कर्मशील कांग्रेसको प्रश्न
२० असार २०७५
•
१७ मिनेट पाठ
कर्मशील कांग्रेसको प्रश्न
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कर्मशील कांग्रेसको अवधारणा सार्वजनिक गरेका छन् । नेपाली राजनीतिमा यो नयाँ विषय नभए पनि नेपाली कांग्रेसकालागि नित्तान्त नयाँ हुनपुगेको छ । वि.सं. २०१७ मा लोकतन्त्रको प्रतिसंहरण भएपछिका सबै दिनमा नेपाली कांग्रेसको केन्द्रमा आन्दोलन, संघर्ष जस्ता विषय प्राथमिकतामा परे । २०४६ को परिवर्तनले कांग्रेसलाई सत्ताको सिँढी उक्लँदै र ओर्लँदैमा ठिक्क भयो । २०४७ यताका २८ वर्षमध्ये नेपाली कांग्रेसको नेतृत्वमा १५ वर्ष बिते । अर्थात् परिवर्तनका २८ वर्षका अधिकांश भाग कांग्रेसको सत्ता आरोह र बाँकी १३ वर्ष अवरोहमा सकियो । १३ वर्षमध्ये मनमोहन अधिकारीको समयसमेत जोड्दा साम्यवादी दलहरूले करिब९ वर्ष प्रत्यक्ष शासन गरेका छन् । बाँकी समय गठबन्धन वा राजाको नेतृत्व रहेको छ।




संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका १२ वर्षमध्ये सबैभन्दा बढी अर्थात् आठ वर्ष साम्यवादी दलको नेतृत्वले शासन गरिसकेको अवस्था छ । समय–समयमा राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाली कांग्रेससँगको गठबन्धनमा समेत साम्यवादीहरू सरकारमा समावेश थिए । निर्दलीय पञ्चायतकालदेखि नै साम्यवादी दलहरूले कर्मशील कार्यकर्ताको अवधारणालाई निरन्तरता दिँदै आएका हुन् । उनीहरूको दोहोरो रणनीति थियो । एकथरी प्रत्यक्ष राजनीतिमा देखिन्थे र अर्कोथरी विद्यालय स्थापना र सञ्चालन, स्टेसनरी, शिक्षण, औषधालय, बन्द÷व्यापार, सरकारी सेवा, पत्रकारिता आदि विभिन्न आयआर्जनमा सक्रिय थिए । तिनीहरू अधिकांश भूमिगतरूपमा पार्टीका सदस्य हुन्थे । आवरणमा अनेक गुटमा विभाजित साम्यवादी दलहरूलाई निर्दलीयकालमा दोहोरो, तेहोरो रणनीति प्रयोग गर्नु सहज भयो । सर्वत्र उनीहरूको पकड जम्दै गयो।

उदारीकरण र निजीकरणको नीतिसहित सहकारी अभियानलाई नेपाली कांग्रेसले आरम्भ गरे पनि त्यसबाट सर्वाधिक लाभ लिने सामथ्र्य साम्यवादीहरूले देखाउनुलाई सामान्यरूपमा हेरिनु गलत हुनेछ।

बिपी कोइरालाले निर्वासन परित्यागको लगत्तै २०३३ पछि राष्ट्रिय एकता तथा मेलमिलाप नीतिको भाष्य गर्ने सन्दर्भमा डिएन अदितको सूत्रबारे त्यसै व्याख्या गरेका थिएनन् । इन्डोनेसियामा सत्ता र समाजका हरेक अवयवमा घुसेर कसरी साम्यवादीले सत्ता कब्जाको रणनीति बनाएका थिए भन्ने इतिहासको पाठलाई बिपीले नेपाली समाजमा पढाउने काम गरेका थिए । नेपाली साम्यवादीमा कर्मविरोधी विचार त माओवादी हिंसाले मात्र प्रवद्र्धन र विस्तार गरेको हो । माओवादी हिंसाकालमा अरुका भकारीको धानचामल, अरुका करेसाबारीको तिहुन्, अरुको कमाइको धन सम्पत्ति, अरुका पशुपक्षी, लुटेर, कुटेर, काटेर खान सिकाउने काम हुन पुग्यो । यद्यपि कतिपय किसानका जमिन लुट्ने र त्यसमा आफ्नो स्वामित्व स्थापना गर्न कृषिको नारा लगाइएको भए पनि त्यो सफल हुनसकेन । वस्तुतः माओवादी हिंसाले साम्यवादीहरूको ऊर्जाशील क्षमतालाई धराशायी बनाउँदै निरर्थक स्वप्नशील नयाँ सामन्ती वर्ग निर्माण गर्न पुग्यो।

२०६२ को शान्तिपूर्ण संयुक्त जनआन्दोलनको परिणामले माओवादीलाई पनि क्रमशः उद्यमशील बनाउने क्रमसँग जोड्ने काम गरेको छ । तर माओवादीले २०५२ देखि देखाएको बाटोमा अझै पनि केही समूह सक्रिय देखिन्छन् । तिनीहरू पनि ढिलो/चाँडो मूलधारमा जोडिनु अनिवार्य छ । अहिले नेपालको शासकीय सत्तामा मात्र होइन, राज्यको विकासका आधरशीला मानिने हरेक क्षेत्रमा साम्यवादी कार्यकर्ताको पहुँच र पकड देखिएको छ । शिक्षा, उद्योग, व्यापार, निजी विद्यालय, निजी स्वास्थ्य संस्था, निजी सञ्चारमाध्यम, सहकारी, यातायात व्यवसाय, निर्माण व्यवसाय, वैदेशिक रोजगार , विद्युत् गृह, साहित्य र कलाको क्षेत्रमा समेत साम्यवादी विचार पक्षधरहरूको प्रभाव व्यापक छ । राष्ट्रको मूल आर्थिक आधारहरूलाई उनीहरूले यसरी आफ्नो पक्षमा गराउनुको मुख्य कारण भनेको उनीहरूको कर्मशील योजना र सक्रियता नै हो।

उदारीकरण र निजीकरणको नीतिसहित सहकारी अभियानलाई नेपाली कांग्रेसले आरम्भ गरे पनि त्यसबाट सर्वाधिक लाभ लिने सामथ्र्य साम्यवादीहरूले देखाउनुलाई सामान्यरूपमा हेरिनु गलत हुनेछ । यस सत्यलाई नेपाली कांग्रेसले कहिल्यै पनि स्वीकार गरेको देखिँदैन । कांग्रेस कहिले निर्दलीय पञ्चायतसँग  कहिले राजासँग, कहिले साम्यवादीहरूसँग र पछिल्लो चरणमा आफूआफैँमा लड्नमा नै ब्यस्त रह्यो । २०७४ को आमनिर्वाचनपछि त नेपाली कांग्रेस कुहिरोमा हराएको कागजस्तो भएको छ । युद्धमा घाइते भएर पराजित हुन लागेको सेनापतिले हतास सैनिकहरूलाई पुनर्संगठित गराउने काम गर्छ । उसको प्रयत्न पुनः युद्ध जित्नमा हुनेछ । तर नेपाली कांग्रेसको नेतृत्वमा बसेका सबै तहका नेता अहिले आफ्ना घाइते कार्यकर्तालाई पन्छाउन सक्रिय देखिन्छन् । उनीहरून संगठित हुन प्रेरित गर्दैछन् न त योजनाबद्धरूपमा कर्मशील हुन सिकाउँदैछन्  न कर्मशील हुने प्रयासहरूलाई उनीहरूको कुनै सहयोग, समर्थन र सहानुभूति नै देखिन्छ । आजको कांग्रेसको दुर्भाग्य यही नै हो । महात्मा गान्धीले आफूलाई निरन्तर कर्मशील बनाउन चर्खा चलाउने गर्थे भन्ने सत्यलाई कांग्रेसका नेता र पार्टीका सदस्यहरूले बुझिरहेका छैनन्।

गंगामाया र डा. गोविन्द केसीप्रतिको व्यवहारले सत्ताले विवेक गुमाएको अनभूत गराएको छ । यद्यपि डा. केसीका कतिपय कार्यशैली र मुद्दामा यो पंक्तिकारको स्पष्ट असहमति छ । तर उनको आफूलाई प्रस्तुत गर्ने अधिकारमाथि निषेध गर्नु मानव अधिकारविरुद्ध छ भन्नेमा कुनै द्विविधा छैन।

यतिखेर नेपाली कांग्रेस चुनौतीहरूको चाङमा बसेको छ । कांग्रेसका सामु असरल्ल काम छन् । प्रचण्ड बहुमतको सरकारले समाजवादको नारा दिन लागेको छ । लोकतन्त्रवादीहरूले खोजेको समाजवाद र साम्यवादीहरूले खोजेका समाजवादमा तात्विक फरक छ । साम्यवादीहरूको राजनीतिक समाजवाद हो भने लोकतन्त्रवादीहरूको आर्थिक–सामाजिक रूपान्तरणको विषय हो समाजवाद । प्रधानमन्त्रीले अहिले समाजवाद ल्याउने विचार प्रक्षेपण गर्दा नेपाली कांग्रेसले यस विषयलाई स्पष्ट गर्नु जरुरी छ । मानव अधिकारको प्रश्न गम्भीर भएर उठ्न लागको छ । गंगामाया र डा. गोविन्द केसीप्रतिको व्यवहारले सत्ताले विवेक गुमाएको अनभूत गराएको छ । यद्यपि डा. केसीका कतिपय कार्यशैली र मुद्दामा यो पंक्तिकारको स्पष्ट असहमति छ । तर उनको आफूलाई प्रस्तुत गर्ने अधिकारमाथि निषेध गर्नु मानव अधिकारविरुद्ध छ भन्नेमा कुनै द्विविधा छैन।

गंगामाया नेपाली शासनको विवेकहीनता र अलोकतान्त्रिक चरित्रले देखाएको निर्मम आचरणविरुद्ध मानक हुन पुगेकी छिन् । आन्दोलन वा विप्लवका समयमा संवेदनशील क्षेत्रहरूलाई सुरक्षित गर्न निषेधको वैधानिक आदेश हुने गर्छ । त्यसको पनि कार्यविधि हुन्छ । अहिले सरकार विरोध र असहमति रोक्न सर्वत्र निषेधको नियम बसाल्दैछ । लोकतन्त्रको मेरुदण्ड स्वतन्त्रता हो र स्वतन्त्रताको मेरुदण्ड अभिव्यक्ति स्वतन्त्रता हो । अभिव्यक्ति स्वतन्त्रताको संयन्त्र स्वतन्त्र प्रेस हो । यसमाथि अंकुश लगाउन सरकार योजनाबद्ध सक्रिय देखिन्छ । उदार अर्थतन्त्रको प्रयोगमा अभ्यस्त समाजलाई नियन्त्रण गर्न खोज्दा अहिले सेयर बजारदेखि साग र आलु/काउलीमासम्म नकारात्मक प्रभाव परिरहेको छ । पानीजहाज र रेलका गफ सुनिरहेका राजधानीबासीहरू हिलाम्य सडक दहमा चोपलिँदै गन्तव्यमा उन्मुख हुन विवश छन् । विकासे सबै गफ हावामा परिणत हुँदैछन् । के नेपाली कांग्रेस यस्तो समयमा कर्महीन भएर बस्नु उचित हुन्छ? प्रमुख प्रतिपक्ष संख्या होइन, मान्यता र शक्ति हो । लोकतन्त्रमा प्रतिपक्ष सरकारसंँगै तर सरकारका विपक्षमा सक्रिय सिद्धान्त र आचरण हो । सत्ता लिने रणनीति र योजनाको खोजी कुनै समयमा प्रतिपक्षका निम्ति सही हुनसक्ला तर सदा त्यो सत्य हुँदैन । कांग्रेसका लागि अहिले सत्ताको खोजी सही हुँदैन तर सत्तालाई सुधार गर्ने र सही बाटो देखाउनु त उसकोे विपक्षीय धर्म नै हो । किन यता सक्रिय देखिँदैन कांग्रेस?

रामचन्द्र पौडेलले समयको चापलाई विस्तारो महसुस गर्दै कर्मशील कांग्रेसको सूत्र प्रस्तुत गरेका छन् । तर यो कर्मशील कांग्रेस कसरी निर्माण गर्ने त्यसको कुनै खाका भने देखिँदैन । नेपाली कांग्रेसमा झोला बोकेर चन्दा उठाउन हिँड्ने, बाटो खर्च वा पढाइ खर्च माग्दै नेताका घरमा पुग्ने, जुलुस र नारामा सीमित जमातलाई पार्टीको शक्ति मान्ने प्रचलन छ । अथवा झोला बोकेर नेताहरूको महलका ढोका कुर्ने र नेताहरूसमेतलाई आफ्नो महलमा स्वागत गर्नेहरूलाई बढी विश्वास गर्ने चलन छ । कर्मशील अध्यवसाय, व्यवसाय,व्यक्तिगत योगदान, क्षमता, र इमान्दारिताभन्दा पृथक चरित्रपात्र नातानाला र आनुवंशिक क्षमतालाई प्रश्रय दिने काम भएको छ । कर्मशीलहरूलाई सहयोग गर्नुको बदला अधिकांश समर्थ कांग्रेसकर्मीहरू मदिरामत्त हुनुमा गौरवबोध गरिरहेको देखिन्छ । उनीहरूका वैध/अवैध आयहरूको ठूलो हिस्सा स्वजनको उन्नति वा व्यक्तिगत विलासी जीवनमा प्रयोग भइरहेको छ । त्यस आयलाई अस्पताल, विद्यालय, कृषि विकास, उद्यमशीलता, विपन्न र सीमान्तकृतहरूको हित, पार्टी आबद्ध निम्छराहरूको उन्नति, साहित्यिक/सांस्कृतिक उत्थान, सञ्चार सम्बन्ध र समुदायकालागि विकास निर्माणमा लागेको त्यति देखिँदैन।

शिक्षा क्षेत्र, निर्माण व्यवसाय र स्वास्थ्य क्षेत्रमा अनि सञ्चार क्षेत्रमा केही आफ्नै क्षमतामा भर गर्ने लोकतन्त्रवादीहरू छन् । उनीहरूलाई कांग्रेसले उपयोगबाहेक केही गरिरहेको देखिँदैन । संस्थागतरूपमा ती कर्मशीलहरूलाई प्रोत्साहन गर्ने र संगठित गर्ने नीति कांग्रेसले बनाएको छैन, व्यवहार त परको कुरा हो । उद्यमशीलतालाई निकै वर्षअगाडिदेखि आन्दोलनका रूपमा विकास गरेका पर्वतका कांग्रेस नेता ऋषिकेश तिवारी एक्लो वृहस्पति जस्ता थिए । उनले कृषि उत्पादनलाई उद्योगमा परिणत गर्ने अभियाननै चलाएका छन् । निर्दलीय पञ्चायतकालमा स्वयं रामचन्द्र पौडेल पनि कफी खेती गर्दै थिए । सत्ताको धारमा उभिनासाथ त्यो त्यसै हराएको छ । के नेपाली कांग्रेसको युवापुस्ता नेतृत्वको सिँढी चढ्ने सपनासँग कर्मशीलतालाई आफ्नो आधार बनाउनसक्छ ? एकपटक युवा प्रतिभा गगन थापाले सुरु गरेको बाख्रा खेती कता हरायो ? त्यो राम्रो कामको निरन्तरता किन हुन सकेन ? अबका दिनमा कर्मशील कांग्रेसको विषयलाई प्रशिक्षणसँग जोड्नु जरुरी छ।

केही दिनपहिले उपसभापतिका रूपमा पदेन प्रशिक्षण प्रतिष्ठानको प्रमुखसमेत हुन पुगेका विमलेन्द्र निधीका लागि यो विषय महत्वको हुन सक्छ । बिग्रिएको पार्टी अनुशासन, कमजोेर प्रशिक्षण, समुदायमा भुसको आगो जस्तो भएर रहेको द्वेषका झिल्का र देशभर पुगेको गुटगत चिरालाई न्यून गर्नुमात्र होइन, कर्मशील कांग्रेस निर्माण गर्ने योजनासमेत प्रशिक्षणको प्रमुखका हैसियतमा निधीको जिम्मेवारीसँग जोडिएको देखिन्छ । तर सिंगो कांग्रेससँग दृष्टिकोण, दृढ इच्छाशक्ति र सामूहिक क्रियाशीलता भएन भने कर्मशील कांग्रेस क्षणिक नारामा सीमित हुनेछ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस