अमानवीय शिक्षातन्त्र
२७ असोज २०६७
•
१५ मिनेट पाठ
अमानवीय शिक्षातन्त्र
दसैं नजिकिँदै जाँदा छरछिमेकका छोराछोरी घर आइरहेका छन्, तर पर्वत, शिवालय-४ की कमला सुवेदी भने सातादिनदेखि बेपत्ता छोरी सुदाको खोजीमा छिन् र आफ्नी छोरी कतिखेर आउली भनेर बाटो हेरिरहेकी छिन्। कक्षामा सधैँ दोस्रो हुने छोरीलाई लेखा शिक्षकले प्रयोगात्मक परीक्षामा अर्को साथीको कापी बुझाएको भन्दै फेल हुने त्रास देखाएपछि बेपत्ता भएको गुनासो गरिरहेकी छिन्। र, एक सातादेखि पुकारा गर्दैछिन्, 'छोरी जहाँ भए पनि घरमा आऊ!'

बेपत्ता छात्राकी आमा कमलाका गुनासो र बिलौनाले, पुकारा र पर्खाइले शिक्षा-व्यवस्थाको त्रासदीलाई उजागर गरेका छन्। तर, नेपाली समाज र शिक्षातन्त्रका लागि तिनको कुनै अर्थ छैन, न त आफ्नो त्रासदी उजागर भएकोमै कुनै चासो र चिन्ता छ। न समाज र शिक्षातन्त्रका नियन्ताका लागि 'सरले फेल भनेपछि बेपत्ता' भएको समाचारकै कुनै मूल्य छ।
हुन त सुदाजस्ता धेरैजसो बेपत्ता छात्रछात्राबारे कमै समाचार आउँछन्, आए पनि अखबारका भित्री पृष्ठका कुनाकाप्चातिर आउँछन्। बेपत्ता भएका र हराएका ससाना विज्ञापन वर्गीकृत विज्ञापनजस्तै आउँछन्, ठूलठूला राष्ट्रिय-बहुराष्ट्रिय कम्पनीका रंगीन विज्ञापनबीच। ती ससाना समाचार र विज्ञापनले समाचारका भोका पाठकलाई त तान्न सक्दैनन् भने समाज र शिक्षातन्त्रका नियन्तालाई संवेदित तुल्याउने कुरै भएन। आफ्ना बेपत्ता छोराछोरीलाई सम्बोधन गरी, उनीहरू घरबाट भागेदेखि आमाबुबा बिरामी भएको दुःख बाँड्दै, उनीहरूका माग पूरा भएको व रिजल्ट राम्रो भएको सुखद् खबर साट्दै, घर फर्कन अनुरोध गर्दै आउने ससाना विज्ञापन ती नियन्ताका लागि विज्ञापन मात्र हो, अर्थोक केही होइन।
पर्वतको कुस्मा बजारस्थित कालीगण्डकी एकेडेमीमा कक्षा आठमा पढ्ने १४ वर्षीया छात्रा सुदा बेपत्ता भएको र उनकी आमा कमलाले बिलौना गरेको समाचारलाई 'नागरिक'ले विशेष प्राथमिकताका साथ पहिलो पृष्ठमा स्थान दिएकाले धेरैको ध्यान आकृष्ट भएको हुनुपर्छ। हुन त अचेल परीक्षाको क्रममा हुने असफलताका कारण घरबाट पलायन हुने वा आत्महत्यै गरेर जीवनबाट समेत त्याग्ने प्रवृत्ति बढ्दो छ। यस्तो आत्मघाती प्रवृत्ति बढ्दै र्गर यस्ता समाचार र विज्ञापन कुनै सडक दुर्घटना र मृत्युजस्तै सामान्य हुन थालेका छन्। लाग्छ, यी कुनै सार्वजनिक राजनीतिक समस्या होइनन्, निजी समस्यामात्रै हुन्। तर, यी संवेदनशील नागरिकका लागि सामान्य समाचार मात्रै हुन नसकने त्रासदी हुन्। यी विचारणीय शैक्षिक सबाल र राजनीतिक प्रश्न हुनुपर्छ।
शिक्षकले फेल हुने रुखो बचन लगाएपछि रुँदै घर फर्केकी सुदा अचानक बेपत्ता भएको खबर सुनेर धेरैलाई यस्ता अनेक घटना दुर्घटनाको सम्झना ताजा भएको हुनुपर्छ। एसएलसी र अन्य बोर्डको परीक्षामा फेल हुँदा आत्महत्या गर्ने र घरबाट भाग्ने विद्यार्थीको लर्काे हाम्रै समाजवरिपरि छँदैछ। शिक्षक-शिक्षिकाका हेपाइ, पिटाइ र यातनाका कारण भएका मृत्यु, आत्महत्या र शिक्षण संस्थानबाट पलायन हुने ठूलो शैक्षिक रोग पनि हामीले भोग्दै आएका छौंँ। यस्ता समस्यालाई समाज र शिक्षाका नियन्ताले धेरैजसो विद्यार्थीकै कमजोरी र निजी समस्याका वा पारिवारिक समस्याका रूपमा बुझ्नेबुझाउने गर्छन्। तर, यथार्थमा यी र यस्ता घटनादुर्घटना ठूलठूला शैक्षिक प्रश्न हुन्। हाम्रो समाज र शिक्षा व्यवस्थाका पुराना मूल्यमान्यता र आचरणसामु तेर्सिएका राजनीतिक सबाल हुन्। यस्ता मुद्दाबारे 'थ्री इडियट्स' जस्ता हिन्दी फिल्मले उठाएका प्रश्नले नेपाली समाज र शिक्षा व्यवस्थाका नियन्तालाई पक्कै पनि पोल्नुपर्ने हो।
हो, विद्यार्थीका मृत्यु वा आत्महत्या, बेपत्ता वा पलायन आफैँले पनि ठूलठूला पहाडजस्ता प्रश्न उठाएका छन्, शिक्षातन्त्रमाथि, त्यसको स्वेच्छाचारिता र निरंकुशतामाथि। किनभने, यस्ता घटना र प्रवृत्तिको नेपथ्यमा हुन्छन्, शिक्षक-शिक्षिकादेखि अभिभावकद्वारा लगातार दिइने अवाञ्छित दबाब, डिग्री प्राप्त गर्ने कष्टदायी मानसिक श्रम अनि त्यस्तो यन्त्रणा थेग्न नसक्ने कलिलो मनमस्तिष्कमा पर्ने आत्मघाती प्रभाव।
दोष छ सिंगो शिक्षा व्यवस्थाको तर दोषी ठानिन्छ विद्यार्थीलाई। सजाय दिनुपर्ने हो अमानवीय, सत्ताधर्र्मी र अवैज्ञानिक शिक्षातन्त्रलाई, तर पाउँछन् शिक्षार्थीले। थोरैलाई पास गरी धेरैलाई फेल गर्ने शिक्षा प्रणाली र त्यसको परिक्षा पद्धतिलाई नै फेल गर्नुपर्ने हो, तर फेल हुन्छन् लाखौँ विद्यार्थी। 'योग्यता' परीक्षण गर्ने नाममा डिग्री हत्याउने माध्यममात्र हुँदा र त्यसले रोजगारसम्म पनि ग्यारेन्टी नगर्दासमेत पास भइरहेको छ यो परीक्षा पद्धति।
प्रमाणपत्र नहुँदा, भएर पनि काम नपाउँदा विद्यार्थी र युवा समूहमा बढेको निराशा, कुण्ठा र पलायनको प्रवृत्तिका लागि 'फेल' गर्नुपर्ने त परीक्षा पद्धतिदेखि सिंगो शिक्षातन्त्रलाई हो नि। तर त्यसको सजाय भोग्छन्, पहिलेदेखि शिक्षा व्यवस्थाकै सिकार भएका युवा र विद्यार्थीकै जीवनले। र, युवा र विद्यार्थीकै 'अयोग्यता' र 'अक्षमता'माथि दोष थोपर्दै आत्महत्या र पलायनका लागि बाध्य पारिन्छ। यस अर्थमा तिनहरूको आत्महत्या हत्या हो गुपचुप ढंगलले परीक्षा पद्धति, शिक्षातन्त्र र समाजले गरेको। आजभोलि किशोर र युवाबाट हुने आत्महत्याका ७० प्रतिशतभन्दा बेसी घटनाको मुख्य कारण हुन्छन् : पढाइको बोझ सहनै नसक्नु, परीक्षामा 'योग्यता र क्षमता'का मानदण्डमा खरो उत्रन नसक्नु, डिग्री प्राप्त गर्ने भ्यागुतेदौडमा पछि पर्नु अनि रोजगार हासिल गर्न नसक्नु। यस्ता कारणमाथि विद्यार्थीका योग्यता, क्षमता र प्रयासको होइन, परीक्षा पद्धति, शिक्षातन्त्र र वर्गीय समाजको एकाधिकार छ।
सायद, धेरैजसो विद्यार्थीलाई थाहा हुँदैन, वर्तमान परीक्षा-पद्धतिमा केही विद्यार्थी 'योग्यता'को मानदण्डमा खरो उत्रन अनेक कलाकौशल देखाएर पास हुन्छन्। धेरै त शिक्षामा फैलिएको सामाजिक विभेदकै सिकार हुन्छन्। केही चटक वा कौशल देखाएर राम्रो अंक प्राप्त गर्नु नै यस्तो परीक्षा-पद्धतिको विशिष्टता हो। अन्यथा दुईतीन घन्टामा विद्यार्थीको योग्यता र क्षमताको मापन कसरी हुनसक्छ? तर, कलाकौशल देखाउनसक्ने केही सिपालु विद्यार्थीले आफूलाई विषय विशेषका योग्य ज्ञाता सिद्ध गर्छन् भने अन्य धेरैजसो विद्यार्थी अयोग्य सिद्ध हुन फेरि परीक्षामा बस्छन्।
ज्ञान र शिक्षासँग कुनै साइनो नभएको यस्तो शिक्षा व्यवस्था वास्तवमा चक्रब्यूह हो। यस चक्रब्यूहबाट निस्कने दुष्कर बाटोको चाबी उच्च आर्थिक हैसियत भएका, नयाँपुराना अभिजात वर्गका विद्यार्थीसँगमात्रै हुन्छ। उनीहरूकै समाज, उनीहरूकै संस्कार, उनीहरूकै भाषा, उनीहरूकै समस्या र सरोकारलाई किताब बनाएर पढाइने शिक्षातन्त्र गैरअभिजात वर्ग वा सामान्य घरपरिवारका विद्यार्थीका लागि त्यस्तो मायावी जालजस्तो छ, जसमा पसाएर 'असफल' सिद्ध गर्दै, उनीहरूलाई आफ्नै 'अयोग्यता र अक्षमताकै कारण असफल भएको महसुस' गराउँदै, सस्तो श्रमको बजार फ्याकिन्छ।
यस्तो मायावी जाल बुन्दै आएको वर्गीय शिक्षातन्त्र र त्यसको योग्यता मापनको तरिकाबारे इटालीको बारबियाना सहरको एउटा स्कुलका केही किशोर विद्यार्थीले प्रश्न उठाएका थिए। एक विद्यार्थीले 'अध्यापकको नाममा पत्र' लेख्दै भनेका थिए, 'म तनमन लगाएर पढ्नमा मिहेनत गर्छु, तर पनि फेल नै हुनपुग्छु। उससँग खेल्ने र क्लब जाने समयसमेत छ, तर पनि ऊ सजिलै पास हुन्छ। यस्तो लाग्छ, सबै राम्राराम्रा जागिर र संसद्का सबै सिट ऊजस्ता ठूला घरका केटाले नै पाउँछन् र बिचरा काम गरिखाने मजदुर लाचार भएर हेर्दै बस्छन्।'
विद्यार्थीविरुद्ध धरापजस्तै भइसकेको परीक्षा-पद्धतिको पुरानै अवैज्ञानिक ढाँचाकाँचामाथि सटीक प्रहार गर्दै पत्रमा लेखिएको थियो, 'परीक्षामा प्रश्नहरूको चयन त्यही अनुपातमा हुनुपर्छ, जुन अनुपातमा वास्तविक जीवनमा प्रश्नहरू हाम्रासामु तेर्सिन आइपुग्छन्। हरेक पटक कठिन प्रश्नमात्रै छानेर दिनुभयो भने विद्यार्थीलाई लाग्नेछ, तपाईँ छात्रछात्रालाई फँसाउन जाल बुन्दै हुनुहुन्छ।'
श्रम र सामान्य जीवनबाट अलग्गिएको शिक्षण पद्धतिबारे बारबियानाका विद्यार्थीको प्रश्न थियो, 'कुनै ट्याक्सी चालकलाई गणित आउँदैन भन्दैे फेल गर्नुको के तुक छ? म विजयी राजा, सेनापति र युद्धका गाथाले मात्रै भरिएको इतिहास किन पढूँ, जसमा श्रमिकका दुःख र पीडा, हैरानी र संघर्षको कुनै नामोनिसान छैन?'
प्रवेश परीक्षा, कोचिङ-ट्युसन वा डिस्टिङ्सनको आधारमा मात्रै प्रवेश दिइने विशिष्ट वर्गका विद्यालय कलेजमाथि तीखो व्यंग्य हान्दै ती विद्यार्थीहरूले लेखेका थिए, 'हामीले ती साधारण विद्यार्थीलाई हटायौं भने यो स्कुल स्कुलै हुनेछैन। यो त त्यस्तो अस्पताल बन्नेछ, जहाँ स्वस्थ व्यक्तिलाई त हेरचाह गरिन्छ, तर रोगीलाई भने हेप्ने गरिन्छ।' के स्वस्थ व्यक्तिलाई उपचार गर्ने र रोगीलाई भने रोगकै कारण निकाल्ने कुनै अस्पताल हुन्छ? हुँदैन भने, स्कुल कलेजमात्रै त्यस्ता अस्पताल किन भइरहेको, जहाँ रोगीलाई अपमानपूर्वक निकालिन्छ? सुदा सुवेदी बेपत्ता प्रकरणले बारबियाना स्कुलकै विद्यार्थीहरूले जस्तै प्रश्न उठाएको छ, तर जवाफ दिनुपर्ने दायित्व बोकेका समाज र शिक्षातन्त्रका नियन्ता भने २६५ दिनै दसैं मनाउनमा व्यस्त छन्। तर पनि सुदाजस्ता 'अयोग्य, असफल र अक्षम' घोषित विद्यार्थीले प्रश्न उठाउन छाड्नु हुँदैन, न त जीवन संघर्षबाटै पलायन हुन मिल्छ।
भयभीत जनावरजस्तै दौड्दै
म किताबको झाडीमा फँसें
तीखा काँडाजस्तै काला-काला अक्षर
मेरो शरीरमा घुसे
म त झाडीमा लुक्दैभाग्दै हिँडेको
कुनै खरायोजस्तै थिएँ,
जसको पीछा गर्दै थिए
परीक्षाका सिकारी कुकुरहरू।
-पाश, भारतीय कवि
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस