समायोजनको बाह्रखरी
२९ भदौ २०६८
•
१६ मिनेट पाठ
समायोजनको बाह्रखरी
संविधानसभाबाट नयाँ संविधान लेखन छ दशकदेखि थाती रहेको राष्ट्रिय कार्यभार हो। यही कार्यभार शान्तिप्रक्रिया र सत्ता साझेदारीको काँडाघारीमा अल्भि्कएको छ। एनेकपा (माओवादी)का उपाध्यक्ष बाबुराम भट्टराईको नेतृत्वमा सरकार बनेपछि शान्तिप्रक्रिया तीव्र भएको छ। संविधान लेखन पनि गतिशील भएको छ।




यस्तो बेला पनि शान्तिप्रक्रिया, संविधान लेखन र सत्ता साझेदारीका विषयमा 'मेरो गोरूको बाहै्र टक्का' भन्ने जिद्दी गर्दा र अर्को पक्षलाई निषेध गर्न खोज्दा राजनीतिक दुर्घटना निम्तिन सक्छ। सेना समायोजन वा पुनर्स्थापना नभएसम्म संविधान लेखनमा अगाडि बढ्न नहुने र सत्ता साझेदारीमा हातै हाल्न नहुने सोचले शान्तिप्रक्रियालाई बिथोल्न सक्छ।
नेपालमा सबैभन्दा पहिले 'जनमुक्ति सेना' बनाएरै सशस्त्र संघर्ष थालेको पार्टी नेपाली कांग्रेस हो। कांग्रेसले तीनतीन पटक तथा एमाले र माओवादीले एकएक पटक सशस्त्र संघर्ष गरेका छन्। सेना समायोजन, व्यवस्थापन र पुनर्स्थापनामा माओवादी जतिसुकै लचिलो भए पनि कांग्रेस र एमालेका नेताहरूबाट असहमति प्रकट भइरहेको छ। सात सालमा पहिलो पटक सशस्त्र संघर्ष गरेको कांग्रेसको लडाकु दस्ता 'जनमुक्ति सेना'लाई समायोजन गरिएको खाकामात्रै हेर्दा पनि माओवादी लडाकु व्यवस्थापनको बाटो पाउन सकिन्छ। 'जनमुक्ति सेना' बनाएर क्रान्ति गरेको ठान्ने नेपाली कांग्रेसका नेताहरू माओवादीको 'जनमुक्ति सेना' नामसमेत स्वीकार्न तयार भएनन्, तिनको सम्मानजनक समायोजन त टाढैको कुरा। यस्तो नकारात्मकतालाई त्यागेर 'जनमुक्ति सेना'लाई पनि पुरानो जनमुक्ति सेनालाई जस्तै समायोजन गर्न जरुरी छ भन्ने तथ्यमात्रै स्वीकार्दा पनि समस्याको हल निस्कन्छ। मुक्ति सेनाको नामबाट चर्चित सेनालाई जस्तै माओवादीको 'जनमुक्ति सेना'लाई पनि सुरक्षा निकायमा सम्मानजनक समायोजन वा समाजमा पुनर्स्थापना गर्नुपर्छ भन्ने स्वीकारोक्तिसँगै सहमतिको मार्ग प्रशस्त हुनसक्छ।
ससाना पूर्वाग्रह घटाउने कामको थालनी पनि ससाना कामबाटै गर्नसकिन्छ। उदाहरणका लागि, राणाशासन अन्त्यपछि अन्तरिम सरकारका कांग्रेसका मन्त्री क्याबिनेट मिटिङका लागि दरबारमा जाँदासमेत मुक्ति सेनाकै अंगरक्षक लिएर जाने गर्थे। राजेश गौतमको 'नेपाली कांग्रेस'अनुसार गृहमन्त्री बीपीलगायत कांग्रेसका मन्त्री गाडीमा चारतारे झन्डा फहराएर हिँड्ने गर्थे। बैठकमा राणा मन्त्री र प्रधानमन्त्री राणाशासनको झन्डा फहराएर बस्थे भने कांग्रेसी मन्त्रीचाहिँ चारतारे झन्डा हल्लाएर बस्थे। हुन त कांग्रेसी मन्त्रीहरूलाई पनि मुक्ति सेनाजस्तो कांग्रेसको निजी सेनालाई प्रयोग गर्न मिल्दैन भनिएको थियो। त्यही सेनालाई 'रक्षा दल'मा फेरेर संक्रमणकालीन समाजमा शान्ति सुरक्षा कायम गर्ने प्रहरीबल बनाएर व्यवहारबाटै उचित जवाफ दिइयो। तिनै नेताहरूले नै एकाध माओवादी नेताले आफ्ना अंगरक्षक लडाकुलाई केही समय शिविर फिर्ता पठाउन आनाकानी गरेको विषयलाई उठाएर आकाशै थर्काए। तिलजस्तो समस्यालाई पहाडै बनाएर सेना समायोजनविरुद्ध उभिँदा आफ्नै पुरानो अभ्यास बिर्सेको तथ्य उनीहरूले देख्नै सकेनन्।
हुन त मुक्ति सेनाको बलमा सशस्त्र संघर्ष गरेको कांग्रेसका मन्त्री र प्रधानमन्त्रीहरूलाई सात सालपछिको दशकमा सेना र हतियार त्यागेरमात्रै सत्तामा बस्न पाइन्छ भन्ने सर्त राखिएको थिएन। अहिले लडाकु र हतियारबाट नअलग्गिएको अत्तो थाप्दै संविधानसभाको सबैभन्दा ठूलो पार्टी माओवादीलाई सरकारको नेतृत्वबाट वञ्चित गर्ने वा सत्ता साझेदारी नगर्ने जिद्दी गरिरहेका नेताहरूले आफ्नै इतिहास पनि पोलेर खाएको अनुभूति हुन्छ। लोकतन्त्र र अहिंसाका मसिहा बन्ने धुनमा उनीहरूलाई तीनतीन पटकसम्म सशस्त्र संघर्ष गरेको ऐतिहासिक तथ्य पनि सम्झना नहुनसक्छ। उनीहरूले सात सालपछि सेनासहितको पार्टी हुँदाहुँदै सत्तामा दुईदुई पटक आसीन भएको, मुक्ति सेनालाई सेनालगायत सुरक्षा निकायमा समूहगत समायोजन गरिएको र समायोजन हुन नरुचाएका जवानलाई 'गोल्डन ह्यान्डसेक'मार्फत समाजमा पुनर्स्थापित गरिएको इतिहासको सत्य पनि बिर्सिसकेको हुनसक्छ।
छोटो स्मृति भएका नेताहरूले 'डेमोक्रेटिक इन्नोभेसन्स इन नेपाल'का पाना पल्टाए पनि सेना समायोजनका पुराना घटना ताजा हुनसक्छ। यस किताबमा मुक्ति सेनाबाट रक्षा दलमा फेरिएका लडाकुलाई डा. केआई सिंहको नेतृत्वमा रक्षा दलको विद्रोह भएपछि राज्यको सेना वा जनपद प्रहरीमा समायोजन गरिएको संकेत छ। मात्रिकाप्रसाद कोइरालाको सरकारकै बेला गृहमन्त्री टंकप्रसाद आचार्यले प्रहरी विभागमा गरेको मुख्य पुनर्गठन पनि स्मरणीय छ। त्यतिखेर जनपद प्रहरीका २ हजार, राम दलका ५ सय, रक्षा दलका ४५ सय, मिलिशियाका १५ हजार र सेनाका १ हजार जवानले प्रहरीको ड्युटी गर्थे। ती पाँचै प्रहरी संगठनका २३ हजार जवानलाई समायोजन गरी साढे ६ हजारमा झार्ने प्रयास गरियो र मिलिसियालाई 'रोड आर्मी'मा फेरियो।
कांग्रेस र अन्य दलका नेता तथा नागरिक अगुवाहरू पहिले एकजना माओवादी लडाकुलाई पनि सेनामा समायोजन गर्ने पक्षमा थिएनन्। अहिले उनीहरू बढीमा ५ हजार लडाकुलाई नेपाली सेनामा व्यक्तिगत रूपमा समायोजन गर्न सकिने भन्दै गल्लावाल शैलीमा मोलमोलाइ गर्दैछन्। मुक्ति सेना समायोजन गरिएको इतिहास बिर्सिसकेका उनीहरूले ५० वर्षअघि नै हजारौं मुक्ति सेनालाई सेना र प्रहरीमा समूहगत समायोजन गरिएको, 'रक्षा दल', 'होम गार्ड ब्रिगेड' र 'बर्दबहादुर गण' जस्ता छुट्टै पहिचान दिइएको र कम्ब्याट (फौजी) जिम्मेवारी पनि दिइएको तथ्य स्मरण गर्नु जरुरी छ। प्रजातन्त्रका लागि लडेको आफ्नो सेनालाई पाँच दशकअघि नै ८-८ हजारको संख्यामा समायोजन गर्ने नेताहरू नै लोकतान्त्रिक गणतन्त्रका लागि युद्ध गरेका माओवादी लडाकुको समायोजित हुने संख्यामा समेत संवेदनशील नहुनु निषेधकारी प्रवृत्ति हो। उनीहरू मोडालिटी, मापदण्ड, दर्जा मिलान, विधि र संख्यामा सहमति गरी निषेधकारी प्रवृत्ति तोड्न सक्षम हुन्छन् कि हुन्नन्, यो अरू पक्षप्रति उनीहरूको संवेदनहीनता र असहिष्णुतामा भरपर्ने देखिन्छ।
वास्तवमा यस्तो संवेदनहीनता र असहिष्णुता तीनतीन पटक सशस्त्र संघर्ष गरी सेना समायोजन पनि गरेको कांग्रेसका हकमा इतिहाससम्मत पनि छैनन्। आफ्नै इतिहास बिर्सेका नेताहरूका लागि सेना समायोजनको अभ्याससम्बन्धी पुरानो स्मृतिलाई ताजा पार्ने काम 'निःशस्त्रीकरण, अपरिचालन र पुनर्एकीकरण' नामक पुस्तिकाले पनि गर्नसक्छ। तातीयाना स्टानकोभिच, स्टिना टोरिएसन र टुना ब्लायाले 'निःशस्त्रीकरण, अपरिचालन र पुनर्एकीकरण' पुस्तिकामा इतिहासको उत्खनन गर्दै लेखेका छन्, 'सन् १९६१ मा ८ हजार मुक्ति सेनामध्ये ३ हजारलाई रक्षा दलमा र ५ हजारलाई नेपाल प्रहरीमा भर्ना गरियो। सुरुमा धेरैले नेपाली सेनामा भर्ना हुने रुचि देखाए। तर यो पुरानो सैन्य संरचनामा प्रवेश गर्न कडिकडाउ तालिम मापदण्ड पुरा गर्नु जरुरी थियो। त्यसैले, मापदण्ड पुरा गर्न नसक्नेहरू भर्खरै अस्तित्वमा आएको नेपाल प्रहरीमा भर्ना भए।'
श्यामकुमार तामाङको पुस्तक 'जनमुक्ति सेना'अनुसार मुक्ति सेनाको समायोजन अन्तरिम प्रधानमन्त्री मोहन शमशेरकै पालामा शाही सेनाका कर्नेल नोदविक्रम शाहको नेतृत्वमा सुरु गरियो। त्यसमा १० हजार मुक्ति सेना समायोजन गरिएको दाबी गरिएको छ। त्यसपछि मात्रिकाप्रसाद कोइरालाको कांग्रेस सरकारको पालामा मुक्ति सेनाकै कमाण्डर र बडाहाकिम ज्ञानबहादुर याक्थुम्बालाई नेतृत्व दिइयो। यसको अर्थ समायोजित हुने सेना र लडाकुको नेतृत्वको विवाद पनि फजुल रहेछ भन्ने देखिन्छ। पूर्वक्रान्तिकारीहरू प्रहरीमा महानिरीक्षकसम्म भए भने सेनामा मध्यम तहका अधिकारीका रूपमा समायोजित उनीहरू माथिल्लो पदमा चढ्न सफल भएनन्।
मुक्ति सेनाको समायोजन प्रक्रियामा संलग्न हुन नचाहने लडाकुको पुनर्स्थापना पनि उल्लेखनीय छ। 'निःशस्त्रीकरण, अपरिचालन र पुनर्एकीकरण'का अनुसार 'समायोजन प्रक्रियामा सहभागी हुन अनिच्छुक पूर्वलडाकुलाई पैसा दिएर घर फर्काइएको थियो। उनीहरूलाई जुन, २०१० को दरअनुसार हरेकलाई डेढ लाख रुपैयाँ दिइएको थियो। समायोजन प्रक्रियाका लागि आवश्यक पैसाको व्यवस्था क्षेत्रीय आर्थिक कोष (संकलित कोष)बाट गरिएको थियो। झन्डै ३ सय लडाकु पुनर्स्थापना प्रक्रियामा भाग लिँदै घर फर्के। यति ठूलो परिमाणको पुनर्एकीकरणले नेपाल सरकारप्रति पुराना क्रान्तिकारी मुक्ति सेनाको निष्ठा बढायो, सन् १९६० देखि १९९० सम्म प्रतिबन्धित नेपाली कांग्रेसप्रति होइन।'
यसको अर्थ हो, ८-१० हजार माओवादी लडाकु समायोजित हुँदैमा सेना 'माओवादीकरण हुने र सशस्त्र विद्रोहको किल्ला बन्ने' त्रास वस्तुगत छैन। त्यस्तो त्रास मनोगत नभएको भए, सत्र सालमा बीपी कोइराला नेतृत्वको कांग्रेसी सरकारविरुद्ध राजाले सैनिक हस्तक्षेप गर्दा रक्षा दल वा होम गार्डले प्रतिविद्रोह गर्थे होलान्। इतिहास हेर्दा रक्षा दल 'होम गार्ड ब्रिगेड'बाट 'बर्दबहादुर गण'लगायत तीन बटालियनको रूपमा सेनामा समायोजित भएपछि शाही सैनिकतन्त्रकै अंग बनेको तथ्य सत्र सालको 'कु'पछि छर्लंगै देखिन्छ।
इतिहास पल्टाउँदा देखिन्छ, आफ्नो मुक्ति सेना प्रहरी र सेनामा समायोजित गर्ने क्रममा पुराना सुरक्षा निकायलाई पुनर्संरचना र लोकतन्त्रीकरण गर्न नसकेकोमा पीडाले भने बीपी कोइरालालाई नराम्ररी खाएको थियो। शाही जेलमा बस्नुपर्दा बीपीले सेनाको पुनर्संरचना र लोकतन्त्रीकरणमात्रै गर्नुपर्ने होइन, आफ्नै सेनासमेत बनाउनुपर्ने हदसम्मको तर्क गरेको पीडादायी तथ्य सबै नेताका लागि बिर्सनै नहुने पक्ष हो। बीपीका 'सेना', 'राजतन्त्र' र 'राष्ट्रियताः नेपालको सन्दर्भमा'जस्ता लेख पल्टाउने थोरै दुःख गरियो भने बीपीलाई 'महामानव' भनी पुज्ने नेताहरूमा पनि माओवादी लडाकु समायोजनबारे थोरबहुत सहिष्णुता पलाउनसक्छ अनि सेनाको पुनर्संरचना र लोकतन्त्रीकरणबारे संवेदनशीलता पनि जाग्नसक्छ। यही संवेदनशीलता र सहिष्णुताले नै बीपी कोइरालाको कालदेखि थाती रहेका राष्ट्रिय कार्यभार पनि पूरा गर्न सघाउनसक्छन्।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस