बहुमतीय सरकारलाई रेडकार्ड
१० साउन २०६७
•
१५ मिनेट पाठ
बहुमतीय सरकारलाई रेडकार्ड
शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउने कि नपुर्‍याउने? संविधानसभाबाट नयाँ संविधान लेख्ने कि नलेख्ने? शान्ति र संविधानको प्रक्रिया अगाडि बढाउन सहमतीय सरकार बनाउने कि नबनाउने?
यी अहिलेका जल्दाबल्दा प्रश्न हुन् तर यी प्रश्नले राजनीतिक नेतृत्वको मनमस्तिष्कलाई भने पोलेका छैनन्। उनीहरूलाई रातदिन पोल्ने प्रश्न हुन्: आफ्ना सत्ताकेन्द्रित स्वार्थ कसरी पूरा गर्ने? आफ्नै हातमा सत्ता कसरी पार्ने? सहमति जुराएर हुन्छ कि, बहुमत जुटाएर हुन्छ, राष्ट्रपतिलाई गुहारेर हुन्छ कि, सेनाको बुई चढेर हुन्छ वा विदेशको भक्ति गरेर हुन्छ?

सत्ताकेन्द्री निजी स्वार्थले सहमति र सहमतीय सरकार निर्माण गर्न दिँदैन। यसैले सहमतीय सरकार बनाउने बाह्रदिने सीमा खेर जानु स्वाभाविकै थियो। तैपनि, नेताहरूले बहुमतीय पद्धतिबाट सहमति खोज्ने राग अलापे। राजनीतिक बजारमा सहमतिको माग चर्काे भएकाले यो अनौठो पनि होइन। सत्ताकेन्द्रित निजी स्वार्थले त राजनीतिलाई बहुमतीय सरकारतिरै लाने हो। बहुमतीय सरकारबाट पनि सम्भव नभए तानाशाही थोपर्ने हो। जसले संसदीय जोडघटाउ गर्दै लामो समय सरकार चलायो, उसैले सत्ताको गणितमा पनि डिस्टिङ्सन ल्याउने हो र नयाँ सरकारको पुरस्कार छातीमा थाप्ने हो।

सत्तागणितमा पास हुन साउन ५ गते तीन शीर्ष नेताबीच परीक्षा भयो, एक नेता बीचैमा आउट भए पनि देश र जनताले प्रधानमन्त्री पाएनन्। लागेको थियो, संसदीय जोडघटाउकै क्रममा साउन ७ गते असहमतीय राजनीतिको बिँडो थाम्न बहुमतीय सरकार उपस्थित हुनेछ। तर, दुईदुईपटकको निर्वाचनमा पनि चुनिएन लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो प्रधानमन्त्री। त्यसैले फेरि हुँदैछ, साउन १७ गते तेस्रो पटकको चुनाव। ,यसले प्रधानमन्त्री दिए पनि, नदिए पनि मौलाउँदो सत्ता प्रतिस्पर्धालाई पुनः उजागर गर्नेछ। सहमति र सहकार्यको संस्कृतिलाई चकनाचुर पार्नेछ र विवाद र द्वन्द्वलाई सघन पार्नेछ।

सत्ताको गणितीय खेलमा कुनै नीतिनियम लागू हुँदैन। नियमहीनता नै त्यसको नियम हो। जसरी भए पनि सांसद संख्या बढाऊ, बहमतीय सरकार बनाऊ: यही हो त्यसको नियम। जनताले चुनेका-नचुनेका सभासदलाई किन्न सके किन, किन्न नसके अपरहण गर, होटलमा थुन, रिसोर्टमा लुकाऊ, थाइल्याण्ड सयर गराऊ अनि सुरासुन्दरीसँगै मनोरञ्जन गराऊ। यही त हो, संसदीय प्रजातन्त्रको मूलधारले थामेको विरासत। किनभने बाह्रवर्षे संसदीय प्रजातन्त्रको राजनीति नग्न सत्ता स्पर्धा नै त थियो। ‘पार्टी बिल्डिंग इन् नेपाल' मा यो तथ्य पुष्टि गर्दै कृष्ण हाछेथुले लेखेका छन् - ‘त्यतिबेला संसदीय प्रजातन्त्र एक प्रकारले नग्न सत्ता स्पर्धामा परिणत भयो, भ्रष्टाचार, सांसद किनबेच, सांसद अपहरणजस्ता दुष्कर्म भए।'

शासनमा आभिजात्य वर्गकै प्रभुत्व कायम राखिछाड्न यस्ता दुष्कर्म गरिएका थिए। संसदीय प्रजातन्त्रमा पनि आभिजात्य वर्गकै प्रभुत्व कायम रहेकाले गरिखाने जनतामा त्यस्तो प्रजातन्त्रप्रति स्वामित्व र अपनत्वे भाव जागेको थिएन। प्रजातन्त्रलाई गरिखाने जनताको तहसम्म विस्तार नगर्ने नीति र नियतका साथ गरिएका यस्ता दुष्कर्मकै कारण संसदीय प्रजातन्त्र ढल्यो, ढाल्न सहज भयो। त्यस्ता दुष्कर्ममा संलग्न खेलाडीले नै अचेल तिनै दुष्कर्म दोहोर्‍याउँदै छन्।

हुन त संसदीय राजनीतिको बजारमा सबथोक चल्छ, भेँडाबाख्राजस्तै सांसदको किनबेच पनि चल्छ, सभासदको अपहरण र थुनछेक पनि चल्छ। आखिर संसदीय दल र नेताहरूले चाहेको यही बजारु राजनीति त हो, जहाँ खुलाबजारको नियम चल्छ। जुन खेलमा आफू पोख्त छ, त्यही खेल न खेल्ने हो जसले पनि। र, जुन खेलमा आफू जितिन्छ, त्यही खेलमा त तान्ने हो विपक्षीलाई पनि। एकीकृत नेकपा (माओवादी)ले चाहे पनि, नचाहे पनि, ऊ यही संसदीय राजनीतिको खेलमा पसेको छ। संविधानसभाको व्यवस्थापिका-संसद् बनाएर, सहमतीय राजनीतिको वकालत गरेर उसले नेपाली राजनीतिलाई बाह्र वर्षे संसदीय दलदलबाट माथि उठाउन चाहेको होला।

 

तर, सहमतीय राजनीतिको वकालत गर्दागर्दै ऊ आफैँ पनि अब संसदीय खेलाडीबाट तानिएर संसदीय राजनीतिको अखडामा छिरेको छ। ‘सके सहमतीय सरकार बनाउने, नसके बहमतीय सरकार भए पनि बनाउने' निर्णयले माओवादी स्वयम्लाई पहिलोपटक हराइसकेको छ, त्यो पनि संसदीय खेल खेल्नुभन्दा पहिल्यै। र, जिताइसकेको छ संसदीय राजनीतिका खेलाडी दल र तिनका नेतालाई, विपक्षीलाई ललकार्नुभन्दाअघि नै।

राष्ट्रपतिले दिएको बाह्रदिने समयावधिमा पनि सहमतीय सरकार बनाउन असफल भएपछि माओवादीले पनि बहुमतीय सरकारको कसरत गर्न थाल्यो। यो उसको दोस्रो हार र संसदीय दलहरूको दोस्रो विजय हो। साउन ५ र ७ गते भएका चुनावी नौटंकीमा पनि उसको पराजयको नयाँ शृंखला नै देखियो र देखियो संसदीय दलको जयको कडी पनि। चुनावमा कोही विजयी नभएपनि, बहुमतका लागि सयौं पटक चुनावी प्रहसन हुने भएपनि। प्रचण्ड नेतृत्वको सरकारले खेलेको कमजोर खेल हेर्दा देखियो, संसदीय राजनीतिको खेलमा माओवादी कच्चा खेलाडी हो। र, माधव सरकारका बजेट र नीति-कार्यक्रमविरुद्ध उसले खेलेको कमजोर खेल हेर्दा देखियो, संसदीय खेल जित्न माओवादी पनि ‘नागरिक दल' बन्नुपर्छ।

यस्ता खेल र हारले प्रश्न उठाएका छन्: के माओवादी पनि अब संसदीय दलमै फेरिएको हो? के उसले पनि सहमतीय राजनीतिलाई त्यागेर बहुमतीय राजनीतिमै भाग्य परीक्षण गर्न खोजेको हो? के अब उसले पनि संसदीय दलले जस्तै सांसदको किनबेच र अपहरण गर्दै संसदीय खेलमा जित्ने प्रयास गर्न खोजेको हो? आफूसँग सत्तास्पर्धा गर्दै आएका संसदीय दलले उसलाई किस्तीमा राखेर सहमतिको कोसेली दिँदैनन् र बहुमत पनि उपहारमा दिने छैनन् भन्ने तीतो सत्य माओवादी नेतृत्वलाई थाहा छैन? थाहा हुँदाहुँदै पनि आफ्ना महत्वपूर्ण सबाल र अग्रगामी एजेन्डासमेत हार्ने सर्तमा पनि माओवादी नेतृत्व संसदीय खेलमा हाम्फाल्न खोजेकै हो त?

महाभारतमा कौरवहरूसँग खेलिएको द्यूतक्रीडामा हाम्फाल्दा पाण्डवहरूले आफ्नी पत्नी द्रौपदीसमेत हारे। ‘महानेपाल'मा पनि माओवादीले संसदीय द्यूतक्रीडा खेल्दा आफ्ना महत्वपूर्ण सबाल र अग्रगामी एजेन्डासमेत हार्नसक्छ। सहमतीय राजनीति र राष्ट्रिय सहमतिको सरकारको उसको नारा फेरि पराजित भएको छ, उसले बाध्यतावश नै बहुमतीय राजनीतिको खेल खेलेको हो भने पनि। सत्ताको खेलमै लिप्त हुने हो भने अब शान्ति र संविधानको प्रक्रियासँगै संघीयता, समावेशिता, धर्मनिरपेक्षता, राज्यको पुनर्संरचना, लोकतान्त्रिक गणतन्त्र र अरू महत्वपूर्ण विषय पनि हार्ने स्थिति बन्नसक्छ, माओवादीमात्र वा माओवादीइतरको सरकार बन्यो भने।

माओवादीसहितको वा बाहेकको बहुमतीय सरकार पनि जित्ने स्थितिमा होइन माओवादीका सबै महत्वपूर्ण एजेन्डा परास्त हुने सर्तमा मात्रै बन्नेछ वा बन्न दिइनेछ। द्यूतक्रीडामा हारिएकी पत्नी द्रौपदीलाई सभामै नङ्ग्याइँदा पनि पाण्डवहरू हेर्‍याहेर्‍यै भएका थिए, आज माओवादीलाई पनि ठीक त्यस्तै स्थिति र मनस्थितिमा पुर्‍याइनसक्छ, सामान्य बहुमत वा दुई तिहाइ बहुमतको आधारमा माओवादीमात्रको सरकार बनाइयो भने। किनभने उसका एकएक एजेण्डालाई द्रौपदीलाई जस्तै नङ्ग्याएर, उसको बचेखुचेको साख र शक्तिलाई खुइल्याउन नसकिएसम्म उसको हातमा बहमतीयमात्रै होइन, सहमतीय सरकारको साँचो पनि सुम्पिइने छैन। माओवादीको प्रमुख नेतृत्वले आफ्ना मुद्दालाई जिताउने वा सत्ता सुखलाई जिताउने भन्ने प्रश्नमा निर्णय गर्ने बेला आएको छ।

नेपालमा एक्काइसौँ शताब्दीमा साउनको पहिलो सातादेखि प्रधानमन्त्रीको लिगलिगे दौड भइरहेको छ र सत्ता कपको फाइनल खेल हेर्ने सौभाग्य नेपालीजनले पाएका छन्। त्यो सौभाग्यको मूल्य भने निकै महँगो छ, किनभने महँगो मूल्य असुल्ने गरी जनतालाई दर्शकदीर्घामा राखिएको छ। यस्तो फोहोरी खेल हेर्दा जनतामा राजनीतिप्रति निराशा फैलनेछ अनि राजनीतिक दल र तिनका नेताप्रति वितृष्णा जाग्नेछ। निराशा र वितृष्णा नै अभिजात वर्गको भूस्वर्गको दीघार्युका बलिया आधार हुन्।

 

त्यसैले यस्तो खेलमा जित्ने त आखिरमा बहमतीय प्रणालीले नै हो, संसदीय प्रजातन्त्रका दुष्कर्मले नै हुन्, आभिजात्य वर्गका स्वार्थले नै हुन्। र, हार्ने त जनताले माग गरेको सहमतीय राजनीति र राष्ट्रिय सहमतिको सरकारको मागले नै हो। लोकतान्त्रिक गणतन्त्र घोषणा गर्दै नगर्ने कि गणतन्त्र घोषणासँगै बहमतीय सरकारको प्रावधान पनि घोषणा गर्ने भन्ने हदसम्मको आपराधिक मोलमोलाइका आधारमा राजनीतिक खेलको नियमै फेरिएपछि ‘संसदीय प्रजातन्त्र'सामु ‘सहमतीय लोकतन्त्र' फेरि हार्नु पनि अब अनौठो हुन छोड्यो।

यस्तो स्थितिमा प्रश्न उठ्छ: ०५१-५५ को त्रिशंकु संसद्को नौटंकी, ०४८ र ०५६ मा बनेका कांग्रेसका एकल बहुमतीय सरकारको अस्थिरता, बहुमतप्राप्त दलबाटै प्रधानमन्त्रीको परिवर्तन, पटक-पटक संसद्को विघटनको खेल खेल्दै आफ्नो ‘संसदीय प्रजातन्त्र'समेत गुमेको तीतोतथ्यबाट पाठ नसिक्ने राजनीतिक खेलाडीहरुलाई सिकाउने उपाय कुनै बाँकी नै रहेन त अब?

 

के अब जनआन्दोलनपछि दर्शकदीर्घामा राखिएका जनताले मैदानमै उत्रेर, ती फल खेल्ने खेलाडीलाई, तिनको भावी बहुमतीय सरकारलाई, तिनको ‘संसदीय प्रजातन्त्र'लाई नै रेडकार्ड देखाउनैपर्ने भएको पो हो कि? शान्ति र संविधानका लागि अत्यावश्यक सत्ता साझेदारीको सिद्धान्तअनुसार मिलिजुली सरकार बनाउन आफैंले नयाँ खेल थाल्नुपर्ने भएको पो हो कि?
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस