वैद्य समूहको 'क्रान्तिकारी राजनीति'
२५ जेष्ठ २०६९
•
१३ मिनेट पाठ
वैद्य समूहको 'क्रान्तिकारी राजनीति'
नेपालका राजनीतिक पार्टीहरूको विभाजनको मात्रै कथा लेखियो भने पनि कति वटा महाभारत बन्न सक्छ, अनुमान गर्नै गाह्रो छ। संविधानसभाको विसर्जनपछि दुई वटा कम्युनिस्ट नामधारी पार्टी विभाजनको संघारमै पुगिसकेका छन्। नामको अगाडि एकएक वटा 'एकीकृत'को सिङ भिरेका पार्टीको विभाजनको 'काउण्ट डाउन' (उल्टो गन्ती) सुरु भइसकेको छ।
एकपछि अर्का केन्द्रीय बैठक र राष्ट्रिय भेलाको घनत्वसँगै नेपाली मिडियामा पार्टी विभाजनको 'काउण्ट डाउन' सुरु भएको हो। 'काउण्ट डाउन' मिडियाका लागि मसला भएको छ भने आम जनताका लागि चिन्ताको पोको। एमालेले एकपछि अर्काे स्थायी समिति र केन्द्रीय समितिको बैठकपछि असन्तुष्ट नेताहरूलाई पद दिएर लोभ्याउने अनि राज्य पुनःसंरचना आयोग गठन गरेर अल्झाउने चाल चालेको छ। एमाओवादीका संस्थापन समूह र वैद्य समूहले भने केन्द्रीय समितिको अलगअलग बैठक बसेर भिन्नाभिन्नै राष्ट्रिय भेला पनि बोलाउने निर्णय गरेपछि विभाजन टार्नै नसकिने संकटको भीरमा पुगेको छ। चमत्कार रुचाउने नेतृत्व र कार्यकर्ताको मथिंगलमा अब एमाओवादीलाई चमत्कारले बाहेक अरु कुनै अस्त्र र उपायबाट एकीकृत राख्न नसकिने भाव विकास भइसकेको छ।

हुन त एमालेका असन्तुष्ट आदिवासी जनजाति र मधेसी नेताहरूको रणनीति 'पार्टीलाई ठाडो विभाजन गर्ने होइन, राजीनामा दिएर अलग्गिने' मात्रै हो। तर, एमाओवादीको वैद्य समूहको रणनीति भने ठाडो विभाजनतिर मात्रै होइन, संस्थापन पक्षकै विसर्जनतिर लक्षित छ। यसैबीच वैद्य समूहका संगठक नेत्रविक्रम चन्द विप्लवले दुइटा सर्त राखेका छन्। एक, पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष एवं प्रधानमन्त्री डा. बाबुराम भट्टराईको राजीनामा, उनीहरूको स्थानमा उपाध्यक्ष मोहन वैद्य किरण र रामबहादुर थापा बादलको पदस्थापन। दुई, संस्थापन पक्षबाट शान्ति र संविधानको कार्यदिशा असफल भएको घोषणासहित संस्थापन पक्षबाट आत्मालोचना। पार्टी एकताका लागि कार्यदिशा सच्याउने नाममा अध्यक्ष र प्रधानमन्त्रीको राजीनामाको मागले वैद्य समूहको पदीय स्वार्थजन्य रणनीतिको भेद खोलेको छ।
जनविद्रोहको चर्काे वकालत गर्ने युवा नेता विप्लवले आफ्नो समूहका नेताहरूका लागि अध्यक्ष र प्रधानमन्त्री पद मागेपछि प्रचण्डले 'पार्टी एकताका लागि अध्यक्ष पद त्याग्ने' घोषणा गर्नुको निहितार्थ थियो। त्यही निहितार्थ बुझेरै होला, वैद्यले प्रचण्डको घोषणा 'प्रोपोगाण्डा र रणनीतिक चाल मात्रै भएको' आरोपसहित अब 'पार्टी एकता असम्भव भएको' दाबी गरे। संस्थापन पक्षले विप्लवको मागलाई पार्टी विभाजनको एक कारकतत्व पदीय मोह नै रहेको अर्थमा व्याख्या गर्ने सम्भावना देखेरै वैद्यले 'पदको लागि अन्तरसंघर्ष नगरेको' जिकिर गरेका हुन्। तर, पदका लागि हुने अन्तरसंघर्षलाई राजनीतिक र कार्यनीतिक मुद्दाको लेपन गर्ने चलन कुनै नौलो तरिका होइन। पहिले पनि पद विभाजन र शक्तिको विकेन्द्रीकरणको मुद्दामा सफल धोबीघाट गठबन्धन बनाइसकेको वैद्य समूहले अब अध्यक्ष र प्रधानमन्त्री पद नै ताक्नुमा धोबीघाट गठबन्धनकै तार्किक निष्कर्षको छायाँ परेको देखिन्छ।
वैद्य समूहको मुख्य रणनीति पार्टीका उच्च पद र सत्ता-शक्ति प्राप्त गर्नु होइन, पार्टीको कार्यदिशा सच्याउने र मुख्य नेतृत्वबाट आत्मालोचना गराउनु मात्रै हो भने केन्द्रीय समितिमा बसेर बहस गर्नु, केन्द्रीय समितिकै विस्तारित राष्ट्रिय भेला (प्लेनम) वा महाधिवेशनै बोलाउन माग गर्नु जायज र जरुरी हुन्थ्यो। तर, केन्द्रीय समितिको बैठकै बहिष्कार गर्दै समानान्तर केन्द्रीय बैठक बोलाएर पार्टी विभाजनलाई भीरमै पुर्याजइसकेको वैद्य समूहले आफ्नो मागको साख पनि बचाउन सकिरहेको छैन। शान्ति र संविधानको कार्यदिशा सैद्धान्तिक रुपमै गलत रहेको र व्यावहारिक रुपमा पनि गलत साबित भएको आफ्नो दाबी सिद्ध गर्ने हो भने वैद्य समूहको राजनीति सही हुनु आवश्यक हुन्छ। राजनीतिक व्यवहार र संस्कृतिसमेत उचित हुनु जरुरी हुन्छ। तर, त्यस समूहको राजनीति र संस्कृतिमा यति ठूलठूला भ्वाङ छन्, जहाँबाट उसका राजनीतिक नारा र जनविद्रोहको हुँकार हावामा उडेर जाने गरेका छन्। राजनीतिक नाराकै सन्दर्भमा मात्रै विमर्श गर्दा पनि वैद्य समूह अनौठो विरोधाभासमा अल्भि्कएर 'विरोधका लागि विरोध'को मनोग्रन्थीबाट ग्रस्त भएको आभास हुन्छ।
संस्थापन पक्षले लिएको शान्ति र संविधानको कार्यदिशा गलत साबित भएको दाबी गर्ने वैद्य समूहको घोषित कार्यदिशा जनविद्रोहमार्फत नयाँ जनवाद स्थापना गर्नु हो। संविधानसभा जिउँदो रहेको बेलासम्म वैद्य समूहको जब्बर तर्क थियो, यथास्थितिवादी र षड्यन्त्रकारीको हातमा गइसकेको संविधानसभाबाट जनताको संविधान बन्न सम्भव छैन। अब माओवादी पार्टी जनविद्रोहमा गएर जनताको संघीय लोकतन्त्रको नाममा नयाँ जनवादी व्यवस्था स्थापना गर्नुको विकल्प नभएको ठोकुवा गर्दै वैद्य समूहले सबैभन्दा पहिले आफ्नै पार्टीमा 'जनविद्रोह'को अभ्यास गरेको थियो। लेनिनको नेतृत्वमा रहेको रसियन सोशल डेमोक्रेटिक लेबोर पार्टीमा जस्तै बोल्शेभिक र मेन्शेभिक समूह बनाउने र माओको नेतृत्वमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीमा सांस्कृतिक क्रान्तिकालमा जस्तै 'हेडक्वार्टरमा बम हान्ने' तौरतरिका अँगालेर उक्त समूहले जनविद्रोहको पूर्वाभ्यास गर्दै आएको छ। त्यही पूर्वाभ्यासकै कारण माओवादीको साख र शक्ति कमजोर भएको, संविधानसभाको विघटन रोक्न नसकिएको र नयाँ संविधानको लेखन सम्पन्न गर्न जोडबल दिन नसकिएको यथार्थ जगजाहेर छ। तर, 'सत्ता टिकाइराख्ने स्वार्थका कारण संस्थापन पक्षले नै संविधानसभाको विघटन गरेको' गम्भीर आरोप लगाएको वैद्य पक्षले संविधानसभाको विघटनमा रुवाबासी गर्नुको कुनै तुक छैन।
'यथास्थितिवादी र षड्यन्त्रकारीको हातमा गइसकेको संविधानसभाबाट जनताको संविधान बन्न सम्भव नहुने' मतका साथ संविधानसभाको विघटन गर्नुपर्ने वैद्य समूहको पहिलेको माग जायज र सक्कली थियो भने उसको पछिल्लो रोइलो सक्कली हुन सक्दैन। पहिचानसहितको संघीयता र संघीयतासहितको संविधानमा मधेसी मोर्चा र आदिवासी जनजातिको समर्थनमा माओवादीले लिएको जायज अडानविरुद्ध अन्य दलले गरेको एकल जातिवादी अहंकार र संघीयताविरोधी जिद्दीका कारण संविधानसभा विघटन भएको जान्दाजान्दै पनि 'आरोपका लागि आरोप' बर्साउने कामले उसको जनविद्रोह कोप्रति लक्षित छ भन्ने प्रश्न जन्माएको छ।
संविधानसभाबाट जनसंविधान निर्माण भएन भने जनविद्रोह गर्ने घोषणाका साथ 'पार्टीभित्र पार्टी, योजनाभित्र योजना'को अभ्यास गर्ने वैद्य समूहले संविधानसभाको विघटनपछि राखेको पछिल्लो माग हो, डा. बाबुराम भट्टराईको राजीनामा, सर्वपक्षीय गोलमेच सम्मेलन, राष्ट्रिय सहमतिको सरकार, संविधान आयोगबाट नयाँ संविधानको निर्माण। जनसंविधानै बनाउने नै लक्ष्य हो भने संविधानसभाजस्तो लोकतान्त्रिक र जनमुखी प्रक्रियाबाट बनाउन नसकिएको संविधानलाई संविधान आयोगले जनसंविधानको रुप देला? जनसंविधान नबनेको स्थितिमा जनविद्रोह नै गर्ने उसको कार्यदिशा हो भने 'यथास्थितिवादी र षड्यन्त्रकारीहरू'सहितको बृहत् राजनीतिक सम्मेलन र राष्ट्रिय सहमतिको सरकारको मागले कसरी जनविद्रोहका लागि अनुकूल वातावरण बनाउँछ? २०४७ सालको संविधान आयोगले धर्मनिरपेक्षता र जातीय-भाषिक अधिकारविनाको संविधान बनाएको इतिहास र वर्तमानमा सार्वभौम संविधानसभालाई पाखा लगाउन ल्याइएको संविधान आयोगको प्रस्तावलाई नै डेन्टिङपेन्टिङ गर्दै नयाँ मागका रुपमा पेस गर्ने वैद्य समूहको 'क्रान्तिकारिता'ले अन्ततः के देखाउँछ?
हुन त संस्थापन पक्षका प्रचण्ड र बाबुराम भट्टराईले जेजस्तो प्रस्ताव राखे पनि त्यसको विपक्षमा उभिने माओवादीभित्रको प्रतिपक्ष वैद्य समूहले अब अर्का 'क्रान्तिकारी' काम पनि गर्दैछ : माओवादी नेतृत्वको सरकारलाई सडकबाटै फ्याँक्ने उद्घोषका साथ कांग्रेस-एमाले गठबन्धनले थालेको सडक संघर्षलाई समर्थन र सहयोग गर्ने। आफ्नै सरकारले संविधानसभाको निर्वाचनको घोषणा गर्दा निर्वाचित सरकारलाई ढाल्न राष्ट्रपतिलाई उक्साएर असंवैधानिक काम गर्न लगाउने र संस्थापन पक्षले राष्ट्रपतीय प्रणालीको प्रस्ताव गर्दा भने आफैंले विरोध गर्दै आएको संसदीय प्रणालीको वकालत गर्ने वैद्य समूहको 'क्रान्तिकारी राजनीति' कांग्रेस नेतृत्वको राष्ट्रिय सरकारमा दुईचारवटा कुर्सी प्राप्तिमा सीमित भयो भने अब अनौठो हुने छैन।

 

 
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस