प्रदेश सरकार र वैदेशिक सहायता
०५ पौष २०७५
•
१९ मिनेट पाठ
प्रदेश सरकार र वैदेशिक सहायता
अन्तरिम संविधान बन्दा संघीयताको प्रसंग सुन्न सकिने गरी उठाइएको थिएन। २०६२–२०६३ मा संघीयता मूल मुद्दा भएको भए अन्तरिम संविधान निर्माणका बेला त्यो हदको मौनता रहने थिएन। तथापि नेपालमा आफ्नो दबाब र प्रभाव कायम गर्न चाहनेहरू नेपाली र नेपाललाई कमजोर पार्ने कुराका तानाबाना बुन्दै थिए भन्ने कुराचाहिँ नकार्न सकिँदैन। 




संघीयता भारत, अमेरिका वा स्विट्जरल्यान्डमा लागु गरिनुका आआफ्नै परिस्थिति र कारण छन्। ती देशको जस्तो परिस्थिति र कारण नेपालमा थियो वा अन्य अपरिहार्य कारण थिए भन्नेबारे अनुसन्धान भएको पनि देखिएको होइन। संघीयताबारे नेपाली जनताले संविधान सभालाई के सुझाव दिएका थिए भन्ने कुरा सार्वजनिक भएको छैन। हालको संसद् संविधान सभामा जनताले दिएको राय सार्वजनिक गर्न कहिले लाग्ने हो थाहा भएन। टाइमा गाँठो पार्ने सिप सिकाएपछि ती राय पनि अवश्य सार्वजनिक गर्ला।

नेपाल एकीकरणपछि करिव साढे दुई सय वर्ष एकात्मक पद्धतिमा रहेको थियो। एकात्मक पद्धति खराब हो भने चीन, बेलायत, जापान, सिंगापुरको पद्धति पनि खराब हो। पद्धति खराब होइन भने अरु र अन्यत्र रहेका समस्यालाई पद्धतिमा लगेर टाँसियो। बेलायत एकात्मक रहेर पनि घाम नडुब्ने देश बन्यो। चीन एकात्मक भएर पनि आज विश्व मानचित्रमा देखिने गरी उपस्थित छ। जापान त हाम्रो ठूलो सहयोगी नै हो। नेपाललाई सिंगापुर जस्तो बनाउने कुरा त धेरैले गर्छन्। संघीयता सहज वाम रुझानको विषय पनि प्रतीत हुँदैन किनकि यो जनवादी केन्द्रीयता पक्कै होइन।

जे होस् नेपालको संविधानमा संघीयता लेखियो र यो कार्यान्वयनको चरणमा छ। संघीयताको पक्ष/विपक्षमा आआफ्ना तर्क पनि छन्। संघीयताले नेपालमा हित गर्छ भन्ने र हित गर्दैन भन्ने दुवैथरी जनमत नेपालमा छ। अझ जो जताबाट प्रभावित भयो त्यतैको संघीयताको ‘रूप’ भएन भनी चित्त दुखाउने पनि छन्। संघीयता आफ्नो भार आफैँ बोक्न नसकी जान्छ भन्ने पनि छन्। संघीयता नेपाललाई अझ कमजोर नगरी गए हुन्थ्यो भन्ने पनि छन्। संघीयता हावाहुण्डरीले छाडेर गएको सफा गर्न बल गर्नुपर्ने रहलपहल भन्ने पनि छन् र अधिकार, सुशासन र न्यायमा पहुँच पु¥याउन ल्याइएको पद्धति भन्ने पनि छन्। संघीयता जिन्दावाद भन्ने पनि छन् र मुर्दावाद भन्ने पनि छन्। अहिले ऊ बेला संघीयता ठीक छैन भन्दै हिँडेकाको मनोबल उच्च होला कि तिनलाई लखेट्नेहरूको भन्नेबारे अनुसन्धान भएको भने देखिँदैन। जे होस्, संघीयताको जन्ती जानेले के के गरिरहेका छन् र मलामी जान चाहनेले के के गर्दैछन् भन्ने कुरामा जनताको चासो बढेको पक्कै छ। तिनीहरूका कर्म र व्यवहारले संघीयताका सम्बन्धमा जनमत कता ढल्कँदै जाला भन्नेचाहिँ महत्वपूर्ण हो।

पहिले संघीयतालाई नै सबै रोगको एउटा दबाइ (प्यानेसिया) ठान्ने कैयौँको मनमा अहिले शंका उत्पन्न भएको पनि देखिन्छ। कतिले आफूलाई ऊ बेला लतारिएको महसुस गर्दै होलान्। कतिलाई यो नभई केही सम्भव हुँदैन भन्ने पनि लाग्दो हो। अबको केही वर्षमा यो पद्धतिले सेवा दिन्छ कि भ्रष्टाचार विकेन्द्रीकृत गर्छ ? राष्ट्रिय एकता प्रवर्धन गर्छ कि जनतामा क्षेत्रीयता रोप्छ ? राज्यको स्रोत सेवा र विकासमा खर्च हुन्छ कि संघीयता धान्न खर्च हुन्छ ? संघीयतापछि तलका अख्तियार माथि सार्दै लगिन्छ कि लगिँदैन ? संघ र प्रदेशबीच कस्ता कस्ता विवाद उत्पन्न हुन्छन् ? ती विवादको निरुपण कसरी हुन्छ ? संघीयता धान्न के÷कस्ता र कति कर लगाइन्छन् ? प्रदेश र स्थानीय तहमा के÷कस्ता कानुन बन्छन् ? प्राप्त अख्तियारको प्रयोग कसरी गरिन्छ ? प्रदेश र स्थानीय तहसम्म विदेशी संस्था र दाता घुस्ने प्रयत्न गर्छन् गर्दैनन् ? उनीहरूको घुस्ने प्रयासलाई संघले कसरी हेर्छ ? प्रदेश र स्थानीय तहले विदेशीको लोलोपोतोलाई कसरी ग्रहण गर्छन् ? प्रदेश र स्थानीय तहमा विदेशीको घुसपैठ हुन खोजे वा भए जनताले त्यसलाई कसरी लिन्छन् ? यी प्रश्नको उत्तर संघीयताको प्रतिष्ठासँग जोडिएर आउनेछ।

संघीयता मुलुकलाई परनिर्भर बनाउन आएको होइन। संघीयता विदेशी गैरसरकारी संस्थालाई प्रदेश र स्थानीय सरकारमार्फत घरदैलो गर्न दिन पनि आएको होइन। संघीयता नेपालको सभ्यता, संस्कृति समाप्त पार्न र पराइ मूल्य÷मान्यता स्थापित गर्न आएको त पक्कै होइन। संघीयता जनप्रतिनिधिको महत्ता र भूमिका घटाइ विदेशी संस्थाको प्रपञ्च विकेन्द्रित गर्न आएको पनि होइन। संघीयता विदेशी संस्थाले हाम्रा कानुन र नीति बनाइदिन वा तिनैले कार्यान्वयन गरिदिनसमेत आएको होइन। संघीयता आफ्नो स्रोत र क्षमता बेवास्ता गरी राज्यका क्रियाकलापमा विदेशीको वर्चश्व कायम गराउन आएको पनि पक्कै होइन।

केही समययता विदेशी संस्था प्रदेश तहमा प्रवेश गर्दै गरेका समाचार आएका छन्। पोखरामा प्रदेश सम्बद्ध सरकारी वकिलले संविधानका व्यवस्थाप्रति चित्त दुखाएको कुरा पढियो। त्यो कार्यक्रम दाताको लगानीमा भएको भनिएको थियो। हालै आएर प्रदेशको नाम राख्न र योजना बनाउन विदेशी संस्थाले सहयोग गर्दै गरेका कुरा पनि सार्वजनिक भए। कति प्रदेश राजधानीमा विदेशी संस्थाका व्यक्तिले ‘कट्सी कल’ वा अन्य नाममा सिधै सहायताको प्रस्ताव राखेका कुरा पनि जानकारीमा आएका हुन्। यस आलेखमा संघीयताको नयाँ अवयवका रूपमा रहेको प्रदेश सरकारले वैदेशिक सहायता लिन सक्छ/सक्दैन भन्नेबारे नेपालको संविधानका आधारमा चर्चा गरिनेछ। 

संविधानको धारा ५१ (घ) (११) मा ‘वैदेशिक सहायता लिँदा राष्ट्रियता र प्राथमिकतालाई आधार बनाउँदै यसलाई पारदर्शी बनाउने र वैदेशिक सहायताबाट प्राप्त रकम राष्ट्रिय बजेटमा समाहित’ भनिएको छ। यो व्यवस्था हेर्दा राष्ट्रिय बजेटमा समाहित हुनेगरी बाहेक नेपालले कुनै पनि वैदेशिक सहायता लिन सक्दैन। नेपाल सरकारले नै पनि राष्ट्रिय बजेटमा समाहित नहुने गरी वैदेशिक सहायता लिन सक्दैन भने प्रदेश तहले त्यस्तो सहयोग लिनु असंवैधानिक हुन्छ। प्रदेशले वैदेशिक सहायताका लागि प्रस्ताव गर्नु  र त्यसका लागि वार्ता गर्नु सहायताकै प्रारम्भिक कार्य हुँदा त्यो पनि असंवैधानिक हुन्छ। 

कुनै विदेशी मुलुक वा दाता वा संस्थाले प्रदेशका राजनीतिक पदाधिकारी वा प्रशासनिक अधिकारीसँग वैदेशिक सहायताको प्रस्ताव राख्नु र वार्ता गर्नु पनि संविधान विपरितको कार्य हो। नेपाल सरकारले त यो लगायतका संवैधानिक व्यवस्था र अन्तरसरकारी वित्त व्यवस्था ऐनले तय गरेका राष्ट्रिय आवश्यकता र प्राथमिकतामा मात्र वैदेशिक सहायता लिन सक्छ भने प्रदेश सरकारले निर्बन्ध यस्तो अधिकार राख्छ भन्न सकिँदैन। संविधानको धारा ५९ (६) मा ‘वैदेशिक सहायता र ऋण लिने अधिकार नेपाल सरकारको हुनेछ, त्यस्तो सहायता वा ऋण लिँदा समष्टिगत आर्थिक स्थायित्व हुनेगरी लिनुपर्नेछ’ भन्ने व्यवस्था छ। यो व्यवस्था पढेको, यसप्रति विश्वास गर्ने वा यस व्यवस्थाको पालन गर्ने कुनै पनि प्रदेश तहको पदाधिकारीले विदेशीबाट सहायता र ऋण लिन मिल्दैन। यसो गर्नु यो संविधान र संविधानको व्यवस्था पालन गर्ने सपथको बर्खिलापको कार्य हो। पदमा नरहँदा विदेशी दातासँग लहसिनु एउटा कुरा हो तर राज्यको पदमा बसेर संविधान र कानुन विपरित विदेशी दातासँग लहसिनु संविधानको उल्लंघन हुन्छ।

संविधानको धारा २७८ मा सन्धि वा सम्झौता सम्पन्न गर्ने अधिकार संघमा निहित हुने, प्रदेशको अधिकारको सूचीमा पर्ने विषयमा सन्धि÷सम्झौता गर्दा नेपाल सरकारले सम्बन्धित प्रदेश सरकारसँग परामर्श गर्नुपर्ने र प्रदेश मन्त्रिपरिषद्ले नेपाल सरकारको सहमति लिई आर्थिक तथा औद्योगिक विषयमा करारजन्य सम्झौता गर्न सक्ने उल्लेख छ। यो व्यवस्थाले सन्धि÷सम्झौतालाई संघको विषय भन्छ। प्रदेशको विषयमा सन्धि÷संझौता गर्दा नेपाल सरकारले ‘परामर्श’ लिए पुग्छ। यो व्यवस्थाअनुसार प्रदेशका मुख्यमन्त्री, मन्त्री वा सरकारी अधिकारीले सिधै करार गर्न सक्दैनन्। त्यस्तो करार गर्न पनि प्रदेश ‘मन्त्रिपरिषद्’ अनिवार्य हुन्छ। प्रदेश मन्त्रिपरिषद्ले पनि आफैँ करार गर्ने भनी अन्तिम निर्णय गर्न सक्दैन, नेपाल सरकारको ‘सहमति’ अनिवार्य हुन्छ। 

यो प्रावधानअनुसार प्रदेशमा विदेशीसँग गरिने करार मन्त्रिपरिषद्ले गर्नुपर्ने, त्यो पनि आर्थिक र औद्योगिक विषयका करारमात्र गर्न सक्ने र त्यसका लागि पनि नेपाल सरकारको सहमति चाहिने भनेपछि वैदेशिक सहायता लिने सन्धि÷संझौता गर्ने भन्न मिल्ने देखिँदैन। आर्थिक करारका नाममा वैदेशिक सहायता लिनु संविधानको मर्मविपरित हुन्छ किनकि करार र विदेशीसँग गरिने सहायता सम्झौता फरक फरक हुन्। फरक हुनाले नै संविधानमा फरक बन्दोबस्त गरिएको होला। सहायता सम्झौता संघले गर्ने र सो रकम राष्ट्रिय बजेटमा समाहित हुनुपर्ने विषय हो। विश्वका अन्य देशमा पनि प्रदेश, प्रान्त वा राज्यले विदेश सम्बन्ध सञ्चालन गर्दैनन्।

संविधानको अनुसूची ५ को क्रमसंख्या ६ मा परराष्ट्र र कूटनीतिक मामला, अन्तर्राष्ट्रिय सम्बन्ध र संयुक्त राष्ट्र संघ तथा क्रमसंख्या ७ अनुसार अन्तर्र्रािष्ट्रय सन्धि/सम्झौतालगायतका विषय संघको अधिकारको सूचीका विषय हुन्। वैदेशिक सहायता मुखको परिपञ्च मिलाएर लिने भन्ने हुँदैन। यसका लागि सन्धि÷सम्झौता अनिवार्य हुन्छ। यस्तो सन्धि÷सम्झौता लिखित हुनुपर्छ। संविधानको अनूसूची ५ अनुसार प्रदेश सरकारलाई परराष्ट्र र कूटनीतिक मामिलासम्बन्धी र सन्धि÷सम्झौता गर्ने अधिकार नभएपछि प्रदेश सरकारको तर्फबाट कसैले पनि सन्धि÷सम्झौता गरेर वैदेशिक सहायता लिन मिल्दैन। यहाँसम्म कि संयुक्त राष्ट्र संघ वा त्यसका एजेन्सीबाट पनि सहायता लिन मिल्दैन। राष्ट्र संघ एकातिर स्वदेशी संस्था होइन भने अर्कोतिर यो संघको अधिकार क्षेत्रभित्रको संस्था हो। संविधानको अनुसूची ६ अर्थात् प्रदेशको अधिकारको सूचीभित्र वैदेशिक सहायता छैन र हुने कुरा पनि भएन। यस्तै संघ र प्रदेशको साझा अधिकारको सूची (अनुसूची ७) र संघ, प्रदेश र स्थानीय तहको साझा सूची (अनुसूची ९) मा पनि वैदेशिक सहायतासम्बन्धी विषय उल्लेख छैन। 

नेपालको संविधानमा भएका यी व्यवस्था प्रदेश तहले आफैँ पालन गर्नुपर्छ। नेपाल सरकारमा त्यस्तो कुनै सूचना आए त्यसले पनि पालना गराउने प्रयास गर्नुपर्छ। राष्ट्र संघलगायतका विदेशी दाता र संस्था पनि हाम्रो संविधान विपरित सहायताको प्रस्ताव लिएर प्रदेश तहमा जान मिल्दैन। त्यस्तो प्रयास भएको देखिए नेपाल सरकारले ती विदेशीलाई संविधान विपरितका काम नगर्न लेखी पठाउनुपर्ने वा ब्रिफ गर्नुपर्ने हुन्छ। 

विदेशीले उपलब्ध गराउने सहायताका नाममा स्थानीय सभ्यता, संस्कृति समाप्त पार्ने, जातीय, क्षेत्रीय वा अन्य  उन्माद बढाउने वा नागरिकबीच विभाजन रेखा कोरी खास प्रकारका मानिसविरुद्ध खासप्रकारका मानिसलाई भड्काउने कार्य गर्ने सम्भावना पनि हुन सक्छ। नेपालमा काम गर्न अनुमति दिइएका कतिपय विदेशी संस्था धर्म परिवर्तन गराउने काममा संलग्न रहेको वा त्यो काममा खर्च उपलब्ध गराउने गरेको वा दाता संस्था सम्बद्ध धर्म वा विश्वास मान्नेलाई अरु धर्म वा विश्वासविरुद्ध भडकाउन रकम प्रयोग गर्ने गरेका कुरा पनि सार्वजनिक भएका छन्। 

केन्द्रमा रहेको समाज कल्याण परिषद्ले ती संस्थाको नेकीवदी राख्न नसकेको भन्ने समाचार आउने गरेका छन्। अझ कतिले त लालच वा मिलिमतोमा विदेशी संस्थाले गरेका हर्कतबारे आँखा चिम्लने गरिएको भन्ने आरोप लगाउने गरेका छन्। औषधिलाई ब्लेसिङ तथा उपचारलाई प्रार्थना र चमत्कारले बिस्थापित गर्न विदेशी पक्कै चाहिने होइन। धर्म परिवर्तन त अपराध नै हो। सामाजिक सद्भाव बिथोल्ने कार्यले मुलुकलाई रसातलमा पु¥याउँछ। धर्म परिवर्तन, सरकारप्रतिको वितृष्णा र सामाजिक विघटनको भुंग्रो तापेर न्यानो मानी बस्नु कुनै तहको सरकार र कुनै पनि अधिकारीको कर्तव्य होइन। यस्ता कार्य राज्य र राष्ट्र कमजोर पारी विदेशीलाई हालीमुहाली गर्न दिने षड्यन्त्र हुन्। यस्तो षड्यन्त्र हुन नदिनु सबै नागरिकको कर्तव्य पनि हो।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस