पूर्वमा जनकपुरलाई केन्द्र बनाएर मिथिला राज्य माग्दै नयाँ खालको आन्दोलन चलिरहेको छ। पश्चिममा भने अखण्ड सुदूर पश्चिमको मागसहित बन्द भएको बिहीबार १३ दिन पुगेको छ। बुधबार बर्दिया जिल्लामा अखण्ड मध्यपश्चिमको मागका रुपमा देखिएको अर्को आन्दोलनको रापले बिहीबार बिहानसम्म झिल्कोको रुप लिइसकेको छ। त्यस्तै पश्चिम तराईमा थरुहट राज्य मागसहित बेग्लै आन्दोलन चलिरहेको छ भने मधेसी मोर्चाले आफ्नो 'बटमलाइन' एक मधेस एक प्रदेश भएको बताइरहेकै छ।
यही क्रममा बिहीबार बाहुन, क्षत्री समाजले बन्द आह्वान गर्दै आफ्नो आन्दोलनलाई अघि बढाएका छन्। उता जातीय राज्य मागसहित आन्दोलन आफ्नो स्थानबाट चलिरहेकै छ। यी सबैबीच संघीयता मुलुकलाई अफापसिद्ध हुने आवाज पनि झिनोरुपमै भए पनि उठिरहेको छ। अर्कोतर्फ शासकीय स्वरुपबारे कुनै निर्णय भइसकेको छैन। त्यसमाथि मधेसी मोर्चा एवं देशका प्रमुख दलबीच नयाँ विवाद उत्पन्न भएको छ। तर, यो विवाद संविधान निर्माणमा केन्द्रित भएका कारण नभई सरकार निर्माणका कारण देखिएको हो। मुलुकमा देखिँदै गरेका यी सबै गतिविधि नियाल्दा संविधान निर्माणको अन्तिम मिति आउँदो जेठ १४ भन्दा सहजै विश्वास गर्न सक्ने स्थिति छैन। नेपालको अहिलेको स्थिति हेर्दा संविधानसभाका लागि भर्खरै निर्वाचन भएको र लगभग पाँच वर्ष बाँकी छँदा देशभित्र हुने छलफल र मागहरू आ-आफना ढंगले आइरहेको भान हुन्छ।
संविधानमा कति प्रदेश राख्ने, प्रदेशलाई कुन आधारमा राख्ने, देशको भावी शासकीय प्रणाली कस्तो किसिमको हुनेजस्ता कुराको निर्क्याेल भइसकेको भए अहिले देखिएका आन्दोलनको कुनै अर्थ हुने थिएन, अहिले यस किसिमका आन्दोलनले नेपालका सडक घन्कने पनि थिएनन्। संविधानसभा बैठकमा दलबीच राज्य पुनर्संरचना र शासकीय स्वरुपबारे विवाद भइरहेको अवस्थामा त्यही सवालमा विभिन्न माग राख्दै देशका विभिन्न भागमा आन्दोलन हुनुले संघीयताबारे दलहरूले जनताको राय नबुझी धारणा अघि सारेको प्रस्ट भएको छ।
संविधानसभाका सभासद्हरूबाट आइरहेका उद्गार विश्वास गर्ने हो भने संविधान निर्माण प्रक्रिया संविधानसभाको निर्वाचनपछि एक वर्ष ८ महिनासम्म नियमितरुपमा चलेको थियो। तर, जब शासकीय स्वरुप र संघीयताका सम्बन्धमा छलफल सुरु भयो, अनि संविधान निर्माण प्रक्रिया अवरुद्ध हुन पुग्यो। त्यसपछि हाम्रा दलको सम्पूर्ण ध्यान सरकार बनाउने र खसाउने तथा संविधानसभाको म्याद बढाउनेतर्फ नै केन्द्रित रहँदै आएको छ। नेपाली राजनीतिक बजारमा चलेको पछिल्लो हल्लाअनुसार त संविधानसभाको म्याद बढाउने एउटा अर्को प्रयाससमेत हँुदैछ।
यी सबै कुराले हामी अझ पनि संविधान निर्माणको प्रक्रियाबाट निकै पर भएको साबित गरेको छ। त्यसो त जेठ १४ भन्दा पहिले संविधान बनाउन नसकिने होइन। कसैकसैले संघीयतालगायत केही मुद्दा थाँती राखेर निश्चित समयमा संविधान घोषणा गर्ने बताएका छन्। उनीहरूको तर्क छ, संविधान निर्माण प्रक्रियाले एकै पटक पूर्णता पाउने होइन। यसमा समय र आवश्यकताअनुसार फेरबदल गर्न सकिन्छ। त्यसैले थाँती रहेका विषयमा पछि छलफल गरेर मिलाउन सकिन्छ।
तर, संघीयताको सवालमा निकै अगाडि बढिसकेको मुलुकमा अब त्यसो गर्नु कुनै हालतमा सम्भव देखिँदैन। त्यसैले अहिले जेठ १४ भित्र संविधान बने त्यसको स्वरुप कस्तो होला भन्ने जिज्ञासा बढ्दै गएको छ र यस जिज्ञासामा नयाँ कुरा पाउने उत्साहभन्दा शंकाको मात्रा निकै बढी देख्न सकिन्छ।
यसबीच गत सोमबारमात्र एक टेलिभिजन अन्तर्वार्तामा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अब बन्ने संविधान ०४७ सालको जति पनि नहुने कुरा व्यंगात्मक शैलीमा भन्दै थिए। वास्तवमा संविधान ०४७ साल जतिको पनि नहुने त होइन भन्ने शंका अहिले जनमानसमा पनि उत्पन्न हुन थालेको छ। फरक यति छ, त्यस शंकामा थापाको जस्तो व्यंग्य नभई निराशा छ।
कुनै पनि कुराको निर्णय त्यसका लागि आधार तयार नपारीकन गर्ने नेताहरूको नयाँ बानी अब रहेन। हाम्रा नेताहरूले कुनै पनि कुरामा स्वीकारोक्ति जनाउन त्यसका लागि उठेको मागको स्वरुप हेर्ने गर्छन्- माग कुनै आन्दोलनका रुपमा आएको छ अथवा त्यत्तिकै सहजरुपमा छ। आन्दोलनका रुपमा आएको छ भने त्यसको राप कस्तो छ? जस्ता कुरा हेरेर हुन्छ भन्ने प्रवृत्ति उनीहरूमा छ।
मधेस आन्दोलनपछि एक मधेस एक प्रदेशको माग स्वीकार गरेका नेतासामु अहिले मिथिला, अखण्ड सुदूर पश्चिम र अखण्ड मध्य पश्चिम आन्दोलनका रुपमा अर्को अप्ठेरो आइपरेको छ। अहिले तिनै नेता सम्भवतः मिथिला र सुदूर पश्चिमको आन्दोलन अझ चर्कने पर्खाइमा छन्। आन्दोलनले निकै उग्र रुप लिएको खण्डमा देशको भविष्य निर्माणको ठेक्का लिएका प्रमुख दलका नेताहरूलाई उनीहरूको माग स्वीकार गर्न सजिलो हुने थियो। आन्दोलनले त्यस किसिमको गति समाल्न नसके टन्टै साफ। त्यसपछि अर्को कुनै माग राख्न त्यसभन्दा पनि चर्को आन्दोलन आवश्यक पर्नेछ।
मुलुकमा देखिएको अराजकता, भ्रष्टाचार तथा सक्नेले गर्दै आएको मनपरी हेर्दा यहाँ सरकारको उपस्थिति कतै नभएको अनुभव जनताले पहिलेदेखि नै गरिरहेका थिए। त्यस आधारमा सिंहदरबारको पर्खालभित्र सुतेको सरकारले सुदूर पश्चिम र मिथिलाका आन्दोलनकारीको मागतर्फ ध्यान देला भनेर चिताउन सकिने स्थिति छैन। तर, ती स्थानमा अब दलहरूको अस्तित्व छैन कि भन्ने अर्को प्रश्न खडा भएको छ यतिखेर।
'फलानो दल सरकारमा नआए अब उसैलाई घाटा हुन्छ' र 'यसो नगर्दासम्म हामी सरकारमा जाँदैनौँ' जस्ता विवाद गरिरहेका दलहरूले आन्दोलन भइरहेका ती स्थानमा आफ्नो राजनीतिक कर्तव्य सायद बिर्सिसकेका छन्। ती आन्दोलनबारे आफ्नो धारणा दलहरूले ल्याउनुपर्ने हो कि होइन? यिनीहरूको ध्यान त अहिले सरकार बनाउने कुरामा केन्द्रित छ। सरकार तथा प्रमुख राजनीतिक दलका लागि माग पूरा हुने/नहुने स्थिति आन्दोलनको स्वरुपले निर्धारण गर्ने हो, मागको आकारप्रकारले होइन।