४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
विचार

प्रविधि दुर्ब्यसनको कुचक्र

कोभिड–१९ ले ल्याएका चुनौती अनेक छन्। अहिलेसम्म त जीवनरक्षाकै सवालमा हामी अल्मलिइरहेका छौँ। अझैसम्म पनि सार्स कोभ–२ नाम दिइएको भाइरसबाट कसरी भाग्ने भन्नेबाहेक अरू कुनै उपाय सोच्न सकिएको छैन। यसविरुद्धको खोप आउन्जेलसम्म वा प्राकृतिक प्रतिरोध क्षमता मानव समुदायबीच व्यापक हुन्जेलसम्ममा यो भाइरस स्वयममा नै अर्को उत्परिवर्तन (म्युटेसन) आइसक्नपनि बेर छैन। भाइरसलाई नष्ट पार्ने औषधि लगायतका अन्य उपाय के निस्किएलान्, तिनले के गर्लान्, अहिले थाहा छैन। यी प्रश्नसँगै आउने अर्को ज्यादै ठूलो, महत्वपूर्ण र गाह्रो प्रश्न हो– अबपनि प्राणीजगत्का अन्य सदस्यसँग जुझेरै बाँच्ने प्रयत्न गरिरहने कितीसँग सहअस्तित्वमा बाँच्ने कौशल सिक्ने ?यसको उत्तर त यो शताब्दीको अन्त्यसम्म पनि आउला/नआउला भन्न सकिन्न। जे भएपनि ढिलो/छिटो मानिसले यसप्रकारको महामारीबाट जीवविज्ञान र चिकित्सा विज्ञानको सहारा लिएर जोगिने कुनै उपाय त पत्ता लगाउला भनौँ। तर जीवविज्ञान र चिकित्सा विज्ञानदेखि बाहिर टाढा/टाढासम्म मानव जीवनका अनेक महत्वपूर्ण क्षेत्रमा समेत यसका प्रभाव पर्न थालेका छन्। 

एउटा अचम्मको विरोधाभासमा मानिस फसेको छ। एकातिर यो तहको विश्वव्यापी महामारीसँग जुझ्नका निम्ति झन् झन् बढी सूचना आदान–प्रदान अपरिहार्य भएको छ भने अर्कोतिर सूचना प्रविधिकै अत्यधिक उपयोग/दुरूपयोगका कारण मानिसको वैयक्तिक स्वतन्त्रता कुण्ठित हुने त हैनन् भन्ने त्रास झन् झन् बढिरहको छ। स्वतन्त्रतासँग अत्यन्त घनिष्टपूर्वक जोडिएका दुई अवधारणा हुन् प्रजातन्त्र र मानव अधिकार। नयाँ देखा परेका संकटका कारण यी दुवै नै किन या किसिमले परिभाषित हुनुपर्ने होला कि भने यिनलाई जोगाउन सूचना प्रविधिमा अंकुश लगाउनुपर्ने होला। तर यो अंकुशले फेरि फरक किसिमले मानवअधिकार र लोकतन्त्रलाई नै कुण्ठित पार्न सक्छ। सम्पूर्ण मानवजाति त्यो प्रेमीजस्तो भएको छ जो कुनै खतरनाक महलकी सुन्दरीसँग प्रेममा छ र कुनै पनि बेला उसको ज्यान जान सक्छ तर आफ्नी प्रेमिकाप्रति यति आशक्त छ कि ऊ त्यसबाट विमुख हुनै सक्दैन। अनेक रूपमा उसकी प्रेमिका देखा पर्छे। यतिबेला उसका दुई प्रमुख अवतार भने भौतिक ‘विकास’को कहिल्यै नमेटिने तृष्णा र सूचनाप्रविधिका अनेक रूपमाथिको निर्भरता वा दुव्र्यसनमा देखा परिरहेका छन्।

अबपनि प्राणीजगत्का अन्य सदस्यसँग जुझेरै बाँच्ने प्रयत्न गरिरहने कितीसँग सहअस्तित्वमा बाँच्ने कौशल सिक्ने ?

एकातिर भौतिक विकास र आर्थिक समृद्धिको नमेटिने तृष्णा छ अर्कोतिर यो तृष्णाले पृथ्वीलाई नै तहसनहस पार्न सक्ने खतरा छ। एकातिर सूचना प्रविधिको उपयोग दुव्र्यसनकै रूपमा बढिरहेको छ अर्कोतिर यो दुव्र्यसनका कारण आफ्नो व्यक्तिगत गोपनीयता सबै भङ्ग होलान् र कसैको सहज सिकार बनिएला भन्ने डर छ। पाएदेखि अरुका बारेमा भएभरको सूचना संकलन गरौँ र आफ्नो प्रतिस्पर्धात्मक क्षमता बढाउँ भन्ने चाहना छ, अनि आफ्ना बारेमा भने अरु कसैले सूचना पाउलान् कि भन्ने डर पनि छ। यस्ता असंख्य विरोधाभासका बीचमा हामी बाँचिरहेका छौँ। यो अन्तरविरोध हाम्रो युगका मानिसको एउटा प्रमुख विशेषता बनेको छ। मानवजातिको भविष्यकै निर्धारक बनिसकेको छ– यो अन्तरविरोधको समाधान कसरी हुन्छ वा अन्ततोगत्वा यसले हामीलाई कहाँ पुर्‍याउँछ भन्ने कुरा। के होला त यो विरोधाभासबाट बाहिर निस्कने सबभन्दा राम्रो तरिका?मानिस एक्काइसौँ शताब्दीको तेस्रो दशकमा प्रवेश गरिरहेको यो बेला संसारभरका विभिन्न अनुसन्धाता, पर्यावरणविद्, समाजशास्त्री, नृशास्त्रीजस्ता प्राज्ञिक क्षेत्रका हस्तीदेखि लिएर वातावरणवादी अभियन्ताहरूसम्म धेरैको राय स्पष्ट देखिन्छ– अहिलेको यो अन्धाधुन्ध भौतिक समृद्धिको तृष्णामा ‘ब्रेक’लगाएर पृथ्वीमा रहेका प्राणीको सहअस्तित्वमा आधारित सन्तुलन नखोजी हुँदैन। 

एउटा सिङ्गो शताब्दी नै यो प्रिय र सुन्दर ग्रहमा बिताएर प्रशान्तिमा विलीन हुन पर्खिरहेका वृद्ध विद्वान्देखि लिएर सिङ्गो जीवन बाँच्न बाँकी रहेकी कल्पनाशील र स्वप्नद्रष्टा नवकिशोरी अभियन्तासम्म यही श्रेणीमा पर्छन्। तर प्राकृतिक स्रोत दोहन गरेरै शक्तिआर्जन गरिरहेका उद्योगपति/व्यापारीदेखि लिएर पर्यावरणीय संकटलाई देख्दै नदेख्ने, यस्तो संकट बढ्दैछ भन्ने कुरालाई नै पूरै नकार्ने, दम्भ र अन्धराष्ट्रवादले दृष्टिचेत पुरै ढाकिएका राजनीतिज्ञसम्म भने जसरी हुन्छ, आफूमात्र अझै बलियो बनौँ, अरू राष्ट्र, अरू मानिस, अरू प्राणी जहाँसुकै जाउन् भन्ने अतिआत्मकेन्द्रित सोचले ग्रस्त छन्। ‘विकास’को स्वाद अझै चाख्न नपाइसकेका हामीजस्ता गरिब मुलुकका मानिस पनि प्रश्न गर्दैछौँ– सबले गरे, हामीले गर्न नपाउनु? ‘विकास’को त्यो झिलिमिलीमा बाँच्ने रहर नपुगेको कुण्ठा पोखिरहेका छौँ हामी। यतिबेलाको सबभन्दा ठूलो प्रश्न हो– पृथ्वीमा अब अनावश्यक भार थप्न छाडेर पनि मान्छे अहिलेभन्दा खुसी भएर बाँच्ने उपाय नै छैन त ?आफूबाहेकका सबै प्राणीलाई शत्रु वा दास नमानीकन पनि मान्छे खुसीभएर बाँच्न सम्भव नै छैन ?अबको ज्ञान, विज्ञान, प्रविधि सबैले यो प्रश्नको उत्तर खोज्नुपर्ने हैन र ?

विज्ञानको कुनै पनि उपलब्धि आफैँमा असल वा खराब हुँदैन। के प्रयोजनका निम्ति प्राप्त ज्ञान र प्रविधिलाई उपयोग गरिन्छ भन्ने कुरा त मान्छेको निर्णय हो।

विज्ञानको कुनै पनि उपलब्धि आफैँमा असल वा खराब हुँदैन। के प्रयोजनका निम्ति प्राप्त ज्ञान र प्रविधिलाई उपयोग गरिन्छ भन्ने कुरा त मान्छेको निर्णय हो। कुनै पनि प्रविधि असल कामका निम्तिपनि उपयोग हुनसक्छ, खराब कामका निम्ति पनि। ‘वसुधैव कुटुम्बकम’को भावलाई अझ बलियो बनाउनका निम्ति संयमित भएर विज्ञान प्रविधिको उपयोग गर्दा कतै कसैलाई केही हानि हुने थिएन। यदाकदा हुने दुर्घटनाबाट मात्रै जोगिन सक्ने हो भने नाभिकीय ऊर्जा उत्पादन जस्तो डरलाग्दो प्रविधिको समेत सदुपयोग हुनसक्छ। तर ‘अरुका हातमा भए संसार ध्वस्त पार्छन्, मेरो हातमा हुँदा त नाभिकीय अस्त्रपनि ठीकै छ’भन्ने धारणाले सयौँ पृथ्वी बराबरका ग्रह ध्वस्त पार्न सक्ने नाभिकीय अस्त्र भण्डारण भइसकेका छन्। सूचना प्रविधि पनि त्यस्तै हो। आफूबाहेक ‘अरु कसैले’ सूचना प्रविधिको सही उपयोग गर्लान् भन्ने कुराको विश्वास धेरै कमलाई हुन्छ। श्रीमान्/श्रीमती, प्रेमी/प्रेमिका, बाबु/आमा र छोरा/छोरी, साथीहरू, राज्य र नागरिक, कम्पनीहरू, राष्ट्रहरू अर्थात् कुनै पनि सम्बन्धमा रहेका मानिस र मानिसका समूहकाबीच बिल्कुलै विश्वास छैन भने सूचना प्रविधिजस्तो डरलाग्दो चीज केही पनि हुँदैन। मानिसको आफ्नै नियतमा, आफ्नो नैतिकतामा विश्वास छैन भने त झन् सूचना प्रविधिजस्तो डरलाग्दो कुरा केही हुँदैहुँदैन।  

मानवीय सम्बन्धका यावत् रूपहरूमा विश्वास र प्रेम, शीलपालन र इमान्दारी जस्ता सद्गुण नै निर्णायक हुने हो भने अनि पृथ्वी, प्रकृति र पर्यावरणप्रतिको प्रेम, सम्मान र समर्पण नै मानिसको नैसर्गिक धर्म हुने हो भने विज्ञानका जुनसुकै शाखा, प्रविधिका जुनसुकै उपलब्धि सबै नै खुसीका साधन बन्न सक्ने थिए। यतिबुझ्न केही गाह्रो छैन। तर किन यसो भइरहेको छैन ?किनभने मानिसको आफैँप्रति विश्वास छैन। जबसम्म आफैँप्रतिको विश्वासको यो खडेरी रहिरहन्छ, मानिस यो अत्यन्त पीडादायी विरोधाभासबाट, विज्ञान प्रविधि दुरूपयोगको दुव्र्यसनबाट, राग र द्वेषको कुचक्रबाट, शक्ति र स्वतन्त्रताको गलत परिभाषाबाट कहिल्यै मुक्त हुन सक्दैन।पृथ्वीमा रहेका असंख्य प्राणीका बीचमा विशिष्ट स्थान बनाएको मानवजातिले झण्डै एकलाख वर्षको आफ्नै अनुभव केलाउने हो भने, मन्थन गर्ने हो भने यतिबेला उसले सामना गरिरहेका ठूला प्रश्नको उत्तर पाउन असम्भव छैन। विभिन्न कालखण्डमा देखापरेका गुरुहरूले धेरै कुरा देखाएर, सिकाएर गएकापनि छन्। हामीले त आफ्नै भूमिमा बुद्धलाई नै पायौँ। आफ्नै अज्ञानले गर्दा लामो समयसम्म बुद्धलाई गुमायौँ पनि। अहिले फेरिपनि‘बुद्ध नेपालमा जन्मिएका थिए’ भनेर कराइरहेका छौँ। तर यसरी चिच्याएर मात्रै त उनलाई कसरी प्राप्त गर्न सक्छौँ र ?

कम्तीमा पनि मानव जीवनको अमूल्यता, जगतको परिवर्तनशीलता, आफ्ना कामले कोर्ने भविष्यको चित्र र मानिसका दुःखका अनेक कारण जस्ता उनका शिक्षामा टेकेर सिङ्गो जीवन जगत्लाई हेर्ने प्रयत्न गर्न सक्ने, गर्न पाउने सुविधा हामीलाई छ। यसमा चिन्तन गर्नका निम्ति कोरोनाले त्रस्त पारेर थुनिएको यो बेला जति उपयुक्त अवसर अरु कहिले होला र ?चिन्तन गरौँ। सत्संग गरौँ। कतै न कतै कुनै न कुनै रूपमा त्यसले अर्थ पनि पाउला।

प्रकाशित: ५ वैशाख २०७७ ०३:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App