ गाउँपालिकामा जन्मिएका उनको बाल्यकाल पनि त्यहीँ बित्यो। गाउँका अधिकांश कि ब्रिटिस लाहुरे हुन्थे भने कि त पैसा हुनेहरू अमेरिका, क्यानडा र युरोपतिर जान्थे। मिङ्माको परिवार कृषिमै निर्भर थियो।

सन् २००७ ताका विद्यालयमा पढ्दै गर्दा घुम्नका लागि दार्जलिङको योजना बनाएर काठमाडौँ आएका उनी यतै रोकिए। तत्कालीन समयमा मधेसमा आन्दोलन चर्कंदो थियो। काठमाडौँमा पनि हरेक दिन बन्दका घटना भइरहन्थे। आन्दोलनका कारण उनी घर जान पाएनन्। काठमाडौँमा बस्न खर्चको जोहो गर्ने क्रममा उनले पर्यटकको भारी बोक्ने काम पाए। दिनको ३०० रुपैयाँ आम्दानी हुन्थ्यो। तैपनि सन्तुष्ट हुनुको विकल्प थिएन। त्यो समयमा चिनेजानेकाहरूले काम मिलाइदिएका थिए।

भरियाकै काम गर्ने क्रममा मिङ्माले सन् २००९ मा मनास्लुको चार हजार ८०० मिटरको उचाइमा रहेको आधार शिविरमा ‘किचन हेल्पर’को काम पाए। आधार शिविरमा आरोहीहरू देखेपछि उनको मनमा त्यही समय म पनि हिमाल चढ्छु भन्ने रहर पलाएको थियो।

काठमाडौँ फर्किएपछि भारी बोकेर जम्मा गरेको रु ३५ हजार खर्चिएर उद्धार र प्रारम्भिक सम्बन्धी आधारभूत तालिम लिए।  त्यसपछि उनी ताप्लेजुङका दोर्जे खत्रीको सम्पर्कमा पुगे। खत्री तीन पटक सगरमाथा आरोहण गरिसकेका थिए। “उहाँलाई फोन गरेर काम मिलाइदिन भनेँ, उहाँले सन् २०१० मा मलाई सहायक गाइडका रूपमा सगरमाथा आरोहणका लागि लैजानुभयो”, मिङ्माले विगत सम्झँदै भने, “सन् २०१०, २०११ र २०१२ मा उहाँकै साथमा चीनतर्फबाट सगरमाथा आरोहण गरेँ।”

त्यो समयमा मिङ्मा काठमाडौँबाट प्राइभेट एसएलसी दिँदै थिइन् तर आरोहण चल्दै गर्दा एसएलसीको परीक्षा बीचमै छाडेर उनी आरोहणमा गएका थिए। सगरमाथा आरोहणपछि उनले उच्चस्तरीय तालिम लिनु सुरु गरे। तर त्यसको केही समयपछि आरोहणमा समस्या आयो।

सन् २०१४ मा खुम्बु आइसफलमा १४ आरोहीको मृत्यु भयो। त्यसैमा मिङ्माका गुरु दोर्जे खत्री पनि परे। गुरु नै नरहेपछि मिङ्मालाई अब हिमाल नचढ्ने पो हो कि भन्ने हुन थाल्यो। त्यतिखेर उनी अर्को कम्पनीमार्फत मकालुको आरोहणमा थिए।

त्यसको केही समयपछि अर्थात् सन् २०१५ मा सगरमाथाको आधार शिविरमै छँदा भूकम्पले ठूलो धक्का दियो। भूकम्पका कारण आधारशिविरमा १९ जनाको मृत्यु भयो भने ६४ जना घाइते भए। उनी चार दिनसम्म आधार शिविरमै बसेर उद्धारमा सक्रिय भए। काठमाडौँ फर्किएपछि उनी राहत लिएर सिन्धुपालचोक पुगे। सिन्धुपालचोकमा भूकम्पको दोस्रो ठूलो धक्काले तर्सायो।

सन् २०१५ को जुलाइमा पाकिस्तानको केटुमा जाँदा अचानक मौसम प्रतिकुल भयो। क्याम्प–३ मा रहेको सबै टेन्टसहित सबै सामग्री हिम पहिरोमा बग्यो। भाग्यले यहाँ पनि मिङ्मा र उनको नेतृत्वको ४० जनाको टीम बच्यो।

हिमालमा पटकपटक भाग्यले बाँचेपछि अब सक्दो उमेरसम्म यही बिताउँछु भन्ने अठोट लिए। “हिमालमा भएका ठूला घटनामा लगातार बाँचिसकेपछि मर्नु त कर्म रहेछ भन्ने अनुभव भयो, भूकम्पमा मानिसहरू काठमाडौँका घरभित्रै मरेको घटनाले मृत्युदेखि जोखिम लिन नडराउने भन्ने भयो, मनोबल उच्च भएपछि म यो क्षेत्रमा अझ बढी सक्रिय भएँ”, उनले भने।

मिङ्माले हालसम्म आठ हजार मिटरभन्दा अग्ला हिमाल ३५ पटक सफल आरोहण गरिसकेका छन्। सगरमाथा र मनास्लु नौनौ पटक चढेका छन् भने केटु ६ पटक र बाँकी हिमालका चुचुरोमा एकएक पटक पुगेका छन्।

सुरुआत नै सगरमाथाबाट गरेका मिङ्माले पाँच महादेशका हिमाल चढेका छन्। अर्जेन्टिनाको अकोनकागुवा, अफ्रिकाको किलिमिन्जारो, रसियाको इलब्रस कैयौँ पटक चढेका छन्। अब उनको ‘बकेट लिस्ट’मा इन्डोनेसियाको कास्र्टेन्ज पिरामिड र अन्टार्टिकाको भिन्सोन म्यासिफ आरोहण बाँकी छ।

मिङ्माले सन् २०१६ हिमाल आरोहण सम्बन्धी छ भाग भएको टेलिभिजन कार्यक्रम ‘एभरेष्ट रेस्क्यु’मा काम गर्ने मौका पाए । दुई महिनामा उनको टिमले सगरमाथाबाट ५२ जनालाई उद्धार गर्‍यो। सन् २०१६ मे महिनामा मिङ्मासँग जीवनको सबैभन्दा ठूलो अनुभव पनि छ।

तत्कालीन समयमा उनी एकैदिन सगरमाथा र ल्होत्से आरोहण गरेर आफ्नो नाममा विश्व रेकर्ड कायम गर्ने योजनामा त्यहाँ पुगेका थिए। योजना अनुसार सगरमाथाको चुचुरोमा पुग्ने दिन पनि आयो तर भइदियो के भने, भारत कोलकाताका एक दम्पती सगरमाथा आरोहण गरी फर्केने क्रममा थिए। तर चौथो शिविरमा श्रीमान् एक्लै आए, श्रीमतीको अत्तोपत्तो थिएन। रात ढल्दै थियो। ती महिलामाथि नै छुटेको खबर सुन्नासाथ सगरमाथा आरोहणको योजना त्यागेर मिङ्मा उद्धारमा जुटे। ती महिला आठ हजार ६०० मिटरको उचाइमा एक्लै बसेकी रहिछन्। उनी हिउँले हात र खुट्टाका औँला काम नलाग्ने भइसकेको र अनुहार हिउँले डढेको अवस्थामा भेटिइन्।

मिङ्माको टीमले रातारात उनलाई क्याम्प–फोरमा ल्यायो। भोलिपल्ट बिहान क्याम्प–३ हुँदै क्याम्प–२ मा ल्याएर हेलिकप्टरमार्फत काठमाडौँ पठायो। काठमाडौँमा उपचारपछि उनी बाँचिन्, तर हात र खुट्टाका औँला भने गुमे। ती महिलासँग त्यसयता तीन पटक भेट भइसकेको छ। प्रत्येक भेटमा आफूलाई बचाएकामा धन्यवाद दिन्छन्।

“छ महिनाअघि काठमाडौँको विमास्थलमा भेट भएको थियो, अहिले त उमेर बढेर होला अनुहार पनि नचिनिने भएको रहेछ, मलाई नामले बोलाउँदै हात देखाएपछि पो चिनेँ”, मिङ्माले भने, “त्यो भेटमा पनि निकै आत्मीय ढङ्गले कुरा गर्दै धन्यवाद दिइन्।”

मिङ्मा आफूले त्यो दिन लिएको निर्णय जीवनकै सबैभन्दा राम्रो हो भन्छन्। यदि त्यो दिन रेकर्डका लागि आरोहण गरेको भए अहिलेसम्म टुटिसक्थ्यो, तर ती महिला अहिले पनि जीवित छन्। “तत्कालीन समयमा लिएको निर्णयले अहिले पनि गर्व महसुस हुन्छ”, उनले भने।

हिमाल चढ्ने मिङ्माले आरोहण सम्बन्धी काम गर्न सन् २०१६ मा कम्पनी सुरु गरे तर व्यवसायको ज्ञान नभएकाले चलेन। सन् २०१८ मा आइपुग्दा ३५ लाख रुपैयाँ डुब्यो। हिमालमा भारी बोकेर कमाएको पैसा व्यवसायमा डुब्यो। पहिलो कम्पनी नचले पनि उनले सन् २०१८ मा निर्मल पुर्जा अर्थात् निम्स दाइसँग मिलेर एलाइट एक्सपेड कम्पनी सुरु गरे। उक्त कम्पनीमा सन् २०२१ मा मिङ्मा तेञ्जी शेर्पा पनि जोडिए।

अहिले उक्त कम्पनीले हिमाल आरोहण सम्बन्धी काम गर्दै आएको छ। उक्त कम्पनीले स्काइ डाइभिङ सम्बन्धी तालिमहरू विभिन्न देशमा सञ्चालन गर्दै आएको छ। सन् २०१९ मा मिङ्मा एकै वर्षमा १० हिमाल चढे। सन् २०१९ मा निर्मल पुर्जासँग मिलेर ‘प्रोजेक्ट पोसिबल’ सम्पन्न भयो। जसमा ६१ दिनमा १४ वटै हिमाल आरोहण गर्ने निर्मल पुर्जाको अभियान सफल पार्न मिङ्माले महत्त्वपूर्ण भूमिका निर्वाह गरे। त्यही प्रोजेक्टअन्तर्गत निर्मल पुर्जाले छ महिना छ दिनमा १४ हिमाल चढेर नयाँ कीर्तिमान कायम गरे।

मिङ्माले हिमाल चढेर कमाएको केही पैसा यसै क्षेत्रमै गुमाएका छन्, तर समाजबाट प्राप्त सम्मानमा भने आँच आउन दिएका छैनन्। त्यसैले त मिङ्मा एभरेष्ट बैंक, स्पार्काको ब्राण्ड एम्बेस्डरका रूपमा काम गरिसकेका छन् भने माउन्टेन ड्यु, क्यानोन क्यामरा, एबोट लगायतका ब्राण्डसँग डिजिटल मार्केटिङमा काम गरिसकेका छन्।

सगरमाथा चढ्न सजिलो भएको हो?

पछिल्ला केही वर्षयता सगरमाथामा चढ्दा ट्राफिक जाम हुने अवस्था छ। सयौँ मानिस एकसाथ चुचुरोतर्फ गइरहेको तस्बिरहरू देखिन्छन्। मैले मिङ्मालाई सोधेँ, के अहिले हिमाल चढ्न सजिलो भएको हो? होइन– मिङ्माको जवाफ थियो।

उनका अनुसार अहिले प्रविधिका कारण सगरमाथाबारे धेरै जानकारी हामीसँग छ। मोबाइलबाटै नेभिगेसन, जिपिएस, मौसम, अल्टिच्युडबारे सजिलै जानकारी पाइन्छ। सगरमाथा आरोहणको बाटोबारे भएका कैयौँ अध्ययनअनुसन्धानका कारण सजिलो बनाएको हो। सुरुमा सगरमाथा आरोहण गर्दा तस्बिर पनि नभएको अवस्थाबाट अहिल थ्रिडी नक्सा पाइन्छ। पछिल्लो समय जलवायु परिवर्तनका कारणले भने असहज बन्दै गएको उनको बुझाइ छ।  

“जलवायु परिवर्तनले हिमाललाई प्रत्यक्ष रुपमा असर गरेको छ, हिउँपर्ने र पानी पर्ने समय फेरिएको छ, मौसम कहिले कस्तो हुन्छ भने अनुमान गर्न कठिन छ,”, उनल भने, “हिमालबारे पर्याप्त जानकारी नलिने, शारीरिक र मानसिक रूपमा तयार नहुँदै आरोहणका लागि जानेहरूका लागि समस्या भने हुन्छ।”

अन्य खेलमा गल्ती गर्दा खेल मात्रै हारिन्छ भने हिमालमा एउटा गल्तीले ज्यान जोखिममा पर्छ। त्यसैले शेर्पाले सहयोग गरिहाल्छन् भन्ने सोचले हिमाल आरोहणका लागि तयार हुनु राम्रो होइन।

“कतिपय मानिस शरीरले नसक्ने हुँदा पनि शिखरसम्म पुग्छु”, भन्छन्, “ठूलो रकम त्यसैका लागि खर्च गर्नुभएको हुन्छ, त्यस्तो अवस्थामा हामीले उहाँहरूको अवस्था बुझेर निर्णय लिनुपर्ने हुन्छ”, मिङ्माले भने, “कहिलेकाहीँ आरोहीविरुद्ध पनि निर्णय लिनुपर्ने हुन्छ।”

अब सरकारले सगरमाथा आरोहण पूर्व कम्तीमा सात हजार मिटरको एउटा हिमाल आरोहणको नियम ल्याउने हो भने यसले सबैलाई फाइदा गर्ने उनको बुझाइ छ।

त्यसबाहेक सगरमाथामा फोहर ठूलो समस्या बन्दै गएको मिङ्माको बुझाइ छ। अहिले सरकारले प्रत्येक टीमसँग फोहरका लागि चार हजार डलर धितो राख्छ। फोहर उठाएको प्रमाण देखाएपछि त्यो रकम फिर्ता आउँछ। तर सगरमाथामा फोहर दिनप्रतिदिन बढ्दो छ। त्यसैले आरोही प्रत्येकसँग निश्चित पैसा लिएर आफैँले फोहर व्यवस्थापन गर्नुपर्ने मिङ्माको सुझाव छ। त्यसो हुन सकेमा पाँच वर्षमा सगरमाथाबाट फोहर हटाउन सकिने उनको भनाइ छ।

भाइ गुमाएको क्षण

आफूसँगै हिमाल आरोहणमा सक्रिय भाइ कासाङको हिमाल चढ्न छाडेको तीन वर्षमा दुर्घटनामा निधन भयो। सन् २०१२ मा भाइले एसएलसी दिएपछि मिङ्माले आफैसँग राखेर हिमालबारे सिकाएका थिए। भाइले किचन हेल्पर सगरमाथा, मनास्लु आमादब्लम र धौलागिरि आरोहण गरिसकेको थियो। धौलागिरि आरोहण पछि दुवै दाजुभाइ एउटै पेसामा हुँदा जोखिम हुन्छ भन्ने सोचल कासाङ त्यसबाट टाढिएका थिए। तर त्यसको तीन वर्षपछि काठमाडौँको कपनमा रहेको कम्पनीमा आगलागी हुँदा उनको मृत्यु भयो।

“भाइ हिमाल आरोहण छाडेपछि मेरै कम्पनीमा व्यवस्थापकीय भूमिकामा सक्रिय थियो, तर अचानक भएको आगलागीले उसलाई अल्पायुमै गुमाउनुपर्‍यो, त्यो घटना जीवनको निकै पीडादायी क्षण थियो”, उनले भने। उक्त घटना हुँदा मिङ्मा मनास्लुको आधार शिविरमा थिए।

‘अक्लिमाटाइजेसन’का लागि आधार शिविर पुगेर केही तल झरेका थिए। घटना घटेको आधा घण्टामा फोन आयो। खबर पाएको भोलिपल्ट बिहान मिङ्मासहितको २३ टिम आरोहण छाडेर हेलिकप्टरबाट काठमाडौँ फर्कियो।  
अर्को समाचार
जुम्लाका स्थानीय तहका करार कर्मचारी प्रभावित
०८ साउन २०८२
•
३ मिनेट पाठ
जुम्लाका स्थानीय तहका करार कर्मचारी प्रभावित
जुम्लाका ६ स्थानीय तहले करार कर्मचारी हाजिर नहुन विषयमा सूचना जारी गरेका छन्। यस्तो सूचनाले धेरै करार कर्मचारी प्रभावित हुने देखिन्छन्। जुम्लाको सिंजा गाउँपालिका, कनकासुन्दरी गाउँपालिका, तिला गाउँपालिका, तातोपानी गाउँपालिका, पातारासी गाउँपालिका र गुठिचौर गाउँपालिका संघ र प्रदेशबाट स्रोत सुनिश्चितता नभएका कर्मचारीहरूलाई साउनबाट हाजिर नगर्न, नगराउन सूचना जारी गरेका हुन्।




प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षरमा जारी सूचनामा कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ को दफा १४ (१) बमोजिम कुनै व्यक्तिलाई ज्यालादारी वा करार नियुक्ति गर्न नपाइने र स्थानीय सेवा - गठन तथा सञ्चालन नियमावली २०८१ को नियम ११ (१) अनुसार पद नभई करार कर्मचारी नियुक्त गर्न नहुने, प्रदेश र संघबाट बजेट सुनिश्चितता भएका करार कर्मचारीबाहेकका कर्मचारीले २०८२ साउन १ गतेबाट हाजिर नगर्न नगराउन सूचना जारी गरेको छ।

कर्णाली प्रदेशको कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ को दफा १४ (१) बमोजिम स्थानीय तहले ती कर्मचारीले स्थानीय तहमा हाजिर हुन पाएका छैनन्। जुम्लाको   पातारासी गाउँपालिकामा १ सय २ जना, कनकासुन्दरी गाउँपालिकामा ८४ जना, तिला गाउँपालिकामा ६२ जना स्वास्थ्यकर्मी, कार्यालय सहयोगी सहितका कर्मचारी प्रभावित हुने भएका छन्। शिक्षकको भने तथ्यांक आउन बाकीँ नै छ।

यसैगरी तातोपानी गाउँपालिकामा २५ जना, सिंजा गाउँपालिकामा २४ जना, गुठिचौर गाउँपालिकामा २१ जना, हिमा गाउँपालिकामा झण्डै ७० कर्मचारी प्रभावित हुने छन्। यस ऐनको कार्यान्वयनपछि स्वास्थ्य र शिक्षा क्षेत्रका कर्मचारी प्रभावित हुने भएका छन्।

यता जुम्लाको तिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जानकारी हितानकाे अनुसार यो निर्णयले तिलाका ४ आधारभूत स्वास्थ्य संस्था प्रभावित हुने भएका छन्। यहाँका अनमी र कार्यालय सहयाेगी गरी ९ जना नभएर खोप सेवा समेत प्रभावित हुनेछ।

यस्तै कनकासुन्दरीमा ३६ जना स्वास्थ्य क्षेत्रका, २९ जना शिक्षा र अन्य ८४ जना कर्मचारी प्रभावित भएका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र भण्डारीले बताए। यस्तै पातारासी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नविन शाहीकाे अनुसार ५४ जना शिक्षक सहित १ सय २ जना कर्मचारी प्रभावित भएका छन्।

पातारासी गाउँपालिकामा जसरी पनि जागिर सुनिश्चित गर्नुपर्ने माग गर्दै करार शिक्षकले तालाबन्दी समेत गरेका छन्। पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहराले तालाबन्दीकाे विषयमा छलफल भइरहेको बताउँछन्।

गाउँपालिका तालाबन्दी भएपछि गाउँपालिकामा प्रहरी पुगेको छ। गाउँपालिका तालावन्दी भएपछि काम प्रभावित भइरहेको छ। यता जुम्लाको चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले नगरपालिकाका ७ जना मात्र रहेको बताए।

अरू करार सबै कर्मचारी ओएनएमभित्र परेका छन्। नगरपालिकाले आन्तरिक स्रोतबाट तलब खुवाउने गरी ओएनएम पास भइसकेको छ। खासै प्रभावित हुने कर्मचारी छैनन्। उनले भने, ओएनएम भित्र नसमेटिएका ७ जना मात्र छन्। जसमध्ये फाएर फाइटर ३ र सुइपर ४ जना छन्।

प्रदेश सरकारको ऐनका विषयमा भने गाउँपालिकाहरुले भने असन्तुष्टि जनाएका छन्। हिमा गाउँपालिका अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासंघका उपाध्यक्ष लक्ष्मणबहादुर शाहीले कर्णाली प्रदेश सभाबाट पारित “कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१” ले संविधानको मर्ममाथि गम्भीर प्रश्न उठाएको छ।

उनकाे अनुसार उक्त ऐनको दफा १४ (१) अनुसार “कुनै पनि व्यक्तिलाई ज्यालादारी वा करारमा नियुक्त गर्न नपाइने” तथा सो व्यवस्था विपरीत नियुक्त गरे नियुक्ति गर्ने पदाधिकारीवाट सरकारी बाँकी सरह असुल उपर गरिने भन्ने व्यवस्था गरिएको छ। यो व्यवस्था कार्यरत करार कर्मचारीहरूलाई चेतावनीसहित सेवा बाहिर धकेल्ने कानुनी हतियार बनाइएको बताए।
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ५७ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस