माओवादीको रूप र सार
१५ साउन २०६९
•
११ मिनेट पाठ
माओवादीको रूप र सार
झण्डै दुई वर्षअघि नेपाल वन टेलिभिजन च्यानलले एउटा सनसनीपूर्ण समाचार प्रसारण गरेको थियो। प्रसारित समाचारअनुसार माओवादी पार्टीका प्रभावशाली नेता एवं उक्त पार्टीका विदेश विभाग प्रमुख कमरेड कृष्णबहादुर महराले एक जना कथित चिनिया कूटनीतिज्ञसँग ५० करोड रुपियाँ माग्नुभएको थियो।
पैसा माग्नुको मकसदचाहिँ सभासद खरिद गरेर आफ्नो सरकार गठन गर्ने बताइएको थियो।

नेपाली काँग्रेसद्वारा समर्थित माधवकुमार नेपालको कमजोर सरकारले यस काण्डको छानविन गर्ने वचनसम्म जनतालाई दियो। सत्यतथ्य प्रकाशमा ल्याउन पनि चाहेन वा सकेन। त्यसपछि माओवादीको समर्थनमा एमाले पार्टी अध्यक्ष झलनाथ खनालको प्रधानमन्त्रित्वमा सरकार गठन भयो। राष्ट्रिय सहमतिको खोजमा रहेको उक्त सरकारलाई महरा काण्डका विषयमा छानविन गर्ने सुझबुझ हुने कुरै भएन।
माओवादी पार्टी उपाध्यक्ष डा.बाबुराम भट्टराईको नेतृत्वमा गठित सरकारका पालामा त झन् यस्तो काण्ड स्वाभाविकरुपमा ओझेलमा पर्ने नै भयो। जसले गर्दा हामी जनसाधारणलाई यस काण्डका विषयमा केही पनि थाहा छैन। यतिसम्म पनि थाहा छैन कि यो सत्य थियो वा मिथ्या? सत्य हो भने माग गरेको रकम मुलुकमा भित्रियो वा भित्रिएन? भित्रिएकै भए त्यसले सो काण्डको बाइस महिनापछि पार्टी उपाध्यक्षको नेतृत्वमा गठन भएको सरकार बन्नका निमित्त के/कस्तो भूमिका खेल्यो? यी प्रश्नको उत्तर पेरिसडाँडामा सजाइएका कोठाको कार्पेटमुन्तिर निसास्सिइरहेका होलान्। कुनै दिन शक्तिखोर भिडियो काण्ड जस्तै महरा काण्डका तथ्य पनि उद्घाटित हुने आशा गरौं।
हालै सम्पन्न माओवादी पार्टीको विस्तारित बैठकले उक्त पार्टीको एउटा ठूलो रहस्य सार्वजनिक गरेको छ। जसरी महरा टेलिफोन वार्ता (यदि सही हो भने )ले पार्टीका विदेशी मित्रहरुसँग सत्ता प्राप्तिका निमित्त कसरी आर्थिक स्रोत जुटाउन हात पसार्दारहेछन् भन्ने उदाहरण प्रस्तुत गरेको छ, त्यसरी नै पूर्व कमाण्डरहरुको ६ बुँदे मागसहितको सामूहिक राजीनामाले त्यस पार्टीको राजनीतिक चरित्रमा ठूलो प्रश्न चिह्न खडा गरेको छ।
मैले चिने/जानेका नयाँ तथा पुराना पुस्ताका सबै कानुनविद्लाई प्रश्न गरें- राजनीतिक पार्टीले व्यापार गर्न पाउँछ कि पाउँदैन? सबैको उत्तर थियो- कानुनी प्रावधान नभए पनि राजनीतिक पार्टीले व्यापार गर्ने हो भने उसलाई राजनीतिक दल कहलाउने हैसियत प्राप्त हुँदैन। साउन ३ गतेका दिन छापिएका सबै दैनिक समाचारपत्रहरुमा उल्लेख भएअनुसार माओवादी पार्टीले मुनाफा कमाउनका निमित्त जनमैत्री अस्पताल सञ्चालन गरेको समाचार प्रकाशित गरिएको थियो। त्यो अस्पतालमा पार्टीले ५ करोड लगानी गरेकोे रहेछ।

माओवादी राजनीतिक दल नहुँदो हो त शायद कसैले अस्पताल खरिद बिक्रीका विषयमा चाख राख्दा हुन्। तर, एक टीप रक्तचन्दन गायव हुनुले अवैध व्यापारको संलग्नता इंगित गर्छ। अनि ७० लाख रुपियाँको अघिल्लो पटकको खुद मुनाफा र पछिल्लो पटकको ३० लाख रुपियाँको यार्चागुम्बाको व्यापारचाहिँ 'धमिलो' प्रक्रियाको व्यापारमा भएको माओवादी संलग्नता देखाउँछ। प्रकाशमा आएका यी तीन गतिविधिले पार्टीको वैध र अवैध व्यापारमा संलग्नता प्रष्टिन्छ। यी विषयमा निर्वाचन आयोग शायद अनविज्ञ छ। माओवादी पार्टीले १२ बुँदे सम्झौता गरेर भूमिगत अवस्था छाडेदेखि नै यसलाई अपारदर्शी पार्टीको आरोप लाग्दै आएको थियो। त्यसैगरी लडाकुलाई क्यान्टोन्मेन्टभित्र राख्ने र तिनीहरुको भरणपोषणका निमित्त नेपाल सरकारबाट रकम उपलब्ध गराइने प्रावधान भएदेखि नै लडाकुहरुको नाममा वास्तविक हिसावले कति रकम खर्च भयो, त्यो सबै रहस्यको गर्भमा रह्यो। अब बाध्य भएर आर्थिक अनियमितता छानविन गर्न पार्टीका सचिव पोष्टबहादुर बोगटीको संयोजकत्वमा पोलिटब्युरो सदस्य हितराज पाण्डे र केन्द्रीय सदस्य डोरप्रसाद शर्मासहितको तीन सदस्यीय 'आर्थिक छानबिन समिति' गठन भएको घोषणा गरिएको छ। विडम्बना नै हो, हाम्रो जस्तो विपन्न मुलुकमा सरकारी ढुकुटीबाट उपलब्ध गराइएको रकम दुरुपयोगको छानविन पनि आन्तरिक प्रक्रियाबाट गरिन्छ। अनि छानविन हुन आँटेकामा हामी हर्षित हुन्छौं। वास्तवमा यो कार्य गर्ने दायित्व त अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हुनुपर्ने हो। अन्यथा पनि पार्टी साँच्चिकै राजनीतिक दलको छवि कायम गर्न कटिबद्ध भएको भए कुनै निरपेक्ष छानविन समितिबाट गराइनुपर्ने थियो।

आर्थिक छानबिन आयोग गठन गरिएको अर्को समाचार प्रकाशमा आएको छ। त्यो हो पूर्व उप-प्रधानमन्त्री एवं हाल उक्त पार्टीका स्थायी समिति सदस्य अमिक शेरचनको संयोजकत्वमा पोलिटब्युरो सदस्य लोकेन्द्र बिष्ट र नवराज सुवेदी सदस्य रहेको 'पार्टी नेताहरुको सम्पत्ति छानविन आयोग।' विडम्बनाको कुरा के हो भने मुलुकको स्वयं घोषित उत्कृष्ट र अब्बल दर्जाको सर्वहारा वर्गको पार्टीका नेताहरुको सम्पत्ति छानबिन गर्नुपर्ने अवस्था सिर्जना। हुन त यो पार्टीका कर्मठ कमरेडहरुले गर्न सुहाउने कार्य होइन। उक्त पार्टीको शुद्धीकरण नै गर्नु थियो भने यसका निमित्त पनि मुलुकको गैरराजनीतिक छवि भएका कुनै प्रतिष्ठित व्यक्तिको जिम्मा लगाउनुपर्थ्या। आखिर दूधको साक्षी बिरालो भन्ने उखानसरह यी दुवै आयोगबाट आउने प्रतिवेदन सार्वजनिक भइहाले नै भने पनि तिनको विश्वसनीयतामा सधैं ठूलो प्रश्न चिह्न टाँसिएर रहने पक्का छ।

माथि उल्लिखित काण्ड र हालै भएका घटनाले जतिसुकै चाहँदा पनि माओवादी पार्टीले आफूलाई राजनीतिक पार्टीका रुपमा प्रस्तुत गर्न सकेको छैन। दुई दुई पटक सत्तामा पुग्दा पनि उसको चरित्र माफियाहरुको संगठनसरह नै छ। जुनसुकै हतकण्डा प्रयोग गरेर पनि धन जम्मा गर्न कटिबद्ध रहेका प्रमाण थुप्रै भेट्टाउन सकिन्छ। कुनै समयमा प्रचण्डले भन्नुभएजस्तै हतियार र पैसा सत्ता कब्जाका निमित्त अत्यावश्यक भएको हुनाले पार्टी सत्तामा पुग्दा पनि धन आर्जनको मोह त्याग हुन सकेको छैन। 'अरुले पनि कमाएका थिए, अब यिनले कमाए के भो त?' भन्ने बुजु्रगहरुको हाम्रो समाजमा अभाव छैन। त्यसैले गर्दा माओवादी पार्टी नै धन सम्पत्तितर्फ केन्द्रित भएको वा नभएको विषयमा जनमानसले खासै चासो देखाएको पाइँदैन। तर, अब त यो विषय पार्टीभित्र चर्कन थालेको देखिन्छ। झन् त्यसमा पनि नामको बीचमा ड्यास थपेर छुटि्टएको मोहन वैद्य अध्यक्ष रहेको पार्टीले आफ्नो अंश खोज्न थालेको माहोलमा लुटेको धनले नया" नेपालमा पहिलो कोत पर्व निम्त्याउने लक्षणहरु देखा पर्न थालेका छन्। सीपी गजुरेल ४ अर्ब रुपियाँ गायब भएको भन्दै हिँड्न थाल्नुभएको छ। हाम्रो क्षितिजमा सिकागोमा भएको 'भ्यालाइण्टेन म्यासाकार' दोहोरिने लक्षणहरु देखिन थालेको छ। हुन सक्छ, यसपछि माओवादीहरुको चरित्र बदलियोस् र यो साँच्चिकै राजनीतिक दलका रुपमा स्थापित होस्। यो प्रक्रियाको मूल्य ठूलो हुनेछ र खती पनि ज्यादै ठूलो हुने निश्चित छ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस