अपराध नलुक्ने युग
२२ चैत्र २०७६
•
१९ मिनेट पाठ
अपराध नलुक्ने युग
प्रधानमन्त्री रणोद्वीप सिंहको हत्यामा आफ्नै बाजे डम्बरशमशेर संलग्न थिए भन्ने चाल पाएपछि बालकृष्ण समको बालहृदयमा घृणा पलायो। आफ्नी दिदीले सुनाएको रणोद्वीप हत्याकाण्डको कथा सुन्दा बालकृष्णलाई पीडा भएको थियो। उनले आफ्नो पुस्तकमा बाजे डम्बरलाई ‘हिरण्यकसिपुजस्तो’ भनेका छन्।ससाना केटाकेटीको दिमागमा घरका हरेक सदस्यको तस्बिर सुरक्षित हुन्छ। उमेर छिपिँदै जाँदा उनीहरू तिनको चरित्रको समीक्षा, विश्लेषण र हिसाब–किताब गर्न थाल्छन्। अनैतिक काम गर्नेको पनि ‘डोसियर’ हुन्छ, उनीहरूको दिमागमा। त्यसैले ती पक्का न्यायाधीश हुन्। ऐन–कानुन हेरेर सत्यनिरूपण गर्ने इमान्दार न्यायाधीशले मात्र न्याय दिन सक्छन्। त्यस्तै सत्य/असत्य विवेचना र मिमांसा गर्ने बौद्धिक ल्याकतले मात्र मानिसको व्यक्तित्व विकास हुन्छ। बालकृष्ण समले पनि गलत काम गर्ने जर्नेल डम्बरशमशेरलाई श्रद्धा गरेनन्। 




धीरशमशेरका १७ छोरा थिए। वीर, खड्ग, रण, देव, चन्द्र, भीम, फत्ते, ललित, जीत, जुद्ध, डम्बर, जदु, पूर्ण, दुर्गा, शेर, खम्ब र हर्कशमशेरमध्ये धेरैको नाम चर्चामै आएन। जंगबहादुरको मृत्युपछि श्री ३ महाराज (प्रधानमन्त्री) बनेका रणोद्वीपले आफ्नै भतिजाले आफूलाई मार्लान् भन्ने कल्पनै गरेका थिएनन् होला। ‘जसको शक्ति उसकै भक्ति’ भनेझैं अन्यायपूर्वक मारिएका रणोद्वीपका पक्षमा बोलिदिने कोही भएन। ‘सत्रभाइ’ भनिने धीरका छोराहरूलाई सैनिक प्रशिक्षण दिने चक्रपाणी सापकोटाले तत्काल घटनास्थल पुगेर यो गलत भयो, के गरेको भन्दै धीरका छोराहरूलाई थर्काएछन्। घटनामा संलग्न खड्ग र डम्बरशमशेरले भनेछन्– ‘गुरु, इतिहास यसरी नै बदलिन्छ। तपाईंप्रति हिजोजस्तै भविष्यमा पनि सम्मान रहिरनेछ।’ सापकोटाका वंशजले पुराना डायरी पल्टाउँदा चक्रपाणीको टिप्पणी देखेको पंक्तिकारलाई सुनाएका थिए।

चक्रपाणी भारतमा अंग्रेज पल्टनमा काम गरेका अनुशासित र कडा जुनियर अफिसर थिए। रणोद्वीपको हत्या हुँदा उनी २७/२८ वर्षाका कप्तान थिए। जसले गलत गरे पनि प्रस्ट भन्दिने निर्भीक स्वभावका ती युवक चन्द्रशमशेरका प्रिय थिए। फर्पिङमा पहिलोपल्ट बिजुली उत्पादन गरिएको समारोहमा भाग लिन प्रधानमन्त्री चन्द्रले चक्रपाणीलाई बागलुङबाट काठमाडौं आउन पत्र पठाएको पाइन्छ। यसबाट स्पष्ट हुन्छ– योग्य मानिसको कदर गर्न जान्थे, चन्द्रशमशेर। १९६८ जेठ ९ मा राजा पृथ्वीवीरविक्रम शाहद्वारा उद्घाटन गरिएको बिजुली (चन्द्रज्योति) ७ लाख १३ हजार रूपैयाँ खर्चमा बनेको थियो। व्यक्तिगत प्रयोगका लागि १ हजार ७ सय कोठाको सिंहदरबार बनाउने चन्द्रशमशेरले आफ्नै दाजु देवशमशेरलाई अपदस्थ गरेर सत्ता कब्जा गरेका थिए। देवलाई धनकुटातर्फ लखेटे, चन्द्रले। त्यसैले देवलाई ‘धनकुटे महाराज’ भनिन्छ। तीन महिनामै अपदस्थ गरिएका देवले ‘गोर्खापत्र’ साप्ताहिक सुरु गरे। उनलाई सम्झिनुपर्ने आधार त्यही भयो। पुराना राजनीतिज्ञ खड्गमानसिंह बस्न्यात भन्थे– ‘देव कम खराब थिए।’

सञ्चार, विज्ञान र प्रविधिको उन्नयनसँगै संसार ब्युँझिएको छ। तसर्थ अब देश जनतालाई ढाँटेर चल्दैन।

‘घरमै बस्नुपर्ने, बाहिर घुमफिर गर्न नहुने’ महामारी यथावत् छ, यी पंक्ति कोरुन्जेल। पुराना पुस्तक खोज्दै पढ्दै छु। प्रथम विश्वयुद्ध (सन् १९१४–१८) चलिरहेका बेला बम्बईमा बसोवास गर्ने दुर्गादेवी, आ.दि.द्वारा लिखित दुर्लभ पुस्तक पुनः पढ्दै छु। सन् १९१६ मा पुस्तक लखेर छाप्ने नेपाली महिला कति थिए होलान् ? पढेलेखेका नेपाली कति थिए होलान्, ऊबेला ? अधिकार मात्र खोज्ने, कर्तव्य निर्वाह नगर्ने आजका अधिकतर मानिस ‘अधिकारवादी’ भएका छन्। ‘कर्तव्यवादी’ संघ/संगठन कति छन् ? दुर्गादेवीको पुस्तक ‘दम्पत्तिधर्म–भार्याकर्तव्य’ बडो घतलाग्दो छ। झन्डै सय वर्ष पहिलेका भाषा, शैली, तर्क, उदाहरण झन् रोचक छन्। महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेखेका छन्– ‘मीठो लाग्छ, मलाई त प्रियकथा प्राचीन संसारको।’ हुन पनि हो, नुतन र पुरातनभन्दा अनन्तकालअघिको सनातन संस्कृति आफंैमा पूर्ण छ। त्यसैले हाम्रा पुर्खाको धर्म (कर्तव्य), जीवनशैली र जीवनप्रतिको दृष्टिकोण आज विश्वका लागि चासोको विषय बनेका छन्।

दुर्गादेवी आचार्य दीक्षितले वि.(सं. १९७० मा तयार पारेको पुस्तकमा स्त्री जाति शालीन, शिक्षित, संस्कारी, विनीत, सनातन धर्मका अनुयायी, कुल धर्मका पालक भएमा परिवार संगठित, सभ्य र संस्कारी हुन्छ भनिएको छ। बम्बई (भारत) निवासी हरिहर आचार्य दीक्षितद्वारा प्रकाशित सो पुस्तकमा आर्य (सभ्य) नारीले इतिहासमा ठूलो योगदान गरेको उल्लेख छ। लाखौं रूपैयाँ खर्चेर अंग्रेजी भट्याउन सक्ने बनाएपछि अभिभावकको कर्तव्य पूरा  हुन्छ भन्ने सोचले आज जरा गाडेको छ। त्यसैले मानिस प्रत्यक्ष÷परोक्ष रूपमा दिशाहीन बन्दै छन् भनेर तर्क गर्ने पनि धेरै छन्। प्रथम र दोस्रो विश्वयुद्धमा ब्रिटिसको सहायक सेना (भाडाका सिपाही) बनेर युद्ध गर्दा हजारौं नेपालीले ज्यान गुमाए। इतिहास बोल्छ– सय वर्ष भयो, अरूका देशमा नेपालीले पसिना र रगत बगाउन थालेको। यता घरघरमा आफन्तजनलाई रुवाउँदै ५० लाखभन्दा धेरै नेपाली बाहिरी देशमा श्रम गरिरहेका छन्।

‘रेमिट्यान्स’ भनिने त्यही पैसामा सत्तासीनहरू ‘डान्स’ गरिरहेका छन्। ‘अन्तिम राजा’ भनिएका ज्ञानेन्द्र शाहले गद्दी त्याग्दा ११  लाख युवक/युवती विदेशमा पसिना बगाउँदै थिए। जनताको तन्त्र भनिने गणतन्त्र ल्याएपछि ५० लाखभन्दा धेरै युवा विदेश पलायन भए। यो संख्या हरेक साल बढ्दै छ। भोलि इतिहासले प्रश्न गर्नेछ– राजनीतिका नाममा हजारौं अनुत्पादक र भ्रष्ट भाइरस पाल्न कहिलेसम्म युवा विदेशिनु पर्ने हो ? गुन्द्रुक–ढिँडो नै किन नहोस्, एउटै भान्सामा बसेर खान नपाउने उनीहरूले ? प्रश्नको उत्तर छैन, अनुत्तरदायीहरूसँग। संकटका बेला घरको दैलो ढकढक्याउन आउने आफ्नै परिवारका सदस्यलाई बाहिरै बस भन्छन्, उनीहरू। इटलीमा एघाराैँ शताब्दीमा ‘पास्ता’ नामक खानेकुरा खान काँटा (फोर्क) आविष्कार गरियो। वृद्ध पादरीहरूले ईश्वरको कृपाले पाएको हात छँदाछँदै काँटाले खानु पाप र ईश्वरको निन्दा हो भन्दै विरोध गरे।

इतिहासमा यस्ता धेरै रोचक प्रसंग पाइन्छन्। फिडेल क्यास्त्रोको हत्या गर्न ६ सय योजना बनाइए पनि उनलाई शत्रुले मार्न सकेनन्। उनका जासुस कति चलाख रहेछन् भन्ने विषयमा इतिहासविद् आज पनि खोजी गर्दै छन्। कतिपय कुरा इतिहासमा ओझेल पर्छन्। इजिप्टको सुन्दरी भनेर जगत्ले चिनेकी क्लियोपेट्रा इजिप्टकी थिइनन्, ग्रिसकी थिइन् भनेका छन्, इतिहासकारले। अमेरिकाका ३५औं राष्ट्रपति रिचर्ड निक्सन पाँचवटा बाजा बजाउँथे र सिद्धहस्त संगीतकार थिए भन्ने कुरा प्रचारमै आएन। नेपालको राजनीतिमा चर्चामा आइरहने सुवास नेम्वाङ राम्रा गायक र फुटबल खेलाडी पनि हुन। पूर्वअर्थमन्त्री महेश आचार्य राम्रो गीत गाउँछन्। कमल थापा फुटबल र लङ–टेनिसका असल खेलाडी हुन्। पत्रकार संघको सभापति भइसकेका कृष्णप्रसाद भट्टराई राम्रा निबन्ध लेख्थे, जसलाई उनी ‘गल्प’ भन्थे।

जसरी बालकृष्ण समले रणोद्वीपका हत्यारा ठानेर जर्नेल बाजे डम्बरशमशेरलाई रुचाएनन्, त्यसरी नै आजका सत्यवादी युवाले आफ्नै बाबु राष्ट्रघाती भए पनि मन पराउँदैनन्।

रामहरि जोशी सिद्धहस्त तबलावादक हुन्। नारायणहिटी दरबारबाट ‘रमझम’ पत्रिका निस्किन्थ्यो, जसका सम्पादक थिए– ज्ञानेन्द्र शाह। उनी गायक, संगीतकार र गीतकार हुन्। ‘बाँच्नु नै छ यदि भने बाँच नेपाली भई बाँच सधैं’ गीत आज पनि रेडियोमा बज्ने गर्छ। राजा महेन्द्र कवि र गीतकार हुन् भन्ने धेरैलाई थाहा छ। तर उनकी महारानी रत्न पनि रञ्जना शाहका नाममा गीत लेख्थिन् भन्ने कुरा कमैलाई थाहा छ। माधव घिमिरेको कविता छ– ‘ढुंगाको काप फोरेर पनि उम्रिन्छ पिपल।’ हुन पनि हो, राष्ट्र हाँक्नेदेखि बयलगाडा चढ्नेहरूसम्म पनि साहित्य, संगीत र कलाका पारखी छन्। स्तरीय, पठनीय र ग्रहणीय भएमा स्रष्टा उचाइमा पुग्छन्। स्तरहीन भएमा मूल्य हुँदैन। बालकृष्ण समलाई उनकै घरको आँगनमा भेट्दा ठट्टा गरे– ‘नेपालमा कम्युनिस्ट र कवि धेरै छन्। कागज पोको पारेर फ्याट्ट बाटोमा मिल्काउनुभयो भने कि कम्युनिस्टलाई लाग्छ कि कविलाई। 

मुहारमा क्रिम पाउडर दलेर चिटिक्क परेर हिँड्थे, उनी। लामो लबेदा (दौरा) लगाउँथे। ज्ञानेश्वरस्थित घरबाट बाहिर निस्किँदा रिक्सामा ओहोरदोहोर गरेको देखिन्थ्यो। पुराना वैद्यले ओखती खोज्न जंगल चहारेझैं वृद्ध उमेरका ज्ञानीजनको संगत गर्न म युवावस्थामा टाढाटाढा पुग्थें। उनीहरू नलेखिएका इतिहास सुनाउँथे। पचासौं राम्रा पुस्तक पढ्दा जे पाइन्छ, महान् मानिसको सत्संगले त्यस्तै ज्ञान पाइन्छ भन्ने लाग्यो। ६ फिट ४ इन्च अग्ला दुब्ला–पातला अब्राहम लिंकन कुस्तीका चर्चित खेलाडी थिए भन्ने कुरा अमेरिकी इतिहासमा ओझेलमा पर्‍यो। सन् १८३० तिर ‘पाचक’ भनेर बनाइएको टमेटो केचप (सस) आज हरेक होटल र घरघरमा पुगेको छ। एउटा उद्देश्यले बनाइएको संरचना अरूतिर प्रयोग भएका दृष्टान्त धेरै छन्। ब्रिटेनको संसद्मा सभामुखभन्दा उच्च आसनमा राजमुकुट राखिन्छ।

त्यसको दाहिनेतिर धर्म–संस्कृति, परम्परा तथा राज्य–सत्ताका समर्थक (संस्थापन पक्ष) बस्ने गर्छन्। प्रतिपक्षी देब्रेतिर बस्छन्। वामपन्थी (लेफ्टटिस्ट) शब्दको प्रचलन त्यसरी भयो। आज कम्युनिस्ट सत्तामा भएका मुलुकमा पनि उनीहरूलाई वामपन्थी भनिन्छ। १२ वटा छोराछोरी जन्माइसकेकी महिलालाई पूर्व ‘कुमारी’ भनेझैं हास्यास्पद सुनिन्छ, त्यो। दसौं शताब्दीमा अमेरिका टेक्ने लेफ एरिक्सनको चर्चा भएन। धेरैले आज पनि अमेरिकी माटो टेक्ने र अमेरिका देख्ने प्रथम व्यक्ति कोलम्बस नै हुन् भन्छन्। इन्दिरा गान्धीलाई मोहनशमशेरका छोरा विजयले ५० हजार भारुको हिराको हार उपहार दिएछन्, २००६ सालमा। ऊबेला डकोटा विमान किन्न पाइन्थ्यो, त्यति पैसाले। चन्द्रशमशेरका प्रिय पात्र राममणि आ.दि.ले आफ्नो पुस्तकमा त्यसको चर्चा गरेका छन्। हाम्रा पुर्खा मगन्ते थिएनन्। काठमाडौं उपत्यका र राजधानीबाहिर प्राचीन धरोहरमा नेपाली स्रोत/साधन र पसिना मात्र परेको इतिहास बोल्छ। शौचालय बनाउन पनि विदेशी पैसा माग्न थालेका छौं, हामी। कुनै बेला ब्रिटेन र चीनलाई पनि मद्दत गर्ने नेपालमा आज उपकार पाउने व्यक्तिभन्दा ‘उपकारी’ एनजिओ÷आइएनजिओ धेरै भएका छन्।

सुदूर गाउँमा पुगेर उनीहरू चामल, ओखती र वस्त्र होइन, फिरंगीका किताब बाँड्छन्। हिन्दू र बौद्धलगायत प्राचीन धर्म–संस्कृतिको जरा काट्छन्। संसद्, सिंहदरबारलगायत  टाकुरामा बसेका भाइरस वा विषाणु उनीहरूका संरक्षक बनेका छन्। राष्ट्र असफल बन्दै गएमा हाम्रो हालत स्विटजरल्यान्ड होइन, सुडानको जस्तो बन्छ। हल्यान्ड होइन, होन्डुरस हुन्छौं, हामी। इतिहासबाट नसिक्ने र सिक्नै नचाहनेहरू वसुधा आफ्नैवरिपरि घुमिरहेको छ भन्ने सोच्दा हुन्। तर यथार्थ अर्कै छ। जब समयको चक्र (कालचक्र) बदलिन्छ, त्यसबेला युगले कोल्टे फेर्छ। आजका भ्रष्ट, अकर्मण्य, कुरौटे र परजीवी पातालमा भासिन्छन्। त्यो बेला एउटा प्रबल नायकको उदय हुन्छ। गीतामा भगवान् कृष्णले भनेका छन्– ‘जब धर्मको नास हुन्छ, त्यो बेला दुष्टलाई दण्ड दिन र सज्जनको रक्षा गर्न म अवतार लिनेछु।’  राष्ट्र गम्भीर संकटमा पर्दा चुनौती र अवसर दुवै आउँछन्। संकटको अन्धकारबाट इजरायल र जापानजस्ता कैयन् राष्ट्र उज्यालो युगमा प्रवेश गरे। एउटै राष्ट्र नायकले सिंगापुरको भविष्य सुरक्षित बनाए। दान–दातव्यको आशा गर्ने, विदेशीले दिएको अथाह सम्पत्तिमा आँखा गाड्ने र सर्पको मुखमा परेको भ्यागुताले फट्यांग्रा तान्न खोजेझैं महामारीमा पनि कमिसनको भारी कस्नेहरूलाई इतिहासले क्षमा गर्दैन।

कुनै दलमा कैदी नभएका स्वतन्त्र देशभक्त युवाले सडकमा ल्याएर भ्रष्टहरूलाई धोबीले लुगा चुटेझैं चुट्नेछन्, एकदिन। विवेकीले अपराध गर्नेलााई माया गर्दैनन्। जसरी बालकृष्ण समले रणोद्वीपका हत्यारा ठानेर जर्नेल बाजे डम्बरशमशेरलाई रुचाएनन्, त्यसरी नै आजका सत्यवादी युवाले आफ्नै बाबु राष्ट्रघाती भए पनि मन पराउँदैनन्। सञ्चार, विज्ञान र प्रविधिको उन्नयनसँगै संसार ब्युँझिएको छ। तसर्थ अब देश जनतालाई ढाँटेर चल्दैन। साँझमा कसैले अपराध गर्‍यो भने उज्यालो नहुँदै संसारमा फैलिन्छ। दलको झण्डा ओढेर अपराध लुकाउन सक्ने भए संसारका कुख्यात नेता जेलमा हुने थिएनन्। नेपालका राष्ट्रघातीले केही महिना, केही वर्ष झुक्याउलान्, तर जनताले माफ गर्दैनन्।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस