हैसियत गुमाएका खबरहरू
०५ भदौ २०६७
•
१० मिनेट पाठ
हैसियत गुमाएका खबरहरू
यतिवेला धेरै खबरहरुले आफनो हैसियत गुमाइ सकेका छन्। सबभन्दा पहिले त देशको भाग्य विधाता मानिएका राजनीतिक दलहरूको हैसियत गुमेको छ। त्यसपछि दशक लामो हिंसात्मक आन्दोलनको हैसियत 'आगोको लप्का' बाट हत्तपत्त ननिभ्ने 'भुसको आगो' मा उक्लिएकोछ। सहमतिका आधारमा दलहरूको नाभीबाट निस्किएको संविधान सभाको आयु सहमतिमै बढाइएपनि त्यसको गुमेको हैसियत पुनर्स्थापित हुन सकेको छैन।
दलहरूले संक्रमणकालीन सरकारसम्म बनाउन नसकेपछि सहमति शब्दले नै सम्पूर्ण अर्थसहित आफनो हैसियत गुमाएको छ। वैधानिक हिसाबले देश संगठित हिंसाबाट मुक्त भए पनि अवैधानिक, अराजनीतिक र आपराधिक हिंसा तीव्ररूपले बाक्लिँदै गएको छ।




देशका नेताहरू बिहानै उठेर बाबा रामदेवको योगाभ्यास पछ्याउ"छन्। शरीरको तौललाई सन्तुलनमा राख्न कागती पानीको सेवन गर्छन्। रोटी, पुरी र खीरखिचडीको नास्ता गर्छन्। हर्बल चियाको सुर्को तान्दै अखबारका पाना पल्टाउँछन्। छापिएका रहेछन् भने आफनो तस्बिर देखेर आफै मोहित हुन्छन र पत्नीसँग प्रश्न गर्छन् - हेर्‍यौ त? कस्तो लाग्यो?

नेताहरूलाई थाह छ, तस्बिरमा जति राम्रो देखिएपनि प्रधानमन्त्री नभएसम्म, अरूको त के, श्रीमतीकै आ"खामा पनि हैसियत स्थापित हुन सक्तैन। 'पावर' नसुमरेसम्म पावरबाहिर कमाएका 'हैसियत' हरूको अर्थ छैन। सम्पूर्ण समाजकै कायाकल्पको जिम्मा लिएका प्रचण्ड र बाबुरामजस्ता नेताले सत्ताका लागि काढेको र्‍यालले वागमतीमा बाढी आएको बेला गर्भमै सत्ताको खेलाडीको नियति बोकेर जन्मिएका बिचरा रामचन्द्र पौडेल र झलनाथ खनालको के कुरा र! शनिबार बिहानको यही छापामा एक टुक्रा गफ पनि छापिएको थियो, कुनै बेला प्रचण्ड र बाबुरामले सत्ताबाट पर रहेर गान्धी बन्ने सपना देखेका थिए रे। वन्न त प्रचण्ड माओका रिमिक्स संस्करण पनि बन्न सक्थे होलान्। आफूले आर्जन गरेको ज्ञानको प्रयोग राजनीतिक शस्त्रका रूपमा नगरेको भए बाबुराम अमर्त्य सेनको हैसियतमा पुग्नसक्थे होलान्। तर, सिटी सेन्टरमा बजेको गीतादत्तको गीत सुनेर हिपहपका पारखी उक्ताएजस्तै हो यो तर्कना। प्रचण्ड, बाबुराम, रामचन्द्र, झलनाथ-नाम जे सुकै भएपनि हैसियत सबैको एकै हो।

यस्तो बेला, जब देशमा काम चलाउ सरकार छ, नेपाली सेनाका तर्फबाट देशमा द्वन्द्व व्यवस्थापनका लागि सरकारी निम्तामा आएको राष्ट्रसंघीय आयोग (अनमिन) लाई फिर्ता पठाउनुपर्ने माग भएको छ। निश्चय पनि, आफ्नै खर्चमा काम गर्दै आएको अनमिन सदाकालका लागि नेपालमा बस्न मिल्दैन। तर, नेपालमा द्वन्द्व व्यवस्थापनको काम पूरा भएको छैन। नयाँ संविधान नलेखिउन्जेल त्यो काम पूरा हुँदैन। देश एकपटक द्वन्द्वको भासमा फसेपछि त्यसबाट पार पाउन निकै लामो र कठिन यात्रा पूरागर्नु पर्छ। भरपर्दो र विश्वसनीय राजनीतिक पध्दति स्थापना भइनसकेको अवस्थामा देशको भविष्यका बारे सुनिश्चित हुने आधार छैन। राजनीतिक पध्दतिको हैसियत

स्थापित हुन नसकेको यस्तो अवस्थामा नेपाली सेनाले राष्ट्रसंघीय आयोगको उपस्थितिप्रति आपत्ति प्रकट गरेर जनताको तहमा सन्देह र संशय बढाएकोछ।
शान्ति सम्झौतामा उल्लेख भएका दफाको प्राविधिक व्याख्याका आधारमा मात्रै अनमिनलाई बिदा गर्न सकिँदैन। शान्ति सम्झौताको कार्यान्वयनमा राजनीतिक हिसावले सिन्कोसम्म भाँचिएको छैन। सेनाले जुन संसद्को सन्दर्भ निकालेको छ त्यो संसद्को राजनीतिक हैसियत बिलखबन्द परेकोछ। यस्तोमा अनमिनको बहिर्गमनले नेपाली सेना र माओवादी लडाकु दुवैलाई 'राजाको राँगो' फुकेको अवस्थामा पुर्‍याउनेछ। यति बेलाको राजनीतिक वातावरणमा हतियार बोकेका यी दुवै पक्ष उत्तेजित हुनेछन्।सरकार कमजोर भएको र सामान्य कानुन व्यवस्थासमेत स्थापित हुन नसकेको अवस्थामा देश हिजोको भन्दा भयानक हिंसात्मक द्वन्द्वमा फस्न सक्छ। विगत चार वर्षदेखिको राजनीतिक अस्थिरताले देशको माटो हिंसाका लागि उर्वर बन्दै गएको छ। त्यस अवस्थाको परिकल्पनासम्म पनि अत्यन्त दुःखद छ।

अनमिनको उपस्थितिले नेपाली सेनाको संस्थागत भूमिका खुम्च्याएको होला। तर, राजनीतिक विवादका कारण भविष्यहीन अवस्थामा पुग्न लागेका माओवादी लडाकुको उत्तेजनालाई थेग्ने कामपनि उसैले गरेको छ। सेना व्यवस्थापन र समायोजनको समस्या राजनीतिक विवादको केन्द्रमा रहेको छ। शान्ति सम्झौताकै कुरागर्ने हो भने संविधान सभाको चुनाव अघि नै सेना समायोजनलगायत द्वन्द्व व्यवस्थापनका सबै काम पूरा भइसक्नु पर्थ्यो। तर, त्यसो हुन सकेन। सम्झौतामा तोकिएअनुसार काम हुन नसकेर नै दलहरूबीच तीतो बढ्दै गयो। राजनीतिक समस्या थपिँदै गए। अब पनि, राजनीतिक समस्याको टुंगो नलागेसम्म संसदीय समितिले कुनै निर्णय लिन सक्तैन।

यसबाहेक, अनमिन बहिर्गमनका अरू पनि धेरै अर्थ छन्। निरंकुश र संवैधानिक राजतन्त्रअन्तर्गत संरक्षित र संचालित हुंदै आएको नेपाली सेनाको गणतान्त्रिक हैसियत स्थापित भएको छैन। यसका पदाधिकारी शिक्षित र आधुनिक संस्कारमा हुर्किएका होलान्, सभ्य र सुसंस्कृत पनि होलान्। तर, नयाँ गणतान्त्रिक संरचनाका लागि त्यतिमात्रै पर्याप्त हुँदैन। नेपाली सेना स्वयंका लागि पनि अहिले आधुनिकीकरण अपरिहार्य भएको छ। सेनाको नेतृत्वले सुनिश्चित संस्थागत भविष्यको निर्माण गर्नुपर्छ। नेपालका जान्ने बुझ्ने सबैलाई थाहा छ, नेपाली नेताहरू सेनाको शक्तिलाई चुनौती दिन चाहँदैनन्। माओवादी नेतृत्वको सरकारले एउटा जर्नेललाई चुनौती दिँदा दलहरू त्यसको विरोधमा उत्रिएर राष्ट्रपति गुहार्न पुगे। गठबन्धन टुट्यो। देश विवादको नयाँ भूमरीमा जाकियो। माओवादी नेतृत्वको सरकारले पनि सेनाको रूपान्तरण खोजेको थिएन। आफूले कजाउन सक्ने विकल्पलाई सेनाको नेतृत्वमा ल्याउनमात्र खोजेको थियो। तर, सेनाका लागि सँधै यही अवस्था रहिरहन सक्तैन। उसले आफूलाई सुधारको समयसापेक्ष बाटोमा हिंडाउनै पर्छ। राजनीतिक नेतृत्वको मूर्खतालाई भजाएर 'खाईपाई आएको जोगाउने' तदर्थवादी सोचले क्षणिक लाभ भएपनि सेनाको दीर्घकालीन संस्थागत हित हुनेछैन।

समयमा संविधानसम्म पनि बनाउन नसकेका कारण यति बेला अन्तर्राष्ट्रिय जगत्मा नेपालको साख नराम्रोसँग गिरेको छ। दाता राष्ट्रहरूको सुरक्षा सूचीमा नेपाल आन्तरिकरूपमा खतरामुक्त देशका रूपमा चित्रित छैन। नेपालका बारेमा अन्तर्राष्ट्रिय समाज आश्वस्त हुन सकेको छैन। यस्तो अवस्थामा अनमिनको बहिर्गमनले शान्ति र समृध्दिप्रतिको नेपालको प्रतिबध्दतालाई शंकाको घेरामा राख्नेछ। त्यसैले पनि, अस्थिर राजनीतिको अन्त्य नभएसम्म अनमिनलाई लखेट्ने विचार समीचीन हुन सक्तैन।

कहिले हुन्छ यो अस्थिर राजनीतिको अन्त्य? यति बेला यो प्रश्नको जबाफ दिने हैसियत कसैको पनि छैन।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस