अवसान आस्था र सदभावको
२२ जेष्ठ २०६९
•
१४ मिनेट पाठ
अवसान आस्था र सदभावको
संविधान सभाको अवसान भएको छ। राजनीतिक स्वार्थ, अहम् र कचिंगलको सकस एवं दृश्य अदृश्य प्रहारबाट यसको अवसान भएको हो। यसको अन्त्यसँगै बिरलै पाइने संविधान लेख्ने अवसर नेपाली जनताले गुमाउने जोखिम बढेेको छ। यो अधिकार पाउन नेपालीले छ दशकभन्दा बढी संघर्ष गरेका छन्। लामो संघर्षको उपलब्धिलाई निरर्थक बनाउने षडयन्त्रकारीहरूप्रतिअहिले नेपाली समाजमा आक्रोश व्यक्त भइरहेको छ।
जेठ १४ गते संविधान सभा भवन बाहिर एकत्रित जनताको अनुहारमा यस्तो आक्रोश सहजै पढ्न सकिन्थ्यो। राजनीतिक दलका नेताहरू र सभासद्प्रति लक्षित प्रतिक्रिया अखबारमा लेखमा उद्धृत गर्नै नसकिने गरी उग्र थिए। आन्दोलनमा बाँडिएका सपनाबाट उर्लिएको जनआकांक्षामा तुषरापात हुँदा त्यस्तो प्रतिक्रिया प्रकट हुनु अस्वाभाविक भने होइन। प्रसिद्ध लेखक स्यामुयल हन्टिङ्गटनले भनजस्तो ‘रिभोल्युसन अफ राइजिङ फ्रस्ट्रेसन' अहिले नेपाली जनतामा देखिएको छ। जनतामा जागेको यस्तो अविश्वास र आक्रोशले धेरैको सत्यानाश गर्नसक्छ। जनता कहिलेकांहि अत्यन्त निर्मम भएको उदाहरण इतिहासमा बग्रेल्ती देखिन्छ।
भनिन्छ, नेता इतिहासको पात्रमात्र होइन निर्माता पनि हो। भनिन्छ, देशलाई दूरदर्शी नेतृत्व प्रदान गरेर संकटबाट सफल अवतरण गराउनसक्ने व्यक्ति नै सफल नेता हो। यस्ता नेता नेपाली समाजले भने पाउन सकेन। हाम्रा नेताले इतिहास निर्माण गर्न त सकेनन् नै यसमा असल पात्रका रूपमा स्थान सुरक्षित राख्नसमेत सकेनन्। उनीहरू त आफ्ना क्षुद्र स्वार्थका लागि राष्ट्रको स्थिरता र समुन्नतिको वातावरण बिगारेर खलपात्र हुन पुगेका छन्। हुनत, अझै पनि उनीहरू आफू निर्दोष रहेको र गल्ती अरूले नै गरेको भन्दै लाजै नमानी जनतालाई ढाँट् आउनसक्छन्। तर, जनता धेरै पटक धोका पाएर सचेत भइसकेका छन। संविधान सभाको असफलतामा दोष कुनै एउटा पार्टी वा एक जना नेताको नभएर सबै नेता तथा सभासद् दोषी छन्। विफलतामा सबैको धेरथोर भूमिका भएकाले सबैले सामुहिकरूपमै जिम्मेवारी लिनुपर्छ।
संविधान सभामा जनताले आफ्ना प्रतिनिधिलाई संविधान लेख्ने जनादेश दिएर पठाएका हुन्। तर, संविधान सभाको अवसान गराउनेमा तिनलाई लगाम लगाएर निकम्मा बनाउने शीर्ष नेताहरू (?) मुख्य पात्रका रूपमा देखा परे। संविधान निर्माणका क्रममा एक दिन एउटा संझौता गर्ने र त्यसको मसी नसुक्दै कुरा फेर्ने चरित्र प्रदर्शन गरेर धेरै नेताले आफ्नो कद घटाएका छन्। अझ भिडको नेतृत्व गरेर सही बाटो देखाउनु पर्नेमा त्यसकै पछि लागेर उनीहरूले नेतृत्व शब्दकै अवमूल्यनसमेत गरेको देखियो।
केही सभासद् पार्टीलाई जनताले दिएको मतप्रति विश्वास घात गरेर संविधानमा निजी एजेन्डा समावेश गराउन तल्लिन देखिए। यस्तो व्यवहारले तिनलाई जनताप्रति गैरजिम्मेवार रहेको स्पष्ट पारेको छ। दुई वर्षअघि संविधान सभासद्हरूले नै संकलन गरेको अभिमतमा अत्यधिक नेपाली नागरिकले जातीय राज्य हुन नहुने धारणा प्रकट गरेका थिए। त्यस जनधारणालाई सार्वजनिक बहसमै नल्याई एकल जातीय पहिचानका आधारमा प्रदेश निर्माणको सिफारिस गर्ने सभासद्हरू कसरी जनउत्तरदायी मान्न सकिन्छ? लामो समयदेखि बहिष्करणमा परेका जातजातिलाई समावेशीकरण गर्ने र उनीहरूलाई शासकीय व्यवस्थामा सक्रिय सहभागिता दिने थुप्रै विकल्प छन्। त्यस्ता विकल्प संविधानमा समावेश गर्दा कसैको पनि विरोध हुने थिएन। तर, यस्ता सकारात्मक उपायको उपेक्षा गरेर एकोहोरो जातीय राज्य, अग्राधिकार र आत्मनिर्णयको अधिकारजस्ता विवादास्पद विषयमा मात्र जोड दिइयो। एकल जातीय राज्य, अग्राधिकार र आत्मनिर्णयको अधिकारजस्ता प्रावधान भएका संघीय प्रदेश निर्माण हुँदा राष्ट्रिय अखण्डता र एकतामा भविष्यमा उत्पन्न हुनसक्ने चुनौतीलाई जानीजानी उपेक्षा गरियो। फलस्वरूप, क्षणिक स्वार्थ र मतको राजनीतिलाई हेरेर जातीय नारा दिने सभासद्ले बहुसंख्यक नेपालीको विश्वास गुमाएका छन्।
संविधान सभाले डरलाग्दो साम्प्रदायिक विद्वेषको मन्दबिष नेपाली समाजमा रोपेर गएको छ। एकल जातीय प्रदेशको पक्ष र विपक्षमा नेपालीलाई विभाजन गर्ने प्रयत्न विभिन्न कोणबाट हुन गयो। फलस्वरूप जातीय सद्भावमै खलल पुग्ने गरी विभिन्न समूह सडकमा आमनेसामने हुन पुगे। जातीय र धार्मिक सहिष्णुता नेपाली समाजका मौलिक विशेषता हुन्। नेपालमा अहिलेसम्म जातीय वा धार्मिक दंगा भएको छैन। विविध संस्कृति, धर्म, जातजाति र भाषाभाषी नेपाली पारस्परिक सद्भाव राखेर सुखदुःख बाँडेर बसेका छन्। जातीय विद्वेषले कति डरलाग्दो हुन्छ भने यसले निम्त्याउने अराजकताले राष्ट्रको अस्तित्व समेत खतरामा पर्न सक्छ। सानो घटनाले साम्प्रदायिक दंगा चर्किएर देश नै विखण्डनको संघारमा पुगेका उदाहरण विश्वमा थुपै्र पाइन्छ। इरानमा सन २००६ मा अजेरहरूको विद्रोहको कारण एउटा दैनिक पत्रिकामा प्रकाशित व्यंग्य चित्र बन्यो। उक्त चित्रमा अजेरहरूको भाषाप्रति व्यंग्य गरिएको थियो। यसको विरोधमा सात दिनसम्म जातीय दंगा चर्किएको थियो। मलेसियामा सन १९६९ मा एउटा चुनावी विजय जुलुसबाट फैलिएको दंगाले जातीयरूप लिन पुग्यो। चिनियाँ मूलका अल्पसंख्यकप्रति लक्षित दंगा चार दिनसम्म जारी रहेको थियो। उक्त दुःखद घटनापछि मलेसियामा विजय जुलुसै निकालिँदैन। यस्तो गम्भीरता बु‰दाबु‰दै पनि संविधान सभाको अन्तिम दिनहरूमा विवाद चर्काउने विभिन्न प्रयास गरिनु अत्यन्त दुर्भाग्यपूर्ण, आपत्तिजन र गैरजिम्मेवार प्रवृत्ति हो।
संविधान सभाकै कार्यकालमा नेपालको राष्ट्रियतालाई कमजोर पार्ने प्रयाससमेत उजागर हुन पुग्यो। जनप्रतिनिधिहरू संकीर्ण राष्ट्रवादको नारामा केिन्द्रत हुन पुग्दा मौकाको फाइदा उठाएर नेपाललाई अस्थिर बनाउने दुस्साहस गरिएका घटना परिघटना सार्वजनिक भए। दक्षिणी मुलुकको कूटनीतिक प्रतिनिधिलेसाम्प्रदायिक विद्रोहका लागि उकासेको र उत्तरतर्फका कूटनीतिक विश्लेषकले नेपालको विखण्डित हुँदैछ भनेर आफ्नो देशको सुरक्षा चिन्ता व्यक्त गर्दै बीबीसी नेपाली सेवामा अन्तर्वार्ता दिएको घटना यसैका उदारहण हुन्। दार्शनिक कृष्णमूर्तिले भनेका छन् ­ ‘समाज हाम्रा सम्बन्धहरूको उपज हो। हाम्रो सम्बन्ध अन्योलपूर्ण, संकुचित र साम्प्रदायिक छ भने यसले गडबडी ल्याइदिन्छ।' उनले भनेजस्तै नेपालीहरू संकीर्ण जातीय राष्ट्रियतामा अलमलिने हो भने भविष्यमा नेपाली राष्ट्रियता कमजोर पार्ने अझ ठूलो षड्यन्त्र हुन सक्छ। एउटा क्षेत्रको ‘जय' भन्ने तर ‘नेपालको जय' भन्न नचाहने केही नेताको प्रवृत्तिमा उनीहरूले मात्र हैन नेपाली जनताले पनि ध्यान दिन जरुरी छ।
संविधान सभाको अन्त्य त हुनु नै थियो र भयो। दुःख यत्ति हो कि यसको अवसान मर्यादित हुनसकेन। बेवारिसेजस्तै भयो। यसका प्रमुख पात्रहरू भने फ्रान्स र अन्य देशको उदाहरण दिँदै केही नभएजस्तो अभिव्यक्ति दिइरहेका छन्। यसका मलामीहरू ‘मलामी ठट्टा' गर्दैछन्। तर, कसैले पनि सात महिनामै संविधान दिने कोलम्बियाली संविधान सभाको उदाहरण दिइरहेका छैनन्। सरकारले संविधान सभाको अर्को निर्वाचनको घोषणा गरेको छ। अहिले देखिएको राजनीतिक विवाद मिलाएर सहमति गर्न सके यही संविधान सभाको पुनर्जन्म हुनसक्छ। तर, यस्तै अवस्थामा संविधान सभाको अर्को अवतारले पनि संकट मोचन गर्ने विश्वास गर्न सकिँदैन। निर्वाचन लड्ने दल यिनै हुन् र यिनको जिद्दी र व्यवहारमा कुनै फरक आएको छैन र आउने लक्षण पनि देखिँदैन। यस्तै स्थिति हुने हो भने नेपालको नियति इन्डोनेसियाको संविधान सभाभन्दा फरक नहुन सक्छ। इन्डोनेसियामा सन् १९५५ मा संविधान सभाको निर्वाचन भएको थियो। मुलुक धार्मिक कि धर्म निरपेक्ष राज्य हुने भन्ने विवादमा निर्णय हुन नसकेपछि संविधान सभा भंग गरियो। अन्ततः सैनिक विद्रोहपछि ‘गाइडेड डेमोक्रेसी' को नाममा सैनिक शासन लागु गरियो।
अबको संविधान सभा सफल बनाउने हो भने केही आधारभूत विवाद जनमत संग्रहबाट टुंग्याइनु उचित हुने देखिन्छ। खासगरी अहिले बढी नै विवादको विषय बनेको एकल जातीय राज्य र प्रदेशको संख्याजस्ता विषयलाई जनमतबाटै टुंग्याउनुपर्छ। संविधान सभाको निर्वाचनसँगै जनमत संग्रह गर्ने हो भने थप समय र खर्च पनि आवश्यक हुँदैन। होइन भने अर्को संविधान सभा पनि यिनै विवाद समाधान गर्न नसकेर विघटन हुनपुग्नेछ।
पुराना अनुहारप्रति जनतामा आक्रोश धेरै नै देखिन्छ। पश्चिममा दोस्रो विश्वयुद्धको आसपास सन् १९४५ देखि १९६४ बीचमा जन्मिएकालाई ‘बेबी बुमर' भन्ने गरिन्छ। यो पुस्ता अपेक्षाकृत जिद्दीवाल हुन्छ भन्ने मानिन्छ। यस्तो पुस्ताले नेपालमा पनि संविधान बनाउला भनेर अपेक्षा गर्न सकिँदैन। संविधान बनाउने नै हो भने अर्को पुस्तालाई जिम्मेवारी दिनु आवश्यक देखिन्छ। यसका लागि सबै दलले नयाँ युवा अनुहारलाई संविधान सभा निर्वाचनमा उमेदवार बनाउनु आवश्यक छ।


अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस