अमेरिकी मन्दीको पाठ
२९ भदौ २०६७
•
१२ मिनेट पाठ
अमेरिकी मन्दीको पाठ
अर्थतन्त्रमा सरकारी हस्तक्षेपको औचित्य पूरै अस्वीकार नगर्ने अमेरिकी राष्ट्रपति, केन्द्रीय बैंकका अध्यक्ष, अर्थशास्त्री र प्रसिद्ध अमेरिकी अखबारका स्तम्भकार सबैलाई मूर्ख भन्नु स्वयंमा ठूलो मूर्खता हो।
बजार वा निजी क्षेत्रलाई सम्पूर्ण जिम्मा दिँदा अर्थतन्त्र सुरक्षित नरहने र कुनै पनि बेला लड्खडाएर धराशायी हुनसक्ने विषयमा अब विवाद रहेन। त्यसैगरी स्वतन्त्र बजारमा अदृश्य हात हुन्छ र त्यसले अर्थतन्त्रलाई सधैँ सन्तुलनमा राख्छ भन्ने एडम स्मिथ र उनका अनुयायीको विश्वास पनि गलत साबित भएको छ। सन् १९३० को दशकको महामन्दी र त्यसपछिका साना ठूला मन्दीले पनि त्यस विश्वासमा सन्देह उत्पन्न गरेकै थिए। सन् २००७ देखि सुरु भएको आर्थिक संकटले त्यसलाई पुनः पुष्टि गरेको छ। स्वतन्त्र बजार अर्थतन्त्रको प्रबल समर्थन र पक्षपोषण गरेबापत अन्तर्राष्ट्रिय पुरस्कार पाएका अर्थशास्त्रीले पनि अहिले यही पक्षमा आफ्ना विचार व्यक्त गरेका छन्।




अमेरिकी अर्थतन्त्र पुँजीवादको ...रोल मोडल' हो। विश्वमा पुँजीवादको नेतृत्व, संरक्षण, संबर्द्धन तथा प्रशिक्षण अमेरिकाले नै गरिरहेको छ। त्यही अमेरिका महामन्दीको उत्पत्तिको थलो बन्छ भने त्यसको दोष कहाँा खोज्ने? अमेरिकी ढाँचाको पुँजीवाद अपर्याप्त, अपूर्ण र अधुरो भएकोले त्यहाँ समस्या देखा परेको हो र पुँजीवादलाई पूर्णता दिने हो भने यस्ता समस्या देखा पर्दैनन् भन्ने हो भने अमेरिकाले समेत स्वीकार गर्न र पचाउन नसकेको पूर्ण पुँजीवाद यस धरतीमा कस्ले पचाउला?
सन् १९३० को महामन्दीको सबैभन्दा चकर्ोे प्रभाव अमेरिकामै परेको थियो। त्यस अवधिमा उसको राष्ट्रिय आय २५ प्रतिशतभन्दा बढीले, औद्योगिक उत्पादन ४६ प्रतिशतले, वैदेशिक व्यापार ७० प्रतिशतले र मूल्य ३२ प्रतिशतले घटेको थियो भने बेरोजगारी २५ प्रतिशतभन्दा बढीले बढेको थियो। उसको निर्यात सन् १९२९ को ५.२ अर्ब डलरबाट घटेर सन् १९३३ मा १.७ अर्ब डलरमा सीमित भएको थियो। सन् १९३० को वर्षको पहिलो १० महिनाको अवधिमा मात्र सात सय ४४ वटा अमेरिकी बैंक टाट पल्टिएर बन्द भएका थिए। र, त्यस महामन्दीको अवधिमा अमेरिकामा नौ हजार बैंक टाट पल्टिका थिए। ती बन्द भएका बैंकमा राखिएको करिब ७ अर्ब डलर बराबरको निक्षेप डुबेको थियो। अस्ट्रियन स्कुलका अनुयायीले त्यो महामन्दी सन् १९२० को दशकको पूर्वार्द्धदेखि नै सुरु भएको माने पनि त्यसको औपचारिक सुरुआत २९ अक्टोवर १९२९ अर्थात् कालो मंगलबारको दिनदेखि भएको मानिएको छ। यस बीचमा त्यो महामन्दी तोड्न सरकार र केन्द्रीय बैंकहरूले जाने, बुझेका सबै उपाय प्रयोग गरे पनि अर्थतन्त्रहरू पूर्णरूपमा मन्दी मुक्त भएनन्। यस्तैमा सन् १९३९ मा दोश्रो विश्व युद्ध सुरु भयो र सन् १९४१ म्ाा अमेरिका त्यस युद्धमा होमिएपछि युद्धका लागि गरिएको खर्चबाट मात्र अमेरिकी अर्थतन्त्र महामन्दीबाट मुक्त भएको थियो।

लामो अवधिसम्म अर्थतन्त्र बिग्रँदा जनतामा निराशा र आक्रोश चुलीमा पुग्नु स्वाभाविकै थियो। त्यही पृष्टभूमिमा जर्मनीमा हिटलरको उग्र राष्ट्रवादको उदय भयो। त्यस मन्दीको असरबाट बच्न अमेरिकाले १९३० मा आफ्नो भन्सार दर अत्यधिक बढायो। स्मुट-हवले भन्सार ऐनको नामले चिनिने त्यो ऐन विश्वमा संरक्षणवादको सुरुआत मानिन्छ। त्यति लामो अवधिसम्म गम्भीर आर्थिक संकटबाट जनतामा व्यापक बेरोजगारी, गरिबी, भोकमरी र निरासा व्याप्त भएको देखेका लोकतान्त्रिक सरकार हात बाँधेर वा मुक दर्शक भएर कसरी बस्न सक्छन्? के जनताको संकटमा त्यसरी निरपेक्ष रहने सरकारको कल्पना गर्न सकिन्छ? संकटमा सहयोग नगर्ने सरकार दिने राजनीतिक पद्धतिलाई जनताले किन समर्थन दिने? त्यस्तो परिस्थितिमा लोकतन्त्र नै जनताबाट अस्वीकृत हुने डर हुन्छ। जर्मनीमा त्यही भयो। बजारमै आफूलाई सच्याउने क्षमता हुन्थ्यो भने त्यो मन्दी त्यति लामो समयसम्म किन रह्यो त? त्यसैले पूर्ण र पर्याप्त स्वतन्त्र बजार र सरकारको शून्य हस्तक्षेपको स्थिति कल्पनामात्र सम्भव होला व्यवहारमा चरितार्थ गर्न सकिँदैन।

अमेरिकाका सन् १९३२ मा राष्ट्रपति निर्वाचित भएपछि फ्र्यांक्लिन डी रुजवेल्टले अमेरिकालाई मन्दी मुक्त पार्न ...न्यु डिल' का नामले चिनिने सहायता, पुनरुद्धार र सुधार (रिलिफ, रिकभरी र रिफर्म) कार्यक्रमको घोषणा गरे। त्यसका प्रमुख कार्यक्रममा बेरोजगार र गरिबलाई सामाजिक सुरक्षा कार्यक्रम, बैंक निक्षेप र बाली बीमा कार्यक्रम, आवास प्रशासन कार्यक्रम प्रमुख छन्। त्यही कार्यक्रमको कार्यान्वयनपछिमात्र अमेरिकी अर्थतन्त्र उँभो लाग्न सुरु गरेको थियो। यी सबै कार्यक्रम अहिले पनि त्यहाँ प्रभावकारीरूपमा संचालनमा छन्। सन् १९३६ मा किन्सको प्रसिद्ध पुस्तक ...जनरल थ्योरी' प्रकाशित भएपछि त्यसबाट मन्दीग्रस्त मुलुकका सरकारले मन्दी मुक्त गर्ने सैद्धान्तिक आधार प्राप्त गरे। शिथिल भएर निदाइरहेका अर्थतन्त्रलाई जगाउन सरकारहरू खर्चका कार्यक्रम लिएर अग्रसर भए। ती कार्यक्रम अर्थतन्त्र जगाउन निकै प्रभावकारी सिद्ध भएका थिए। त्यही नीति सन् १९८० को दशकसम्म विश्वभरी नै कायम रह्यो।

त्यस महामन्दीका कारण, असर, मुक्त हुन अपनाइएका उपाय तथा दोहोरिन नदिन चाल्नु पर्ने कदमका बारेमा विशद अध्ययन, अनुसन्धान र विश्लेषण भएका छन्। त्यसो गर्नेमध्ये अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भका वर्तमान अध्यक्ष बेन बर्नान्के पनि हुन्। मन्दी र त्यसलाई रोक्ने ज्ञान, दक्षता र अनुभव भएकै कारणले उनलाई फेडरल रिजर्भको अध्यक्ष नियुक्त गरिएको हो। त्यसैले त्यही ज्ञान, दक्षता र अनुभव उपयोग गरेर उनले यस पटकको संकट उत्पन्न हुनासाथ बजारमा हस्तक्षेप गरी विभिन्न बैंक तथा गैरबैंकिङ कम्पनीलाई अर्बौं डलरको सहायता वितरण गरे र सरकारले पनि साथ दियो। त्यसबाट अमेरिकी अर्थतन्त्र अरू तल खस्नबाट रोकियो। यसले अस्ट्रियन स्कुलका फ्रेडेरिक हायक, मुरे रोथवार्डआदि अर्थशास्त्रीले भनेजस्तो कुनै पनि अर्थतन्त्र सरकार र केन्द्रीय बैंकको शून्य हस्तक्षेपमा चल्न सक्तैन र चलाउनु पनि हुँदैन। प्रत्येक सरकार जनतालाई नयाँ र थप सुविधा र सहुलियत दिन चाहन्छ। त्यस्तो सुविधा सरकारी खर्च र राजस्व, बैंक कर्जा, ब्याज दरआदि कै माध्यमबाट दिने हो। यिनलाई खारेज गर्ने हो भने जनताले राज्यबाट के अपेक्षा गर्ने र राज्यले के दिने? राज्य र राजनीतिले जनतालाई भाषणमात्र सुनाउने हो भने जनता, राजनीति र राज्यबीच कस्तो सम्बन्ध रहला? अतः अर्थतन्त्रमा सरकारी हस्तक्षेपको औचित्यलाई पूरै अस्वीकार नगर्ने अमेरिकी राष्ट्रपति, केन्द्रीय बैंकका अध्यक्षहरू, अर्थशास्त्रीहरू र प्रसिद्ध अमेरिकी अखबारका स्तम्भकार सबैलाई मूर्ख भन्नु स्वयंमा ठूलो मूर्खता हो।

ब्याज दर न्यून रहेको अवस्थामा बैंकबाट कर्जा लिनु लोभ गर्नु होइन। यस किसिमको लोभबाट पुँजीवादी अर्थतन्त्रमा संकट आयो भनिएको पनि होइन। बैंकका प्रमुख कार्यकारी अधिकृतले पाउने पारिश्रमिक र बोनस बैंकको नाफामा आबद्ध गरिएकोले नाफा बढी देखाउन त्यस्ता कार्यकारी अधिकृतले बढी ब्याज आउने, ठूला तर अत्यन्त जोखिमपूर्ण कर्जा स्वीकृत गर्ने प्रवृत्तिलाई लोभ भनिएको हो। त्यस्तो लोभलाई निरुत्साहित गर्न कार्यकारी अधिकृतको पारिश्रमिक र बोनसको सीमा तोक्ने भनिएको हो। त्यसैले नेपालको सन्दर्भमा यस्तो सीमा तोक्नु प्रासांगिक हुँदैन। अर्थतन्त्र सानो र विस्तार पनि हुन नसकिरहेको अवस्थामा पनि बैंकको संख्या निरन्तर बढ्दै जानुको कारण बैंकहरूले आर्जन गर्ने गरेको नाफा हो। त्यसैले राष्ट्र बैंकले बैंकहरूले नाफा आर्जन गर्ने प्रक्रियाबारे अध्ययन गराई त्यो अन्तर्राष्ट्रिय प्रचलनभन्दा पृथक पाएमा नियन्त्रण गर्ने हो भने नयाँ बैंकको माग स्वतः निरुत्साहित हुने देखिन्छ। ठाढै दर्ता बन्द गर्नु पर्दैन र हुँदैन पनि। नाफाको सम्भावना यथावत रहेसम्म बैंक खोल्ने दबाब कायमै रहनेछ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस