फुटबलको जमिनदार युरोपले नै यस पालिको विश्वकप टप्काउने खतरा देखियो। कारण, मिहिनेती मोही ब्राजिल र अर्जेन्टिना मैदानबाट धकेलिइसके। भन्न थालिएको छ, डुंगाको प्रशिक्षणमा रहेको ब्राजिलको डुंगामात्रै डुब्यो, म्यारोडोनाको प्रशिक्षणमा रहेको अर्जेन्टिनाको त जहाजै डुब्यो। यस पालिको विश्वकप अर्जेन्टिनाले टप्काउने अनुमान धेरैले गरेका थिए। संसारकै सबैभन्दा चम्किला खेलाडीहरू र प्रिक्वार्टर फाइनलसम्म उसको अपराजित यात्राले यस अनुमानलाई बल दिएका थिए। फुटबल न हो, डेढ घन्टा, बढीमा दुई घन्टाको परीक्षामा धेरै संयोगले भूमिका खेल्छन्। ब्राजिल र अर्जेन्टिना यस्तै दुःखद् संयोगको सिकार भए।
राजनीति डेढ घन्टे फुटबल होइन। सानातिना दुःखद् संयोगले निर्वाचनको परिणाम बदल्न सकिन्न। तर, संविधान सभामा सबैभन्दा ठूलो हैसियत बनाएको एकीकृत नेकपा (माओवादी)लाई अलग्याएर संसदीय दलहरूले २२ दलको गठबन्धनबाटै बहुमतीय सरकार बन्ने संकेत गरेका छन्। ठूलो दलका हैसियतले राष्ट्रिय सरकारको नेतृत्व माओवादीले गर्न पाउनुपर्ने दाबी अस्वाभाविक होइन। त्यसलाई कांग्रेस-एमालेले अस्वीकारेका छन्। राष्ट्रिय सहमति जुटाउन माओवादी तयार हुनुपर्ने तर नेतृत्व उसलाई दिन नसकिने कांग्रेस-एमालेको निष्कर्ष थपिएको समयमा पनि संविधान जारी नगर्ने मनसायबाट प्रेरित छ।
अप्रिल आन्दोलन सफलतापछिका दुई वर्ष सहमतिमा चल्दा धर्मनिरपेक्ष राज्य घोषणा, विस्तृत शान्ति सम्झौता, संविधान सभाको निर्वाचनजस्ता ऐतिहासिक काम सम्भव भए। संविधान सभा निर्वाचनपछिका दुई वर्ष बहुमतमा चल्दा न तोकिएको समयमा संविधान लेखियो, न शान्ति प्रक्रिया पूरा भयो, न त दैनिक प्रशासन राम्ररी चल्न सक्यो। यो सत्य दलहरूलाई थाहा नभएको होइन। फेरि पनि उनीहरू पार्टीगत वा व्यक्तिगत जिद्दीमा अडिएर संविधान लेखन र शान्तिजस्ता राष्ट्रिय स्वार्थलाई स्वाहा पार्न तत्पर देखिन्छन्।
गिरिजाप्रसाद कोइरालाको जिद्दीमा अन्तरिम संविधानमा अनिवार्य सहमतीय सरकारको प्रावधानमा बहुमतीय प्रावधान थपियो। संविधान सभामा जनताले नेपाली कांग्रेसलाई माओवादीभन्दा निकै पुड्को बनाइदिएको बदलामा लोकतन्त्रका 'महानायक'ले देशलाई दिएको असह्य घाउ थियो त्यो। त्यसैका कारण, संविधान निर्माण र शान्ति प्रक्रियाका नाममा केही अर्ब रुपैयाँ खर्च भइसक्यो तर काम भएन। नयाँ संविधानका हरेक धारा पास गर्न कम्तीमा दुईतिहाइ बहुमत चाहिन्छ। सरकारचाहिँ सामान्य बहुमतले चल्छ। यो कसरी मिल्ने कुरा भयो? सरकारको संरचना संविधान निर्माणमा झल्कने प्रस्ट छ। संविधान निर्माण प्रक्रिया र सरकारबाट अलग्याइएको माओवादीले संविधानका धारा पास गर्ने बेला ल्याप्चे लगाइदिँदैन। अर्कातिर सहमतिको रटान गरिरहेको माओवादीले पनि बहुमतीय सरकार बनाउन सकिने निर्णय गरेर महान् हास्यको बेलुन उडाएको छ।
ओशोका अनुसार न्युटन, डार्बिन, आइन्सटाइन बन्नुपर्ने भारतीय युवकको मन चौबीसै घन्टा युवतीका जामावरिपरि घुमिरहन्छ। अनि मेरी क्युरी वा मदर टेरेसा बन्नुपर्ने भारतीय युवतीको मन युवकलाई कसरी आफ्नो वरिपरि घुमाइरहने भनेर चौबीसै सोचमग्न रहन्छ। त कसरी तिनीहरू आइन्सटाइन वा मेरी क्युरी बन्न सक्छन्? ओशोले यसको उपाय सहज र स्वतन्त्र यौन सुझाएका छन्। भारतीय युवकको मनजस्तै हाम्रा दलको ध्याउन्ना सत्ताकै वरिपरि घुमिरहेको हुन्छ। अनि कसरी बन्छ संविधान? कसरी पूरा हुन्छ शान्ति प्रक्रिया? देशको असह्य घाउ अन्तरिम संविधानको बहुमतीय प्रावधानमा छ। यसकै हाँगामा टेकेर सत्ताप्रेमी दलहरू 'मिलीजुली खाने, स्वर्ग जाने' ध्याउन्नामा छन्। संविधान लेख्ने र शान्ति प्रक्रिया पूरा गर्ने हो भने देशको यो घाउ पुर्नैपर्छ। बहुमतीय प्रावधान बन्द गरेर अनिवार्य सहमतिमा आउनैपर्छ।
नेपाली कांग्रेस सरकारको नेतृत्व गर्न आतुर छ। त्यसका लागि संसदीय दलका नेता रामचन्द्र पौडेल र त्यही पदमा पराजित वरिष्ठ नेता शेरबहादुर देउवाको अर्को माधव नेपाल बन्ने प्रतिस्पर्धा हेर्नलायक छ। सामान्यतः संसदीय मान्यता र कांग्रेसको परम्पराअनुसार पनि संसदीय दलको नेताले सरकारको नेतृत्व गर्ने प्रावधान छ। देउवा पक्षधरले नयाँ विधानको हवाला दिँदै यसलाई संसदीय बोर्डमा पुर्याएका छन्। आठ सदस्यीय बोर्डमा देउवाले आफ्नो पक्षमा पाँच सदस्य पारिसकेका छन्। लोकतान्त्रिक संस्कार नबसेको ठाउँमा निख्लो बहुमतीय प्रावधान अफाप हुन्छ भन्ने नेपालको पछिल्लो दुई वर्षको अभ्यासले देखाइसकेको छ। आफूलाई सबैभन्दा लोकतान्त्रिक पार्टी दाबी गर्ने कांग्रेसमै यसरी प्राविधिक बहुमतको अंकगणितीय खेल भएको छ। यस्तै खेल राष्ट्रिय राजनीतिमा प्रभावी हुँदैछ र लोकतान्त्रिक मूल्य-मान्यतालाई आर्यघाट पुर्याउने पूर्वाभ्यास भइरहेको छ।
बहुमतीय बहानाबाजीमै अलमलिनुको अर्थ हो, परिवर्तन अस्वीकार गर्नु। दलहरूले अब संविधानका धारा पारित गर्न पनि सामान्य बहुमत भए पुग्ने प्रावधान राख्ने खतरा छ। नयाँ संविधानले थिचिएका, मिचिएका, हेपिएका दलित, महिला, उत्पीडित, अल्पसंख्यकलाई मूल प्रवाहमा ल्याउने सम्भावना छ। यस्तो देखिनसहनेले बहुमतको हाँगामा टेकेर पुरानै संविधानका प्राविधिक प्रजातन्त्रका प्रावधान फर्काउने खतरा छ।
avaya.writes@gmail.com