विधेयकमा महिलालाई विभेद
०४ भदौ २०७५
•
१६ मिनेट पाठ
विधेयकमा महिलालाई विभेद
नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकविरुद्ध सडक अभियान जारी छ। नेपाल सरकारले यो संशोधन विधेयक प्रतिनिधिसभामा प्रस्तुत गर्दा प्रस्ट रूपमा ‘संविधानले निर्दिष्ट गरेबमोजिम नागरिकतासम्बन्धी विषयमा व्यवस्था गर्नका लागि’ भनी उक्त विधेयक दर्ता गर्नुको उद्देश्यलाई प्रकाश पारेको छ। यसको अर्थ यो विधेयकमा प्रस्तुत संशोधन प्रस्तावहरू संविधानले व्यवस्था गरेको नागरिकतासम्बन्धी प्रावधानहरू अनुरूप बनाउन ल्याइएको हो भन्ने विषय निर्विवाद छ । संविधान देशको मूल कानुन भएको हँुदा संविधानले प्रत्याभूत गरेका अधिकारहरू सुनिश्चित गर्न आवश्यक नयाँ विधेयकहरू मस्यौदा गरी संसद्मा प्रस्तुत गर्ने, भएका ऐनहरू संविधानअनुरूप नभएमा सो संशोधन गर्न संशोधन विधेयकहरू प्रस्तुत गर्ने कार्य नेपाल सरकारको हो। यहाँनेर हेक्का राख्नुपर्ने विषय के हो भने कुनै पनि विधेयक मस्यौदा गर्दा वा संसद्ले ऐन पारित गर्दा यसका प्रावधानहरू संविधानसित बाझिनु हुँदैन । बाझिएमा बाझिएको हदसम्म उक्त व्यवस्था अमान्य हुन्छ। सर्वोच्च अदालतलाई संविधानसित बाझिएका कानुनहरू अमान्य घोषणा गर्ने अधिकार पनि संविधानले दिएको छ। यस अर्थमा संसद्मा प्रस्तुत नागरिकतासम्बन्धी विधेयकका प्रस्तावित व्यवस्थाहरू संविधान अनुरूप छन् कि छैनन् भने प्रश्न यहाँनेर महत्वपूर्ण रूपमा हेरिनुपर्छ।

प्रस्तुत विधेयकले वर्तमान नागरिकता सम्बन्धी ऐनको विभिन्न दफालाई संशोधन गर्न संशोधन प्रस्ताव ल्याएको अवस्था छ। त्यसमध्ये दफा ४ को वंशजको नाताले नेपाली नगारिकता प्राप्ति सम्बन्धी व्यवस्था, दफा ५ को अङ्गीकृत नेपाली नागरिकता सम्बन्धी व्यवस्था, दफा ८ को नागरिकता प्रमाणपत्र प्राप्तिका लागि निवेदन सम्बन्धी संशोधन प्रस्तावहरू महिलाहरूको समान नागरिकताको अधिकारसित प्रत्यक्ष रूपमा ध्यानकर्षण भएका विषय हुन्। विशेषगरी, उक्त संशोधन प्रस्तावमा निम्न व्यवस्था गरिएका छन् :

महिलाको स्वतन्त्र अस्तित्वलाई अस्वीकार मात्र गरेको नभई महिलाका अत्यन्त निजी सम्बन्ध र यौनिक व्यवहार एवं गतिविधिलाई राज्यको निगरानीभित्र राखेको देखिन्छ।

अङ्गीकृत नेपाली नागरिकता प्राप्ति सम्बन्धमा : मूल ऐनको दफा ५(१) मा नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध भएकी विदेशी महिलाले नेपालको नागरिकता प्राप्त गर्न चाहेमा नेपाली नागरिकसँग भएको वैवाहिक सम्बन्धको र आपूmले विदेशी नागरिकता त्याग्ने कारबाही चलाएको निस्सा पनि साथै पेस गर्नुपर्नेछ भन्ने व्यवस्था रहेको थियो । यसमा संशोधन विधेयकले ‘भएकी’ भन्ने शब्दको सट्टा ‘कायम गरेकी’ भन्ने शब्द प्रस्तावित गरेको छ । त्यसैगरी, मूल ऐनको दवmा ५ (१) पछि निम्न (१क) र (१ख) को व्यवस्था थप गर्ने प्रस्ताव गरिएको छ :  (१क) उपदफा १ बमोजिम नागरिकता प्राप्त गर्न चाहने महिलाले नेपालको नागरिकता प्राप्त गरेको मितिले ६ महिनाभित्र विदेशको नागरिकता परित्याग गरेको निस्सा पेस गर्नुपर्नेछ । (१ख) उपदफा (१क) बमोजिमको समयसिमाभित्र विदेशको नागरिकता परित्याग गरेको निस्सा पेस गर्न नसकेमा उपदफा (१) बमोजिम प्राप्त गरेको नागरिकता रद्द हुनेछ ।

त्यसैगरी, विदेशी नागरिकसँग विवाह गरेकी नेपाली नागरिक महिलाबाट जन्मिएका छोराछोरीको हकमा निजको नेपालमा जन्म भई नेपालमा स्थायी बसोवास गरेको र बाबुको नागरिकताको आधारमा निजले विदेशी मुलुकको नागरिकता लिएको रहेनछ भने निजलाई तोकिए बमोजिम अङ्गीकृत नागरिकता प्रदान गर्न सकिनेछ भन्ने व्यवस्थाका सम्बन्धमा छोराछोरी भन्ने शब्दको सट्टा ‘व्यक्ति’ भन्ने शब्द र ‘नेपालमा जन्म भई’ भन्ने शब्द हटाउने प्रस्ताव गरिएको छ।

मूल ऐनको दफा ८ नागरिकताको प्रमाणपत्र प्राप्तिका लागि निवेदन दिने व्यवस्थासँग सम्बन्धित छ । उक्त प्रावधानअनुसार वंशजको नाताले नेपाली नागरिकताको प्रमाणपत्र लिन चाहने सोह्र वर्ष उमेर पूरा भएको व्यक्तिले तोकिएको अधिकारीसमक्ष बाबु वा आमा वा आफ्नो वंशतर्पmका तीन पुस्ताभित्रको नातेदारको नेपाली नागरिकताको प्रमाणपत्र र जन्मस्थान र नाता खुल्ने गरी गाउँपालिका वा नगरपालिकाले गरिदिएको सिफारिस सम्बन्धित अधिकारीसमक्ष पेस गर्नुपर्ने व्यवस्था गरेको छ । तर संसद्मा दर्ता भएको विधेयकमा भने मूल ऐनको दफा ८ को उपदफा (१) को, खण्ड (क) पछि खण्ड (क१) र (क२) थपिएका छन् । त्यसमध्ये थप गरिएको (क२) मा “नेपाली नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोवास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिको हकमा निजको बाबुको पहिचान हुन नसकेको पुष्ट्याइँसहित निज वा निजको आमाले गरेको स्वघोषणा” का आधारमा निजको सन्तानलाई वंशजको नागरिकता दिने व्यवस्था प्रस्ताव गरिएको छ । मूलतः यही विषय नै विभेदकारी भयो, यसले महिला तथा निजका सन्तानको मर्यादापूर्वक बाँच्न पाउने अधिकार लगायत यौनिकताको अधिकार, स्वतन्त्र रूपमा सन्तान जन्माउन पाउने अधिकारलाई संकुचन ग¥यो भन्ने आवाज महिला अधिकार अभियन्ताहरूले उठाएका छन् । नागरिकता सम्बन्धी प्रस्तावित विधेयकका प्रावधानहरू खारेज गर, जन्माउने, हुर्काउने बेलामा नभएको बाबा नागरिकता दिँदा नखोज सरकार, महिला दोस्रो दर्जाका होइनन् भन्ने नारासहित सडकमा उर्लेको नेपाली महिलाको आवाज मर्मस्पर्शी र तर्कसङ्गत छ । वास्तवमा प्रस्तावित विधेयकमा उल्लिखित यी प्रावधानहरूले महिलाको स्वतन्त्र अस्तित्वलाई अस्वीकार मात्र गरेको नभई महिलाका अत्यन्त निजी सम्बन्ध र यौनिक व्यवहार एवं गतिविधिलाई राज्यको निगरानीभित्र राखेको देखिन्छ।

नागरिकतासम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई नेपालको संविधानमा व्यवस्था भएका नागरिकतासम्बन्धी प्रावधानसँग अलग गरेर विश्लेषण व्याख्या गर्न मिल्दैन र हुँदैन । यो संशोधन विधेयक आउनुको मुख्य उद्देश्य नै उक्त ऐनका प्रावधानहरूलाई संविधानमा व्यवस्था भएको नागरिकता सम्बन्धी ऐन अनुरूप बनाउनका निमित्त हो । मूलभूत विषय यहाँनेर के हो भने प्रस्तावित संशोधन विधेयकमा परेका संशोधन प्रस्तावहरू संविधानअनुरूप छन् कि छैनन् ? संविधानसम्मत नभएका कारण विभेदकारी भएका हुन् कि संविधानमा नै रहेको नागरिकता सम्बन्धी विभेदकारी व्यवस्थाका कारण संशोधन प्रस्तावहरू विभेदकारी देखिएका हुन् भन्ने विषयमा प्रस्ट हुन आवश्यक छ । अतः विधेयकमा व्यवस्था भएका विषयहरू संविधानले व्यवस्था गरेको नागरिकता सम्बन्धी व्यवस्थाभन्दा फरक वा ती प्रावधानहरूलाई नै संकुचित गर्ने प्रावधानसहित आएका छन् कि भन्ने प्रश्नको कसीमा राखेर हेर्न आवश्यक छ । अन्यथा नेपाली महिला अधिकार अभियन्ताहरूले गरेका अभियान नागरिकताको विषयलाई तार्किक निष्कर्षमा पु-याउन कठिन हुन्छ । संशोधन विधेयकमा प्रस्तावित व्यवस्थाहरू तुलनात्मक रूपमा विश्लेषण गर्दा संविधानको नागरिकताको व्यवस्थासित बाझिएको देखिँदैन । वास्तवमा संविधानको धारा ११ (५) र (७) मा व्यवस्थित विभेदकारी व्यवस्थाले यो विधेयकमा निरन्तरता पाएको अवस्था हो । अतः यो विधेयकको मूल स्रोत नेपालको संविधानको भाग  २ धारा ११ (५) र (७) लाई संशोधन नगरीकन यस विधेयकमा सामान्य संशोधन प्रस्तावले नागरिकता प्राप्तिको समान अधिकारलाई सम्बोधन गर्न सक्ने अवस्था रहँदैन । किनकि, संविधान विपरीत हुनेगरी कानुन बनाउने अधिकार संसद् लगायत कुनै पनि निकायलाई छैन।

वास्तवमा २०४६ सालपछिको नागरिकताप्राप्ति सम्बन्धी कानुनी संरचनालाई हेर्ने हो भने यससँग तीनवटा समस्या जोडेर आएको देखिन्छ जसले निरन्तर रूपमा नागरिकता सम्बन्धी समान अधिकारको प्रत्याभूतिलाई अस्वीकार गर्दै आएको छ । पहिलो समस्या, नेपालको नागरिकता सम्बन्धी संवैधानिक र कानुनी व्यवस्थाले बाबुको वंशसित नागरिकता प्राप्ति र समाप्तिको व्यवस्थालाई जोड्दै आएको देखिन्छ । यस संरचनाले अन्तर्राष्ट्रिय कानुन तथा नेपालले नै विभिन्न समयमा जारी गरेका संविधानहरूले सुनिश्चित गरेका समानताको अधिकार, अविभेदको सिद्घान्त विपरीत यसले महिलाको स्वतन्त्र, स्वायत्त र सार्वभौम नागरिक पहिचानलाई सिधै अस्वीकार गरेको छ।

दोस्रो समस्या, यस व्यवस्थाले विभिन्न वैवाहिक अवस्थामा रहेका महिलाहरू विशेषगरी वैवाहिक सम्बन्धबिना जन्मेका बालबालिका, विभिन्न किसिमका यौन हिंसाबाट जन्मेका बालबालिका बाबुले परित्याग गरेका बालबालिकाहरूलाई सम्मानपूर्वक नागरिकता प्राप्त गर्ने सवालमा विभिन्न समस्या उत्पन्न गरेको छ । यसले अधिकांश बालबालिका सरकारले स्वीकार गरे पनि या नगरे पनि वास्तविकतामा राज्यविहीन हुन पुग्ने अवस्थालाई निम्त्याएको छ । परिणामतः उनीहरू सामाजिक, राजनैतिक र आर्थिक अवसरबाट वन्चित हुन पुग्छन् । अन्ततः यो राज्यकै निमित्त ठूलो बोझ हुन पुग्छ।

तेस्रो समस्या, नागरिकताको सवाललाई लिएर हेर्ने हो भने विवाहसम्बन्धी संरचना हालसम्म पनि विभेदको स्रोतका रूपमा कायमै रहेको छ । नेपाली पुरुषले विदेशी महिलासँग विवाह गरेमा विवाहको आधारमा नागरिकता पाउने व्यवस्था छ । तर नेपाली महिलाले विदेशी पुरुषसित विवाह गरेमा विवाहका आधारमा नेपाली नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था गरेको देखिँदैन । यसरी एउटै अधिकार पुरुषले निर्बाध उपभोग गर्न पाएको अवस्था छ भने महिलालाई उक्त अधिकारबाट वञ्चित गरिएको छ।

संविधानमा व्यवस्था भएको असमान नागरिकताको व्यवस्थालाई सम्बोधन नगरी विधेयकमा तात्विक परिवर्तन ल्याउन सक्ने अवस्था सिद्धान्त र व्यवहार दुवै कारणले सम्भव देखिँदैन । अतः अहिलेको नागरिकतामा समान अधिकार सम्बन्धी सडक अभियानले विधेयक संशोधनलाई भन्दा पनि नागरिकता सम्बन्धी असमान संवैधानिक व्यवस्थालाई नै संशोधन गर्नेतर्फ ध्यान दिन जरुरी छ । भर्खरै मात्र प्रधानमन्त्री केपी शर्मा ओलीले ‘कहाँ विभेद छ देखाउनुहोस् संघीय सरकारले संशोधन गर्छ । विभेद छ भन्ने देखिएमा हटाउँछ’ भन्ने प्रतिबद्घतासहितको भाषण गर्नुभएको छ । सायद ओली नेतृत्वको सरकारलाई संविधानको नागरिकता सम्बन्धी व्यवस्थामा रहेको भेदभाव देखाउन, सरकार समानताको पक्षधर हो भने देखाउन खुला अवसर छ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस