दसैं बिदाका राजनीतिक एजेन्डा
२३ असोज २०६७
•
११ मिनेट पाठ
दसैं बिदाका राजनीतिक एजेन्डा
प्रधानमन्त्री पदका लागि पछिल्लो पटकको चुनावपछि राजनीतिक घटनाक्रमले दसैंका लागि विश्राम पाउने भएका छन्। त्यसो भनेर, एमाले अध्यक्ष झलनाथ खनालले सबैको सहमतिमा प्रधानमन्त्री बन्ने आफ्नो अवसर नेपाली कांग्रेस नेता रामचन्द्र पौडेलको हठका कारण साकार हुन नसकेको गुनासो गर्न भने छाड्नु भएको छैन। पौडेल सहमतिमा आउँदा पनि कामचलाउ प्रधानमन्त्री माधव नेपाल र प्रतिस्पर्द्धी नेता केपी ओली आफ्ना पक्षमा आउने नआउने बारे खनाल आफैँ ढुक्क हुनुहुन्न।
दसैंअघि नै जनतालाई नयाँ सरकार उपहारमा दिने नेताको संकल्प तुहिएकोले कामचलाउ सरकारकै भरमा दसैं मनाउने अवसर प्राप्त भएको छ जनतालाई। कामचलाउ सरकारले नै सय दिन पुर्‍याइसकेका सन्दर्भमा प्रधानमन्त्री माधवकुमार नेपालको विकल्प खोज्नुभन्दा राज्य पुनर्संरचना, जातीय वा क्षेत्रीय संघीयता र शासन पध्दतिको निर्क्यौल गर्ने जिम्मा दिएर संविधान नबन्दासम्म यही सरकारलाई निरन्तरता दिनु दलहरूको हितमा हुनेछ। अहिलेको राजनीतिमा उहाँको विकल्पमा संविधान सभाभित्रका कुनैपनि नेताले आफूलाई साबित गर्न नसकेपछिको वैकल्पिक बाटो संविधान सभाका लागि ताजा चुुनाव नै हो। तर, चुनावमा जाने हिम्मत कुनै पनि पार्टीले देखाउन नचाहेको अवस्थामा बहुमतको हैसियतबाट कामचलाउको हैसियतमा झरेको सरकारलाई सर्वसम्मत बनाएर नेताहरू डाडुमा तताएको पानीमा जलविहारका लागि जानु नै उपयुक्त हुनेछ।
'मुड' दसैंको भएपनि चर्चाका लागि राजनीतिक विषय नै नभएका भने हैनन्। कुुनै बेला काठमाडौं उपत्यका चमसुर, पालुंगो, प्युठानी मुला, काउली र मार्सी धानका लागि उर्वर भूमि थियो। अहिले यो राजनीतिक अनुमान, आंकलन र तर्कका लागि उर्वर बनेको छ। कविकलाकार, डाक्टरइन्जिनियर, वकीलपत्रकार, प्रहरीप्रशासक सबै पेसा र वर्गका व्यक्तिका लागि राजनीति चाखको पहिलो विषय भएको छ। दसैंको यस पक्षमा राजनीति गति शून्य हुुने सम्भावना बढेर गएकाले धेरैको मन उदास पनि हुनसक्छ। भुटेको वा कबाफ लगाएको मासु नपच्न पनि सक्छ। स्वास्थ्य स्थितिमा अचानक खराबी देखिन सक्छ।
तर, अवस्था त्यस्तो छैन। दूरदर्शी नेताहरूले यो समस्या समाधानका लागि केही वौध्दिक तर्क छरी दिएका छन् राजनीतिक उपभोक्ताका लागि। भर्खरै, मलेसियामा सम्पन्न एउटा महत्वपूर्णँ सम्मेलनमा भागलिन जानुभएका माओवादी अध्यक्ष पुुष्पकमल दाहाल (प्रचण्ड)ले नेपालमा आन्दोलनपछि सक्षम नेतृत्व आउन नसकेको बताएर आफैपनि सक्षम नेता हो कि होइन भन्ने प्रश्न खडा गरिदिनुभएको छ। यो उहाँको आत्मालोचना नभएपनि यसले धेरै गहिरो राजनीतिक संकेत दिन खोजेको छ। दाहालको यो वक्तव्यको आधारमा बाबुराम भट्टराईको दिन फिरेकै मान्न भने पक्कै सकिँदैन। त्यसो भए, यो वक्तव्यको अर्थ के हुन सक्छ? दसैंको कबाफ, सराब र म्यारिज पोइन्टबीच तातो बौध्दिक बहसको विषय बन्न सक्छ यो।
बहस र छलफलका लागि दोस्रो विषयपनि माओवादीबाटै आएको छ। माओवादी पार्टीका अन्तर्राष्ट्रिय मामिला प्रमुख कृष्णवहादुर महराले भारतले नेपालको आन्तरिक राजनीतिमा निरन्तर गरी रहेको हस्तक्षेपको विरोधमा भारतविरुध्द आन्दोलन गर्नुपर्ने आवश्यकता रहेको बताउनु भएकोछ। बाह्र बुँंदे सहमति र जनआन्दोलनभन्दा पहिले ज्ञानेन्द्र महाराज भएका बेलामै भारतविरुध्द सुरुङ युध्दको व्यापक तयारी गरेर भारतीय सहयोगमा निर्मित राजमार्गका ठाउँठाउँमा सुरुंग खनी सकेको पार्टीले अहिलेको मुर्दा शान्ति कालमा भारतविरुध्द आन्दोलनको आवश्यकता महसुस गर्नु त्यति अनौठोे होइन। तर, उहाँले देशमा काम चलाउ सरकारमात्रै रहेका बेला किन यस्तो आवश्यकता देख्नुभयो? यसमाथि विशद विचारगर्न सकिन्छ।
नेपाली जनतालाई विकास बाँडन सोलु पुग्नुभएका नेपालस्थित भारतीय 'भायसराय' राकेश सदविरुध्द माओवादी सभासद गोपाल किरातीको नेतृत्वमा भएको जुत्ता आन्दोलनपछि नेपाल र भारतबीच शदीयौंदेखि रहँदै आएको रोटी-खिचडी सम्वन्धमा के असर पर्ने हो? सुद साहबले भारतमा रहेका पचास लाख नेपालीलाई नेपालतिरै खेदिदिनु भयो र रक्सौल जोगवनीका नाकामा भोटे ताल्चा जडी दिनु भयो भने नेपालको प्रतिक्रिया के हुने हो? चिनीयाँ राजदूत ह्वोंगले संकट व्यवस्थापनमा सहयोग गर्नुहुुने हो होइन? यस्ता अनगिन्ती प्रश्न केलाउने मौका उपलव्ध भएको छ दसैं बिदाका लागि। आखिर, जुनसुकै कालो बादलमा चाँदीको घेरा त हुन्छ नै।
माओवादीमात्रै देशका भाग्य विधाता पक्कै होइनन्। दसैंको यो राजनीतिक चर्चामा ती व्यक्तिलाई पनि सामेलगर्नु पर्छ जो सँधै मुस्काइरहन्छन, राजनीतिक विवादमा कहिल्यै फँस्न चाँहदैनन् र पार्टी स्वार्थलाई सँधै सर्वोपरि राखेर निष्पक्षताको अभिनय गर्दछन्। संविधान सभाका सभाध्यक्ष सुवास नेम्वाङलाई नै हेरौं। उहाँभन्दा शालीन र शिक्षित व्यक्तित्व अरू सायद होलान् संविधान सभामा। उहाँको दृष्टि कति दूर पुग्छ भने हातमा रहेको चरो उडेपछि त्यो झाडीमा लुक्छ भन्ने ज्ञान उहाँलाई पर्याप्त छ। त्यसैले लोकतन्त्रको सास उडे पनि संविधान सभारूपी चराको सास जोगाइराख्न उहाँ लागिपर्नु हुन्छ। धैर्य कति छ भने आफ्नो पैतालामुनिको धर्ती भासिइसक्दा पनि उहाँ हाँसी रहनुहुन्छ। वर्तमानसँंग कति सन्तुष्ट हुनुहुन्छ भने लोकतन्त्रको विश्वव्यापी मान्यता अनुसार, सभाध्यक्षका रूपमा संकट समाधानका लागि गर्न सकिने र गर्नैपर्ने दायित्व पूरागर्न पनि हिचकिचाउनु हुन्छ। पटकपटक घातप्रतिघातमा परेको संविधान सभालाई जोगाएर त्यसलाई सक्रिय बनाउने विधि र कलाको विशिष्ट ज्ञाता भएर पनि आफूलाई अकिञ्चन देखाउने कलामा सभाध्यक्षले देखाउनु भएको कौशल पनि कबाफ छलफलको सर्वाधिक रोचक पक्ष हुनसक्छ।
छलफलका लागि कांग्रेस र नेता पौडेलको अडान पुरानो भइसक्यो। स्वर्गवासी सभापतिबाट माधव नेपालले उपहार पाउनु भएको सत्ताको आधा अंशमा रमाएर बसेका कांग्रेसीहरू राजनीतिक प्रपञ्च र तिकडममा एमालेबाट मात खाएपछि हिस्स परेका छन्। माओवादी र एमालेले सरकार सुमरी सकेकाले पालो हाम्रो हो भनेपनि संविधान सभाभित्र उनका कुरा सुनिएका छैनन्। राजाको निर्दलीय पञ्चायतसमेत धान्न भ्याएका ज्ञातअज्ञात कांग्रेसीको सक्रिय सहयोग भएर पनि पौडेल किन प्रधानमन्त्री बन्न सक्नु भएन? अनुसन्धानका लागि यतिखेर यसभन्दा गतिलो अर्को कुनै विषय हुनै सक्तैन।
राजनीतिका यी कलात्मक विषयमा सामान्य मानिसको खासै चाख छैन। दसैंको अवसरमा सामान्य नेपाली एकपटक फेरि जीवनको अर्थ खोज्न थालेका छन्। दसैंसँगै प्रारम्भ भएको सांस्कृतिक उत्सवले राजनीतिका बेचैन तरंगलाई थिच्न थालेको छ। पूरै बजार झिलिमिली छ। रंगीन कागज र काँचका साजसज्जामा सजिएको छ राजधानी सहर। 'ओभरडोज! भइसकेको रातदिनको राजनीतिक रडाको विर्सन खोज्दैछन् नेपालीहरू। खल्तीमा पैसा नभएपनि आकर्षक र अद्भूत सामानमा आँखा ओछ्याएर सुखको अनूभूति लिन खोज्दैछ मान्छे। दुःख र सन्तापका बोझिला क्षणबाट केही समयका लागि मुक्तिको अवसर दिएको छ दसंैले। कम्तीमा पनि दसैंका यी केही दिन अमनचैनका समय बनुन्। जीवनप्रतिको हाम्रो विश्वास कहिल्यै कमजोर हुन नपाओस्।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस