बाह्रौं महाधिवेशन किसानका समस्यालगायत मुलुकका अन्तरविरोधलाई सम्बोधन नगरिकनै समाप्त भयो भने बीपीले भनेजस्तै इतिहास पनि नेपाली कांग्रेसलाई छाडेर अगाडि बढ्नसक्छ।
'इतिहासले नेपाली कांग्रेसलाई सामन्ती समाजलाई औद्योगिक, प्रजातान्त्रिक अर्थात् समाजवादी समाज वा नयाँ समाजवादमा परिणत गर्ने क्रान्तिकारी जिम्मेवारी सुम्पेको छ। इतिहासको यस क्रान्तिकारी लक्ष्यलाई पूरा गर्नसक्ने यस पार्टीको क्षमतालाई हामीले आफ्नो कार्यद्वारा प्रमाणित गर्न सकेनौं भने इतिहासले अर्को हतियार निर्माण गर्नेछ।'
नेपाली कांग्रेसको सातौं महाधिवेशनमा २०१७ सालमा सभापतिकारूपमा बीपी कोइरालाले यस्तो चेतावनी दिएका थिए। तर, बीपी कोइरालाको मृत्युपछि 'समाजवाद, क्रान्ति र जन' जस्ता शब्द सुन्नासाथ तर्सिने कांग्रेसी नेतृत्वले लामो समय सत्तासीन रहँदा पनि इतिहासले सुम्पेको लक्ष्य पूरा गर्न सकेन। सातौंदेखि बाह्रौं महाधिवेशनसम्म आइपुग्दा बीपी कोइराला नै नचिनिने अवस्था आइसकेको छ भने उनले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवादी सिद्धान्तको हालत कस्तो होला? पक्कै पनि बाह्रौं महाधिवेशनको कुम्भमेलामा प्रजातान्त्रिक समाजवादी सिद्धान्तको माला जप्ने र खरानी घस्ने केही 'बीपीवादी' नदेखिएका होइनन्, तर तिनले गरिब र पीडित जनतालाई केन्द्रमा राखेर प्रजातान्त्रिक समाजवादी सिद्धान्तलाई थप विकास गर्ने गरी नीतिगत लडाइँ चलाउन सक्ने स्थिति नेपाली कांग्रेसमा देखिएको छैन।
नयाँ नीति र नयाँ नीतिअनुसारकै नवीन नेतृत्व छनौटको महान् अवसर हो, पार्टी महाधिवेशन। तर, कुम्भमेलाजस्तो महाधिवेशनमा नयाँ नीतिका लागि होइन, पुरानै नेताहरूको गिरोहमध्ये केहीलाई छान्ने लिगलिगे दौड तीव्र भएको अवस्थामा प्रजातान्त्रिक समाजवादी सिद्धान्तको वास्ता कसलाई हुन्छ? नेपाली कांग्रेसमा नीति होइन, नेताको छनौटमै महाधिवेशन व्यस्त हुनु अनौठो होइन, किनभने धेरैजसो कांग्रेसी नेतृत्व बीपी कोइरालासँगै सती पठाइएको प्रजातान्त्रिक समाजवादी सिद्धान्तको चिहानमाथि उभिएका छन्। प्रजातन्त्रको अभ्यास र समाजवादी सपनाको मृत्युमा मात्रै उदारवादी पुँजीवाद, त्यो पनि सामन्तवादसँग घाँटी जोडिएको उदारवादी पुँजीवाद फस्टाउन सक्छ भन्ने मूल्य-मान्यताअनुसार कार्यरत नेताले नै महाधिवेशनमा नीति र कार्यक्रम प्रस्तुत गरेका छन्, अनि त कुम्भमेलामा कसरी चिहानबाट ब्युँतिन्छ, प्रजातान्त्रिक समाजवादी सिद्धान्त?
वीरगन्ज महाधिवेशनपछि बीपी कोइरालाले नेपाली कांग्रेसलाई प्रजातान्त्रिक समाजवादी सिद्धान्त र त्यसै सिद्धान्तअनुरुपका नीतिका आधारमा चलाउन खोजेका थिए। उनले ००७ सालमा सशस्त्र संघर्ष गरेको नेपाली कांग्रेसलाई जन पार्टीका रूपमा, त्यसमा पनि धेरैजसो गरिब किसान आधारित क्रान्तिकारी संगठनका रूपमा विकास पनि गरेका थिए। त्यसैको स्पष्ट प्रतिविम्ब हो, उनले प्रजातान्त्रिक समाजवादको मुख्य आयामका रूपमा विकास गरेको भूमिसम्बन्धी क्रान्तिकारी नीति। समाजवादी सिद्धान्तको आलोक र व्यावहारिक अनुभवको जगमा उभिएर उनले भूमिसुधारको नीति तय गरेका थिए। उनले भूमिसुधार लागू गर्ने स्थानमा रहीकन जोड दिएर भनेका थिए :
'सामन्ती व्यवस्थामा समाजले जमिनको पूर्णरूपले उपभोग गर्न नसकेको कारणले पनि जमिनलाई सामन्ती व्यवस्थाबाट मुक्त गर्नु आवश्यक छ। समाजले जमिनबाट जति परिमाणमा उत्पादन प्राप्त गर्नुपर्छ, सामन्ती उत्पादन प्रणालीमा त्यति मात्रामा उत्पादन लिन सम्भव छैन। देशको दरिद्रताको अन्त्य गर्नका लागि चाल्नुपर्ने सबैभन्दा पहिलो व्यावहारिक कदम सामन्ती उत्पादन व्यवस्थाको अन्त्य गर्नु हो। म केबल समाजवादी सिद्धान्तका आदर्शको आधारमा यो कुरा भनिरहेको छैन, स्थूल व्यावहारिकताको आधारमा पनि दोहोर्याइरहेको छु। कसैले समाजवादमा आस्था राखून् वा नराखून्, तर सामन्ती व्यवस्थाको अन्त्यबिना र जमिनमा काम गर्ने कृषकलाई जमिनमाथिको पूर्ण स्वामित्व उपलब्ध नगराई देशले आर्थिक विकासको प्राथमिक कदम पनि चाल्न सक्तैन। अहिलेको वर्तमान सरकारले यस दिशापट्टि जुन सक्रिय कदम चालेको छ, त्यसको विरोध गर्नु दरिद्रताको अन्त्य गर्ने प्रयासको विरोध गर्नुजस्तै हो।'
बीपी कोइरालाले ००७ सालको परिवर्तनदेखि ०१७ सालको शाही प्रंतिगमनबीच यस नीतिलाई व्यवहारमै उतार्ने भगीरथ प्रयास नगरेका होइनन्। 'पुर्पुरोमा लेखिने दिन गए, जग्गा हुनेछ जोत्नेको' नारा लगाउँदै उनले नेपाली कांग्रेसको सरकारमार्फत् बिर्ता प्रथा उन्मूलनको नेतृत्व पनि नगरेका होइनन्। तर सामन्तवादी उत्पादन सम्बन्धको राजनीतिक छत्रछायाँ बनेको राजतन्त्र यथास्थिति कायम गर्न शाही सैनिक शक्तिसहित राजनीतिक अखडामा निस्क्यो। त्यस प्रयासमा सामन्तवादको नेतृत्व गर्ने राजतन्त्रले ०१७ सालमा हठात् बाधा तेर्स्यायो। नेपाली कांग्रेस ००७ देखि ०१७ को अवधिमा मूलतः जिउँदो जाग्दो आन्दोलन थियो, पार्टीमात्रै थिएन। तर शाही सैनिक विद्रोहपछि यो आन्दोलन छरपस्ट भयो र नीतिमा आधारित होइन, नेतृत्वमा आधारित पार्टी भयो।
खहरेको रुपमा ००७ सालमा उर्लेको नेपाली कांग्रेस नदी बन्न नपाई शाही सैनिक विद्रोहको बाधाका कारण तलाउमा फेरियो, त्यहीँ सिद्धान्त र नीति पनि कुहियो। र बीपी कोइरालाको नेतृत्वमा रहेको प्रथम जननिर्वाचित सरकारले थालेका किसान र आम जनताको पक्षमा रहेका केही नीति र कार्यक्रम राजतन्त्रले अपहरण गरी आफै लागू गर्न खोज्यो। पञ्चायती तानाशाही शासनविरोधी विद्रोहको कालमा नेपाली कांग्रेस अरू बेसी जनमुखी, अरू बेसी प्रजातान्त्रिक र समाजवादी हुनुपर्ने थियो, तर त्यतिखेरसम्म उसको आधार धेरै हदसम्म कुलीन वा अभिजात वर्गमा फेरिसकेको थियो। बाह्रौं महाधिवेशनमा सभापतिका प्रत्याशी रहेका नेता भीमबहादुर तामाङले स्वीकारेजस्तै नेपाली कांग्रेस गरिब जनता, त्यसमा पनि मूलतः किसानको पार्टीबाट सुकिलामुकिलाको पार्टीमा रूपान्तरित भइसकेको थियो। पार्टीको नेतृत्वमा अभिजात वर्गको प्रभुत्वसँगै प्रजातान्त्रिक समाजवादी सिद्धान्तको मृत्यु हुन थाल्नु अनौठो होइन।
समानताको नाममा गरिबी-कंगालीको वितरणलाई समाजवाद होइन भन्ने बीपी कोइरालाको मृत्यु भएको लगभग तीन दशक हुन लाग्यो र प्रजातान्त्रिक समाजवाद, समाजवादी अर्थनीति र त्यसअनुसार तत्कालै गरिनुपर्ने भूमिसुधार र किसानको जीवनमा अग्रगामी रूपान्तरणका मुद्दा पनि उनीसँगै समाप्त भएका छन्। नयाँ संविधान लेखनको क्रममा भूमिसुधार र मौलिक हकसम्बन्धी विवादमा नेपाली कांग्रेस र नेकपा (एमाले)लगायत धेरैजसो दलले बीपी कोइरालाका विचारभन्दा पनि प्रतिगामी विचार बोक्न थालेको स्थितिमा उनका विचारका वारिस नेपाली कांग्रेस हुन गाह्रै हुनु अस्वाभाविक होइन। नेपाली कांग्रेसलाई भूमिहीन किसानको पक्षमा भूमिसुधार गर्नुभन्दा पनि जनयुद्धको क्रममा खोसिएका भूमिपतिका जग्गाजमिन र सम्पत्ति फिर्ता गर्नु नै प्राथमिक विषय भइसकेपछि बीपी कोइरालाको प्रजातान्त्रिक समाजवादी सिद्धान्त र उनले चलाएको भूमिसुधारको नीति पनि नयाँ वारिसको खोजीमा हुनु स्वाभाविकै हो।
हुन त ०१७ सालअघिजस्तै नेपाली कांग्रेस फेरि सरकारमा छ, बाह्रवर्षे संसदीय कालमा जस्तै। लामो समय सरकारमा हुँदा भूमिसुधारका सम्बन्धमा भएका कमीकमजोरीबाट पाठ सिक्ने हो भने बीपी कोइरालाका विचारले कांग्रेसलाई अझै आलोक दिनसक्छ। जमिनमाथि किसानको अधिकारबारे उनले प्रधानमन्त्री हुँदै बम्बईमा आयोजित दोस्रो अखिल-भारत नेपाली विद्यार्थी सम्मेलनको उद्घाटनमा पोखेको विचार अझै अनुकरणीय छ, 'मुख्यतः मेरा दृष्टिमा हामीले अब दुई प्रकारका उत्तरदायित्व बेहोर्नुपरेको छ : एक, सामन्ती व्यवस्थाको अन्त्य। दुई, औद्योगिक समाजको निर्माण। सामन्ती व्यवस्था पुरानो समाजको अवस्था हो। हामीले जमिनको स्वामित्वको आधारमा हुने शोषणको अन्त्य गर्दै जमिनको वास्तविक उपभोग गर्ने व्यक्तिहरू अर्थात् जमिनमाथि किसानको अधिकारलाई सुरक्षित पार्ने लक्ष्यपट्टि कदम चालिरहेका छौँ। यो एउटा ठूलो क्रान्तिकारी कदम हो। यो लक्षित क्रान्तिकारी कदमबाट अहिले कायम रहेका जमिनको आधारमा बन्न गएका सम्बन्ध छिन्नभिन्न हुन्छन्। यस कदमले प्रत्येक गाउँमात्र होइन, प्रत्येक परिवारमा समेत प्रभाव पार्छ। तसर्थ, वर्तमान निर्वाचित सरकारद्वारा भएको बिर्ता उन्मूलन, अधिक जमिनमाथि लगाइएको कर र किसानलाई रसिद दिलाउने व्यवस्थाले देशमा बडो ठूलो उथलपुथल हुन थालेको छ। यो अगाडि बढ्ने प्रयत्नविरुद्ध पनि संगठनहरू हुँदैछन्। इतिहासविरुद्ध बिर्तावालहरू, भूपतिहरू र जमिनदारहरू संगठन गर्दैछन्।'
हो, तिनीहरूको राजनीतिक र फौजी प्रयासकै कारण सरकारबाट च्यूत् गरिएका बीपी कोइरालाले मृत्युपर्यन्त पनि आफ्नो पार्टीका नेता-कार्यकर्तालाई सोध्दैछन् : 'तपाईंहरू सामन्ती व्यवस्थाको अन्त गर्ने पक्षमा हुनुहुन्छ कि हुनुहुन्न? हामीले इतिहासको हतियार भएर आफ्नो कर्तव्य पूरा गर्नुपर्छ। सामन्ती व्यवस्थाको अन्त्य नै समयको माग हो। इतिहासको यो लक्ष्यलाई हामीले पूरा गरेनौं भने कसले पूरा गर्छ?' तर, राजतन्त्र समाप्त भएपछि सामन्तवादी भूमिसम्बन्ध पनि समाप्त भएको भ्रम पाल्ने नेता-कार्यकर्ता मात्रै होइनन्, नेपाली कांग्रेस स्वयम् पनि इतिहासका लक्ष्य र जिम्मेवारी पूरा गर्न पटक-पटक असफल भएको छ। बाह्रौं महाधिवेशन पनि बदलिँदो नेपाली समाजका यस्ता अन्तरविरोध, मूलतः भूमिसँग जोडिएका अन्तरविरोधलाई किसानका पक्षमा सम्बोधन गर्ने नीति पारित नगरीकनै समाप्त हुँदैछ। अतः बीपी कोइरालाले भनेजस्तै अब इतिहास नेपाली कांग्रेसलाई पनि त्यागेर अगाडि बढ्न सक्छ।
किसानबारे बीपी कोइरालाको चर्चित भनाइ छ : 'मैले प्रधानमन्त्री हुँदा योजना आयोगको मिटिङमा भनेको थिएँ- तपाईंहरू भित्तामा राजाको तस्बिर राख्नुहोस् र साथै नेपालको एउटा गरिब गाउँले किसानको आफ्नो झोपडीअगाडि उभिरहेको चित्र पनि राख्नुहोस् र त्यसको अनुहार हेरेर योजना बनाउनोस् र सोध्नोस्- यस योजनाले त्यस झोपडीमा बस्ने किसानलाई के लाभ दिनसक्छ?'
बीपी कोइरालाकै भाषामा किसानहरूले अब सोध्दैछन्, बाह्रौं महाधिवेशनले आखिरमा किसानलाई के कस्तो नीति दियो, के नेपाली कांग्रेसले किसानलाई हित हुने के काम गर्यो? कतै नेपाली कांग्रेसको नेतृत्व झोपडीअगाडि उभिएको गाउँले किसानको तस्बिरको सट्टा सबैजसो किसानलाई नै भित्तामा झुण्ड्याउन तयार भएका त छैनन्, उदारवादी पुँजीवादी नीति लागू गर्न? त्यस्तो नीति बनाएर लागू गर्न खोजेका हुन् भने नेपाली कांग्रेस इतिहासको कन्टेनरमा पुग्दैन?