एकलव्य बाबुराम
१६ भदौ २०६८
•
१० मिनेट पाठ
एकलव्य बाबुराम
शान्ति प्रक्रिया अघि बढाउने सम्बन्धमा प्रधानमन्त्री बाबुराम भट्टराईले मंगलबार बसेको सहमति कार्यान्यवन अनुगमन समितिको बैठकमा भनेका थिए, 'एकलव्य हुन्छु।'
एकलव्यको अर्थ हो, लगनशील भएर लक्ष्य हाँसिल गर्नु। नभन्दै उनले प्रधानमन्त्री भएलगत्तै सामान्य ट्याक्सीको मूल्यमा आउने मुस्ताङ म्याक्स नामको जिप चढ्ने निर्णय गरेर सादा जीवनको परिचय दिइसकेका थिए।




जस्तै उकालो र ठूल्ठूला खाल्डाखुल्डीमा पनि चल्ने हुनाले पहाडतिर यस्तोलाई रूख चढ्ने गाडी भन्छन्। महत्वपूर्ण पदमा रहेको मान्छेको सादा जीवन र उच्च विचार हुनुपर्छ भन्ने उदाहरण पेस गरेर उनले एकलव्य बन्ने छाँट सुरुमै देखाइसकेका थिए। त्यसमाथि सात शिविरमा रहेका माओवादी लडाकुको हातहतियारसहितको कन्टेनरको साँचो सेना समायोजन विशेष समितिलाई बुझाउन निर्णय गराएर उनले एकलव्य बन्ने अर्को प्रक्रिया सुरु गरे। लामो समयदेखि अन्य दलले यो माग गरेका थिए। भट्टराई प्रधानमन्त्री भएपछि बसेको विशेष समितिको पहिलो बैठकले नै यस्तो निर्णय गर्‍यो। हातहतियारसहित लडाकु रहेका सात मुख्य र लडाकुमात्र रहेका २१ शिविरमा कार्यालय खडा गरी अनुगमन टोली खटाइसकिएको छ। लडाकु पुनर्वर्गीकरणका लागि सात टोली पठाउने निर्णय पनि भइसकेको छ।
प्रधानमन्त्री भट्टराईले भदौ १४ देखि गणना हुने गरी ४५ दिनभित्र शान्ति प्रक्रियाका मूलभूत मुद्दा टुंगो लगाइसक्ने वचन दिएका छन्। कन्टेनरको साँचो विशेष समितिलाई बुझाउने निर्णय त्यस दिशाको पहिलो उज्यालो संकेत हो।
त्यसो त प्रधानमन्त्रीले 'एकलव्य हुन्छु' भन्ने अभिव्यक्ति दिएपछि गुरु दक्षिणास्वरूप बुढीऔँला माग्ने द्रोणाचार्यहरू कति निस्कने होलान् भन्ने ठट्टा पनि गर्न थालिएको छ। एनेकपा (माओवादी) का सचिव तथा उपप्रधान तथा पराराष्ट्र मन्त्रीका दाबेदार सीपी गजुरेलले बिहीबार अपराह्नमात्र रिपोर्टर्स क्लबमा 'सेना समायोजनको मोडालिटी र पुनर्वर्गीकरण नसकेसम्म साँचो नबुझाउने' भनेर 'एकलव्य'लाई चुनौती दिइसके।
महाभारतमा वर्णित एकलव्य र द्रोणाचार्यको कथा पूर्वी साहित्यमा सर्वाधिक चर्चित 'मिथक' हो। धनुनिपुणता दलित एकलव्यको वंशानुगत सीप थियो। एकै वाणले तीन चरा खसाल्न सक्ने यी निशानेबाज द्रोणबाट युद्धनीति र कौशल सिक्न चाहन्थेे। द्रोणाचार्यसँग उनले बिन्ती गरे, 'गुरु, हजुरबाट म पनि धनुर्विद्या सिक्न चाहन्छु।' रिसले चुर हुँदै द्रोणले भने, 'शूद्रलाई विद्या सिकाएर म शास्त्र र आफ्नो गौरव घटाउँछु भन्ने कसरी सोच्न सकिस् दुष्ट?'
जति तिरस्कृत हुनु परे पनि उनले द्रोणको मूर्ति बनाएर गुरु थापे र स्वअभ्यासबाटै धुनर्विद्यामा पारंगत भए। संयोगवश एक दिन कुरुकुलका सिकारी कुकुरहरू मुखभरि वाण गाडिएका वाण लिएर कराउनै नसक्ने अवस्थामा फर्किए। यस्तो पारंगत धनुर्वीर को होला भनी खोज्दै जाँदा एकलव्य भेटिए। अभ्यासस्थलमा आइपुगेका द्रोण र उनका राजकुलीन शिष्यलाई धुनर्विद्याको अद्वितीय सीप देखाएर एकलव्यले परीक्षा दिए। द्रोणपुत्र अश्वत्थामा र सर्वश्रेष्ठ शिष्य अर्जुनसमेत थरहरी भए। अन्त्यमा एकलव्यले अत्यन्त विनयशील भएर द्रोणाचार्यलाई सोधेे, 'दक्षिणा के टक्राऊँ गुरुदेव?' कुरुकुलको नुन र राजवंशीय क्षेत्रीय शिष्यहरूको हित चिताउँदै कुटिल शैलीमा द्रोणले भने, 'मेरा अनन्य वीर शिष्य एकलव्य, तिम्रो परीक्षा मैले लिएँ। समस्त संसारमा तिमीजति वीर कोही छैन। तिम्रो पराक्रमबाट म खुसी छु। तसर्थ शिक्षा पूरा भएबापत तिमीले गुरुदक्षिणा दिनैपर्छ र मैले पनि लिनैपर्छ। नत्र शिक्षा पूरा भएको मानिन्न। तिमी मैले मागेको कुरा दिन्छौ त प्रिय एकलव्य?'
'चलन तोड्नु भविष्यमा आफ्नै लागि खाडल खन्नु हो। म किन त्यस्तो हुन दिन्थेँ? आज्ञा होस् गुरुदेव!'
'म त्यस्तो महत्वपूर्ण कुरा केही माग्दिनँ, तिम्रो दायाँ हातको बुढी औँला मलाई भेटी देऊ।'
'गुरुका लागि यति दिनु के हो र?' यतिकैमा उनले देव्रे हातले कम्मरको खुकुरी थुतेर दायाँ हातको बुढी औँला स्वाट्ट काटेर गुरुलाई चढाए। 'किरात खलकका लागि यति त केही होइन। ज्यानै दिएर पनि कबुल पूरा गर्ने बानी छ हाम्रो। गुरुदेव, वचन दिनुहुन्छ भने यो शिरै काटेर पनि दिन तयार छु।'
यस्तो अवस्थामा पनि अनुपम धैर्य र आत्मबल देख्दा द्रोणका राजवंशीय 'वीर' शिष्यहरू थर्कमान भए। त्यसपछि गुरुले फेरि परीक्षा लिएझैँ गरी भने, 'ऊ त्यो रुखको चराको आँखामा वाण हान।' एकलव्यलाई बल्ल महसुस भयो, बुढी औँलाबिना वाण हान्नै सकिन्न।
एकलव्य मिहिनेत, पराक्रम, इमानदारी, अनुपम प्रतिभा तर सुधोपनका प्रतीक हुन् भने द्रोणाचार्य कुटिलता, धोका र जातिवादका पर्याय। एकलव्य बाबुरामसँग बुढी औँला भेटी माग्न आउने द्रोणाचार्यहरू प्रशस्त हुन सक्छन्। क्रान्तिबाट आएको उनकै पार्टी एनेकपा (माओवादी) मा अहिले मन्त्री बन्न लस्कर उभिएको छ। तीनै गुटका नेताबीच ठूलै घम्साघम्सी छ। मधेसी मोर्चालाई ११ मन्त्रालय दिने निर्णय भइसके पनि भौतिक तथा योजना तथा निर्माण मन्त्रालयका लागि मधेसी दलहरूबीच खिचातानी छ। तमलोपा, सद्भावना पार्टी र तमलोपा नेपालबीच यसमा ठूलै विवाद छ।
यता नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले शान्ति प्रक्रियाबारे पार्टीको बटमलाइन सार्वजनिक गर्दै भनेका छन्, 'पाँच हजारभन्दा बढी माओवादी लडाकु समायोजन गर्न सकिन्न।' यसरी कांग्रेसले सरकारका प्रतिपक्षी भए पनि शान्ति प्रक्रिया र संविधान निर्माणमा रचनात्मक सहयोगी हुने भन्ने आफ्नै वचनलाई पाता फर्काइदिएको छ। यसअघि दलहरू ७ देखि ८ हजार लडाकु समायोजित हुन सक्ने सहमति नजिक पुगिसकेका थिए।
लोकतन्त्र स्थापनापछि बाबुराम सबैभन्दा बढी आशा गरिएका प्रधानमन्त्री हुन्। उनी प्रधानमन्त्री भएपछि सर्वसाधारण साँच्चिकै उत्साहित छन्। बिहीबार बिहान थिमि-रत्नपार्क चल्ने माइक्रोबसका चालक टीकाबहादुर राई सबै यात्रुले सुन्ने गरी भनिरहेका थिए, 'अब केही गर्ने भनेको बाबुरामले मात्र हो। बाबुरामले गर्न नसके कसैले गर्दैन।' राईको आशय बाबुराम नेपाली जनताका अन्तिम आशाकेन्द्र हुन्। शान्ति र संविधान प्रमुख लक्ष्य हुनाले बिमन्डिएका कांग्रेस र एमालेलाई पनि मनाउनैपर्छ।
बाबुराम साँच्चिकै एकलव्य बन्ने क्षमताका नेता हुन्। 'बुढी औँला गुरुदक्षिणा' माग्न आउने द्रोणाचार्यहरूबाट उनले आफूलाई कसरी जोगाउँछन् भन्ने सबैभन्दा महत्वपूर्ण छ। प्रस्ट छ, पुराणका एकलव्यले जस्तै द्रोणको कुटिलताबाट बच्न नसके बुढी औँला काटिएपछि शान्ति र संविधानको लक्ष्यभेद गर्न उनी पनि समर्थ हुँदैनन्।
अर्को समाचार
'अर्जुनदृष्टि' हैन, 'एकलव्य चेष्टा'
१३ भदौ २०६८
•
५ मिनेट पाठ
'अर्जुनदृष्टि' हैन, 'एकलव्य चेष्टा'
माधव ढुङ्गेल, काठमाडौं, भदौ १४- 'अर्जुनदृष्टि राम्रो शब्द हो, पछिल्लो समय विवादित भयो, दिव्यदृष्टि पनि भन्दिन, मेरो एकलव्य चेष्टा हुनेछ, साह्रै गम्भीर चेष्टा।'




प्रधानमन्त्री बाबुराम भट्टराईले सभामुख सभापति रहेको सहमति कार्यान्वयन अनुगमन विशेष समिति बैठकमा शान्ति प्रक्रिया अघि बढाउने प्रतिबद्धतालाई मंगलबार 'एकलव्य चेष्टा'को संज्ञा दिएका हुन्।

बुधबार समयावधि सकिने समितिले भट्टराईलाई शान्तिप्रक्रियाबारे उनको प्रतिबद्धता जनाउन बोलाएको थियो। बैठकमा कांग्रेस संसदीय दल नेता रामचन्द्र पौडेलले उनलाई प्रश्न गरे, 'अघिल्ला प्रधानमन्त्रीले अर्जुनदृष्टि भन्नुभएको थियो, तपाईं के भन्नुहुन्छ?' जवाफमा भट्टराईले गम्भीर मुद्रामा जवाफ दिएका थिए- एकलव्य चेष्टा।

एक सहभागीका अनुसार बैठक सुरुमा समिति सभापति सभामुख सुवासचन्द्र नेम्वाङले विषय प्रवेश गराउँदै भूमिका बाँधे, 'शान्तिप्रक्रिया नटुंगी संविधान निर्माण अघि बढ्दैन भनेर दलहरूले अडान लिएका छन्।'

सभामुखले यसअघिका प्रधानमन्त्रीले पनि समितिमा आएर पटकपटक शान्तिप्रक्रिया अघि बढ्ने आश्वासन दिए पनि केही नभएको अनुभव सुनाउँदै सोधे, 'शान्तिप्रक्रियाबारे सरकारको भनाइ के? देश र जनतालाई आश्वस्त पार्नुस्।'

प्रधानमन्त्रीले भदौ १४ देखि नै काम थाल्ने तयारी गरेको बताए। 'सेना समायोजन विशेष समिति बुधबारसम्म पुनर्गठन गर्छौं, भदौ १४ देखि नै काम थालेको सन्देश जाओस् भन्ने हो,' उनले भने।

प्रधानमन्त्री पदेन अध्यक्ष हुने विशेष समितिमा माओवादी, कांग्रेस र एमालेका दुई/दुई सदस्य छन्। मधेसी मोर्चाका तीन सदस्य छन्। भट्टराई प्रधानमन्त्री भएपछि समितिबाट माओवादीका जनार्दन शर्मालाई हटाउने निर्णय पार्टीले गरेको छ। यसअघिका प्रधानमन्त्री खनाल हटेपछि एमालेबाट एक थपिने छन्। को जाने टुंगो लाग्न बाँकी रहेको एमाले प्रचार विभागप्रमुख प्रदीप ज्ञवालीले बताए। एमालेले ज्ञवाली र भीम रावलमध्ये एकलाई पठाउने सम्भावना छ। एमालेका तर्फबाट महासचिव ईश्वर पोखरेल समिति सदस्य छन्। माओवादीबाट वर्षामान पुन अर्का सदस्य छन्।

कांग्रेसका रामशरण महत र मिनेन्द्र रिजाल छन्। मधेसी मोर्चाका जितेन्द्र देव, जयप्रकाश गुप्ता र महेन्द्र राय यादव समिति सदस्य छन्।

प्रधानमन्त्रीले बुधबारै समायोजन हुने र पुनर्स्थापनामा जानेलाई छुट्याउन सर्वेक्षण टोली 'क्यान्टोन्मेन्ट' पठाउन सुरु गर्ने जानकारी दिए। उनले भने, 'शान्ति र संविधान निर्माणमा कार्यतालिका बनाएर बढ्छौं, शान्ति प्रक्रियाका मूलभूत काम ४५ दिनभित्रै सकिन्छ।'

शान्तिप्रक्रिया सहमति भएपछि ४५ दिनमा वा आगामी ४५ दिनमा सक्ने विवाद पनि आएको उल्लेख गर्दै प्रधानमन्त्रीले प्रष्ट्याए, 'द्विविधा मान्नु पर्दैन, अधिकतम लचिलो भएर ४५ दिनमै काम सक्छौं।' समायोजन विशेष समितिअन्तर्गत हुने भएकाले अरु दलका सदस्यलाई पनि सहमत गराएर जानुपर्ने भएकाले 'सहमति' शब्द राखिएको उनले प्रष्ट पारे।

ठूलो पदका माओवादी सेनालाई राजनीतिमा लाने निर्णय पार्टीले गरिसकेकाले दर्जा मिलान समाधान भएको उनले बताए। 'उनीहरूलाई राज्यले सम्मान दिएर पुनर्स्थापनमा पठाउँछ,' उनले भने।

'कस्तो सम्मान?' समितिका एक सदस्यले प्रश्न गरे। 'कुनै अनररी पद दिने पनि हुनसक्छ, सल्लाहबाट निर्णय हुन्छ,' उनले भने।

गत जेठ १४ गते मध्यराति भएको पाँचबुँदे सहमतिको अनुगमन गर्न गठित संसदीय समितिको म्याद आज सकिँदैछ। अन्तिम बैठकमा नयाँ प्रधानमन्त्री बोलाएर जानकारी लिइएको हो। सदस्यहरूले शान्तिप्रक्रिया अनुगमन गर्ने संसदीय समिति आवश्यक रहेको बताएपछि सभामुखले फेरि त्यस्तै नयाँ समिति गठनबारे दलहरूसँग छलफल गर्ने बताए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस