अब त अति भो!
१० भदौ २०६७
•
१५ मिनेट पाठ
अब त अति भो!
पाँचौ पटकको मतदानमा पनि प्रधानमन्त्री छानिन सकेन। प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा दिएको दुई घन्टामै नयाँ सरकार बन्ने हुँकार एमालेको एउटा गुट र एनेकपा माओवादीका नेताले पटकपटक गरेका थिए। दुई घन्टा होइन, दुई महिना बित्न लाग्दा पनि नयाँ सरकार बन्न सकेको छैन। यसबाट नेताहरूको चरम अयोग्यता प्रदर्शन हुनुका साथै जनतामा वर्तमान व्यवस्थाप्रति नै नैराश्यत पैदा भएको छ। अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको साख गिरेको छ। विकास निर्माणका काम ठप्प छन्। शान्ति सुरक्षा दिनप्रतिदिन गिर्दो छ। भ्रष्टाचार चरम सीमामा पुगेको छ। यही भदौ महिनाभित्र पूरक बजेट पारित नहुने हो भने कर्मचारीले दसैं पेस्की नपाउने र आर्थिक गतिविधि ठप्प हुने चेतावनी अर्थ मन्त्रालयले संसद् सचिवालयलाई दिएको छ। भदौ महिनामा सरकार बन्ने संभावनै कम छ भने बजेट पारित कसरी होला र? मुलुक इतिहासमा कहिल्यै नभोगेको दुर्दान्त दुर्घटनातर्फ धकेलिएको छ र निकास दिनुपर्ने राजनीतिक दलका नेता किंकर्तव्य विमूढ देखिन्छन्।

यस्तो संकटको मुख्य जिम्मेवार हाललाई एमालेभित्रको संस्थापन पक्ष रहेको छ। पाँचौ पटकसम्म पनि प्रधानमन्त्री चुन्न संसद विफल रहनुमा एमालेले अख्तियार गरेको कथित तटस्थ नीति जिम्मेवार छ। संसद्मा बहुमतमा रहेका आफ्नै पार्टीका नेतालाई अहिले राजीनामा दे, भरे राजीनामा दे भन्दै सार्वजनिक स्थलमा मात्र होइन सदनभित्र प्रतिपक्षसँग स्वर मिलाएर प्रधानमन्त्री माधव नेपालको मान मर्दन गरेपछि उनले त्यसको परिणाम के होला भन्ने नसोची सरकारलाई मनसा, वाचा, कर्मणा समर्थन दिइरहेको प्रमुख घटक नेपाली कांग्रेसलाई सुइँको समेत नदिएर राजीनामा दिए। परिणामस्वरूप नयाँ सरकार बन्न नसकेको मात्र होइन संविधान पनि बन्ने संभावना अत्यन्त न्यून भएको छ। आफू प्रधानमन्त्री हुन नपाएको बदला लिन एमालेका अध्यक्ष झलनाथ खनालले आफ्नै पार्टी संलग्न सरकार गिराउने र मुलुकलाई संकटमा पार्ने काम गर्ने गरेका छन्। एमालेसहितको यसभन्दा पहिले पुष्पकमल दाहाल नेतृत्वको सरकारले राजीनामा दिनमा पनि खनालकै खलनायक भूमिका प्रमुख कारक रहेको थियो। दुई महिनापछि अवकाश पाउने तत्कालीन सेनापतिलाई बर्खास्त गर्न प्रधानमन्त्री दाहाललाई उक्साएर आफू चीन भ्रमणमा हिँडेका खनालले चीनबाट फोन गरेर पनि प्रधान सेनापति हटाउन आग्रह गरिरहे। उनैको भर परेर दाहालले प्रधान सेनापतिलाई हटाउन मनित्रपरिषद्मा प्रस्ताव राखे। झलनाथले आफ्ना मन्त्रीलाई क्याबिनेट बहिष्कार गर्न निर्देशन दिएर माओवादीलाई संकटमा पारी दाहाललाई राजीनामा गर्न वाध्य तुल्याइदिए। झलनाथले हरियो झण्डा नदेखाएको भए, सायद दाहाल प्रधान सेनापति हटाउनेतर्फ लाग्ने थिएनन् होला र अहिलेसम्म माओवादीको सरकार रहिरहने थियो। त्यत्रो धोका पाएर पनि दाहाल अहिले अनालसँग एउटै डुंगामा सबार छन्। सत्ताको लोभमा व्यक्तिले विवेक पनि गुमाउँछ भन्ने भनाइ यतिबेला एमालेभित्रको संस्थापन पक्ष र माओवादीबीचको अपवित्र गठबन्धनले साबित गरेको छ।

विस्तृत शान्ति संझौता भइसके पछि मुलुकमा भएका केही गम्भीर घटना संझने हो भने यस्तो अपवित्र गठबन्धन नहुनुपर्ने हो। संविधान सभाको चुनावताका काठमाडौंमा रामहरि श्रेष्ठको हत्यादेखि बुटवलका प्रचण्ड थैव हर हालैमात्र ओखल्ढुंगाका एमाले नेता छवि कार्कीको हत्यामा माओवादी कार्यकर्ताको संलग्नता रह्यो। अन्य पनि घटना भएका छन्। यस्ता हत्यामा माओवादी कार्यकर्ताको संलग्नता स्वयं माओवादीले पनि अस्वीकार गरेको छैन। माओवादीको यस किसिमको उद्दण्ड व्यवहारप्रति जिल्लाका एमाले कार्यकर्तामा आक्रोश छन् र एमाले र माओवादीबीच बेलाबखत झडप पनि हुने गरेको छ। सत्ताको लोभमा सबै बिर्सन चाहने एमाले नेतृत्वलाई भने यसले कुनै असर गरेको देखिँदैन। प्रधानमन्त्रीको निर्वाचनमा कांग्रेसलाई समर्थन गरेर माओवादीलाई चिढाउन एमाले चाहँदैन। त्यसैले कथित राष्ट्रिय सहमतिको नाममा हलो अड्काएर गोरु चुटिरहेछ।

एमालेको यस कथित तटस्थताले मुलुक गंभीर संकटतर्फ उन्मुख भएको छ। निकट अतीतमा एमालेकै कारण अशुभ घटना भइसकेको छ। तत्कालीन प्रधानमन्त्रीलाई 'सबक सिकाउने' भन्दै २०५८ सालमा एमालेले ५७ दिनसम्म संसद् चल्न दिएन। यति लामो समयसम्म संसद् नचलेपछि 'अब नेपालमा संसदीय व्यवस्था चल्न सक्दैन, सरकारबाट सोच्ने बेला आयो' भनी राजालाई जाहेर गरेको र राजाले निर्वाचित सरकार विघटन गरी सत्ता आफ्नो हातमा लिएका हुन् भनी कम्युनिस्ट पार्टीका पूर्व महासचिव केशरजंग रायमाझीले सार्वजनिकरूपमै स्वीकार गरेका छन्। त्यतिबेला ५७ दिन संसद् चल्न नदिँदा निर्वाचित सरकार अपदस्थ भएको थियो। अहिले दुई महिनासम्म प्रधानमन्त्री चुन्न नसक्ता अतिदक्षिणपन्थी र उग्रवामपन्थी शक्तिले लोकतान्त्रिक व्यवस्था र प्रक्रिया नै समाप्त गर्ने दुस्साहस गरे आश्चर्य हुने छैन।

म्याद थपेको तीन महिना बित्दासम्म पनि संविधान सभामा कुनै प्रगति नभएकाले थपिएको वर्ष दिनभित्र पनि नयाँ संविधान नबन्ने स्पष्ट भएको छ। दलहरूका बीचको विवादमा संविधानमा रहने अन्तरवस्तु र अब बन्ने सरकारले गर्ने निर्वाचन नै प्रमुख हुन्। संविधान सभामा प्रस्तुत अवधारणा हेर्दा नेपाली कांग्रेस र माओवादी नदीको दुई किनाराबाट हिँडेका देखिन्छन्। शासकीय स्वरूप, राज्यको पुनः संरचना, संघीयता, अदालतको स्वतन्त्रता, मौलिक अधिकार र व्यवस्थापकीय स्वरूपजस्ता गंभीर विषयमा माओवादी र कांग्रेस दुवै आआफ्नो दर्शन र मूल्यमान्यताबाट अघि बढ्न खोजेको देखिन्छ।

माओवादी संसद्को 'स'सम्म पनि सुन्न नचाहँदैन र जातीय अग्राधिकारसहितको संघीयता, व्यवस्थापिका मातहतमा रहने न्यायपालिका, संपत्ति आर्जन गर्न र भोग गर्न पाउने अधिकारको निषेध र राजा महेन्द्रको भूत पुनर्जीवित गरेर दलहरूमाथि प्रतिबन्ध लगाउने, बहुलवाद उल्लेखसम्म नभएको संविधान लाद्ने पक्षमा छ र यसैलाई अग्रगमन मान्दछ। कांग्रेस माओवादीका उपर्युक्त अवधारणा मान्न तयार छैन। कांग्रेस शक्ति पृथकीकरणको सिद्धान्तअनुसार स्वतन्त्र र सक्षम न्यायपालिका, बहुलवादमा आधारित संसदीय व्यवस्था, प्रेस स्वतन्त्रतालगायत जनताका मौलिक हक अधिकार कुण्ठित नहुने र कुनै पनि बहनामा दलमाथि प्रतिबध वा अंकुश लगाउन नपाइने संविधानका पक्षमा छ। कांग्रेस जनताका यिनै अधिकारका लागि राणासँग लड्यो, राजासँग लड्दा कैयौं नेता तथा कार्यकर्ताले गुमायो भने २१औं शताब्दीमा लोकतन्त्रका यस्ता आधारभूत मान्यता र मूल्यमा संझौता गर्न सक्तैन। यसैलाई यथास्थिति भनिन्छ भने त्यसलाई स्वीकार गर्न कांग्रेस तयार छ। यहानिर प्रश्न उठ्छ यी अवधारणा कांग्रेसका निजी धारणा हुन् र? प्रेसलाई स्वतन्त्राको अधिकार आवश्यक छैन? नागरिक समाजका कुनै अगुवाले अदालत व्यवस्थापिकामातहतमा रहनुपर्छ भन्न सक्छन्? स्वतन्त्रता र प्रजातन्त्रमा आस्था राख्ने अन्य दल यी अधिकारप्रति निरपेक्ष रहन सक्छन्? संविधान सभामा प्रस्तुत कांग्रेस र माओवादीका उपर्युक्त अवधारणाको मिलन विन्दु के हो? यस्ता गंभीर विषयको छलफलमा दलहरूले अहिलेसम्म प्रवेश गरेकै छैनन्। ब्रोत्रे्क कुरामै दलहरू अलमलिएका छन्।
दुई वर्ष तीन महिना बिती सक्ता संसद्ले न स्थिर सरकार दिन सक्यो न त संविधान सभाले संविधानको प्रारूप तयार गर्‍यो। गर्न नहुने काम गर्ने र गर्नुपर्ने काम नगर्ने व्यक्तिलाई कानुन बमोजिम दण्ड हुन्छ भने संविधान नबनाउने संविधान सभा र सरकार बनाउन नसक्ने संसद्लाई अब के गर्ने, के दण्ड दिने? यस्ता गंभीर प्रश्न उठ्न थालेका छन्।

कतिपय राजनीतिकर्मी र स्वतन्त्र बुद्धिजीवीले यसको समाधान ताजा जनादेश हो भन्ने धारणा अगाडि सारेका छन्। तर, सर्वप्रथम देशमा चुनावमा जान चाहिने न्यूनतम वातावरण पनि यतिबेला छैन। माओवादीको सेना समायोजन र व्यवस्थापन नगरी एउटा पार्टीसँग आबद्ध सशस्त्र समूहलाई शिविरमा राखेर चुनावमा जानु भनेको तावाबाट उफारेर प्रजातन्त्रलाई भुंग्रोमा लगेर हाल्नु हुनेछ। माओवादीको सर्वसत्तावादलाई जनअनुमोदनको बाटो दिनु हुनेछ। मुलुकको यस किसिमको भयावह परिस्थितिको निकास बारेमा मुलुकको स्वतन्त्रता, सार्वभौमिक अखण्डता र प्रजातन्त्र बचाउन राजनीतिक दलका नेता, नागरिक समाज र बुद्धिजीवी सबैले गंभीर भएर सोच्ने बेला आएको छ।

अहिले उत्पन्न अन्धकाररूपी सुरुंगभित्रको एउटै प्रकाशको किरण भनेको अन्तरिम संविधानमा राष्ट्रपतिलाई दिएको जिम्मेवारी हो। अन्तरिम संविधानले राष्ट्रपतिलाई 'संविधानको पालक र रक्षक' मानेको छ। संविधानले दिएको त्यही अधिकार प्रयोग गरेर राष्ट्रपतिले दलहरूसँग गहन परामर्श गरी संविधान सभाबाट ५-७ जना विशेषज्ञको समिति बनाएर संविधानको मस्यौदा तयार गरेर न्यूनतम शान्ति सुरक्षाको वातावरण कायम भएपछि मात्र चुनावमा जाने र नव निर्वाचित संसद्ले अनुमोदन गरेपछि संविधान पूर्णतः लागू गर्ने व्यवस्था गर्न सक्नेछन्। प्रजातन्त्र जोगाउन र राष्ट्रलाई विखण्डनबाट बचाउन यो नै अहिलेको उत्तम विकल्प हुनेछ। प्रजातन्त्रका लागि लामो संघर्ष गरी जेलनेल भोगेका वर्तमान राष्ट्रपति रामवरण यादवबाट प्रजातन्त्रमाथि कुनै आघात पुग्ने शंका गर्नु अन्याय हुनेछ। आफ्ना जनप्रतिनिधिबाट बनाएको संविधानद्वारा शासन संचालन गर्ने जनताको ६० वर्ष देखिको आकांक्षा पूरा नभए पनि यस बाटाबाट निकास खोजिएमा प्रजातन्त्रको संरक्षण हुनेछ र मुलुक विखण्डनबाट जोगिने छ। संविधान र स्थिर सरकार नबने आफूसंँग रहेको सशस्त्र लडाकुका आडमा सत्ता हत्याउने सोचमा रहेर माओवादीले सेना समायोजन गर्न नचाहेको देखिन्छ। तर, प्रजातन्त्रको विफलताको फाइदा भने माओवादीले होइन उग्रदक्षिणपन्थी शक्तिले लिने छ र त्यसको पहिलो सिकार माओवादी र दोस्रो तथा तेस्रोमा प्रजातन्त्र, सार्वभौमिकता र राष्ट्रिय स्वतन्त्रता हुनेछ ।
अर्को समाचार
विकासशीलमा स्तरोन्नति !
२१ फागुन २०७४
•
१७ मिनेट पाठ
विकासशीलमा स्तरोन्नति !
संयुक्त राष्ट्रसंघको विकास रणनीति समितिको सन् २०१७ जुनसम्मको तथ्यांकअनुसार विश्वका ४७ राष्ट्र अति कम विकसित राष्ट्रको सूचीमा छन् । पछिल्लोपटक सन् २०१२ मा दक्षिण सुडान अति कम विकसित राष्ट्रको सूचीमा थपिएको थियो । नेपाल भने सन् १९७१ मा अति कम विकसित राष्ट्रको अवधारणा सुरु भएसँगै यस्तो सूचीमा सूचीकृत भएको थियो । सुरुमा अति कम विकसित राष्ट्रको सूचीमा २५ राष्ट्र थिए । संयुक्त राष्ट्रसंघले अति कम विकसित राष्ट्रहरूलाई सहायता, बजार पहुँच ग्राह्यता र विशेष प्राविधिक सहायता प्रदान गर्ने सूचीमा राखेको छ । संयक्त राष्ट्रसंघ व्यापार तथा विकास सम्मेलन (अंकटाड) ले सार्वजनिक गरेको अति कम विकसित राष्ट्रसम्बन्धी प्रतिवेदन २०१६ मा दक्षिण एसियाका नेपाल, अफगानिस्तान, बंगलादेश, भुटानलगायतका १६ वटा अति कम विकसित राष्ट्रहरूलाई विकसित राष्ट्रमा स्तरोन्नति हुने सम्भाव्यताका आधारमा सन् २०१७ देखि २०२४ सम्ममा विकासशील राष्ट्रमा स्तरोन्नति हुने प्रक्षेपण गरिएको छ । यसैगरी अन्य ३२ वटा राष्ट्रलाई सन् २०२५ सम्ममा अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने प्रक्षेपण गरिएको छ। 

आगामी सन् २०२४ सम्ममा विकासशील राष्ट्रमा स्तरोन्नति हुने १६ वटा राष्ट्रमध्ये ४ वटा भूपरिवेष्ठित राष्ट्र हुन्– अफगानिस्तान, भुटान, लाओस र नेपाल । यी चारवटै एसियाली राष्ट्र हुन् । यसअघि सन् २०१५ को समीक्षामा अंगोला, गिनी र भानुआतु गरी तीनवटा अति कम विकसित राष्ट्र सन् २०२० सम्ममा विकासशील राष्ट्रमा स्तरोन्नति हुने जनाइएको थियो । १९९४ डिसेम्बरमा बोत्सवाना, सन् २००७ को डिसेम्बरमा केप भर्दे, सन् २०११ को जनवरीमा माल्दिभ्स, सन् २०१४ को जनवरीमा सामोआ र सन् २०१७ को जुनमा गिनी गरी हालसम्म ५ वटा अति कम विकसित राष्ट्र विकासशील राष्ट्रमा स्तरोन्नति भइसकेका छन् । संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद्ले विकास नीति समितिको सिफारिसको आधारमा हरेक तीन वर्षमा अति कम विकसित राष्ट्रहरूको समीक्षा गर्ने गरेको छ । अर्को समीक्षा यही वर्ष अर्थात् सन् २०१८ मा हुँदै छ। 

सन् २०१५ मा गरिएको पछिल्लो समीक्षाअनुसार संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद्को विकास नीति समितिले अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुन प्रतिव्यक्ति आय, मानव सम्पत्ति सूचकांक (पोषण, स्वास्थ्य, विद्यालय भर्नादर, साक्षरता आदि) र आर्थिक जोखिम सूचकांक (प्राकृतिक प्रकोपहरूको जोखिम, जनसंख्याको आकार, कुल गार्हस्थ्य उत्पादनमा कृषि, वन र मत्स्यपालन क्षेत्रको हिस्सा, कृषि उत्पादनको अवस्था, वस्तु र सेवाको निर्यातको सूचक) आदि तीनवटा मापदण्ड तय गरेको छ । यी तीनवटै मापदण्डहरू पूरा गरेको र जनसंख्या साढे सात करोडभन्दा बढी नभएको राष्ट्र अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुनसक्ने प्रावधान छ । यद्यपि दुईवटा नियमित समीक्षामा कम्तीमा दुईवटा मापदण्ड पूरा गरेको पाइएमा पनि विकासशील राष्ट्रमा स्तरोन्नति हुनसक्ने प्रावधान छ । यसैगरी तीन वर्षको औसत प्रतिव्यक्ति आय विकासशील राष्ट्रमा स्तरोन्नति हुन आवश्यक थ्रेसहोल्डको दुई गुणा भएमा र सो आय दिगो मानिएको खण्डमा पनि बाँकी दुई वटा मापदण्ड पूरा नभए पनि विकासशील राष्ट्रमा स्तरोन्नति हुनसक्ने प्रावधान छ । 

अरू अति कम विकसित राष्ट्रजस्तै नेपाल पनि धेरै अघिदेखि विकासशील राष्ट्रमा स्तरोन्नति हुने प्रयासमा रहेको छ । विशेषगरी तेह्राँै योजनाले अन्तर्राष्ट्रिय क्षेत्रमा गरिएको प्रतिबद्धताअनुरूप सहस्राब्दी विकासका लक्ष्य हासिल गर्दै सन् २०२२ सम्ममा संयुक्त राष्ट्रसंघद्वारा परिभाषित अति कम विकसित राष्ट्रको दर्जाबाट स्तरोन्नति हुने सोच राखेको थियो । यही सोचअनुरूप देशमा व्याप्त आर्थिक तथा मानवीय गरिबी घटाई आमजनताको जीवनस्तरमा प्रत्यक्ष परिवर्तनको अनुभूति दिलाउने उद्देश्य लिइएको थियो भने गरिबीको रेखामुनि रहेको जनसङ्ख्या १८.० प्रतिशतमा झार्ने प्रमुख लक्ष्य राखिएको थियो । यद्यपि तेह्रौँ योजना कार्यान्वयनको दोस्रो वर्षमा मुलुकले विनाशकारी भूकम्प र तेस्रो वर्षमा भारतीय नाकाबन्दीको सामना गर्नुप¥यो । फलस्वरूप सन् २०२२ सम्ममा नेपाललाई विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने योजनाको उद्देश्य प्रभावित बन्यो र गरिबीको रेखामुनि रहेका २३.८ प्रतिशत जनसङ्ख्यालाई १८.० प्रतिशतमा झार्ने लक्ष्य प्राप्तिसमेत पर धकेलियो । पछिल्लो तथ्यांकअनुसार नेपालमा अद्यापि गरिबीको रेखामुनिका जनसंख्या २१.६ प्रतिशत रहेको छ । यस्तै योजना अवधिमा कृषि क्षेत्रको औसत वार्षिक वृद्धिदरको लक्ष्य ४.५ प्रतिशत रहे पनि २.२ प्रतिशतमात्रै प्रगति हासिल भएको छ भने गैरकृषि क्षेत्रको औसत वार्षिक वृद्धिदर ६.७ प्रतिशत रहे पनि ३.४ प्रतिशतमात्रै प्रगति हासिल भएको छ । यसरी कृषि तथा गैरकृषि क्षेत्र दुवैमा लक्ष्यअनुसारको प्रगति हासिल नहुँदा समग्र आर्थिक वृद्धिदरसमेत प्रभावित भएको छ । जसअनुसार वार्षिक औसत आर्थिक वृद्धिदरको लक्ष्य ६.० प्रतिशत रहेकामा २.९ प्रतिशतमात्रै प्रगति हासिल भएको छ । वार्षिक रोजगारी वृद्धिदरको लक्ष्य ३.२ प्रतिशत रहेकामा २.९ प्रतिशतमात्रै प्रगति हासिल भएको छ । यसरी सहस्राब्दी विकासको लक्ष्य पूरा नभएको र आर्थिक विकासको योजनागत लक्ष्यसमेत पूरा नभएको अवस्थामा विकासशील राष्ट्रमा स्तरोन्नति हुने लक्ष्यसमेत प्रभावित बन्यो। 

चौधौँ योजनामा सन् २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्ने र मध्यम आयवर्गको मुलुकहरूको स्तरमा पुग्ने लक्ष्य निर्धारण गरी योजनाको लक्ष्य तथा उद्देश्य तय गरिएकाले विकासशील राष्ट्रमा स्तरोन्नति हुने लक्ष्यले निरन्तरता पाएको छ । चौधौँ योजनामा सामाजिक न्यायसहितको लोककल्याणकारी राज्य हुँदै मध्यम आय भएका मुलुकको स्तरमा पुग्ने लक्ष्य रहेको छ भने उत्पादनशील रोजगारीउन्मुख र न्यायपूर्ण वितरणसहितको उच्च आर्थिक वृद्धिद्वारा द्रुतगतिमा गरिबी न्यूनीकरण गर्दै आर्थिक–सामाजिक रूपान्तरण गर्ने उद्देश्य रहेको छ । यसअनुसार वार्षिक औसत ७.२ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य रहेको छ । यसका लागि कृषि क्षेत्रको वार्षिक औसत वृद्धिदर ४.७ प्रतिशत र गैरकृषि क्षेत्रको औसत वार्षिक वृद्धिदर ८.४ प्रतिशतको लक्ष्य तय गरिएको छ। यसैगरी गरिबीको रेखामुनिको जनसंख्या २१.६ प्रतिशतबाट १७.० प्रतिशतमा झार्ने लक्ष्य रहेको छ । तेह्रौँ योजनामा मानव विकास सूचकांक ०.५६ रहेकोमा चौधौँ योजना अवधिमा यो सूचकांक ०.५८ मा पु¥याउने लक्ष्य पनि रहेको छ। 

विकासशील राष्ट्रमा स्तरोन्नति हुनका लागि संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद्को विकास नीति समितिले निर्धारण गरेका प्रतिव्यक्ति आय, मानव सम्पत्ति सूचकांक र आर्थिक जोखिम सूचकांक आदि तीनवटा मापदण्डमध्ये मावन सम्पत्ति सूचकांक र आर्थिक जोखिम सूचकांक सन्तोषजनक भएकाले नेपाल सन् २०१८ भित्र नै विकासशील राष्ट्रमा स्तरोन्नति हुन योग्य भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । नेपालले सन् २०१५ मा मानव सम्पत्ति सूचकांक र आर्थिक जोखिम सूचकांकको मापदण्ड पूरा गरेको हुँदा विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि योग्य ठहरिएको थियो । संयुक्त राष्ट्रसंघले निर्धारण गरेका तीनवटा मापदण्डहरूमा मानव सम्पत्ति सूचकांक ६६ भन्दामाथि हुनुपर्ने, आर्थिक जोखिम सूचकांक ३२ भन्दा तल हुनुपर्ने र प्रतिव्यक्ति राष्ट्रिय आय १ हजार २ सय ४२ अमेरिकी डलर पुगेको हुनुपर्ने छ । अ फाउन्डेसन फर आइडियाज अन डेभलपमेन्ट नामक संस्थाले प्रकाशित गरेको पछिल्लो तथ्यांकअनुसार नेपालको मानव सम्पत्ति सूचकांक ७३.३ छ भने आर्थिक जोखिम सूचकांक २६.९५ छ। 

यद्यपि कमजोर आधारबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुँदा विकासशील राष्ट्रको हैसियतले अन्तर्राष्ट्रिय बजारसँगको प्रतिस्पर्धामा पछाडि पर्नसक्ने भएकाले दिगो स्तरोन्नतिलाई बढी महत्व दिनुपर्ने धारणा विज्ञहरूबाट आइरहेका छन् । विकासशील राष्ट्रमा स्तरोन्नति हुनका लागि आवश्यक थ्रेसहोल्डभन्दा निकै कममात्रै प्रतिव्यक्ति आय भएको अवस्थामा मानव सम्पत्ति सूचकांक र आर्थिक जोखिम सूचकांककै आधारमा मात्रै विकासशील राष्ट्रमा स्तरोन्नति हुँदा अति कम विकसित राष्ट्रको हैसियतले पाउँदै आएको अनुदान, बजार पहुँच ग्राह्यता र विशेष प्राविधिक सहायता पाउनबाट वञ्चित हुनुपर्ने र सरकारी कर्मचारी तथा विद्यार्थीहरूले पाउने अन्तर्राष्ट्रिय छात्रवृत्तिको अवसरमा समेत असर पर्ने हुँदा यसले नेपालको समग्र आर्थिक तथा सामाजिक विकासमै नकारात्मक असर पार्नसक्नेछ । अति कम विकसित मुलुकको हैसियतले हाल नेपालले व्यापार, विकास, रोजगार, संस्थागत तथा मानव संसाधन विकासको क्षेत्रमा पाइरहेको झन्डै १ सय ३६ प्रकारका विभिन्न सहयोगसमेत गुमाउनुपर्ने हुँदा हतारमा विकासशील राष्ट्रमा स्तरोन्नति हुनुभन्दा आर्थिक तथा सामाजिक आधारलाई बलियो बनाई दिगो स्तरोन्नतिका लागि पहल गर्नु नै उचित हुन्छ । त्यसैले विकासशील राष्ट्र बन्ने रहरभन्दा दिगो स्तरोन्नतिको प्रयास लाभदायी हुन्छ। 

उपर्युक्त तथ्यलाई मनन गर्दै यही फेब्रुअरी १ र २ तारिखमा भएको संयुक्त राष्ट्रसंघअन्तर्गतको विज्ञ समितिको छलफलमा नेपालले मानव सम्पत्ति सूचकांकमा असहमति जनाएको थियो । पहिलो पुस्ताको विकास सूचकांकलाई आधार बनाइएको र आर्थिक जोखिमको सूचकांकमा सन् १९६० को अफ्रिकाको अवस्थालाई आधार मानिएकोमा अहिलेको विकासको अवस्थालाई आधार मानेर विश्लेषण गर्नुपर्ने भन्दै नेपालले मानव सम्पत्ति सूचकांकमा असहमतिको अडान राखेको राष्ट्रिय योजना आयोगका निवर्तमान उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले बताएका छन् । मानव सम्पत्ति र आर्थिक जोखिमको सूचकांक वर्तमान समस्या सम्बोधन गर्ने खालका नभई पुरानो पुस्ताको विकास अवधारणालाई आधार मानेर बनाइएकाले सूचकांकमा नै परिमार्जन तथा गुणस्तरीय र दिगो स्तरोन्नतिको कुरालाई उठाएको डा. वाग्लेले बताएका छन्, जुन निकै सान्दर्भिक पनि देखिन्छ । नेपालले संयुक्त राष्ट्रसंघले चाहेअनुसार सन् २०१८ मै नभई सन् २०२१ मा हुने त्रिर्वीय समीक्षाबाट मात्रै विकासशील राष्ट्रमा स्तरोन्नति हुने अडान राखेको छ । सरोकारवालाहरूको सँगको बृहत् छलफल र परामर्शपछि विकासशील राष्ट्रमा स्तरोन्नति हुने लक्ष्य हाललाई थाँती राख्ने विषयमा संयुक्त राष्ट्रसंघको विकास रणनीति समितिलाई पत्र लेख्ने तयारी राष्ट्रिय योजना आयोगले गरिरहेको छ । यसो त सरकारले पनि आगामी सन् २०२२ सम्ममा विकासशील राष्ट्रमा स्तरोन्नति हुने लक्ष्यसहित योजनाबद्ध कार्यक्रमहरू पनि लागु गरिरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस