कमरेड प्रचण्डको मोक्ष यात्रा
२३ माघ २०६७
•
१३ मिनेट पाठ
कमरेड प्रचण्डको मोक्ष यात्रा
माओवादी कार्यसूचीअनुसारका राजनीतिक कार्यक्रमको कार्यान्वयनबाहेक प्रधानमन्त्री झलनाथका लागि धेरै विकल्प देखिँदैनन्। आफ्नो पार्टीको हैसियत सानो सरकारको नेतृत्व गर्ने नेताका चाल सीमित हुनु अस्वाभाविक होइन।




विज्ञानले धेरै प्राकृतिक तथ्यको अन्वेषण गरेको छ। तर पनि, यो दुनियाँको मायावी चरित्रको भेउ पाउनसकेको छैन। दुनियाँमा सहरबजार र कुनाकन्दरा सबै मिलाएर प्रत्येक दिन छ हजार पटक बिजुली चम्किने गरेको वैज्ञानिक तथ्य स्थापित छ। तै पनि, आफ्नै थाप्लोमा वज्रपात नभएसम्म मानिसले त्यसको अनुभव गर्नसक्तैन।

यस पटक त्यस्तै भयो नेपालको संविधान सभामा। सडक पेटीमा उभिएका मानिसले सत्ता मोहमा फसेका नेताहरू यसपटक पनि प्रधानमन्त्री छान्न विफल हुने अनुमान गरिरहेकै बेला अचानक बिजुली चम्कियो। त्यो प्रचण्डको चमकसँगै जोडिएर आएको गर्जनले मानिस झसंग भए। उनीहरू सहज हुन्जेलसम्म नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) पार्टीका निर्वाचित अध्यक्ष तथा संविधान सभामा इलाम जिल्लाका निर्वाचित जनप्रतिनिधि झलनाथ खनाल एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालको निर्णयात्मक समर्थनमा गणतान्त्रिक नेपालका प्रधानमन्त्री निर्वाचित भइसकेका थिए।

अध्यक्ष दाहालको चित्रण चलनचल्तीको प्रथाअनुसार रीतपूर्वकका टिप्पणी लेख्ने हामीजस्ता धेरै स्वनामधन्य विश्लेषक र उहाँ स्वयंले नेतृत्व गरेको पार्टीका पदाधिकारी नेता र सभासदबाट समेत 'सत्ता लोलुप' व्यक्तिका रूपमा हुँदैआएको छ। उहाँको नामको यति चर्को आसुरीकरण गरियो कि मानौ, उहाँ बाहेकका अरु सबै नेता देवत्व प्राप्तिका दौडमा लागेका छन्। उनीहरूमा चाहिँ सत्ताको लालच रत्तिभर छैन। देश सुधार्ने उद्देश्यका लागिमात्रै उनीहरू राजनीतिमा होमिएका छन्। प्रथाअनुसार देश उनीहरूकै जिम्मामा छ र सुधार्ने जिम्मा पनि उनीहरूकै हो। अध्यक्ष दाहालको निर्णयले त्यो कथित मिथक तोडिएको छ। अब उहाँको मोक्ष यात्राका कथा लेखिन थाल्नेछन्। एमाले अध्यक्ष खनाल प्रधानमन्त्री बनेपछि चलनचल्तीको प्रथाको औचित्य समाप्त भएको छ र यसका व्याख्याताको आधिकारिकतामा प्रश्न चिन्ह लागेको छ।

राजनीतिमा सबै पूर्वनिर्धारित सोचाइअनुरूप हुँदैन। दोस्रो जनआन्दोलनको सफलतापछि नेपालका राजनीतिज्ञ, चिन्तक र वुध्दिवादीले जे सोच्दै आएका छन् आगामी समयका लागि अब त्यसको सान्दर्भिकता छैन। अध्यक्ष दाहालले प्रधानमन्त्री निर्वाचनको निरर्थक दौडमा आफनो शक्ति खेर नफालेर समयको सर्वाधिक सदुपयोग गर्नुभएको छ। आफनो शक्ति नचुक्दै कठोर निर्णय गर्नसक्ने व्यक्ति नै नेतृत्वका लागि लायक हुन्छन्।

नेपाली राजनीतिमा भारतीय प्रभावको हाहाकार माओवादी पार्टीभित्रै सबभन्दा बढी देखिएकोछ। भारतका प्रभावशाली नेताहरूसँगको सानिध्य र वौध्दिक सम्पर्कलाई आधार बनाएर बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउने भारतीय चाहनाका किस्सा बेला कुबेला सुनाइएका छन्। यसपटक पनि, प्रधानमन्त्री निर्वाचनको अन्तिम चरणसम्म यो किस्सा खुब सुनाइयो। अचेलको शैक्षिक पाठ्यक्रममा सुती रहेकोे मालिकको नाकमा बसेको झिंगा धपाउन तरबार चलाएर नाक काट्ने नोकरको रमाइलो कथा सायद समावेश गरिएको छैन। भट्टराईका समर्थकले यो कथा पढेका भए प्रधानमन्त्री निर्वाचनको अन्तिम क्षणमा संविधान सभा परिसरमा भएको माओवादी बैठकमा तालीको गडगडाहटका बीच गिडगिडाहटका आवाज सुनिने थिएनन्।

अध्यक्ष दाहालको निर्णयपछि सबै राजनीतिक दलका नेता रनभुल्लमा परेका छन्। उनीहरूले विभिन्न वौध्दिक प्रजातिका आफ्ना समर्थकमार्फत् गर्दै आएको लेखाजोखा बकमफुस साबित भएपछि प्रधानमन्त्री पदमा खनालको चयनलाई भारतका लागि सुखद अवस्था नभएको नयाँ तर्क अघिसारेका छन्। यस परिपे्रक्ष्यमा भारतीय प्रधानमन्त्री मनमोहन सिंहले प्रधानमन्त्री चुनिएका खनाललाई तत्काल दिएको बधाई निकै अर्थपूर्ण छ। नेपालमा सरकारको निर्माण भारतका लागि काउसो साबित हुँदैआएको छ। यसपटक त्यो काउसो पन्छिएको छ। नेपालका नेताहरू शरणागत बनेर सरकार निर्माणका लागि निर्देशनको खोजीमा दिल्लीको दौड नलगाउने हो भने भारतीय संस्थापनका लागि नेपालको सरकार जो सुकैको नेतृत्वमा बनेपनि फरकपर्ने विषय होइन। बदलिँदो विश्व परिस्थितिले राजनीतिका नयाँ नियम बनाइ रहेका बेला भारतले चलनचल्तीको प्रथालाई नै निरन्तरता दिने ठान्नु यथार्थ पनि होइन। नेपाल वा छरछिमेकका कुनैपनि सरकारले भारतीय सामरिक स्वार्थको प्रतिरक्षा गरेसम्म त्यस्तो सरकारप्रति भारतले सद्भाव राख्न नपर्ने कुनै कारण देखिँदैन।

गिरिजाप्रसाद कोइरालाको अवसानपछि एमाले नेता तथा निवर्तमान प्रधानमन्त्री माधवकुमार नेपालको अनुहारमा अभिभावकत्वको छायाँ खोजी रहेका नेपाली कांगे्रसका नेताहरूलाई अध्यक्ष दाहालको निर्णयले नयाँ र विसंगत परिस्थितिमा धकेली दिएको छ। सबभन्दा पुरानो प्रजातान्त्रिक पार्टी भएकै कारणले मात्र आफूलाई प्रजातन्त्रको संरक्षकका रूपमा प्रस्तुत गर्दैआएको पार्टीले वामपन्थी पार्टीहरूबीच गठबन्धनको स्वाभाविकतालाई भने सहज र हार्दिकरूपले स्वीकारगर्न सकेको छैन। झलनाथ खनालले सहमतिको सरकारको खोजी आफ्नै नेतृत्व स्थापित गर्नका लागि गरेका रहेछन् भन्दै संविधान सभाको रोस्ट्रममा उभिएर विलाप गर्ने नेताले बुझ्नुपर्ने के हो भने राजनीतिमा अर्काको वर्चस्व स्थापित गर्न कसैले सहमति खोज्दैन।

कांग्रेसको अहिलेको प्राथमिकता सत्ता हो कि प्रजातन्त्रको संरक्षण? नेताहरू कुनै टुंगोमा पुगेका छैनन। सत्ता उनीहरूको प्राथमिकता हो भने खनालले सरकारको ढोका खुला राख्नुभएको छ। माधवकुमारको नेतृत्व स्वीकारीसकेको कांग्रेसले झलनाथको नेतृत्व स्वीकार गर्न नखरा गरिरहनुपर्दैन। कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको नेतृत्वमा अन्तरिम सरकारका मन्त्री भइसकेका नव निर्वाचित प्रधानमन्त्री झलनाथ खनाल कांग्रेसका नेताहरूको संवेदनशील चरित्रका पारखी हुनुहुन्छ। सर्वदलीय सहमतिको सरकार बनोेस् र नयाँ नेपालको नयाँ संविधान लेखियोस् भन्ने चाहना राख्दै आएका नेपाली जनताले कांग्रेसको निर्णयको ताली ठोकेर समर्थन गर्नेछन्।

कांग्रेस धेरै लामो समयसम्म प्रतिपक्षमा बस्नसक्ने पार्टी होइन। राजाको प्रत्यक्ष शासनका बेला सर्वाधिक लामो समय तीस वर्षसम्म प्रतिपक्षमा वसेकोले पनि सरकारमा बस्ने यसको मोह बाक्लो भएको हो। यो पार्टी अरू पार्टीसँग लामो समयसम्म सहकार्यगर्न पनि सक्तैन। यसका आफनै केही दृष्टि भ्रम छन् जसले गर्दा सँधै आफ्नै सिक्का चम्किइरहेको देख्छ। देशमा स्थायी शान्ति स्थापनाका लागि माओवादीसँग सहकार्य गर्ने पार्टी परिवर्तनका चुनौती थाती राखेर अलग नबसेको भए देशको राजनीतिक परिस्थिति यति असरल्लपर्ने थिएन। यति बेला कांग्रेस प्रजातन्त्रका लागि संघर्षमा जाने अनुकूल नारा पनि छैन। सामाजिक परिस्थितिमा देखिएका जटिल प्रतिकूलताविरुध्द अभियानमा जान आवश्यक संगठन र साहस पनि छैन। यस अन्योलमा कांग्रेसका नेताका लागि कोठे षड्यन्त्रमा अलमलिनुको अर्को विकल्प देखिएको छैन।

वर्तमानको सत्य यति मात्रै हो, माओवादी अध्यक्ष दाहालले राजनीतिमा जस्तोसुकै खतरा उठाउनसक्ने राजनीतिज्ञका रूपमा आफूलाई साबित गरेर सत्ताको लगाम आफनो हातमा लिनुभएको छ। उहाँमा २०५८ सालको जेठ १४ भित्र नयाँ नेपालका लागि नयाँ संविधान बन्ने भ्रम पनि देखिँदैन। निर्धारित समयभित्र संविधानको कंकाल तयार गरेर नयाँ सरकार गठनका लागि चुनावमा जाने एक प्रकारको मानसिकता देखिन्छ उहाँको। माओवादी कार्यसूचीअनुसारका राजनीतिक कार्यक्रमको कार्यान्वयनबाहेक प्रधानमन्त्री खनालका लागि धेरै विकल्प देखिँदैनन्। एमाले पार्टीको आधिकारिकता प्रधानमन्त्रीकै हातमा रहेकोले माओवादीको राजनीतिक कार्यक्रमलाई एमाले अनुकूल बनाउन उहाँ पक्कै प्रभावी हुन सक्नुहुन्छ। पार्टीको हैसियत सानो भएपछि ठूलो पार्टीको समर्थनमा सरकारको नेतृत्वगर्ने नेताका चालहरू सीमित हुनु अस्वाभाविक हुँदैन। प्रधानमन्त्रीका रूपमा माधव नेपालको जस्तो सुविधाजनक अवस्थामा झलनाथ खनाल पक्कै हुनुहुन्न।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस