साम्यवादी जोगीको शासन
१३ भदौ २०७५
•
१४ मिनेट पाठ
साम्यवादी जोगीको शासन
राजनीतिबारे ओसोकोे चर्चित भनाइ छ– राजनीति उसका लागि मात्र हुन्छ जससँग अरु केही गर्ने क्षमता छैन । जो मूर्ति बनाउनसक्दैन, जो चित्रमा रंग भर्न सक्दैन, जो गीत गाउन सक्दैन, जो केही पनि गर्नसक्दैन उसकालागि राजनीति सहज हुन्छ । जसमा अरु कुनै योग्यता हुँदैन, ती सबैकालागि राजनीति हुन्छ । आखिर अयोग्यकालागि पनि त केही चाहियो । राजनीतिकालागि बुद्धि चाहिँदैन । किनभने बुद्धिमान मानिस यतिविधि बेइमानी गर्नसक्देैन, यतिविधि धोका दिन सक्दैन, यतिविधि झुट बोल्नसक्दैन । राजनीतिमा सफल हुन अत्यन्त निदाएको चेतना हुनुपर्छ । राजनीति त झुटको पुलिन्दा हो।




ओसोको यो भनाइ शतप्रतिशत सही नहुन सक्छ । सिर्जनशील, कलाकार, खेलाडी क्षमता भएका ऊर्जावान्हरू पनि राजनीतिमा छन् । उनीहरू कति सफल हुन्छन् त्यो फरक कुरा हो तर राजनीतिमा सफल हुन झुट बोल्ने, बेइमानी गर्ने र धोका दिने क्षमता अनिवार्य देखिँदै आएको छ । जसले जनतालाई बढी भ्रमित तुल्याउनसक्छ त्यो सफल राजनेता हुँदै गएको छ । हाम्रा प्रधानमन्त्री खड्गप्रसाद ओलीका हिजोका बोली, आजका गराइ र शायद भोलिकालागि बोलिएका दिव्यवाणी केलाउने हो भने ओसोको भनाइको धोका, झुट र बेइमानीको आरोप स्वीकार्नुपर्ने हुन्छ।

केही दिनपहिले भावुक भएर प्रधानमन्त्रीले झापामा भन्नुभएछ–‘म राजनीतिको जोगी हुँ । मलाई केही पनि चाहिएको छैन ।’जोगीको शाब्दिक अर्थ हुन्छ– समग्र व्यावहारिकताका सुख–दुख, प्राप्ति–अप्राप्ति, शोक, सन्ताप, सत्ता सबैबाट विरत सांसारिक आशाहरूबाट मुक्त । योगी शब्दको अपभ्रंश हो जोगी । योगी त्यसलाई भनिन्छ जो यथार्थमा जीवात्मा र परमात्मा जोड्न सफल तत्वज्ञानी हुन्छ। परब्रह्मसँग आफ्नो समग्र चेतना जोड्न समर्थहरू नै योगी हुन् । के हाम्रा प्रधानमन्त्री सुख,दुःख, वासना, लोभ, भय, आकांक्षा, प्रतिशोधमुक्त भइसक्नुभएको हो त ?उहाँले आफूलाई जोगी बताइरहनु हुँदा दुइटा महल, अरु श्रीसम्पत्ति, प्रधानमन्त्री पद र पार्टीको पद, विपक्षीमाथि निरन्तर प्रहार गर्ने निर्लज्ज, तर्कहीन शब्दवाण, जनतालाई निरन्तर ढाँटिरहेका वाणी, निर्माण गरिरहेको सत्ताकुण्डली, प्रतिशोधपूर्ण व्यवहार सबैलाई पूर्ण परित्याग गरेको सन्देश दिनुभएको हो त?

राजनीतिमा हल्ला चलाइन्छ । एकताका पुष्पकमल दाहालले बुद्ध दर्शन र माक्र्सवाद समान हुन् भन्ने दिव्यवचन प्रवाह गर्नुभएको थियो । केही समयपछि बाइबल र माक्र्सवादमासमानता देख्नुभयो र पूर्वीय आध्यात्मिक दर्शन समाजसापेक्ष नभएको व्याख्या गर्नुभयो ।अहिलेसाम्यवाद पनि धर्ममा रूपान्तरित हुँदैछ । कुनै दिन यस्तो पनि आउनेछ कार्ल माक्र्सलाई ईश्वरको अवतार ठानिनेछ, धर्म गुठी निर्माण हुनेछन्, पुजारी नियुक्त हुने छन्, उनका मूर्तिमा पूजा हुनेछ र साम्यवादलाई पुराण बनाइनेछ ।लेनिन र माओलाई शक्तिको प्रतीक मान्दै उनीहरूका नाममा निर्मित मठमन्दिरमा बलि चढाइनेछ । टीकाटालो गर्दै प्रसाद ग्रहण गर्ने परम्परा बस्नेछ । कतिपय व्रतसमेत बस्नेछन् ।धेरै पण्डितको जीविका चल्नेछ । केही सुरुवात त भइसकेको छ। 

राजनीतिमा सफल हुन झुट बोल्ने, बेइमानी गर्ने र धोका दिने क्षमता अनिवार्य देखिँदै आएको छ । जसले जनतालाई बढी भ्रमित तुल्याउनसक्छ त्यो सफल राजनेता हुँदै गएको छ।

यो राजनीतिको दुरुह कला सबैसँग हुँदैन । नेपालका साम्यवादी र त्यसमा पनि शासनमा बस्नेले यस्तो कला आविष्कार गरिरहेका छन् । तपोभूमि, आध्यात्मिक दर्शनको उद्भवभूमि, साधनाभूमि भनेर परिचित नेपालभूमिबाट नै अब माक्र्स, लेनिन र माओलाई ईश्वरको अवतार घोषणा गर्दै संसारभर विस्तार गरिनेछ । मन्दिरका ढोकामा साम्यवादका नयाँ भाष्यकार जोगी प्रधानमन्त्री वा पुष्पकमल दाहालहरूका ससाना मूर्ति राखिनेछन् र अक्षता पाती, धूप चन्दन आदि चढाइनेछ।

अहिलेका जनताले राम्रो सडकमा हिँड्न नपाए पनि, एकछाक भात खान नपाए पनि, खाडीको तातोमा पिल्सिनुपरे पनि, बेरोजगार भएर संसारमा विचरण गर्नुपरे पनि, रातदिन पानीजहाज, रेलका सपना देख्दै समृद्धिको आकांक्षा राख्नुपरे पनि, बूढाबूढीले ५ हजारको काकाकुलीय तिर्खा सहनुपरे पनि अब माक्र्सवादी झोलबाट पेट सहज बनाउने दिन आएका छन् । साम्यवादी समृद्धि निकट भविष्यमा नै आउनेछ । यसको पहिलो चरणमा साम्यवादी दलका प्रधानमन्त्रीले आफूलाई जोगी घोषणा गरी नयाँ सत्य आविष्कार गरिसक्नुभएको छ।

नैपालमा धेरै शासक थिए जोसँग काठमाडौँमा झुपडी पनि थिएन । उनीहरूले घरगृहस्थीसमेत गरेका थिएनन् । कतिपयलेसत्तासमेत अस्वीकार गरेका थिए । डेढ दशकसम्म जेलनेल भोगेर शासनको कुर्सीमा दुईपटक बसेका कृष्णप्रसाद भट्टराईसँग एउटा थोत्रो टिनको बाकस, माटोको सुराही, छाता र केही जोर लुगा अनि गीताको पुस्तकमात्रै थिए । उहाँ अरुले स्नेहपूर्वक दिएको एक कोठामासमय व्यतीत गरेर परमार्थ लाग्नुभयो । सुशील कोइरालाले नेपालगन्जमा भएको केही सम्पत्तिसमेत त्याग्नुभयो।

प्रधानमन्त्री भएर पनि उहाँको राजधानीमा घर थिएन । डेराबाट नै उहाँको पार्थिव यात्रा हुन पुग्यो । एकताकाका शक्तिशाली प्रधानमन्त्री गिरिजाप्रसाद आफैँले कुनै सम्पत्ति थुपारेको सुनिएन । केही समय प्रधानमन्त्री हुनुभएका मनमोहन अधिकारीमापनि सम्पत्तिको भोक देखिएन । २०४६ को जनआन्दोलनका कमान्डर गणेशमान सिंहलाई राजाले प्रधानमन्त्री बन्न प्रस्ताव गर्दा पनि उहाँले मान्नुभएन ।नारायणमान बिजुक्छेले सत्तामा बस्न गरिएको आग्रह स्वीकार्नुभएन ।बिपी कोइराला पनि कि जेल कि डेरामैबस्नुभयो । राजधानीमा उहाँको घर थिएन।

तपोभूमि, आध्यात्मिक दर्शनको उद्भवभूमि, साधनाभूमि भनेर परिचित नेपालभूमिबाट नै अब माक्र्स, लेनिन र माओलाई ईश्वरको अवतार घोषणा गर्दै संसारभर विस्तार गरिनेछ।

सत्ताकोतीव्र भोक, राजधानीमा सुविधायुक्त जीवन, नेपालीले धान्नै नसक्ने शैली भोग गर्ने व्यक्तिले आफूलाई जोगीभनेको सुन्दा नेपाली दंग छन् । जोगीका राजमा प्रतिदिन बालिका बलात्कारको सिकार भइरहेछन्, न्याय माग्ने समूहमाथि गोलीका पर्रा छुट्छन्, अशक्त–बिरामीलाईप्रदान गरिएका सुविधा खोसिँदैछन् । संविधानका अक्षर र भावनामाथि खेलवाड हुँदैछ, न्यायालयलाई निरीह  बनाइएको छ।

२००८ सालमा प्रहरिको गोली लागेर मरेका चिनियाकाजीलाई पञ्चायतकालभर शहीद भनेर नथाक्ने र कांग्रेसविरुद्ध निरन्तर प्रहार अस्त्र बनाउने साम्यवादी नेतृत्वको सरकार कञ्चनपुरमा मारिएका सन्नी खुनाबारे के भन्छ होला ? अनुमानमात्रै गरौँ । त्यसबेला बिपीले गृहमन्त्रीबाट नैतिकताका आधारमा राजीनामा दिनुभएको थियो । अहिले त्यस्तो नैतिकता कता खोज्नु ?भ्रष्टाचारको त कुनै तर्क हुँदैन । यो परम्परा नै भएको छ । जनप्रतिनिधिको गोजी खर्च भर्न आमनागरिकले चर्को करको भारी बोक्नुपरिरहेको छ । तर प्रधानमन्त्री भनिरहेछन्– दक्षिण एशियामा नै नेपाल कम कर लगाउने देश हो ।राजनीतिमा झुटको पुलिन्दा निकै ठूलो हुनुपर्छ । सुन निल्ने ठूला माछा अनुसन्धान रोक्न सफल भएका छन्, सडक ठेकेदारका घरमा नेताको बास छ, कामै नगरे पनि भुक्तानी हुन्छ, कारबाही हुँदैन । गज्जब छ जोगीको शासन।

पाकिस्तानका चर्चित क्रिकेटर इमरान खान लामो प्रयत्नपछि प्रधानमन्त्री भएका छन् । उनी धेरैका मनमा क्रिकेटकै कारण विराजमान छन् । करिब दुईदशकको राजनीतिक यात्रामा सफल हुनासाथ उनले केही निर्णय गरे– यसअघि प्रधानमन्त्रीका ५२४ सदस्यीय सहयोगीको सट्टा २ जनामात्र राख्ने, प्रधानमन्त्री निवासलाई विश्वविद्यालयका रूपमा विकास गर्ने घोषणासाथ आफू सामान्य तीन बेडको घरमा बस्ने, प्रधानमन्त्रीका लागि राखिएका ३३ वटा बुलेट प्रुफ कार र ८० वटा गाडी बिक्री गरी विद्यार्थीकालागि खर्च जुटाउने, प्रधानमन्त्रीका लागि राखिएको हेलिकप्टर बेचेर मातृशिशु  कल्याणमा खर्च गर्ने आदि । यी उदाहरणसँग नेपालका जोगी प्रधानमन्त्रीको व्यवहार तुलना गरियो भने के भन्नुपर्ने हुन्छ ?तर इमरान खानले आफूलाई जोगी घोषणा गरेको सुनिएको छैन।

नेपालको शासनमा कुनै असाधारण महापुरुष बस्नुपर्छ भन्ने चाहना नेपालीको छैन होला । कुनै चमत्कारिक नेता हुन्छ र हुनुपर्छ भन्ने पनि छैन । सामान्यतः नेपालीको दुरुह जीवनलाई अलिकति उकास्न सक्ने कल्पनाशील नेता भए पुग्छ । सपनाको चाङमा नेपाली सुत्ने चाहना राख्दैनन् होला । यथार्थ बुझ्ने, बुझाउनसक्ने र इमान्दारीपूर्वक काम गर्न सक्ने, जनतालाई झुट बोलेर दिनहुँ नहँसाउने नेता भएपुग्छ।

आकाश–पातालका सपना देखाउने र आफूलाई महान् सन्तको श्रेणाीमा परिभाषित गर्दै हिँड्ने नेतृत्वको खोजी होइन अहिले । सबैलाई थाहा छ, विपन्न देश एकैपटक समृद्ध हुनसक्दैन । तर मान्छे एकैपटक  इमान्दार हुनसक्छ । राजनीतिमा एउटा यस्तै इमान्दार नेता भए पुग्छ । उसले संन्यास लिनु आवश्यक हुँदैन । ओसोले भनेजस्तो राजनीतिलाई बेइमान सिद्ध गर्नुहुँदैन । त्यस्तै नेतृत्व भए पुग्छ नेपालीलाई।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस