२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
विचार

मुटुको स्वास्थ्य

एक जना विदेशी चिकित्सक नेपालको अस्पतालमा कार्यरत थिए। उनी व्यायाम, जगिङ गर्नमा कहलिएका थिए। वरपरका सानातिना पहाड चढ्थे। एक दिन पहाड चढ्दा अलि बढी स्वाँस्वाँ गरेको देखेर सँगैको अर्को साथीले के भयो भनेर सोधेछन्। उनलाई पनि केही दिनदेखि अलि अप्ठेरो भएजस्तो लागेको रहेछ। उनी मसँग जचाउँन आए। मुटुको जाँच गर्दा ईसीजी, इकोबाट केही समयअघि नै उनलाई हृदयघात भएको पत्ता लाग्यो।
एउटा कार्यक्रममा सहभागी हुँदै गर्दा मेरा शिक्षक मित्रले छातीमा असजिलो महसुस गरे र हतारहतार अस्पताल आइपुगे। उनको जाँच गर्दा केही खराबी भेटिएन। तैपनि शरीरलाई अभ्यास गराउँदा त्यस्तो लक्षण देखिन्छ कि भनेर टिएमटी गराएँ। त्यसमा पनि नराम्रो देखिएन र ढुक्क भएँ।
यी दुवै जनाको लक्षण फरक थिए। परिवेश पनि फरक थियो। अनि दुवै जना आआफ्नै प्रकारले मुटुको रोगप्रति चनाखो भएकाले अस्पताल आइपुगे र आफ्नो रोग निदान गरे।
यसरी आफ्नो शरीर र मुटुको ख्याल राख्ने चेतना र अस्पतालको पहुँच बढेकाले पहिलेभन्दा यस रोगको निदान धेरै हुन सकेको छ। त्यसैअनुरूप उपचार पनि हुनपाएको छ। यस्ता सुविधा भने सहरमै केन्द्रित र सीमित छन्। यसैले यस्ता सुविधाको विस्तार गाउँसम्म पनि गर्नु अत्यावश्यक छ।
केही वर्ष यता सामान्य मानिसमा मुटुरोगसम्बन्धी चासो र चेतना धेरै बढेको महसुस गरिएको छ। योग होस् वा व्यायाम, खानामा सजग हुने र धुम्रपान छाड्ने विषयमा चर्चा परिचर्चा भइरहेकै पाइन्छ। यो सकारात्मक पक्ष हो। यस प्रकारको चासोलाई सहीरूपमा अगाडि बढाउनु र व्यवहारमा लागू गर्नु आवश्यक हुन्छ।
धेरैलाई मुटुरोगबाट जोगिन धुम्रपान गर्नु हुँदैन, चिल्लो धेरै खानु हुँदैन, हरियो सागपात र फलफूल धेरै खानुपर्छ भन्ने थाहा छ। यस्तै, धेरै मोटाउनु हुँदैन, नियमित व्यायाम गर्नुपर्छ, मधुमेह र उच्च रक्तचापलाई नियन्त्रणमा राख्नुपर्छ भन्ने पनि धेरैलाई ज्ञान छ। तर धुम्रपान त्याग्नु पर्छ भन्ने थाहा पाउनेहरूले चुरोट खान छोड्यौँ त? अनि खानु हुँदैन नखा भनेर कति जनालाई भन्यौ र खान छुटायौँ त? धुम्रपान छोड्न सजिलो नहोला तर ढृढ संकल्प भयो भने असम्भव त छैन।
त्यस्तै नियमित व्यायाम गर्नुपर्छ भन्ने पनि सबैलाई थाहा छ तर हामी सातामा कति दिन व्यायाम गर्छौ त? हिजो धेरै काम गरेँ, आज थाकेको वा आज पानी पर्‍यो, आज चिसो छ एकै छिन सुताँै, आज धेरै काम छ भइहाल्यो भन्नेजस्ता कतिपय बहाना गरेर हामी व्यायाम गर्न अल्छी गर्छौँ। यो कमजोरी हो र यसले रोग निम्त्याउन सक्छ। त्यस्तै चिल्लो धेरै खानेलगायत मोटाउनुका पनि अनेक कारण हुन्छन्। यस्ता कारण थाहा भएर पनि हामीले निराकरण गर्न सकेका छैनौ। त्यस्तै उच्च रक्तचाप र मधुमेहका कतिपय बिरामी जिन्दगीभर औषधि खानुपर्छ भन्ने डरले चिकित्सकलाई देखाउनै संकोच मानिरहेका भेटिन्छन्। जिन्दगीभर औषधि खाएर स्वस्थ हुनु ठीक कि उपचार नै नगराई रोगले शरीर जीर्ण बनाउनु ठीक? उच्च रक्तचाप मधुमेहबाट हुनसक्ने हृदयघात, मस्तिष्कघात, किड्नी फेलजस्ता अति भयावह स्थिति सहनुभन्दा त केही औषधि नियमित सेवन गरेर पहिले नै रोक्नसके नै राम्रो हो नि।
यसैले दैनिक कार्य तथा कार्यालयमा धुम्रपान निषेधित गरौँ, खानामा चिल्लो र नुनको मात्रा घटाऔँ, मानसिक तनावलाई कम गरौँ। यसलाई नारामा सीमित नगरौँ। जस्तै कठिन कुरा पनि व्यवहारमा अभ्यास गर्दै गए सजिलो बनाउन सकिन्छ। अर्थात्, सजग भएर संकल्प गर्ने हो भने मुटुलाई स्वस्थ्य बनाउन र राख्न सजिलै सकिन्छ।
लेखक धुलिखेल अस्पतालमा कार्यरत मुटुरोग विशेषज्ञ हुन्।

प्रकाशित: २० आश्विन २०६७ ०१:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App