अर्थतन्त्र, बजेट र अर्थ मन्त्री
२४ असार २०६९
•
१२ मिनेट पाठ
अर्थतन्त्र, बजेट र अर्थ मन्त्री
अर्थ मन्त्री वर्षमान पुनलाई यतिखेर नेताहरूको ढोका घच्घच्याउने चटारो देखिन्छ। 'पूर्ण बजेट ल्याउन पाउँ' भन्ने मिसनमा लाग्नुभएका अर्थ मन्त्रीले आफ्नो पार्टी अध्यक्षदेखि नागरिक समाज, 'पुँजीवादी वर्ग' र उदार अर्थतन्त्रका प्रवक्तासमेत प्रयोग गर्न थाल्नुभएको प्रष्ट देखिन्छ।
नेपाली काँग्रेस र एमालेका नेताहरू अर्थ मन्त्रीको यो आग्रह भए पनि कानमा तेल हालेर बसेका छन्। डा. बाबुराम भट्टराईले राजीनामा नदिएसम्म राष्ट्रिय सहमति कायम नहुने र राष्ट्रिय सहमतिबिना बजेट ल्याउन नदिने उनीहरूको अडान अवरोध बनेको छ। यो 'डेडलक' कहिले खुल्ने हो? शायद कम्प्युटर प्रयोग नगर्ने ज्योतिषहरूले मात्र त्यसको अडकल लाउलान् भन्ने अनुमान गर्न सकिन्छ।
विद्यमान अति तरल राजनीतिक स्थितिलाई जतिसुकै अनिश्चितताको बादलले ढाकेको भए पनि अर्थ मन्त्रालयमा भने मध्य रातमा सबिस्तार मैमबत्तिहरू बल्न थालेका छन्। सरकार कामचलाउ भए पनि बिनाबजेट मुलुकको काम चल्नेवाला छैन।
बजेट भनेको सरकारले आगामी वर्षका लागि तयार पारेको आय र व्ययको अनुमानित पुस्तक मात्र होइन। न त यो सरकारले तोकेका प्राथमिकताका क्षेत्रमा गरिने स्रोत र साधन प्रयोगको अनुसूची मात्रै हो। यो त मुलुकले आगामी वर्षहरूमा अवलम्बन गर्ने आर्थिक नीति तथा त्यसका निमित्त आवश्यक स्रोत र साधन जुटाउने रणनीतिमात्र हो। यसै कारण बजेटको दूरगामी प्रभाव हुन्छ।
बजेट प्रस्तुतिको केही दिनअघि देशको आर्थिक सर्वेक्षण सार्वजनिक गरिन्छ। आर्थिक सर्वेक्षणले विगत र वर्तमानको आर्थिक एवं मौद्रिक स्थितिको स्पष्ट तस्बिर प्रस्तुत गर्छ। अनि त्यसैको जग वा आधारमा बजेट तर्जुमा गरिन्छ। आर्थिक सर्वेक्षणले तथ्याङ्कहरू प्रस्तुत गर्छ। तर विश्लेषण भने न्युन हुन्छ। निष्पक्ष विश्लेषणका आधार अभावमा तथ्याङ्कहरूको जतिसुकै महत्व भए पनि तिनीहरू अन्ततोगत्वा अंकमै सीमित हुन्छन्। हाम्रो मुलुकमा 'विश्लेषण' कार्य जतिसुकै महत्व भए पनि त्यो ओझेलमा पर्ने गरेको पाइन्छ। विश्व बंैक तथा एसियाली विकास बंैक जस्ता ठूला संस्थाले गर्ने विश्लेषणात्मक अध्याय पनि पुराना तथ्याङ्कमा आधारित हुन्छन्। यी विश्लेषणमा अग्रिम उपयोगिता न्युन पाइन्छ। यो स्थितिलाई सर्वाङ्गीण विकास अध्ययन केन्द्र (आइआइडिएस) ले भर्खरै आफ्नो लामो अध्ययनपश्चात् प्रस्तुत गरेको संक्षिप्त प्रतिवेदनले पूरा गर्ने प्रयत्न गरेको छ। अन्यत्र जस्तै हाम्रो मुलुकमा पनि अधिकांश तथ्याङ्क सरकारले नै तयार पार्ने हो। तिनै तथ्याङ्कका आधारमा निर्णय लिने गरिन्छ। तर आर्थिक सर्वेक्षणमा जस्तै तथ्याङ्क प्रस्तुुतकर्ताले प्रायः विश्लेषण गर्दैनन्। आइआइडिएसको प्रतिवेदनले यो प्रथा त्यागेको छ। त्यसैले यसको अध्ययन प्रतिवेदनको महत्व बढेको छ।
हाम्रो मुलुकको विषयमा तयार पारिएका अन्य प्रतिवेदनसरह नै यो प्रतिवेदनमा पनि हामी गरिब छौँ र समकक्षी मुलुकहरू हामीले भन्दा दु्रत गतिले उन्नति गर्न सफल भएका छन् भन्ने तथ्यलाई प्रमाणित गर्ने तथ्याङ्क प्रस्तुत गरिएको छ। वास्तवमा हाम्रो प्रतिव्यक्ति आय यु.एस. डलर पाँच सयभन्दा कम हुनु र हाम्रो मानवीय विकास सूचकांकका आधारमा १५७ औं स्थान तोकिनुबाट नै हाम्रो स्थिति स्पष्ट हुन्छ। झन् त्यसमा पनि चार जना नेपालीमध्ये एक गरिबीको रेखामुनि हुनुले हाम्रो दयनीयताका विषयमा चर्चा/परिचर्चाको महत्व नै स्थापित हुँदैन। झण्डै चार दशकसम्म गृहयुद्धमा परेको छिमेकी राष्ट्र श्रीलंका अथवा वर्षेनि प्राकृतिक र मानवीय प्रकोपमा परिरहने बंगलादेशले सन् २००७-२०११ बीच आर्थिक वृद्धि दर ६ प्रतिशतभन्दा बढी प्राप्त गर्दा पनि हाम्रो वृद्धिदर उनीहरूको भन्दा आधाको हाराहारीमा हुनु विडम्बना हो। प्रश्न उठ्छ- विपरित परिस्थितिमा पनि उनीहरूले किन राम्रो गर्न सके? भारत सदा 'हिन्दु रेट अफ् ग्रोथ' बाट ग्रस्त थियो। अब ऊ हात्ती लस्केझैँ लस्किन थालेको छ। चीन त बाघको चालामा दगुरिराखेको छ। यस्तो परिस्थितिमा पनि हामीले सन्तोषजनक उन्नति गर्न नसक्नुका कारण के-के हुन सक्छन् त?
छोटकरीमा भन्ने हो भने हाम्रो उत्पादन र उत्पादकत्वमा आशा गरिएअनुसार परिवर्तन हुन सकेको छैन। जबसम्म उत्पादनमा वृद्धि हुँदैन तबसम्म गरिबी घट्ने सम्भावना रहँदैन। सरकारी प्रयास मात्रले उत्पादन नबढ्ने प्रष्ट भइ नै सकेको छ। चाहेर होस् वा नचाहेर होस्, अर्थतन्त्रलाई लर्ड केन्सले प्रतिपादन गरेको नीतिकै सेरोफेरोमा रहेर अगाडि बढाउनुपर्ने परिस्थिति छ। अहिले सरकारले उन्नति पथको बाटो देखाउनुपर्ने हो। उत्पादन मुलुक आर्थिक नीति तथा नियम कानुनको तर्जुमा गर्ने र त्यसैअनुरुपको नीति अवलम्बन गर्नुपर्ने हो। सरकारले अवसरहरूको खोजी गर्न सकेको खण्डमा उत्पादन बढ्न सक्छ र रोजगारी पनि। यसबाट गरिबी र विपन्नता क्रमिकरुपले अन्त हुन सक्छ। विश्व विकासको मानचित्र हेर्ने हो भने पनि जुन-जुन सरकारले जनतालाई अवसर प्रदान गर्न सके, ती मुलुकमा दु्रत गतिले उन्नति हुन सक्यो। फलस्वरुप गरिब मुलुकहरूको संख्या क्रमिकरुपले घट्न थालेका छन्। ती मुलुकका गरिबीको रेखामुनि भएको जनसंख्याको प्रतिशत पनि घट्दै गएको छ।
यो परिप्रेक्षमा आइआइडिएसको प्रतिवेदनको अध्ययन अर्थ मन्त्रीका लागि बढी उपयोगी हुने देखिन्छ। उहाँले भाषण गर्दा जस्तै उत्पादन बढाएर गरिबी घटाउन कटिबद्ध हुनुहुन्छ भने प्रष्ट छ कृषि क्षेत्रमा स्रोत र साधनको परिचालनले प्राथमिकता पाउनुपर्छ। आइआइडिएसको अध्ययनअनुसार कृषि क्षेत्रमा रोजगारीको अवसर ९ प्रतिशतले मात्रै वृद्धि हुन गयो भने कृषि उत्पादनको वृद्धि १.२० प्रतिशतले हुनेछ। त्यसैगरी १ प्रतिशत उत्पादकत्व यस क्षेत्रमा बढ्न गएकै खण्डमा कुल कृषि उत्पादन ०.३५ प्रतिशतले हुने देखिन्छ। अर्थ मन्त्रीलाई हाम्रो व्यापार स्थितिमा सुधार ल्याउनु छ भने निर्यात व्यापार नबढाई कुल उत्पादन सम्भव नहुने हुनाले नेपाली रुपियाँको अवमूल्यन अत्यावश्यक भइसकेको छ। अब भारतीय रुपियाँसँग हाम्रो अर्थतन्त्र फलिफाप हुनेवाला छैन।
कुन दिशातर्फ अर्थतन्त्रलाई उन्मुख तुल्याउने हो त्यसको चाजोपाँजो मिलाउने अभिभारा अर्थ मन्त्रीको काँधमा छ। पञ्चायतकालदेखि नै अर्थ मन्त्रालयको अभिभारा अर्थविद्को हातमा सुम्पने परिपाटी चलेको थियो। वर्षमान पुन अर्थविद् हुनुहुन्न। त्यसो त पूर्व अर्थ मन्त्री सुरेन्द्र पाण्डे पनि अर्थविद् होइन। तर, पनि उहाँले कुनै अर्थशास्त्री अर्थ मन्त्रीको कार्यकालमा भन्दा अर्थतन्त्रलाई दयनीय बन्न दिनुभएन। न त उहाँले राष्ट्रिय ढुकुटीलाई कार्यकर्ता पोस्ने स्रोत नै बन्न दिनुभयो। यसै कारण माधवकुमार नेपालको प्रधानमन्त्रीत्व कार्यकालमा पनि उहाँले आफ्नो अलग पहिचान राख्न सफल हुनुभयो। भारतका सफल अर्थ मन्त्रीको नाम लिँदा पी.चिदम्बरमको नाम लिइने गरिन्छ। चिदम्बरम पनि वर्षमानजस्तै कानुनविद् हुनुहन्छ। कानुनविद् भएको नाताले वर्षमान पुनलाई कानुनसम्मत र गैरकानुनसम्मत कार्य छुट्याउन सजिलो छ। जहाँसम्म अर्थविद्हरूको कुरा छ अब त हाम्रो मुलुकमा दक्ष अर्थविद्हरूको अभाव छैन। अर्थ मन्त्रीलाई तिनको सल्लाह सदा प्राप्त नै हुनेछ।
धेरै अर्थमा वर्षमान पुनका निमित्त यो बजेट चुनौतीपूर्ण हुनेछ। कम उमरमा उहाँ कसरी अध्यक्ष प्रचण्डको 'ब्ल्यु आइड् ब्वाइ' बन्नुभयो? त्यो प्रष्ट्याउनमात्र होइन, मुलुकलाई नयाँ दिशा दिन उहाँ कति सक्षम हुनुहुन्छ त्यसको प्रमाण पनि यो बजेट प्रस्तुतिले दिनेछ। आखिर उहाँकै कदका देङ स्याओ पेङलाई दुई-दुई चोटी सजाय दिइसकेपछि अध्यक्ष माओले आफैँ सत्ता सुम्पनुभएको थियो। 'मुसा समात्ने बिरालोको रङको महत्व हुँदैन' भन्ने देङले चीनमा के/कस्तो परिवर्तन ल्याउनुभयो, त्यो इतिहास भइ नै सकेको छ। किन्सको अर्थशास्त्र अनुकरण गर्न हिचकिचाए पनि देङ नीति अनुकरण गर्न त पुनलाई अप्ठ्यारो परोइन। हेक्का रहोस्, देङले उच्च शिक्षा पाएका थिएनन्, पुन त कानुनका स्नातक हुन्।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस