पहिचानमा प्रोपागान्डा
१८ वैशाख २०६९
•
१४ मिनेट पाठ
पहिचानमा प्रोपागान्डा
एकजातीय राज्य
नेपालका सरकारी अड्डा, अदालत र शिक्षालयमा चल्ने भाषा नेपाली हो। सबै नेपालीको भाषा भने पनि मूलतः यो खस जातिको भाषा हो। राज्यबाट प्रश्रय नपाएपछि अरु जातिका भाषा विकसित हुन पाएनन् र माध्यम भाषा हुँदै खस भाषा जबर्जस्ती सबै जातिको भाषा हुन पुगेको हो।




आफूलाई नआउने नेपाली भाषामै जबर्जस्ती प्राथमिक शिक्षा लिनुपर्ने हुनाले अरु जातिका बालबालिका परिणाममा पछि पर्छन्। शिक्षामा पछाडि परेपछि त्यसको प्रतिच्छायाँ राष्ट्रिय संरचनामै पर्छ। हाम्रो राष्ट्रिय संरचनामा, सत्ता, शक्ति र स्रोत, साधनको पहुँचमा बाहुन, क्षेत्रीलगायत खस जातिको वर्चश्व हुनु र आदिवासी जनजाति, दलित, मधेसी पछाडि पर्नुको एउटा कारण यो पनि हो। शुद्ध नेपाली बोल्न नजान्दा, बोलीमा मठ्याहापन आउँदा नेवार, मधेसी र अन्य जनजाति उपहासका पात्र बन्छन्। यस्तो नियति सन्तानले भोग्नु नपरोस् भनेर उनीहरु आफ्ना सन्तानलाई मातृभाषै सिकाउँदैनन्। परिणाम हाजिर छ। आज आदिवासी जनजातिका अधिकांश नयाँ पुस्ता आफ्नै मातृभाषा जान्दैनन्। मगरले मगर भाषा जान्दैन, गुरुङले गुरुङ भाषा जान्दैन। नेवारले नेपालभाषा जान्दैन। राई, लिम्बु, शेर्पाका बुढा पुस्ताले आफ्नै भाषा बिर्सिसके, नयाँ पुस्ताले सिक्नै छाडिसके। नेपालभाषा, मैथिली, तामाङलगायत केही भाषा भने भाषिक चेतना र आन्दोलनका कारण जसोतसो आफ्नो अस्तित्व थाम्न सफल छन्।
ठीक त्यसैगरी हिन्दू धर्म, संस्कृति पनि देशकै राष्ट्रिय संस्कृति बनाइयो। पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेपछि पूरै नेपाली समाजको हिन्दूकरण गरियो। अप्रिल विद्रोहको सफलतापछि नेपाल धर्म निरपेक्ष राष्ट्र घोषित भयो। तैपनि, हिन्दू धर्मले विशेष अधिकार र मान्यता पाइरह्यो। कानुनले जे भने पनि सामाजिकरुपले हिन्दू समाजमा बाहुन, क्षेत्रीको सर्वोच्चता छ। अन्य कतिपय जाति आफ्नो जातीय हैसियतप्रति अझै पनि हीनताबोध महसुस गर्छन्। थापामगर, घर्तीहरुमध्ये कतिले बिस्तारै क्षेत्री बन्ने अभियानस्वरूप थापा लेख्न थाले। दलितले आफ्नै जात जनाउनेभन्दा बाहुनको जात जनाउने थर राख्न थाले। प्रजातन्त्र पुनर्स्थापनापछि आदिवासी जनजातिबीच सांस्कृतिक पुनर्जागरण भयो। अप्रिल विद्रोहपछि त्यसमा मधेसी पनि थपिए र यो उत्कर्षमा पुग्यो। यो जागरण आफ्नो जातीयता र संस्कृतिमा हीनताबोर्ध होइन, गर्व गर्ने र सांस्कृतिक अधिकार पुनर्स्थापना गर्ने अभियान थियो।
खस भाषाको एकाधिकार, हिन्दू धर्म, संस्कृतिको विशेष अधिकार भएको अहिलेको राज्य यथार्थमा जातीय राज्य हो। पहिचानका आधारमा राज्य पुनर्संरचनाको माग यही एकजातीय राज्यको अन्त्य गरी बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक राज्य बनाउने अभियान हो। विडम्बना, जातीयताविरोधी यही अभियानलाई संघीयताविरोधी, जातिवादी टाठाबाठाले जातीय राज्यका रुपमा अपव्याख्या गरी यसले देशमा ठूलो जातीय द्वन्द्व निम्त्याउँछ अनि देश टुक्र्याउँछ भनी भ्रम फैलाइदिए।

उल्टो प्रचार

संघीयताको माग भएकै एकजातीय राज्यको अन्त्य गरी बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, विविधतायुक्त समावेशी राज्य बनाउनलाई हो। संघीयताविरोधीहरु संघीयताले देश टुक्रिन्छ भनी भ्रम फैलाउँछन्। तिनले के बुझ्नु जरुरी छ भने एकजातीय राज्यको अन्त्य गरी सबै जातजाति, भाषा, संस्कृतिको सहअस्तित्व निश्चित गर्ने खालको संघीयता नभएचाहिँ देश टुक्रने स्थिति छ। संघीयताविरोधीहरुले संसारमा जातीय राज्य बनेका देशहरु टुक्रेको उदाहरण दिने गरेका छन्। ठीकै हो। संसारका २८ देशमा संघीयता छ। तीमध्ये सबै जातजातिको सहअस्तित्व नभएको देश नै टुक्रेका छन्। संविधानसभाको राज्य पुनर्संरचना र राज्य शक्तिको बाँडफाँट समितिले पहिचान र सामर्थ्यका आधारमा १४ प्रदेश प्रस्ताव गरेको थियो। राज्य पुनर्संरचना आयोगको बहुमत सदस्यले दलितका लागि गैरभौगोलिक प्रदेशसहित ११ प्रदेश पनि मूलतः पहिचानकै आधारमा प्रस्ताव गरेको थियो। अहिले ती दुवै खालका प्रस्ताव रद्दी टोकरीमा मिल्काएर दलहरुले आ-आफ्नै प्रस्ताव ल्याएका छन्। त्यसैको विवादमा संविधान लेखन प्रभावित भएको छ। खासगरी नेपाली कांग्रेस पहिचान भन्नेबित्तिकै जातीय राज्य बन्न दिँदैनौँ भनेर बिमन्डिन्छ।
ठीकै हो, जातीय राज्य बन्न दिनु हुँदै हुँदैन। जातीय सर्वोच्चताको अभ्यास हुनेबित्तिकै साम्प्रदायिक सद्भाव खल्बलिन्छ। पहिचानबारे भ्रमित सर्वसाधारणले जातीय र साम्प्रदायिक सद्भावबारे व्यक्त गरेको चिन्ता प्रशंसनीय छ। यो चिन्ता हरेक देशबासीले गर्नुपर्छ। समस्या के छ भने खस भाषा र हिन्दू धर्मको एकल वर्चश्व भएको जातीय राज्य कायम राख्न चाहनेहरु नै बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक सहअस्तित्वयुक्त राज्यको प्रस्तावलाई जातीय राज्य भनेर भ्रम फैलाइरहेका छन्। पहिचानको अर्थ बेग्लै चिनारी हो। यसको आधार भाषिक, सांस्कृतिक, जातीय, धार्मिक र क्षेत्रीय हुनसक्छ। मधेसी, पहाडी वा हिमाली हुनु क्षेत्रीय पहिचान हो भने बाहुन, क्षेत्री, नेवारलगायत जनजाति जातीय पहिचान। भोजपुरी, मैथिली, अवधी, खस भाषिक पहिचान।
पहिचानका आधारमा राज्य बनाउने भन्नुको अर्थ प्रदेशभित्रका कुनै पनि पहिचानलाई भेदभाव नगरी समान व्यवहार र सहअस्तित्वको भावना विकास गर्ने हो। प्रदेशभित्र पहिचानको अनुपातमा राज्य संरचनामा प्रतिनिधित्व गराउने भन्ने हो। नेवाः राज्यमा पहिलो स्थानमा नेवार, दोस्रोमा बाहुन-क्षेत्री, तेस्रोमा तामाङ छन्। तिनीहरुको प्रतिशतअनुसार राज्य संरचनामा प्रतिनिधित्व हुन्छ। माध्यम भाषाका रुपमा रहेको नेपाली भाषाबाहेक नेवारी र तामाङ भाषा पनि सरकारी कामकाज र शैक्षिक निकायका भाषा हुन्छन्। नेपालभाषा वा तामाङ नजान्नेले नेपालीमै काम गराउन पाउँछन्।
नेवाः राज्य प्रस्तावित काठमाडौँ उपत्यका, बनेपा, धुलिखेल क्षेत्र त्यसै पनि नेवारी सांस्कृतिक विविधताले चिनिन्छन्। यहाँको घिन्ताङ घिसीको रमाइलो गाईजात्रा, बिस्केट जात्रा, इन्द्रे जात्रा, नरिबल गुडाउने जात्रा नेवारभन्दा बढी क्षेत्री, बाहुन र अन्य समुदायले नै रुचिपूर्वक हेर्छन्। यही क्षेत्रमा क्षेत्री, बाहुनले लगाउने सत्यनारायणको पूजा, सप्ताह, नवाह, एकाहमा नेवार र अन्य समुदाय पनि पूजा सामग्री लिएर सहभागी हुन्छन्। तमु वा मगरात क्षेत्रमा पनि यही सहिष्णुता छ। संघीयता यही सहिष्णुतालाई अझै बढाउने र पाखा परेका, भाषा, संस्कृति र जातजाति, वर्ग, क्षेत्रलाई बाटामा ल्याउने सुन्दर अभ्यास पो हो!
हो, माध्यम भाषाका रुपमा नेपालीका साथै एक प्रतिशतभन्दा बढी बोल्ने ११ भाषालाई पनि राज्यस्तरको सरकारकारी कामकाजको भाषाको मान्यता नदिइएचाहिँ संघीयता र पहिचानको भावनाविरुद्ध हुन्छ। बन्न लागेको संविधानमा यही संघीयता र पहिचानविरोधी प्रावधानको तयारी भइरहेको आभास हुन्छ। त्यसका लागि सबैले आवाज उठाउनुपर्छ। नेपालका १४ जिल्लामा मात्र जातिविशेषको बहुमत छ। बाँकी ६१ जिल्लामा कुनै पनि जातिको बहुमत छैन। यस्तो स्थितिमा कुनै जातिको एकल जातीय राज्य बन्नै सक्दैन।
यस्तो सहअस्तित्वमूलक व्यवस्थालाई जातीय राज्य भनेर प्रचार गर्न दुई माध्यमले भूमिका खेलेका छन्। खस भाषा र हिन्दू धर्मकै आधिपत्य भएको एकल राज्यका पक्षधर अनि संघीयताविरोधीहरुले जानीजानी यो भ्रम फैलाएका छन्। अधिकांश पत्रकारले यसको गहिराइ नबुझी 'देश टुक्रिन दिनुहुन्न भन्ने पवित्र भावुकता'का आधारमा यसलाई प्रचार गरेका छन्। यसकै कारण मिडियामा 'जातीय राज्य हुनु हुँदैन' भन्ने खालका पहिचानविरोधी, जातिवादी ठुटे बुद्धिजीवीहरुको अल्पज्ञानयुक्त धारणा अटेसमटेस आइरहेका छन्। त्यसले संविधान निर्माणलाई नै प्रभावित पारिरहेको छ। यसमा जनजाति कार्यकर्ताले 'जातीय पहिचान' को रट लगाउँदा पनि यो भ्रम पैदा भएको हो। भन्न खोजेको तिनले पहिचान हो। प्रस्ट छ, पहिचान जातीयमात्र नभई, भाषिक, धार्मिक, सांस्कृतिक र क्षेत्रीय पनि हुन्छ।

डेढअक्कली पत्रकार

अल्पज्ञान र अर्धसत्य असत्य र अज्ञानभन्दा पनि खतरनाक हुन्छन्। पत्रकारको सानो गल्तीले ठूलो अनर्थ हुनसक्छ। उसले एउटै हिज्जे बिगार्दा 'चिफ मिनिस्टर' 'थिफ मिनिस्टर' हुनसक्छ, 'पण्डित नेहरु' 'ब्यान्डिट नेहरु' बन्नसक्छ। युधिष्ठिरले बोलेको '' अश्वत्थामा मारियो' भन्ने अर्धसत्य सुन्दा पिता द्रोणाचार्यले अकालमा ज्यान गुमाउनुपर्योध। पत्रकार अर्धसत्य र मिथ्या बुद्धिवाद (सोफिज्म) बाट जोगिनसक्नुपर्छ। अन्यथा त्यसले उल्टो परिणाम दिन्छ। मधेसी, आदिवासी जनजातिले शब्दमा जे भने पनि एकल जातीय, भाषिक र धार्मिक राज्यको अन्त्य गर, नेपालको सामाजिक संरचनाअनुसारै बहुजातीय, बहुभाषिक र बहुधार्मिक राज्य बनाऊ भनेका हुन्। पत्रकारले चाहिँ अहिलेको एकजातीय राज्यलाई सबैको राज्य र सबै जाति, धर्म र संस्कृतिको सहअस्तित्वयुक्त राज्यको मागलाई 'पहिचान' शब्द सुन्नेबित्तिकै जातीय राज्य भनेर प्रचार गर्नु अल्पज्ञानको हद हो।
पत्रकारितामा मिथ्या प्रचार वा अल्पज्ञान क्षम्य हुँदैन। यसले पत्रकारको सम्मानित छविकै हत्या हुन्छ। विडम्बना, हाम्रो पत्रकारिताचाहिँ यस्तै अल्पज्ञानहरुको टेको लगाएर उभिएको छ। के गर्न सकिन्छ!
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस