हिमालय क्षेत्रमा प्रकोप न्यूनीकरण
११ चैत्र २०६८
•
११ मिनेट पाठ
हिमालय क्षेत्रमा प्रकोप न्यूनीकरण
हरेक वर्ष मार्च २३ का दिन विश्व मौसम दिवसका रूपमा मनाइन्छ। यस वर्षको विश्व मौसम दिवस 'हाम्रो भविष्यको शक्तीकरणका लागि मौसम, जलवायु तथा जल' नारासहित मनाइँदैछ। मानव जातिबाट भएका विभिन्न विकास तथा आर्थिक क्रियाकलापबाट वातावरणमा उत्सर्जित हुने कार्बनडाइअक्साइड र मिथेनजस्ता ग्यासको भण्डारणका कारणले हरित ग्यास तीव्र तवरले वृद्धि भैरहेको छ।
फलस्वरूप पृथ्वीको वायुुमण्डलीय तापक्रम पनि बढी रहेको छ। पृथ्वी तात्दै जाँदा एन्टार्कटिक महादेेश तथा हिमालय शृंखलाको हिउँ पग्लने, समुद्रको सतह वृद्धि हुँदैजाने, वर्षायाममा अधिक वर्षा हुने र खुख्खा पनि भयावह रूपमा हुने भएकाले जनजीवन थप कष्टप्रद बन्दै गएको छ। जनसमुदायलाई यस्ता सबै विषयको जानकारी दिन बर्सेनि मनाइने यस्ता दिवसबाट सहयोग पुग्ने अपेक्षा गरिएको हुन्छ।




मौसम परिवर्तनले संसारको सबै समुदायलाई असर गरिरहेको छ। केही सीमित क्षेत्रमा यस्तो परिवर्तन सकारात्मक हुनेछ तर अन्य धेरै क्षेत्रमा भने यसले नकारात्मक प्रभाव पार्नेछ। आज हामी मौसम परिवर्तनको यात्रामा समाहित भइरहेका छौँ। भावि पुस्ता पुर्खाले छाडेर गएको संसारमा जीवनयापन गर्न बाध्य हुन्छ। त्यसकारण आजको पुस्ताले नेतृत्वदायी भूमिका, परिवर्तनलाई आत्मसात गर्ने क्षमता र सम्प्रदायप्रतिको जिम्मेवारी वहन गर्‍यो कि गरेन भन्ने मूल्यांकन भावि पिँढीले गर्नेछ। आज पनि अनुमानित ७० वटा विकासशील राष्ट्रमा मौसम परिवर्तनसम्बन्धी सेवा नाममात्रको वा एकदमै कमजोर अवस्थामा छ। त्यसैको कारणबाट बाढीपहिरो, अतिवृष्टि तथा अनावृष्टि इत्यादि उग्र मौसम परिवर्तनले ल्याउने खतराको पूर्वसूचना अपुरो रहेको छ। तसर्थ, सरकारी निर्णयकर्तादेखि व्यवसायी र कृषकहरूसम्म मौसम परिवर्तनसम्बन्धी सूचना प्रवाह होस् भन्नाका लागि मौसम परिवर्तन निरीक्षणको व्यवस्था, अनुगमन गर्ने संजाल, सूचना आदानप्रदान कार्यक्रम र खतरालाई न्यूनीकरण गर्ने क्षमताको प्राविधिक विकास हुनु जरुरी देखिएको छ। मौसम परिवर्तनले खासगरी पानी, स्वास्थ्य, खाद्यान्न वस्तुको उत्पादन तथा सुरक्षण र जोखिम न्यूनीकरण गर्नेजस्ता विषयमा बढी असर गर्नेछ।
हिन्द कुश हिमालय क्षेत्रबाट विश्वका ठूला नदीमध्ये इन्डस, गंगा, ब्रम्हपुत्र र मेघनाजस्ता नदी उत्पति भएका छन् र तिनीहरूबाट यसक्षेत्रको ७० करोड जनसंख्याको भरणपोषण भइरहेको छ। खासगरी मनसुनी याममा ८० प्रतिशत जति वर्षा हुने गर्छ र त्यसैबाट विभिन्न क्षेत्रमा बाढी पहिरोको प्रकोप हुन्छ। त्यस्तो प्रकोपको कारणबाट हिन्द कुश क्षेत्रमा मात्रै वर्षको दुईहजारभन्दा बढीले ज्यान गुमाइरहेका छन्। दक्षिण एसियामा देखिएका यस्ता ठुला बाढी प्रकोपलाई संझना गर्ने हो भने सन् २०१० मा पाकिस्तानमा भएको बाढी प्रकोपमा परी दुई हजार जनाले ज्यान गुमाउनु पर्‍यो भने दुई करोड जनसंख्यालाई प्रतिकूल असर पुर्‍याएको थियो। यस्तै सन् २००८ मा नेपालको कोशी तटबन्ध भत्किएर आएकोे बाढीबाट नेपालमा ७० हजार हजार र छिमेकी मुलुक भारतको विहारमा ४० लाख व्यक्ति विस्थापित हुन पुगेका थिए भने अर्बौं रुपैयाँको धनमालको क्षति हुनगएको थियो। सन् १९९३ मा नेपालमा आएको भारी वर्षाका कारणले २४ घन्टाभित्र टिस्टुङमा ५४० मिलिमिटर वर्षा मापन गरिएको थियो। सो भीषण वर्षाले निम्त्याएको बाढी र बाढी भविष्यवाणीको कमीले गर्दा करीब एक हजार ४०० व्यक्तिले ज्यान गुमाए। नेपालको विगत दुई दशकको तथ्यांकलाई केलाउने हो भने वार्षिकरूपमा सरदर तीन सय जनाको बाढी तथा पहिरोका कारणबाट मृत्यु भएको देखिन्छ। बढ्दो सहरीकरण र औद्योगीकरणका कारणले गाँउ छोडेर सहर पस्नेहरू र गरिबीको चपेटामा पर्नेहरू पनि अधिकांश नदीक्षेत्र वरिपरि बस्ने गरेको पाइएको छ। जलप्रकोपका कारणले हुने क्षतिमा नेपाल विश्वमा ३० औँ राष्ट्रका रूपमा रहेको छ। भूधरातलीय रूपमा नेपाल भइँचालो प्रकोप क्षेत्रीय प्रदेशमा रहेको र जलवायु परिवर्तनका कारणले हिमतालहरू फुट्ने संभावना बढेको कारणबाट हुने बाढी प्रकोपको अवस्था पनि गम्भीर प्रकृतिको देखिन्छ।
मौसम परिवर्तनसम्बन्धी अन्तर सरकारी संस्थालेे गरेको अध्ययनले (एआर ४ प्रतिवेदन) हिमतालको आयतन बढ्दै जानु र हिमालय क्षेत्रमा हुने मनसुनी वर्षाबाट उत्पन्न जलप्रकोप र यसले निम्त्याउने समस्या विकराल हुने देखाएको छ। त्यस्तो विपत्ति कुनै एक राष्ट्र वा मुलुकको मात्र नभएर त्यो राष्ट्रको सीमाभन्दा बाहिर पनि पुग्नेछ। तसर्थ त्यस्तो प्रकोप भएमा त्यस्तो समस्या कसरी न्यूनीकरण गर्ने भनेर पहाडी तथा तल्लो तटीय क्षेत्रका समुदाय संगठित भई सहकार्य गर्न जरुरी देखिन्छ। विश्वको अन्य क्षेत्रमा त्यस्तो जलउत्पन्न प्रकोपबाट जुध्न बनाइने भौतिक वा अन्य संरचनाजस्तै पूर्वाधार सिर्जना यस क्षेत्रमा पनि बनाउनु जरुरी छ। पूर्वसूचना पद्धति, प्रकोप मानचित्र, चेतनामूलक कार्यक्रम तथा क्षमता विकासको अभियान तत्कालीन रूपमा अगाडि बढाउन आवश्यक छ।
यस सम्बन्धमा नेपालमा सरकारीदेखि अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) जस्ता अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्थाहरू जल तथा जलउत्पन्न प्रकोपको असरलाई न्यूनीकरण गर्न सक्रियतापूर्वक कार्यरत छन्। इसिमोड, विश्व मौसम संगठन (डब्लुएमओ) र हिन्दु कुश क्षेत्रका राष्ट्रको साझेदारीमा मौसमसम्बन्धी तथ्यांक संकलन र त्यस्तो तथ्यांक एकआपसमा सम्प्रेषण तथा वितरण गरी क्षेत्रीय स्तरमा बाढी व्यवस्थापन तथा उत्पन्न प्रकोपलाई रोकथाम गर्ने कार्यमा विभिन्न प्रयत्न भइरहेको छ। यस क्षेत्रका राष्ट्रहरूको जल तथा जलवायु सेवाको प्राविधिक क्षमताको विस्तार तथा सुदृढीकरण गर्न क्षेत्रीय बाढी सूचना संयन्त्र (आरएफआईएस) को स्थापना गरिँदैछ। बाढी तथा तत्सम्बन्धी सूचनाको आदानप्रदान समयमै हुन सकोस् र बाढीबाट हुने धनजनको क्षति न्यून गर्न सकियोस् भन्ने हेतुले सो संयन्त्रको विकास गर्न लागिएको हो। साथै भू-उपग्रहका माध्यमबाट वर्षा अनुमान गरी समयमा नै बाढीको पूर्वानुमान र तत्सम्बन्धी सूचना प्रवाह गरी धनजनको क्षति न्यूनीकरण गर्ने प्रविधिको अनुसन्धान तथा विकास पनि भइरहेको छ।
उक्त परियोजनाअन्तर्गत यस क्षेत्रमा २८ वटा जल तथा जलवायु मापन स्टेसनहरू खडा गर्ने योजना रहेकोमा ९ वटा त्यस्ता स्टेसन नेपाल सरकार, वातावरण मन्त्रालय, जल तथा मौसम विज्ञान विभागको नेतृत्वमा कोशी जलधार क्षेत्रमा स्थापना गरिनेछ। यी स्टेसनहरूबाट प्राप्त वास्तविक समयको (रियल टाइम) तथ्याङ्क सिधै विभाग र इसिमोडमा सम्प्रेषण गरिनेछ। सर्वसाधारणका लागि त्यस्तो तथ्याङ्क विभागको वेबसाइट धधध।मज्क।नयख।लउ बाट उपलब्ध हुनेछ। त्यसबाट बाढीको पूर्वसूचना प्राप्त हुनेछ। इसिमोडले यसका लागि चाहिने प्राविधिक सहयोग तथा विभिन्न तहमा तालिम उपलब्ध गराई बाढी उत्पन्न प्रकोपलाई न्यून गर्नेतर्फ महत्वपूर्ण योगदान गर्नेछ।
यस किसिमको नयाँ सोच तथा कार्यबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारी अभिवृद्धि हुने र यस क्षेत्रमा बाढी तथा बाढीबाट हुने प्रकोप न्यूनीकरणका लागि कोसेढुंगा साबित हुने विश्वास लिइएको छ।

लेखक इसिमोडमा कार्यरत जलस्रोत विज्ञ हुन्।

 
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस