वीरेन्द्र : भ्रम र यथार्थ
१८ जेष्ठ २०७५
•
१८ मिनेट पाठ
वीरेन्द्र :  भ्रम र यथार्थ
२०५८ जेठ १९ गते राति राजदरबारभित्रै हत्याकाण्ड भएको खबर सुनेपछि भोलिपल्ट हजारौँ जनता सडकमा आए। राजा वीरेन्द्र, रानी ऐश्वर्यलगायत राजपरिवारका आठजना सदस्य एकै ठाउँमा मारिएको सो घटना सम्झिँदा आज पनि हामीलाई पीडा हुन्छ।

राजा वीरेन्द्रको हत्या भएको खबर केही घन्टामै संसारभरि फैलियो । करोडौँ नेपाली स्तब्ध भए । धेरै विदेशीले पनि हार्दिक समवेदना प्रकट गरे । कैँयन् राष्ट्रका राष्ट्राध्यक्ष, राजनेता, सरकार प्रमुख, कूटनीतिज्ञ, विद्वान–विदुषीले गहिरो दुःख व्यक्त गरे।

राजा वीरेन्द्र आज पनि अधिकांश नेपालीका हृदयमा उत्तिकै सम्मानित, स्मरणीय र आदरणीय छन् । उनको कार्यकालमा संयुक्त राष्ट्रसंघका महासचिव कोफी अन्नान र हाभियर पेरेज द कोय्यार, स्वीट्जरल्यान्डका राष्ट्रपति प्रोफेसर आर्नोल्ड कोलर, भारतीय राष्ट्रपतिहरू ज्ञानी जैलसिंह तथा केआर नारायणन्, प्रधानमन्त्री पीभी नरसिंह राव, चीनका प्रधानमन्त्री झु रोङ्जी, मंगोलियाका राष्ट्रपति नात्सागिन बागाबन्दी, श्रीलंकाका राष्ट्रपतिहरू रणसिंघे प्रेमदासा र चन्द्रिका कुमारातुंगा, जर्मन राष्ट्रपति डा. रोमन हेर्जोग र त्यहाँका चान्सलर डा. हेल्मुट कोल मात्र होइन, ब्रिटेनकी महारानी एलिजाबेथ (द्वितीय) बाट समेत नेपाल भ्रमण हुनु कूटनीतिक दृष्टिले महत्वपूर्ण मानिन्छ।

राजा वीरेन्द्र भन्थे, ‘जनताले तिरेको करबाट हाम्रो खर्च चल्छ । जथाभावी खर्च गर्नु हुँदैन।’”

यस्तै चीनका राष्ट्रपति लि. स्यान न्यान, फ्रान्सका राष्ट्रपति फ्रास्वा मितेराँ, माल्दिभ्सका राष्ट्रपति मौमून अब्दुल गयुम र युगोस्लाभियाका राष्ट्रपति मार्सल जोेसेफ बज्र टिटोले राजा वीरेन्द्रको निमन्त्रणमा नेपाल भ्रमण गरेका थिए भने राजा वीरेन्द्रले  अमेरिका, ब्रिटेन, फ्रान्स, जापान, चीन, भारतलगायतका धेरै राष्ट्रको भ्रमण गरेर नेपाललाई अन्तर्राष्ट्रिय समुदायमा राम्ररी परिचित गराए।

कूटनीतिक दृष्टिले साच्चै ‘असंलग्न राष्ट्र’ भएकाले नेपालले अन्तर्राष्ट्रिय समुदायको विश्वास आर्जन गरेको देखिन्छ। सो कालखण्डमा नेपाल राष्ट्रसंघको सुरक्षा परिषद्को सदस्य बन्यो। २०३१ फागुनमा राजा वीरेन्द्रले आफ्नो शुभराज्याभिषेकमा विभिन्न साठी राष्ट्रबाट आएका विशिष्ट पाहुना (राजा, राष्ट्रपति, प्रधानमन्त्री र युवराजहरू) उपस्थित समारोहमा ‘नेपाललाई शान्ति क्षेत्र घोषित गरियोस्’ भन्ने प्रस्ताव राखे । त्यसलाई भारतले समर्थन गरेन तर ११६ राष्ट्रले समर्थन गरे । भारतकै दबाबका कारण नेपालका (प्रतिबन्धित) दलहरूले समेत शान्ति क्षेत्र प्रस्तावको विरोध गरे।

२०२८ माघ १७ गते बिहान चितवनमा राजा महेन्द्रको स्वर्गारोहण भयो। सोह्र वर्ष दश महिना राजगद्दी सम्हालेका राजा महेन्द्रले जनताको व्यापक समर्थन, सीमित बजेट र स्रोत साधनको सदुपयोग गर्दै विकासको ढोका खोल्दै गए । राजा महेन्द्रका जेठा छोरा वीरेन्द्रले आफ्ना पिताले सुरु गरेको विकास अभियानलाई अघि बढाउन अहोरात्र मिहिनेत गरे । देशका कुनाकुनाको पैदल भ्रमण गरे । आफ्नै पिताझैँ उनी गरिब किसानका झुप्राझुप्रामा पुगेर वस्तुस्थिति अध्ययन गर्थे । जनताको दुःख बुझ्ने प्रयास गर्थे।

महेन्द्र राजमार्गजस्तै चीन र भारतसमेत जोड्ने चारपाँच वटा उत्तर–दक्षिण राजमार्ग बन्न सकून् भन्ने इच्छा थियो, तर महेन्द्र राजमार्गको कोहलपुर–कञ्चनपुर खण्ड पूरा हुन नै अठार वर्ष ढिलो भयो। भारतको राजनीतिक दबाबका कारण पनि द्रुतगतिमा विकास हुन सकेन। तर श्री ५ वीरेन्द्रको शासनकालमा जति प्रगति भयो, त्यसको उचित मूल्यांकन हुन बाँकी नै छ।

सरल स्वभावका थिए, राजा वीरेन्द्र। छलकपट नजान्ने र विकासमा लाग्नेहरूलाई प्रेरणा दिने उनको स्वभाव थियो । उनलाई भेटेपछि आलोचकहरू पनि प्रशंसा गर्दै फर्किन्थे । उनको बालसुलभ मुस्कानमा जादु थियो । सधैँ प्रसन्न चित्त देखिन्थे उनी।

गाउँघरतिर जाँदा गाउँलेहरूको सुखदुःख सोध्ने उनको बानी थियो । गाउँलेहरूसँग यदाकदा ठट्टा पनि गर्थे । उनका एकजना सहयोगी सझिन्छन्, पूर्वाञ्चलको भ्रमणमा जाँदा राजा वीरेन्द्रले एकजना गरिब किसानलाई घरभित्रै पसेर सोधेछन्, “घर त सानो छ, कतिजना छन् तिम्रा केटाकेटी?” किसानले हात जोड्दै जवाफ दिए, “सरकार, एघार जना छोरा छन् ।” राजाले ठट्टा गर्दै भने, “लौ एउटा फुटबल टिम घरमै रहेछ । तिमी चाहिँ रेफ्री बन्नू।”

यस्ता अनेक रोचक प्रसंग छन्, उनको जीवनमा । वीरगञ्जमा राजा वीरेन्द्र र महारानी ऐश्वर्य साधारण पोसाकमा रिक्सा चढेर सहर घुमेछन् साँझपख । राजारानीलाई चिन्न गाह्रो थियो, झमक्क साँझमा । रिक्सावालालाई उनले धेरै कुरा सोेधेछन् । उसले भनेछ, “अञ्चलाधीश, सिडिओ, पुलिसको हाकिम, भन्सार हाकिम, मालपोत, भूमिसुधार सबैतिर घुस खान्छ दाइ । राजाले जेल हाल्दिए पनि हुन्थ्यो यस्ता मान्छेलाई । राजा आउँदा केके भनेर उनलाई ढाँट्छन् । अरू बेला जनतालाई ठग्छन्।”

त्यसपछि भ्रष्टाचारबारे छानबिन गराउँदै उनले केही कर्मचारी र प्रशासकहरूलाई कडा निगरानीमा राखेको र कतिपयलाई नसिहत दिएको कुरा वीरगञ्जका पुराना पत्रकार गोपाल गिरीले बताएका थिए।

राजा वीरेन्द्रको जीवन खुला पुस्तक जस्तै थियो । २०४६ सालमा राजनीतिक दलहरूले राजाका अधिकार कटौती गर्दै बहुदलीय व्यवस्था लागू गर्नुपर्ने माग गरेपछि नेपाली कांग्रेस र वामपन्थी नेताहरूलाई बोलाएर उनले छलफल गरे । २०४६ चैत २६ गते दलहरूमाथिको प्रतिबन्ध फुकुवा भयो । राष्ट्रियता, राष्ट्रिय स्वाभिमान, विकास र स्वतन्त्रताप्रति संवेदनशील थिए, राजा वीरेन्द्र । २०३६ सालमा उनले जनमत संग्रह गराएका थिए । संसारमा सर्वशक्तिमान राजाले जनताको चाहनाको सम्मान गर्दै जनमतसंग्रह गराएका घटना विरलै पाइन्छ।

२०२१ सालमा युवराज छँदा वीरेन्द्रले पूर्वाञ्चलका पहाडी जिल्लाहरू भ्रमण गरे । त्यसवेला युवराज वीरेन्द्रले मकै, भटमास, साग, कोदो, फापर आदि गाउँमा जे–जे पाइन्छ, त्यसैमा सन्तोष गरेर सैनिक पोसाकमा भ्रमण गरेको उनका सहयोगीहरू बताउँछन् । “तीन चार जना सिपाही भ्रमण दलमा भए पनि युवराज वीरेन्द्र आफ्नो भारी आफँै बोक्थे” उनीहरू भन्छन्।

राजा वीरेन्द्रका अंगरक्षक रहेका जनरल शान्तकुमार मल्लले भनेका छन्, “महेन्द्र राजमार्ग जस्तै चीन र भारतसमेत जोड्ने चारपाँच वटा उत्तर–दक्षिण राजमार्ग बन्न सकून् भन्ने सरकारको इच्छा थियो, तर महेन्द्र राजमार्गको कोहलपुर–कञ्चनपुर खण्ड पूरा हुन नै अठार वर्ष ढिलो भयो । भारतको राजनीतिक दबाबका कारण पनि द्रुतगतिमा विकास हुन सकेन । तर श्री ५ वीरेन्द्रको शासनकालमा जति प्रगति भयो, त्यसको उचित मूल्यांकन हुन बाँकी नै छ।”

२०१९ सालदेखि २०५८ सालमा शाही पाश्र्ववर्ती (एडीसी) रहेका मल्ल सम्झिन्छन्, “२०२१ सालमा हामी रामेछापको एउटा दुर्गम गाउँमा पुग्यौँ । झमक्क साँझ परेको थियो । एउटी वृद्धाको झुप्रोमा युवराज वीरेन्द्रसहित हामी पिँडीमा बास बस्यौँ । त्यो घरकी बूढी आमाको छोरो भारत–चीन युद्धका बेला भारतीय सेनामा गएको रहेछ । घर नआएको तीनचार वर्ष भएको रहेछ । (सायद युद्धमा म-यो होला) सैनिक पोसाकमा त्यहाँ पुगेका राजा वीरेन्द्रलाई छामछुम गर्दै आमाले अँगालो हालेर भनिन्, ‘यतिका वर्ष कहाँँ हराएका थियौ, बल्ल आमा सम्झेर आयौ बाबू !’ युवराज वीरेन्द्रबाट हुकुम भयो, ‘आमा, म तिम्रै छोरो जस्तो हुँ ... ।’ पदयात्राका क्रममा यस्ता धेरै घटना देखिए । जनताको वास्तविक अवस्था बुझ्न सजिलो भयो युवराजलाई।”

राजा वीरेन्द्रको पालामा २०३८ सालमा राष्ट्रिय मूलनीति बनाइयो र २०४२ सालमा संशोधन गर्दै अर्को मूलनीति तयार पारियो । त्यसमा राष्ट्रिय सुरक्षा, गृह, परराष्ट्र, अर्थलगायत विभिन्न विषय समेटिएका छन् । तल्लो निकायलाई आत्भनिर्भर बनाउन विकेन्द्रीकरण ऐन, २०३९ ल्याइयो । जमिनदारका लाखौँ बिगाहा जमिन अनुत्पादक रहने र भूमिहीन किसानले अर्काको खेत जोतेर जीवननिर्वाह गर्नुपर्ने विषमताको अन्त्य गर्दै राजा महेन्द्रले किसानहरूलाई मोहियानी हक दिलाएका थिए । झापाको तत्कालीन बुधबारे गाउँ पञ्चायतका नौ जना भूमिहीन किसानले सोही गाउँमा पहिलो पल्ट राजा महेन्द्रबाट मोहियानी हकको प्रमाणपत्र पाएर जग्गाको मालिक बनेका थिए । त्यसरी प्रमाणपत्र पाउनेमध्येका एकजना किसान राधाप्रसाद धिमालले यस पंक्तिकारसँग भनेका थिए, “महेन्द्रजस्तो राजा कहाँ पाउनु ? उनले हामीलाई मोहियानी हक नदिएको भए भिखारी बन्ने थियौँ।”

कलेजमा पढ्ने केही विद्यार्थीले पंक्तिकारसँग सोध्ने गर्छन्, “२०५८ सालमा राजा वीरेन्द्रको हत्या हुँदा हामी बालक नै थियौँ। तपाईंहरूले राजा वीरेन्द्रका बारेमा बेलाबखत प्रकाशित गरेका लेखमार्फत हामीले धेरै कुरा बुझ्न पाएका छौँ । तर नेपालको इतिहास, संस्कृति र परम्परासँग जोडिएको दरबार हत्याकाण्डलगायतका विषयलाई अरू स्पष्ट गर्दै लेख्न मिल्दैन?”

आमाबाबु र दाजुदिदीबाट सुनेका कतिपय कुराले उनीहरूलाई रोमाञ्चित तुल्याउँदो रहेछ। पंक्तिकारद्वारा सम्पादित ५०३ पृष्ठको वीरेन्द्र स्मृति ग्रन्थ आद्योपान्त अध्ययन गरेका विद्यार्थी रामजी शर्माले भने, “राजा वीरेन्द्रका बारेमा सो ग्रन्थमा कीर्तिनिधि विष्ट, केवी शाही, केशरीराज पाण्डे, यदुनाथ खनाल, केशरजंग रायमाझी, डायमनशमशेर राणा, नयराज पन्त, नयनबहादुर खत्री, जयराज आचार्य, मणिराज उपाध्याय, सत्यमोहन जोशी, मोहमद मोहसिन र क्षेत्रप्रताप अधिकारीलगायतका १६२ जनाका लेख र संस्मरण पढेपछि धेरै कुरा बुझ्न पाएँ । राजा वीरेन्द्र साँच्चै अनुपम रहेछन्।”

मन, वचन र कर्मले स्वच्छ थिए, वीरेन्द्र । राजा भए पनि अभिमान थिएन। फुर्सदका बेला गहन पुस्तक अध्ययन गर्ने र चित्र बनाएर बस्थे उनी । उनकी छोरी श्रुति पनि सिद्धहस्त चित्रकार थिइन्। असल र सफल कूटनीतिज्ञ र सच्चा राजनेता थिए, वीरेन्द्र। नेपाललाई सदैव स्वाधीन, स्वतन्त्र, सबल र सक्षम बनाएर जनताको मुहार हँसिलो बनाउन चाहन्थे उनी । सिसेरोले भनेका छन्, “जीवनको एक पल पनि कर्तव्यहीन रहँदैन ।” वास्तवमा राजा वीरेन्द्रले पनि जीवनको पलपलको सदुपयोग गरे। सुख सयलमा उनको कुनै रुचि थिए । राजा वीरेन्द्रका स्वकीय सचिव तथा शिक्षक रहेका नारायणप्रसाद श्रेष्ठ भन्छन्, “सोफा बिग्रियो भने उनी नयाँ किन्ने होइन, मर्मत गरेर काम चलाउनुपर्छ भन्थे । आफ्नै कोटको रंग खुइँलिदा पनि त्यसलाई उल्टो बनाई मर्मत गरेर लगाएको देख्यौँ, हामीले । जुत्ता फाट्यो भने मर्मत गरेर काम चलाउँथे । राजा भन्थे, ‘जनताले तिरेको करबाट हाम्रो खर्च चल्छ । जथाभावी खर्च गर्नु हुँदैन।’”

आफूलाई जनवादी, लोकतन्त्रवादी वा गणन्त्रवादी भन्नेहरूले राजा वीरेन्द्रको जीवनशैलीबाट धेरै कुरा सिक्न सक्छन् । प्रजातान्त्रिक मूल्यमान्यता, संस्कार, सभ्यता, शिष्टाचार तथा मानवीय जीवनप्रतिको विशिष्ट दृष्टिकोण राजा वीरेन्द्रको जीवनका हरेक पलमा व्यवहारसमेत देखियो । यसबाट राजनीतिक व्यक्तिहरूले मात्र होइन, आफ्नो व्यक्तित्व उठाउन चाहने र राष्ट्रको उत्थानमा समर्पित हुन चाहनेले उनको जीवनबाट धेरै शिक्षा लिन सक्छन्।

२००२ पुस १४ गते जन्मिएका राजा वीरेन्द्र नवाैं महिनामा जन्मेका थिए भने उनको जीवनको अन्तिम दिन जेठ १९ मा पनि अन्त्यमा ‘नौ’ अंक नै आउँछ। त्यस्तै उनको जन्म, विवाह र स्वर्गारोहण शुक्रबार नै भएको थियो । यसलाई पनि एउटा अनौठो संयोग मान्नुपर्छ।

घुम्दैफिर्दै भोलि जेठ १९ गते परेको छ, इतिहासको एउटा कालो दिन। राजा वीरेन्द्रको स्वर्गारोहणपछि नेपालबाट स्थायी शान्ति र एक किसिमको खुसी हराउँदै गएको धेरैको बुझाइ छ। वीरेन्द्रको शासनकाल प्रगति, शान्ति र समृद्धिको यात्रातर्फ अग्रसर थियो । बुद्धजस्ता शान्तिप्रिय राजा वीरेन्द्रको स्वर्गारोहण भएको सोह्र वर्षपछि पनि हामी उनलाई सम्झिरहेका छौँ। र, सम्झिरहनेछौँ सधैँ सधैँ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस