'अन्तिम' तीन महिनाको अवसर
१२ भदौ २०६८
•
१४ मिनेट पाठ
'अन्तिम' तीन महिनाको अवसर
प्रधानमन्त्रीमा निर्वाचित भएर फूलमाला, खादा र अविरसहित नयाँ बानेश्वरको चमकधमकपूर्ण संविधानसभा भवनबाट आइतबार साँझ सानेपास्थित निवास फर्किँदा बाबुराम भट्टराई अन्धकारमा परे। बधाई र शुभकामना दिन आउनेहरूले देशका ३५ औं प्रधानमन्त्रीसँग छामछुम गर्दै हात मिलाए। धन्न यसपाली धेरै मुसलधारे पानी पर्‍यो र दैनिक जम्मा दुई घन्टा लोडशेडिङ भइरहेको छ।

अर्को महिना यसभन्दा दोब्बर अर्थात् चार घन्टा लोडशेडिङ हुँदैछ। संविधानसभाको अब थपिने तीन महिने म्याद सकिनेताका लोडशेडिङको अबधि ६ घन्टा पुग्नेछ। त्यसपछि हिउँदको त कल्पनै नगरौं, सोह्र-सत्र घन्टासम्मको अन्धकार हाम्रो जाडोलाई थप ठिहिर्‍याउन सफल हुनेछ। शुभकामना दिनेहरूले ५७ वर्षिय नेतालाई 'तपाईंप्रति जनताको धेरै आशा र भरोसा छ' भनेका छन्।
सभाको सम्भवतः अन्तिम तीन महिना म्याद थप गर्नुभन्दा तीन दिनअघि प्रधानमन्त्री निर्वाचित भएका उनले आफ्ना तीन प्राथमिकतालाई क्रमशः उल्लेख गर्दै पत्रकारहरूसँग भने- 'शान्ति, संविधान र जनतालाई राहत।' 'जनतालाई राहत' उनको प्रशासकिय-व्यवस्थापकिय नेतृत्वको क्षमता, आँट र योग्यतामा भर पर्छ। तर उनले देशलाई उज्यालोमा डोर्‍याउन पहिलो पाइला भने बिद्युत उत्पादनको वातावरणतर्फ होइन, संविधान निर्माणको वातावरण बनाउन शान्ति प्रक्रिया टुंग्याउनेतर्फ गर्नुपर्नेछ।
उनले शपथग्रहणपछि सोमबार पहिलो जिम्मेवारी नै सभाको तीन महिने म्याद थपका लागि व्यवस्थापिका संसदमा प्रस्ताव गर्नु हुनेछ।
उनी आफू भने किस्ताबन्दीको म्याद थपप्रति असहमत छन् र सभाको म्यादबारे 'राजनीतिक' निर्णय गर्ने अधिकार सार्वभौम संसदकै हुने, न्यायालयले हस्तक्षेप गर्न नपाउने सोच्छन्। एउटा सदनको नियमित अबधि (पाँच वर्ष) यो सभाले पनि उपभोग गर्नसक्ने उनको धारणा छ। निवर्तमान झलनाथ खनाल सरकारले तीन महिनाका लागि मात्र भनेर गरेको प्रस्ताव उल्ट्याउन सजिलो छैन र अर्कातिर सर्वोच्च अदालतले आइतबार नै त्यससम्बन्धी एउटा मुद्दा खारेज गर्दा अब सभाको आयू तीन महिनामात्र रहने प्रष्ट गरेको छ। त्यसैगरी उनलाई मत माग्दा अध्यक्ष पुष्पकमल दाहालले रोष्ट्रमबाट भनेका छन्, 'हामी संविधानसभाको अन्तिम चरणतिर प्रवेश गरेका छौं।'
तीन महिने अन्तिम चरणको चुनौती भट्टराईका लागि जीवनको पहिलो सबभन्दा आकर्षक अवसर पनि हो। माओवादीलाई शान्ति र संविधानका पक्षमा डोर्‍याउने पक्षका उनी भूमिगतकालको चुनबाङ बैठकदेखि दलहरूसँग बाह्र बुँदे समझदारी गर्दै गणतन्त्र कार्यान्वयनसम्म खरो उत्रिएका हुन्। संविधानसभाको प्रक्रियालाई सम्झौतापरस्त मान्ने विद्रोहकारी पक्षसँग पार्टीमा संघर्ष गर्दै आएको नाताले पनि उनलाई आफ्नो राजनीतिक नीतिको अगुवाइ गर्ने मौका प्राप्त भएको छ। शान्ति प्रक्रिया नटुंगिएका कारण गत तीन वर्षदेखि सत्ताको हानथाप चलिरहेको र संविधान निर्माणप्रति जनमत बढाउन नसक्दा संविधानसभाको म्याद थप गर्नु हुँदैन भन्ने धारणा बढ्दै गएको उनले बुझेको हुनुपर्छ।
वर्तमान संसदले निर्वाचित गर्ने सम्भवतः यी अन्तिम प्रधानमन्त्रीसामू शान्ति र संविधानकै प्रमुख जिम्मेवारी छ। उनका प्रतिद्धन्द्धी रामचन्द्र पौडेलले प्रतिपक्षमा रहने भए पनि नेपाली कांग्रेस 'शान्ति र संविधानको प्रश्नमा प्रतिपक्षमा रहने छैन' भन्ने उद्घोष गरेका छन्। नयाँ सरकारका लागि कांग्रेस र एमालेको 'रचनात्मक प्रतिपक्षी' भूमिका अनुकूल हुनुको शर्त भने शान्ति प्रक्रियाप्रति एकीकृत माओवादीको प्रतिबद्धता हुनेछ र प्रधानमन्त्रीका रुपमा भट्टराईले पार्टीलाई त्यस प्रक्रियामा सहमत तुल्याउनु हुनेछ।
भट्टराईले शान्ति प्रक्रिया अघि बढाउन माओवादीकै नेतृत्वको सहमतीय सरकार माग गर्दै आएका हुन्। सहमतीय हुन नसके पनि 'शान्तिको प्रश्नमा' सहकार्य गर्ने प्रतिपक्षको आश्वासन उनका लागि अवसर हो। गत जेठ १४ गते सभाको म्याद थप गर्दाको पाँच बुँदे सहमति कार्यान्वयनको सुरुवात्मा माओवादीले आफ्ना नेताको दोहोरो सुरक्षा अन्त्य गरेको छ र त्यसप्रति अविश्वस्त मोहन वैद्यले पनि प्रधानमन्त्री निर्वाचनको पूर्वसन्ध्यामा शनिबार आफ्नो सुरक्षामा रहेका लडाकुलाई शिविरतर्फ पठाइदिएका छन्।
दोहोरो सुरक्षा अन्त्य गर्दै शान्ति प्रक्रियाको एकतर्फी खाका ल्याएको माओवादीले डेढ महिनाभित्र लडाकु समायोजन र व्यवस्थापन सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। अध्यक्ष दाहालले त्यसकै आश्वासन दिँदै 'एक डेढ महिनाभित्र नेपाली जनतामा आत्मविश्वास भर्न सकिन्छ' भनेका छन्। माओवादी नेतृत्वको सरकार बन्ने अवस्थालाई उनले 'विश्वासको नयाँ धरातल खडा भएको' पनि अर्थ्याएका छन्।
भट्टराईका लागि पहिलो अनुकुल वातावरण पार्टीबाटै सिर्जना भएको देखिन्छ। समयक्रममा उनले अध्यक्ष दाहालसँग 'राजनीतिक गठबन्धन' र उपाध्यक्ष वैद्यसँग 'रणनीतिक गठबन्धन' गरेका छन्। पार्टीमा अध्यक्षको कार्यशैली र विश्वसनीयताप्रति निराश भएका भट्टराई र वैद्यले अन्य उच्च नेताहरूको सहयोगमा 'धोबीघाट भेला' गरी झण्डैझण्डै अध्यक्षलाई 'अपदस्त' गर्ने परिस्थिति बनिसकेको थियो। दाहाल र वैद्यबीच बोलचाल बन्द भइसकेको थियो। 'पार्टी फुट्नसक्ने जोखिमसमेत लिँदै' दाहालले शान्ति र संविधानको नीति अख्तियार गरेका थिए। दुई नीतिको संघर्षलाई पार्टी महाधिवेशनसम्म लैजाने परिस्थिति बनाउन योगदान गरेको परिणामस्वरुप भट्टराई पहिलोपल्ट प्रधानमन्त्री उम्मेदवार हुन पुगेका थिए। र अहिले पार्टीमा उनी अनुकूल राजनीतिक समीकरण देखिएको छ। त्यसैलाई दाहालले रोष्ट्रमबाट बोल्दा 'पार्टीभित्र एकता कायम नगरी, पार्टीभित्रै सहमति पैदा नगरी राष्ट्रिय सहमति बनाउन सकिन्न' भन्दै भट्टराईलाई उठाएको तर्क गरेका छन्।
राजनीतिक प्रक्रिया असफल भई संविधानसभाको म्याद गुज्रिएको अवस्थामा पार्टी र आफ्नो राजनीतिक भविष्य अनिश्चित हुने अध्यक्ष दाहालमा चिन्ता देखिन्छ। आइतबार संसदमा बोल्दा उनले देशभित्र कांग्रेस र बाहिर भारतसँग आफ्नो असमझदारीप्रति लाक्षणिकरुपमा गल्तीबोध प्रकट गरेका छन्। 'देशभित्र र बाहिरका शक्तिहरूसँग सम्बन्ध राख्न कस्तो कमजोरी गर्‍यौं, त्यो महसूस गरेका छौं र त्यो गल्ती अब सच्याइनुपर्छ' भन्ने निचोडसँगै उनले भनेका छन्, 'यो आत्मसातिकरण र यो बोधको स्तर तीन वर्षपछि आज नयाँ ठाउँमा आएको छ।'
कांग्रेसलाई प्रधानशत्रु घोषणा गर्दै उसको सरकारमा नजाने र उसलाई आफ्नो सरकारमा पनि नलिने संविधानसभा निर्वाचनपछिको पार्टी निर्णयप्रति उनको साँच्चै आत्मसमीक्षा हो भने त्यसले सकारात्मक वातावरण कायम गर्न सहयोग पुर्‍याउनेछ। दाहालले कांग्रेस सभापति सुशील कोइरालासँग गत साता आफ्नो एक्लो भेटमा भएको 'भद्र सहमति' पनि खुलाए- 'उहाँले बहुमतीय प्रक्रियाबाट जाँदा पनि शान्ति र संविधान निर्माण सहमतिका आधारमा गरौं भन्नुभयो, यो हाम्रो सहमति हो।'
दाहालमा देखिएको अर्को महत्वपूर्ण परिवर्तन भारतसँगको सम्बन्धबारे छ। सत्ताबाट बाहिरिएपछि भारत-विरोधलाई प्रमुख नीति अपनाएर सडक आन्दोलन गर्नुमा कूटनीतिक अपरिपक्वता देखिएको उनको स्वीकारोक्ति पाइन्छ। विदेशी राष्ट्र र विशेषगरी भारतसँग व्यावहारिक र विश्वासको सम्बन्ध विकसित गर्ने र परिपक्वता हासिल गर्दै जाने सोचाइ विकास गरेको उनले छनक दिएका छन्। संसदमा उनले कुनै उत्तेजनात्मक भाषण गरेनन्, कसैलाई चिढ्याएनन्। भट्टराईको संघर्ष र योगदानको प्रशंसा गरे, भूमिगतकालमा ग्रामीण उत्पीडित जनतासँग घुलमिल गरेको, युवा-विद्यार्थी-बुद्धिजीवी वर्गमा परिचित तथा बौद्धिक व्यक्तित्व भन्दै बखान पनि गरे।
भट्टराईको उम्मेदवारी प्रस्ताव र जीतमा दाहाल प्रसन्न देखिएका छन्। पार्टीमा नयाँ एकताभाव पैदा भएको भन्ने उनको दावी छ। त्यसो त संविधानसभा निर्वाचनपछि कांग्रेससँग सहकार्य गर्न नचाहने, प्रधानसेनापतिलाई बरखास्त गर्ने, अव्यावहारिक भारतविरोधलाई प्रधान नीति बनाउने र विद्रोहको धम्की दिँदै शान्ति प्रक्रिया बढाउन नखोज्ने पार्टी निर्णयमा दाहाल र भट्टराई दुई फरक ठाउँ थिएनन्। दुबैजना 'दोष'का भागीदार छन्। दाहालले भट्टराईलाई प्रस्तुत गर्दा 'व्यक्ति प्रमुख होइन, पार्टी हो' भनेर भट्टराईको कार्यकालको जिम्मेवार पार्टी हुने हृदयंगम गरेका छन्। भट्टराईका लागि यो अर्को आवश्यक ऊर्जा हो।
दाहालले भनेझैं भट्टराई समकालीन नेपालका सम्भवतः सबभन्दा धेरै आशा गरिएका नेता हुन्। उनको सफलता पार्टीको पनि सफलता मानिने गरी अन्य दलहरूसँग सहकार्य बढ्यो भने दिगो शान्तिका उज्याला दिनको अपेक्षा गर्न सकिन्छ। तर शान्ति प्रक्रिया पूरा नभई भावी संविधानबारे यत्तिकै अन्यौल जारी रह्यो भने आउने हिउँदको दिक्कलाग्दो लामो लोडशेडिङका बेला भट्टराईले देशलाई थप अन्धकारमा पारेको जनताले सोच्नेछन्।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस