बजेटको अर्को आयाम
२४ असार २०६९
•
१५ मिनेट पाठ
बजेटको अर्को आयाम
काम चलाउ सरकार चार खर्ब २९ अर्बको पूर्ण बजेट ल्याउने तयारीमा जुटेको छ। सबैलाई लाग्न सक्छ मुलुकमा यत्रो ठूलो पुँजी संकलन हुनसक्ने अवस्था बनिसक्यो तैपनि हामी विपन्नताको चक्रबाट मुक्त हुन भने सकेका छैनौं। यो पुँजी खर्च गर्न सकेका अवस्थामा भोलिका दिनमा अलिकति भए पनि हामीले यस विपन्नताबाट मुक्ति पाउन सक्नेछौँ।
विगत वर्षहरूको अनुभवका आधारमा यसमध्येको ६० प्रतिशत रकम नियमित खर्चका रूपमा खर्च गरिनेछ। यस्तै, १० देखि १५ प्रतिशत आकस्मिक या भैपरीआउनेमा खर्च हुनेछ। पुँजीगत खर्चमा छुट्याइएको बजेट भने सामान्यतः ५० प्रतिशत पनि खर्च हुने गरेको छैन। त्यसमा पनि लुट, भ्रष्टाचार, अनियमितता हुन्छ। सरकारसित रहेको यत्रो ठूलो रकम यथार्थमा खर्च कहाँ हुन्छ? जनताले नबझ्ने कुरा चाहिँ यही नै हो। जनताप्रति उत्तरदायी भन्ने सरकारले पनि यसको सही जबाफ दिनेगरेको छैन। संसद्मा प्रस्तुत हुन नभ्याएको महालेखा परीक्षकको प्रतिवेदनअनुसार गत वर्ष २७ अर्ब रुपैयाँ बेरुजु देखिएको छ। बितेका पाँच वर्षको बेरुजु एक खर्बभन्दा माथि छ। बजेटको आकार सुन्निदै छ। यी तीन प्रकृतिका खर्चका लागि सरकारले जिम्मेवारी बोधै गर्दैन। सरकारका कुनै पनि तहका कर्मचारीको विदेश भ्रमण, उनीहरूका लागि अनेक सुविधा, गाडी, त्यसको संचालन, त्यसका लागि तेल, देशीविदेशी पाहुनाका लागि मनोरंजन, बैठक, मन्त्रीहरूको भ्रमण, त्यसको खर्च, सामान्य कर्मचारी गए पुग्ने ठाउँमा मन्त्रीहरू सपरिवार विदेश जाँदाको खर्च आदि विषय यसमा पर्छन्। त्यसैगरी पूर्व सरकारी अधिकारीहरू, पूर्वमन्त्री, पूर्वराजनीतिक पदाधिकारीमाथि गरिएका खर्चहरू कति आवश्यक हुन् वा अनावश्यक हुन् भन्ने विषयमा पनि कुनै छलफलै नगरी मन्त्रिपरिषदेले निर्णय गरेको छ। त्यसका लागि छुट्याइएको रकमका विषयमा पनि सरकारले दायित्वबोध गरेको देखिएन।
यसैगरी, मन्त्रिपरिषद्ले यसरी आफ्नै निर्णयले सुविधाहरू बाँड्दै जाने हो भने भविष्यमा संघीय नेपाल बनिसकेपछि हुने यस प्रकृतिका खर्चको जिम्मेवारी कसले लिने? सरकारको ढुकुटीमा पैसा छ भन्दैमा र राज्यको ढुकुटी मन्त्रिपरिषद्को तजबिजी निर्णयले बाँड्न पाइन्छ भन्दैमा पैसा बाँड्न हुने हो कि होइन? नैतिक र वैधानिकरूपमा बाँड्न हुने हो कि होइन? गम्भीर अपराधमा सजाय परेकालाई पनि अपराधीका रूपमा सजाय दिलाउनुको साँटो दण्डबाट मुक्त गर्ने, सहिद घोषित गर्ने र पैसा बाँड्ने गरेको छ। यसैगरी सरकारले आफ्नै भिजिलान्ते प्रयोग गरेर प्रेसका गाडी तोडफोड गर्ने, सञ्चारकर्मीलाई कुटपिट गर्ने र अनि क्षतिपूतिबापत भन्दै पैसा बाँड्ने गरिएको छ। प्रधानमन्त्री मातहतको कोषले दुईतीन महिनैपच्छिे पटकपटक रकम पुगेन भनेर थप्दै जाने र युवा स्वरोजगार आदिइत्यादि नामका अपारदर्शी कार्यक्रमका माध्यमबाट एउटै दलका व्यक्तिहरूलाई रकम बाँड्दै जाने क्रियाकलापले वास्तवमा बजेटको मर्ममाथि नै अन्याय गरेको छ। मुलुकको वित्तीय स्थितिलाई यस अवस्थामा पुर्यामएकोमा ककसले जिम्मेवारीबोध गर्नुपर्छ? एउटा त सरकारमा भएका कार्यकारी अधिकारीहरू यसमा जिम्मेवार हुनुपर्छ। लोकतान्त्रिक व्यवस्थामा यस्ता क्रियाकलपाले कसरी वैधानिकता पाउँछन्?
भ्रष्टाचारको उदाहरण खोज्न सूक्ष्मरूपमा हेर्नु पर्दैन। बजेटको अपारदर्शिता पनि आफैँमा भ्रष्टाचारको एउटा प्रमाण हो। किनभने, पारदर्शिता, उत्तरदायित्वबोध र विधिको शासन भ्रष्टाचारविरुद्धको सशक्त आन्दोलन हो। सरकारले राजनीतिक सुधारको पक्षमा जाने र सभ्य लोकतान्त्रिक समाजको निर्माण गर्ने सोच राखे वित्तीय पारदर्शीता यसको पहिलो पाइलो हुनसक्थ्यो। होइन, अधिनायकवादी चिन्तनबाटै सरकार निर्देशित हुने हो भने जतिसुकै ठूलो बजेट ल्याए पनि त्यो जनतासम्म पुग्दैन। जनताको सन्देह कायमै रहन्छ। बजेट त ठूलो छ तर किसानले मल पाउँदैनन्, बीबिजन पाउँदैनन्। साना पावरट्रेलरदेखि ठूला ट्याक्टरसम्मको मूल्य घट्दैन। त्यसका लागि चाहिने इन्धन उपलब्ध हुनसक्दैन। भौतिक पूर्वाधार निर्माण हुँदैन। किसानको उत्पादन बजारसम्म सजिलै पुग्दैन। सिराहा, सप्तरीमा उत्पादक किसानले २० रुपैयाँ किलोमा बेचेको आँप काठमाडौंको बजारमा ८० रुपैयाँ पर्छ। धादिङ वा पाँचखालमा २० रुपैयाँमा बेेचिएको बोडी, सिमी काठमाडौंमा ६० देखि ८० रुपैयाँ पर्छ। किन? यसबाट कस्लाई फाइदा भएको छ। उत्पादक किसान र उपभोक्ता त ठगिएकै छन्। सरकारी संरक्षण नभईकन मूल्य यसरी अनियन्त्रित किसिमले बढ्नसक्छ? सामूहिकरूपमै कालोबजारी हुन्छ र? मौका छोपीछोपी सबै उपभोग्य वस्तुको कालोबजारी किन र कसरी हुन्छ? कार्टेलिङ, सिन्डिकेटालिजमजस्ता क्रियाकलाप सरकारी अधिकारीहरूको कुनै न कुनै रूपको संलग्नताबिना संभव हुँदैन। यस्तो प्रकृतिको सरकार कार्टेलिङ र सिन्डिकेटालिजमको पक्षमा हुन्छ भन्ने सबैले मनन गर्नुपर्छ। पूर्ण या आंशिक भनेर बजेटको एउटामात्र आयामलाई मात्र हेरेर कसैको पनि जिम्मेवारी पूरा हुँदैन।
सामान्यतः लोकतन्त्रमासरकार जनतालाई सेवा दिने निकाय मानिन्छ। जनवादी वा जनमुखी भन्ने दाबी गर्नेहरू सरकारमा भए आफूलाई जनताका सेवक घोषणा गरेर थाक्दैनन्। यथार्थमा भने तिनीहरू कहिल्यै जनताका पक्षमा हुँदैनन्। राज्यवादी चिन्तन भएकाहरूका लागि शासक ठूलो, बलियो र सर्वशक्तिमान हुन्छ। त्यसैले सर्वसत्तावादी पनि हन्छ। लोकतन्त्र र अधिनायकवादबीचको सामान्य फरक यही हो। लोकतन्त्रमा छोटै समयका लागि किन नहोस् बेलाबखत यस्ता विचारले पनि शासनको अवसर पाउँछन्। तर यस सोचभित्र लोकतान्त्रिक शक्तिले भने शासनको अवसर सामान्यतः पाउँदैन।
बजेट जनतासँग उठाइएको रकमको आय र व्ययको दस्ताबेज हो। जनताले तिरेको कर खर्च गर्ने अनुमति दिने अहिले कुनै संस्था छैन। त्यसको अनुमोदन कसले गर्ने भन्ने अहिलेको सबैभन्दा गम्भीर प्रश्न हो। त्यसको अनुमोदन हुन सकेन भने त्यसले नैतिक, प्राकृतिक, वैधानिक रूप लिन पनि सक्दैन। त्यस अवस्थामा जनता राज्यको ढुकुटीमा पैसा राख्न बाध्य हुँदैनन्। अहिलेको बजेटको द्विविधाको दार्शनिक पक्ष यही हो। राज्यको ढुकुटीमा पैसा हाल्ने जनताको स्वार्थ हुन्छ। त्यो स्वार्थ हो राष्ट्रिय स्वाधीनताको रक्षा र आन्तरिक सुरक्षा, न्यायको प्रत्याभूति, नागरिक स्वतन्त्रता, स्वास्थ्य र शिक्षाको व्यवस्था। त्यसपछि सरकारका नियमित कामहरू हुन्छन्। जहाँसम्म विकासको विषय छ छ हामीलाई अल्पविकसित भन्न पनि अब त लज्जाको विषय भइसक्यो। अविकसित मुलुकमा राज्यको ढुकुटीबाट हुने खर्चको १५ प्रतिशत प्रतिफल पनि जनतासम्म पुग्छ या पुग्दैन भन्ने शंकाको विषय भइसक्यो। बाँकी त सरकार, कर्मचारीयन्त्र, व्यापारजगतमै अलमलिएर बस्ने गर्छ।
व्यापारीहरूले पूर्ण बजेटको माग गरेका छन्। त्यसको तात्पर्य चार खर्बभन्दा बढी रुपैयाँ बजारमा ओर्लिनु हो। आजको आजै नहोला तर त्यसैबाट नेपालको उद्योग, व्यापारको संचालनमा निकै ठूलो पुँजीको विस्तार एवं निर्माण पनि सुरु हुन सक्छ। त्यो नहुँदा व्यापार व्यवसायमा संकुचनको भय हुनसक्छ। यसै पनि अहिले मन्दीको स्थिति भनौं भने त्यो पनि होइन। तर कुनै कुनै क्षेत्रमा मन्दीको स्थितिमा छ। हुनत, तर मन्दीको प्रकृति सधैँ यस्तै हुन्छ। एउटा क्षेत्रबाट सुरु भएको असरले अरूलाई पनि प्रभावित गर्दै बढ्छ। राजनीतिक स्थिति अन्योलग्रस्त भएको अवस्थामा महालेखापरीक्षक, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, संसद् जस्ता शासनलाई उत्तरदायी बनाउने स्वतन्त्र निकाय नभएको स्थिति र वित्तीय पारदर्शिताको कल्पनै गर्न नसकिने अवस्थालाई उपेक्षा गरेर बजेटमा ध्यान केन्द्रित हुनु राजनीतिक दलहरूका लागि गैरजिम्मेवार अवस्था हुन्छ र उनीहरू तयार हुनसक्दैनन् भन्ने व्यवसायीहरूले बुझ्न सक्नुपर्छ। संकट व्यवसायीको मात्र होइन। संकटमा सिंगो मुलुकै छ। संकटले राष्ट्रलाई नै घेरेकाबेला आफूमात्र बच्ने उद्यम कुनै वर्ग, समूह वा कसैले पनि गर्न मिल्दैन। यस्तै बेलामा त भ्रष्टाचारले मौलाउने अवसर पाउने, कुशासनले झाँगिन मलजल पाउने र अधिनायकवाद बलियो हुँदै जाने मौका पाउने हो नि! यस्तै बेला निरंकुशता दह्रोसँग अगाडि आउन सक्छ। यस्तै अवस्थामा आन्तरिक शान्ति र व्यक्तिको सम्पत्ति, न्यायिक निकाय सबैलाई अर्थहीन बनाइन्छ र राज्य कुनै विदेशी शक्तिप्रति निर्भर हुँदैजान्छ। सत्तासीनहरूले भने यस्तै अवस्थामा आफूलाई बढी शक्तिशाली ठान्न थाल्छन्।
स्वाभाविक रूपमा कुशासनको चक्रभित्र राज्य परिसकेपछि भ्रष्टाचार, आन्तरिक असुरक्षा, छिटफुट गृहयुद्धजस्ता घटना हुन्छन्। जातीय द्वेष चर्कने, सरकार ढाल्ने र बचाउने खेलमै राजनीति केन्द्रित हुने, राज्य शासकीय र आर्थिक असफलतामा भासिने हुन्छ। यस्ता असंगतिहरू एक अर्कालाई सँगसँगै लिएर आउछन् र सँगै अगाडि बढ्छन्। यसैले मुलुकलाई समग्रमा अस्थिरतातर्फ धकेल्छ। त्यसै अवस्थाको फाइदा विदेशी शक्तिले लिन्छन्। संसारको कुनै पनि भूखण्ड स्रोतविहीन छैन। तर अर्को राष्ट्रसित रहेको स्रोतको इर्ष्या नगर्ने देश या राष्ट्र पनि कुनै छैन। ऊसित भएको स्रोत मसित भइदिएको भए म धेरै धनी हुन्थेँ भन्ने भावना हामी नेपालीमा मात्र हुने होइन। यो त मानव विकास क्रमसितै जोडिएको छ। त्यसैले अहिलेको बजेट वर्तमान राजनीतिक धुमिल अवस्था सापेक्ष नै हुनुपर्छ।
झन्डै तीन हजार वर्ष पहिले कन्फ्युसियसले भनेका छन् - 'स्वर्गले भन्यो म तिमीलाई पृथ्वी दिन्छु, माटोमा बस्ने सबै तिम्रा प्रजा हुन्, ती तिम्रा अनुयायी हुनसक्छन् तर यो कुरा चाहिँ उनीहरूलाई कहिल्यै नबताउनु।' यो सामन्ती संस्कारको अभिव्यक्ति हो। विडम्बना, एक्काईसौँ शताब्दीको नेपाल सरकार पनि यही सामन्ती सोचमा अगाडि बढेको छ। आफ्नो व्यवहारले 'म राजा हुँ, तिमीहरू प्रजा हौ, म जे भन्छु तिमीहरू गर्दै जाऊ' भन्दा जनताले के ठान्लान् भन्ने पनि सोचेन।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस