औँलो दिँदा डुँडुलो निल्नु
२९ असोज २०६७
•
१२ मिनेट पाठ
औँलो दिँदा डुँडुलो निल्नु
सतहमुनि ज्वालामुखीको लाभा भकभकी उम्लिरहेको हाम्रो नेपाल थरीथरीका दुःखको सङ्ग्रहालयजस्तो भएको छ। र, यो सङ्ग्रहालयमा सबैभन्दा दुःखी भएका छन् पूर्व तानाशाह ज्ञानेन्द्र शाह। यिनको दुःख धनदौलत नहुनुमा होइन, राजगद्दी नहुनुमा छ। यिनलाई रहस्यमय रक्तकुण्डबाट अपुतालीमा राजगद्दी आइलागेको थियो। त्यो राजगद्दी यिनका आफ्नै दुष्कर्मको पहिरोमुनि पुरियो। अहिले विषादको मुद्रामा यी सम्झन्छन्, अहा † क्या थिए ती दिन † तर, ती दिन पानीको फोकाझैँ सपनामै आए, सपनामै सकिए। ब्युँझेर हेर्दा आफूसँग दुर्नाम, उपेक्षा र छिःछिः दूरदूरसिवाय केही थिएन। हिजोसम्म संसारै आफ्ना पाउवरिपरि लुटपुटिइरहेजस्तो लाग्थ्यो। आज आफूसँग आफूबाहेक कोही रहेन। सबैले त्यागे। राजगद्दी थियो र आफूसँग सबैथोक थियो। त्यो गयो र आफ्नो सबैथोक गयो। के के न गरुँला भन्ने तुजुक थियो। तुजुक तुहेर सर्वनाश भयो।

राजगद्दीबाट धूलिसात् भएका ज्ञानेन्द्र वनबासी हुन पुगे। नागार्जुन वन हुनुसम्म राम्रो थियो। हराभरा हरियाली, खोलाको कलकल, चराको चिरबिर, वन्यजन्तुको मनोहर क्रीडा, स्वन्छ पवन, गाढा नीलो आकास, शान्त र एकान्त वातावरण। एकलासे वनबासमा गर्नु केही थिएन, ज्ञानेन्द्रलाई फुर्सदैफुर्सद थियो। यिनले आफ्नो निकट अतीतको इतिहास पल्टाएर आफ्ना भूलहको चाङ हेरे। यिनले हिजो आफूलाई उचाल्ने र आज थचार्ने विदेशी प्रभुलाई धिक्कारे। यिनले इतिहासको ओडारबाट झिकिएका आफ्ना खोटा सल्लाहकारलाई सरापे। शून्य अकासमा टोलाउँदै यिनले गाढा सुस्केरा हाले। प्रतिशोधी भावनाको ज्वालामा जल्दै यिनले तुरुक्क आँसु चुहाए। र, आखिरमा यी धर्मभीरु मनुवाले मन बुझाए - जीवन यस्तै हो। लेखेको पाइन्छ, देखेको पाइँदैन। यो उनै भगवान श्री पशुपतिनाथको लीला हो। लीला जानिनसक्नु छ।
आशा थियो, पूर्व राजा ज्ञानेन्द्र अब सरल, शिष्ट, सभ्य र मानवीय नागरिक बन्ने छन्। तर, भइदियो अर्कै। निकै लामो अन्तर्ध्यानपछि ज्ञानेन्द्र वनबाट जब बस्तीमा झरे, तिनले द्वन्द्वरत राजनीतिमा गतिहीन रिक्तता देखे। त्यो रिक्ततामा अन्यौल थियो, अनिश्चय थियो, अविश्वास थियो, कोलाहल थियो। त्यो पनि उनले देखे। उनको कुण्ठित महत्वाकाङ्क्षाको प्रेतले रिक्तताको त्यस खाडलबाट पश्चगामी टाउको उठाउन रहर गर्‍यो। र, छुपेरुस्तम शैलीमा उनले चलखेल सुरु गरे। म थिएँ, म छु, म आएँ, मलाई हेर भन्ने सन्देश छर्न उनी चलखेलको कपटयुक्त चालबाजीमा लिप्त भए। ग्रहदशा हेराउन उनी नानाथरी तान्त्रिककहाँ धाए। ठूला दलमा लुकिबसेका छिप्पट मण्डलेसँग उनले अन्तरङ्ग साउती गरे। र, धनुषटङ्कार मुद्रामा कृपाको याचना गर्न उनी खुत्रुक्क दिल्ली झरे। दिल्लीका दक्षिणपन्थीको लाक्षणिक मुस्कानमा उनले आशीर्वादको भव्य भाव बुझे। उनी हौसिए, उनी उत्ताउलिए। र, स्वदेश फर्केर उनी झनै ठूलो चुरीफुरी प्रदर्शन गर्न थाले। बन्द भएको उनको बक् फुट्यो। 'जनता,' 'जनता' भन्दै कुरा घुमाएर उनी राजतन्त्र फर्किने जिद्दी गर्न थाले। र, सुरु भयो उनको देश दौडाहा। कतै मन्दिरको उद्घाटन, कतै मण्डलेलाई देर्शनभेट, कतै कट्टरपन्थी हिन्दुको अभिनन्दन ग्रहण। उनका रहलपहल अनुचरले जब 'राजा आऊ देश बचाऊ'को राग अलापे, उनलाई म राजै पो हुँ कि भन्ने भ्रम हुन थाल्यो। र, जनजनका परिवर्तनकामी आकाङ्क्षालाई कुल्चिँदै उनी कुटिल वाणीमा लोकतन्त्र, सङ्घीयता र धर्मनिरपेक्षताको खिल्ली उठाउन थाले। उनले रुन्चे रुवरमा गनगन गर्दै मलाई सिंहासनबाट खेदेर दलहरूले सर्वनाश गरे भन्न पनि बाँकी राखेनन्।
बूढो साँढेलाई बालीमा फुक्काफाल छाडेपछि साँढे पुष्ट हुन्छ र डुक्रिँदै र थान थाप्दै गर्नु नगर्नु गर्न थाल्छ। ज्ञानेन्द्रको हकमा पनि खाँट्टी कुरा यही हो। ज्ञानेन्द्रीय चलखेल र जालझेलमा जानअन्जान प्रधानमन्त्री माधव र राष्ट्रपति यादवको हात छ। यी सिंहासनच्युत राजा गुप्तवासबाट जब सडकमा निस्के, यिनलाई राजैतुल्य व्यवहार गरियो। जता गयो, गद्दीनसीन राजैलाई झैँ सुरक्षाको भयङ्कर दलबल हाजिर छ। सीडीओ र प्रहरी प्रमुख, मेजर र कर्नेल, सम्भ्रान्त काजीहरू र प्रतिगामी पाजीहरू चरणदास सरह वरिपरि झुम्मिन्छन्। मानौ आजका ज्ञानेन्द्र शाह हिजोका 'श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव' नै हुन्। यो तामझाम र ठाँटबाँटले ज्ञानेन्द्रको चोइटिएको आकाङ्क्षाका जरामा युरिया मल हालिदियो। र, सायद उनलाई लाग्न थाल्यो - के प्रधानमन्त्री के राष्ट्रपति, आखिर यी मेरा प्रजै त हुन्। नत्र यिनले मेरो गाथको यत्रो हिफाजात र यत्रो मानभाउ किन गर्थे?
हुँदाहुँदा अब त ज्ञानेन्द्र शाहले हाकाहाकी हुङ्कार गर्न थालेका छन्। उनी पत्रकारहरूलाई अभद्र मुद्रामा ओठे जबाफ दिन्छन्। उनी टिमुरिएको बोलीमा 'जान्ने अरू नै छन्, तिनैलाई सोध' भन्छन्। उनी संसद्को घोर उपहास गर्छन्। उनी दलहरूको उपध्रै धज्जी उडाउँछन्। उनी लोकतन्त्र र धर्मनिरपेक्षताका मान्यतामाथि जथाभाबी बन्चरो उजाउँछन्। उनको कुटिल मुस्कानमा क्रोध र प्रतिशोधको आगो हुर्हुरी बल्छ। तैपनि उनको सबारीमा तामझाम र धुमधामका साथ सुरक्षाको विशाल दलबल खटिएकै छ। खटाउने उपरवाले को हो? हाम्रो सुरक्षाबल नागरिकले खाईनखाई तिरेको तिरोले पालिन्छ। ज्ञानेन्द्रको तामस र हुङ्कार बढाउन तिनको चाकरीमा यो सुरक्षाबललाई यसरी दुरुपयोग गर्ने को हो? आफ्ना दुष्कर्मको फलस्वरूप सिंहासनबाट धूलामा पछारिएका ज्ञानेन्द्र नागरिक हुन् कि राजै हुन्?
भुक्तभोगीलाई थाहा छ, ज्ञानेन्द्र पूर्व तानाशाह हुन्। यो हिजैमात्रको कुरा हो। उनको दमनतन्त्र र लुटतन्त्रबाट आहत र उनलाई दागा धर्ने जताततै होलान्। संस्कारले सामन्ती प्रभु भए पनि हैसियतले उनी नागरिक हुन्। नागरिकको जीउज्यानको रक्षा गर्नु राज्यको दायित्व हो। त्यसैले ज्ञानेन्द्रलाई एकाध डण्ठाधारी र एकाध बन्दुकधारी सुरक्षाकर्मी दिनु मुनासिबै हो। तर, उनको 'सबारी'मा सात काम छाडेर सयौँको दलबलको लावालस्कर किन? ज्ञानेन्द्रसँग 'ठूला दुःखले आर्ज्याको' सम्पत्तिको पौल छ। खाँचो परे उनले आफैँ निजी सुरक्षाबलको चाँजो मिलाऊन्। शाही राजतन्त्र इतिहासको पत्रु कथा भइसक्यो। तैपनि शाही परिवारका सदस्यका द्वारद्वारमा सरकारी सुरक्षाकर्मी ठिङ्गे लागेर खडा भइरहेकै छन्। यो कसको कृपा र कसको आदेशले हो? राजतन्त्र गयो र गणतन्त्र आयो भनेको के हो?
जनबोलीमा औँलो दिँदा डुँडुले निल्नु भन्ने काइदाको उखान छ। यो उखान ज्ञानेन्द्रमा सर्लक्कै चरितार्थ भएको छ। राज्यको विशाल सुरक्षाबलको घेरामा सानका साथ यता र उता घुम्दै, मुन्टो हल्लाउँदै र मस्किँदै ज्ञानेन्द्र जनजनका न्याय र समता, स्वतन्त्रता र समुन्नतिका सपनामा तेजाब खन्याइरहेका छन्। यो सब अनर्थ गर्न उनलाई छूट दिइरहने को हो? त्यो जो हो, उसको बाध्यता के हो? कुन अदृश्य शक्तिको खटन वा भय वा भक्तिको नतिजा हो यो?
नागरिक कहीँ कतै सुरक्षित छैन। विभेद र वञ्चनाको असुरक्षा छ, बेरोजगारी र बेचैनीको असुरक्षा छ, रोग र भोकको असुरक्षा छ, तनाव र सन्तापको असुरक्षा छ, दमन र अपमानको असुरक्षा छ। सर्वत्र भय र त्रास, अपहरण र हत्या, आत्महत्या र मानसिक विक्षिप्तता व्याप्त छ। सरकार नामक पङ्गु जम्बोरीलाई नागरिक सुरक्षाको कुनै पर्वाह छैन। यो बेथिति र भद्रगोलमाझ इतिहासलाई उही अँध्यारो र निरासालाग्दो सुरुङतिर फर्काउन यत्नशील गद्दीविहीन ज्ञानेन्द्र शाहको गाथलाई सुरक्षाको यत्रो बन्दोबस्त किन? स्वार्थलिप्सा, कृतघ्नता, प्रतिशोध र अहङ्कार पुरस्कारयोग्य कुरा हुन् र?
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस