गल्ती कति दोहोर्‍याउने?
१४ मंसिर २०६७
•
१८ मिनेट पाठ
गल्ती कति दोहोर्‍याउने?
रुसको मध्ययुगसम्बन्धी इतिहास र संस्कृति विद भासिली क्लिउचेस्कीले धेरै समयअघि चेतावनी दिएका थिए- 'इतिहासले केही पनि सिकाउँदैन, त्यसबाट पाठ नसिक्नेलाई सजाय दिन्छ। प्रख्यात इतिहासकार एरिक हब्सबामले 'अन हिस्ट्री'मा क्लिउचेस्कीले जस्तो तीखो भाषामा त होइन, तर नरम भाषामै इतिहासका पाठ नसिक्नेलाई चेताएका थिए। सन् १९८४ मा क्यालिफोर्निया विश्वविद्यालयमा 'समकालीन समाजबारे इतिहासले के बताउँछ' शीर्षकको व्याख्यानमा हब्सबामले इतिहासका पाठ अति नै कम सिकिने र सुनिने दुखेसो पोख्दै भनेका थिए, 'हामीमध्ये धेरैजसोले अक्सर गलत कुरा सिक्छौं।'

समकालीन नेपालको यस कालखण्डमा क्रियाशील राजनीतिक नेतृत्वका विचार र व्यवहार हेर्दा लाग्छ, धेरैजसो दलका नेताले इतिहासबाट अक्सर गलत कुरामात्रै सिक्दैछन्। निकट अतीतमा मातृकाप्रसाद कोइरालादेखि डा. केआई सिंहजस्ता व्यक्तित्वले संविधान सभाबाट संविधान लेख्न नदिन र प्रजातन्त्रलाई दरबारमा बुझाउन गरेजस्तै गल्ती दोहोर्‍याउन कामचलाउ प्रधानमन्त्री माधव नेपालले पनि खोज्दैछन्। 'कि मलाई बजेट ल्याउन देऊ, कि बजेट ल्याउन्जेलका लागि रामचन्द्र पौडेललाई प्रधानमन्त्री बनाउँ होइन भने कार्यकारी अधिकार राष्ट्रपतिलाई सुम्पेर म पदबाट निस्कन्छु' भन्ने उनको धम्कीले त्यस्तै अनीष्टको पूर्वाभास दिएको छ। त्यसमाथि पूर्ण बजेट ल्याउने नाममा, त्यसका लागि राष्ट्रपतिबाट बाधा-अड्काउ फुकाउने निहुँमा कामचलाउ सरकारले जेजस्तो प्रयत्न गर्‍यो, माओवादी सभासद्को आक्रमणको बहानामा रातारात राष्ट्रपतिकहाँ गएर आफूसँग हुँदै नभएको अधिकार प्रयोग गर्दै संसद् अधिवेशन अन्त्य गर्ने र अन्ततः अध्यादेशबाटै जबर्जस्ती बजेट ल्याउने जुन काम गर्‍यो, त्यस्ता कामले निको चाला देखाएका छैनन्। पूर्ण बजेट पाएपछि कार्यकारी सरकारका प्रधानमन्त्रीझैं कहिले रुस त कहिले कम्बोडियाको देशाटन गर्दै हिँडेका प्रधानमन्त्री नेपाल र उनका मन्त्रीगणले नेकपा (एमाले) निकट कानुन व्यवसायीको सल्लाहमा 'सहमति नभई संसद्को अधिवेशन बोलाउन नसकिने' उद्घोष गरेर प्रधानमन्त्रीय निर्वाचनसँगै अध्यादेशबारे बहसलाई भीरको चिण्डो बनाई आफ्नो कार्यकाल लम्याउन उद्यत देखिएका छन्। राजाको पाउमा दाम चढाउने र प्रधानमन्त्रीका लागि दरबारमा निवेदन हाल्ने इतिहास बोकेका प्रधानमन्त्री नेपालले आफू संविधान सभाको पक्षमा नरहेको उद्घोष गरिसकेको सन्दर्भमा आलंकारिक राष्ट्रपतिलाई कार्यकारी अधिकार सुम्पने चेतावनी दिएर र त्यसलाई पुष्टि गर्ने सांकेतिक कामको लर्को लगाएर राष्ट्रपति शासनको शंकालाई बलियो पारेका छन्।

राजनीतिक दलको समर्थन भएन भने कसैले पनि सेनाको बलमा शासन सत्ता लिन र लिए पनि टिकाउनसत्तै्कैनन्। 'शक्ति राजनीति' गर्ने नेताहरूले उनीहरूसँग सम्झौता र समर्पणमार्फत् उचित वातावरण बनाइदिएनन् भने तिनको केही लाग्दैन। राजा र राजनीतिक नेतृत्वले गरेको लेनदेनकै परिणामस्वरूप प्रजातन्त्र दरबारमा पुगेको विगत हेर्दा प्रधानमन्त्री नेपालको धम्की र आचरणले संविधान सभाको विघटन र राष्ट्रपति शासनको शंका उत्पन्न भएको छ।

सातदेखि सत्र सालको दस वर्षमा संविधान सभाको चुनाव र त्यसबाट लोकतान्त्रिक संविधान बनाउने पहिलो मौका गुमाइसकिएको छ। अहिलेका नेताले पनि सातदेखि सत्र सालका तिनै गल्ती दोहोर्‍याउँदै छन्। तिनले जनआन्दोलनको आदेश कुल्चिइने सर्तमा पनि दरबारिया राजनीतिको पटांगिनीमा प्रवेश गर्ने अनि सम्भ्रान्त वर्गसँग सम्झौता गर्ने दुष्कर्म दोहोर्‍याउँदै छन्। यसबाट उनीहरू इतिहासका पाठ होइन गलत कुराकै नक्कल गर्न कटिबद्ध देखिएका छन्।

सात सालपछि लोकतन्त्रलाई संस्थागत गर्न र परिवर्तनको प्रक्रियालाई विस्तार गर्न संघर्ष एवम् सरकारलाई माध्यमका रूपमा प्रयोग गर्दै लोकतन्त्रीकरणको सिद्धान्त र रूपातन्तरणकारी प्रक्रियालाई लागू गर्न खोजिएन। बरु त्यसको साटो राजनीतिक नेतृत्व दरबारिया राजनीतिको पटांगिनीमा पस्यो। नेपाली कांग्रेसका तत्कालीन सभापति तथा प्रधानमन्त्री मातृकाप्रसाद कोइराला यस्तो दरबारिया राजनीतिमा प्रवेश गर्ने नीतिका अगुवा भए। सात सालमा प्रजातन्त्रका लागि गरिएको सशस्त्र संघर्षका नायक कोइरालाले नै 'प्रजातन्त्रका लागि नेपाल योग्य छैन' भन्दै सत्ताको भोको दरबारसँग सम्झौता गरे। प्रत्यक्ष शासन गर्ने धम्की दिँदै दरबारद्वारा कांग्रेसको निर्णयविपरीत प्रधानमन्त्रीमा तानिएका कोइरालाले प्रजातन्त्रलाई अफापसिद्ध ठहर्‍याउन सघाएर दरबारको गुन तिरे। दरबारसँग सम्झौता गरेर कोइरालाले गरेको गल्ती प्रजापरिष्दका नेता तथा 'जिउँदा सहिद' टंकप्रसाद आचार्य र सात सालका मुक्ति योद्धा डा. केआई सिंहले पनि दोहोर्‍याए।

कांग्रेसका नेता बीपी कोइरालाका अनुसार, 'संविधान सभाको चुनावका लागि जनताको माग उत्तरोत्तर बढिरहेको बेला टंकप्रसादले आफूलाई संविधान सभाको पक्षमा नभएको घोषणा गरे। उनी राजाबाट जनतालाई उपहारका रूपमा प्रदान गरिने संविधानको पक्षमा थिए। संविधान सभाको चुनावका लागि दिइएको संवैधानिक वचनलाई तीव्र गतिले बढाउने व्यापक चेष्टा भइरहेको बेला प्रधानमन्त्रीको यस वक्तव्यले अन्तरिम संविधानअन्तर्गत हुने संविधान सभाको चुनावका समर्थकहरूको मार्गमा ठूलो बाधा उत्पन्न गर्‍यो, जुन सायद राजाको पनि लक्ष्य थियो। शंकालु राजा संवैधानिक राजतन्त्रको सम्भावनामाथि विचार गरिरहेको बेला प्रधानमन्त्रीको आशीर्वाद–प्राप्त यी स्वयंघोषित राजनीतिज्ञहरूले अन्तरिम संविधानअन्तर्गत संविधान सभाको मागलाई अमान्य घोषित गर्न खोजेको प्रयास मेरो विचारमा त्यस कालको सबभन्दा दुर्भाग्यपूर्ण घटना थियो।'

सातदेखि सत्रसालको कालखण्डको सबभन्दा दुर्भाग्यपूर्ण घटना भनेको दरबारिया राजनीतिकै निरन्तरता थियो, त्यस राजनीतिक रंगमञ्चका मुख्य पात्र थिए, राजा र नेताहरू। आचार्यको नेपथ्यमा थिए मातृकाप्रसाद कोइराला र अगाडि आए केआई सिंह। मातृका–शैलीमा 'जनता प्रजातन्त्र उपभोग गर्न सक्षम भइनसकेको' ठोकुवा गर्दै आचार्यले पनि 'राजामै प्रभुसत्ता रहनुपर्ने' जिकिर गर्दै हिँडे। सुरुमा उनले चुनाउ संविधान सभा वा संसद् केका लागि गर्ने टुंगो नलागेको भाषण गर्दै संविधान सभाको चुनावबारे अन्योल फैलाए, पछि संसदीय चुनावै गराउने निर्णय गरी संविधान बनाउने जनअधिकार राजाको पाउमा चढाए।

यस्ता कार्यकारी प्रधानमन्त्री टंकप्रसाद आचार्य र कामचलाउ प्रधानमन्त्री माधव नेपालका विचार–व्यवहार दाँजेर हेर्दा यस कालखण्डमा पनि खतरनाक इतिहास दोहोरिने संकेत पाइएको छ। संविधान सभाको पक्षमा नभएका दुवै प्रधानमन्त्रीले कुनै समितिमार्फत् संविधान बनाउनुपर्ने मत जाहेर गर्नुमा पनि गुढ अर्थ निहित छ। दरबारिया राजनीति गरे पनि तोकिएको समयमा चुनाव गराउन नसकेको आरोपमा आचार्य डेढ वर्षमै फ्याँकिनु र संविधान सभा चुनावको पक्षमा सडकमा उत्रेका जनतामाथि दमन गर्न दरबारबाट प्रधानमन्त्री केआई सिंह खटाइनुको पनि लाक्षणिक अर्थ छ। यसरी हेर्दा, सम्प्रभुसत्ता राजामै रहनुपर्छ भन्ने पक्षमा रहेका अर्का संविधान सभाविरोधी सिंहको दमनकारी भूमिका पनि जेठ १४ सम्म प्रम नेपालको कामचलाउ काँधमै आयो भने अनौठो हुनेछैन।

इतिहास सर्पिल आकारमा दोहोरियो भने कांग्रेस र बीपी कोइरालाको भूमिका पनि देख्न पाइएला। सात सालको संघर्षदेखि संविधानसभा माग्ने कांग्रेस राजदरबार र राजनीतिक नेतृत्वको अवाञ्छित सम्झौतासामु झुकेको थियो, भद्रअवज्ञा आन्दोलन गरे पनि। संविधान सभाको होइन, संसदीय चुनाव गर्न, संविधान सभाले बनाएको होइन, राजाले दिएको संविधान नै स्वीकार्न ऊ पनि बाध्य भयो। बीपीको तर्कअनुसार, 'संविधान सभाको उही पुरानो नारासँग टाँसिरहँदा राजामाथि पूर्ण अविश्वास अभिव्यक्त गरेको हुने भएर' कांग्रेसले आफ्नै माग त्याग्यो। अन्ततः दरबारिया राजनीतिमा राजनीतिक नेतृत्व फसेपछि आफूले दिएको शाही संविधानमाथि टेकेर सत्ताकांक्षी राजा महेन्द्रले बीपीको निर्वाचित सरकारलाई समेत सखाप पारे। यसरी संविधान सभाको चुनावबाट संविधान रचना गर्न पाउने संवैधानिक अधिकार हनन भयो।

आफ्नो संविधान आफैं बनाउने जनअधिकार हननको शंृखला महेन्द्र–पुत्रहरूको राजमा पनि जारी रह्यो। संविधान सुझाव आयोगबाट बनाइएको संविधानलाई वीरेन्द्रले गर्न खोजेको निजीकरण सबैमा जाहेरै छ। संविधानले राजाको भूमिकालाई संवैधानिक राजतन्त्रमा सीमित गर्न खोज्दा पनि उनले लक्ष्मणरेखा नाघेका उदाहरण धेरै छन्। व्यावहारिक राजनीतिमा र नेताहरूको सोचाइमा पनि राजदरबार बलियो र प्रभावशाली रहेको स्थितिमा नेताहरूले शक्ति राजनीतिमा आफ्नो पल्ला गरुंगोबनाउन राजालाई रिझाउन खोज्ने अनि राजाले त्यस्तै मौका छोपी शक्तिको विस्तार र प्रयोग गर्न खोज्ने प्रवृत्ति देखे–भोगेकै दृष्टान्त हो। यस्तै वातावरणबीच कहिले सत्तापक्षले त कहिले विपक्षले राजालाई गुहार्ने र अधिकार हन्तान्तरण गर्ने क्रम जारी रहेकै स्थितिमा वीरेन्द्रको वंशनाशपछि ज्ञानेन्द्रको तानाशाही जन्मिएको तथ्य बिर्सन सकिँदैन। उनले पिताकै शैलीमा एकपछि अर्काे सरकारलाई नालायक ठहर्‍याउँदै 'राजा प्लस अध्यक्ष' हुने क्रममा राजतन्त्रकै रुखमा बन्चरोले हानेको तथ्य त बिर्सनै सकिँदैन। विडम्बना, जनराजनीतिको सट्टा शक्तिराजनीति प्रभावी रहेकाले राजतन्त्रको अन्त्यपछि पनि दरबारिया राजनीति भने समाप्त भएको छैन।

कांग्रेसको इतिहास हेर्दासंविधान सभाको आफ्नै मागसमेत त्यागेको देखिन्छ। त्यसको वर्तमान नेतृत्वमा संविधान सभाविरोधी नै बेसी छन्। यसैले उनीहरू माओवादीले उठाएको संविधान सभाबाट संविधान बनाउने आफ्नै प्रतिबद्धतामा पनि अनेक सर्त थप्न प्रतिबद्ध छन्। अब कांग्रेसले बीपीकै गल्ती दोहोर्‍याउँदै माओवादीसँग सहकार्यलाई पूरै त्याग्नसक्छ वा पौडेलको उम्मेदवारीलाई निर्विरोध गराउन देशलाई अनिर्णयको बन्दी बनाइराख्न सक्छ। माओवादीलाई सत्तासाझेदारीबाट बाहिरै राखियो भने, उसलाई विद्रोहतिरै धकेलिदियो भने गतिरोध थपिनसक्छ। दुवै हातमा रहेको लड्डु खाँदै बसेको एमालेको अकर्मण्यता र माधव नेपालको महत्वाकांक्षाको मैदानमा जंगीअड्डादेखि दक्षिणी छिमेकीले राष्ट्रपतिलाई बलवान बनाउने नयाँ खेल खेल्न सक्छन्। यसको अर्थ संविधान सभालाई भाँड्ने, शान्तिप्रक्रिया र संविधान लेखनबाट लोकतान्त्रीकरण र रूपान्तरण गर्ने प्रयासलाई निरर्थक बनाउने सम्भ्रान्तवर्गीय अभियान पहिलेझै अहिले पनि तीव्र छ भन्ने नै हो। राजनीतिक रंगमञ्चका नेता–अभिनेताका राजनीतिक असहमति, वैचारिक द्वन्द्व र सत्ताको लुछाचुँडीबीच मातृका, आचार्य र सिंहको पुनरुत्थान भइरहेको छ।

यस्तो बेला, कुनै समयमा संसद् विघटन र नयाँ चुनाव गर्ने प्रधानमन्त्रीको विशेषाधिकारविरुद्ध सत्तापक्षका महेन्द्रनारायण निधिदेखि प्रतिपक्षका मनमोहन अधिकारीसम्मले नारायणहिटी दरबार गुहारेझैं अर्को गुहार लगाइनसक्छ। त्यस्तै सेनापति बर्खास्त गर्ने कार्यकारी प्रधानमन्त्रीको अधिकारविरुद्ध शीतलनिवासमा १८ दलीय निवेदन चढाइएजस्तै अर्को निवेदन पनि चढाइनसक्छ। शक्ति राजनीतिका खेलाडीहरूबाट आलंकारिक राष्ट्रपतिलाई कुनै पनि निहुँमा कार्यकारी अधिकार बुझाइयो भने पनि अनौठो नमाने हुने देखिन्छ। जिज्ञासा के मात्रै हो भने कतिपल्ट गल्ती र सम्झौता गरेपछि राजनीतिक नेताहरूले सही पाठ सिक्ने हुन्? गल्ती र सम्झौताकै जगमा खडा हुने तानाशाहीको मार कति सहेपछि देशको लोकतान्त्रिक र जनमुखी रूपान्तरण हुने हो?

अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस