सरकारले निजामती प्रशासनका सचिवहरूको छनोट गर्दा साधैजसो निजामती ऐन तथा नियमावली उल्लंघन गर्दै आएको छ। यसपटक निजामतीतर्फका रिक्त २२ सचिव पदमा बढुवा गर्ने क्रममा पनि कानुन उल्लंघनको त्यही प्रवृत्ति दोहोर्याइने लक्षण प्रकट भइसकेको छ। मुख्यसचिव र सचिव नियुक्ति गर्न निजामती सेवा नियमावलीमा छुट्टाछुट्टै नेतृत्व मूल्यांकन समिति गठन गर्ने व्यवस्था छ। नियमावलीको मर्म ती समितिले हरेक वर्ष नेतृत्व मूल्यांकन प्रतिवेदन सरकारलाई दिने र त्यही आधारमा बढुवा गर्ने भन्ने हो। तर सरकार ती समिति गठन गर्न कहिल्यै गम्भीर भएन।
लोकतान्त्रिक पद्धतिबाट बनेको सरकार पनि कानुन पालनामा भन्दा उल्लंघनमा बढी अभ्यस्त छ भन्नुपर्दा लाज लाग्छ। निजामती सेवा नियमावलीमा सचिव बढुवाका लागि पाँच वर्ष सेवा अवधि पुगेका सहसचिवहरूको नेतृत्व मूल्यांकन गर्न मुख्यसचिवको संयोजकत्वमा वरिष्ठतम् सचिव, सामान्य प्रशासन सचिव, विज्ञ र प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका निर्देशक रहेको 'नेतृत्व मूल्यांकन समिति' रहने व्यवस्था छ। त्यसरी नै मुख्यसचिवमा बढुवाका लागि सचिवहरूको नेतृत्व मूल्यांकन गर्न अर्को समिति गठन गर्ने प्रावधान छ।
नियमावलीमा समितिले नेतृत्व मूल्यांकनको आधार तथा कार्यविधि तय गर्नुपर्नेसमेत व्यवस्था छ। तर, सरकारका तर्फबाट देशभर कानुनको पालना गराउने निजामती प्रशासनभित्रै कानुनी व्यवस्थाको कहिल्यै पालना भएन। स्थायी सरकार मानिने निजामती प्रशासनको सचिव र मुख्यसचिव छनोटमा कानुनको यति ठूलो उपहास हुनु दुर्भाग्य हो। यसबाट लोकतान्त्रिक सरकार निजामती प्रशासनलाई व्यावसायिक, अनुशासित र मर्यादित बनाउन कहिल्यै गम्भीर भएन भन्नेसमेत प्रस्ट हुन्छ।
अस्थायी प्रकृतिका आयोग र कार्यालयमा सचिव राखिनुमात्र होइन एउटै मन्त्रालयमा दुइटा सचिव राखिनु राज्यमाथि अनावश्यक बोझमात्र हो। धेरै र 'आफ्ना' मान्छेलाई सचिव बनाएर खुसी पार्न दरबन्दी बढाइएको होला। त्यसले प्रशासनिक खर्चमात्र बढाएको छैन, काम नभएको कार्यालयमा सचिव हुने व्यक्तिमा निराशासमेत बढ्ने गरेको छ। एउटै मन्त्रालयमा दुइटा सचिव राख्ता मन्त्रीले बढी खेल्ने ठाउँ पाएकाछन्। जसले आफूले भनेको टेर्छ, उही सचिवलाई बढी अधिकार दिने तजबिजी प्रवृत्तिसमेत बढ्दै गएको छ। कार्यबोझबिनै एउटा मन्त्रालयमा दुई सचिव राखिनु कुनै पनि दृष्टिकोणबाट उचित देखिन्न। सामान्य प्रशासनले धेरै नसके पनि कम्तीमा अस्थायी प्रकृतिका चारवटा आयोग र कार्यालयमा रहेका सचिवको दरबन्दी खारेज गरेको छ। त्यसका लागि सामान्य प्रशासन मन्त्रालयलाई धन्यवाद दिनै पर्छ।
सरकारको आग्रहमा बढुवा समितिले पटकपटक बैठक बसेर रिक्त २२ सचिव पदपूर्ति गर्न ६६ जनाको नाम सिफारिस गरेको छ। सचिव बढुवाका लागि समितिले कानुनअनुसार नै तीन गुना बढी नाम सिफारिस गरेको हो, त्यसमा समितिको कुनै दोष छैन। छनोटमा निष्पक्षताका लागि समितिको अध्यक्षमा लोकसेवा आयोगले तोकेको सदस्य र अर्को एक सदस्यलाई राखिएको छ। समिति भने नामका लागि मात्रै हो। त्यसको अधिकार सचिव र मुख्यसचिवले गरेको सहसचिवको कार्यसम्पादन मूल्यांकनको नम्बर रुजु गर्ने र ज्येष्ठताक्रम मिलाएर नाम सिफारिस गर्नेबाहेक कुनै अधिकार हुन्न। लोकसेवाका दुई जना सदस्यलाई सचिव बढुवाका लागि नाम सिफारिस गर्दा निरिह साक्षी बन्नेबाहेक कुनै अधिकार हुन्न। त्यहाँमाथि एक सचिव बढुवाका लागि तीन नाम सिफारिस गर्ने व्यवस्था राखिनु नै सरकारलाई तजबिजी अधिकार प्रयोगको अवसर दिनु हो। यही अधिकारको सरकारले अत्यन्तै धेरै दुरुपयोग गरिरहेको छ।
कानुनमा ज्येष्ठता र कार्यकुशलताका आधारमा सचिव बढुवा हुने व्यवस्था भए पनि त्यसको पालना हुने गरेको छैन। निजामती ऐन तथा नियमावलीको एउटा दफामा राखिएको सरकारको यस तजबिजी अधिकारका कारण व्यावसायिक, इमानदार र सक्षम कर्मचारीको संख्या कम हुँदै गएको छ। शाखा अधिकृतदेखि उपसचिवसम्मका कर्मचारी व्यावसायिक भएर पनि दायित्व निर्वाह गर्न सक्छन्। तर, सहसचिव, सचिव र मुख्यसचिव माथिल्लो पदमा जान, संवैधानिक या राजदूत पदमा नियुक्ति खान सरकारमा रहेका र जाने सम्भावित दलको चाकरीदार बन्न बाध्य हुन्छन्। कुनै पनि दलको निकट भनेर नचिनिएका सहसचिवमध्ये कतिपय त्यही बाध्यता बताउँदै भन्छन् - 'सचिव बन्ने लोभ मसहित सबैलाई हुन्छ। व्यावसायिक भएरमात्र हुँदो रहेनछ मैले त जिन्दगीकै पहिलोचोटि कांग्रेसका नेताहरूको चाकरी गर्न थालेँ।' त कोही एमाले नेताहरूको चाकरी थालेको गुहृय खोल्छन्।
ती दुवै पार्टी अहिलेको सरकारका प्रमुख दल हुन्। माओवादी सरकारमा हुँदा हिजो उसको चाकरी गरेका अधिकांश कर्मचारी अहिले कांग्रेस र एमालेको चाकरीमा लाग्न थालेका छन्। तीन गुनाको नाम सिफारिस गर्ने प्रावधानलेसरकारलाई सचिव बनाउँदा धेरै खेल्न ठाउँ दिइएकाले कुनै पनि सहसचिव नेताको कृपाबिना सचिव बन्नै सक्तैनन्।
निजामती प्रशासन दुई कारणले अस्थिर, अव्यावसायिक र कमजोर हुँदै गएको छ। दलपिच्छे कर्मचारी संगठन खोल्ने र तिनैको दबाबमा कर्मचारीको सरुवा गर्ने प्रवृत्ति तथा सचिव बढुवामा सरकारलाई दिइएको तजबिजी अधिकारका कारण निजामती प्रशासन कमजोर र अस्थिर हुँदै गएको हो। कर्मचारी संगठन कति प्रभावी छन् भन्ने मुख्यसचिव भोजराज घिमिरेको व्यवहारबाट थाहा पाउनसकिन्छ। उनी सहसचिव र सचिवहरूको नमस्कारसमेत फर्काउँदैनन्, तर खरिदार वा सुब्बा पदका कुनै पनि कर्मचारी संगठनका नेतासाग भने कुर्चीबाट उठेर हात मिलाउँछन्। मुख्यसचिवको यस्तो प्रवृत्तिबाट सचिव र सहसचिवको मनोबल कस्तो हुन्छ ? त्यसले निजामती प्रशासनलाई कता लान्छ ? सचिव र सहसचिवले मुख्यसचिवसित हात मिलाउने आफ्नो मातहतका कर्मचारीलाई अनुशासनमा राखी काममा लगाउन सक्लान् ? उत्तर र समाधान कसैसित छैन।
balaram@nagariknews.com