४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
विचार

उन्नतिका फराकिला सडक

सरोज धिताल- सडकहरू पहिले बन्नुपर्छ। अनि पो त्यसमा गाडी गुड्छन्। गाडी गुड्न थालेपछि मात्र सडक बनाउँछु भनेर त कहिल्यै केही बन्दैन। कहाँबाट कहाँसम्म पुग्ने सडक बनाउने, कस्तो सडक बनाउने र कहिलेसम्म बनाइसक्ने भन्ने चाहिँ योजनाकार र निर्माणकर्ताको बुद्धि, बर्कत र विवेकको विषय हो।
यतिबेला हाम्रो देशलाई अनगिन्ती सडक चाहिएका छन्। तीमध्ये कुनै पनि चानचुने सडक हैनन्। गरीबीबाट समृद्धिसम्म पुर्‍याउने, अशिक्षाबाट शिक्षासम्म पुर्‍याउने, अस्वस्थताबाट सुस्वास्थ्यसम्म पुर्‍याउने, अन्यायबाट न्यायसम्म पुर्‍याउने फराकिला, बलिया, राम्रा लोकमार्गहरू खोजिरहेको छ देश। यस्ता सडकहरू स्थूल रूपमा हाम्रो भूमिमाथि देखिने द्रूतधावनमार्गका रूपमा, अर्धदृश्य आकाश मार्गका रूपमा, अदृश्य साइबर मार्गका रूपमा हरेक रूपमा चाहिएको छ। अब एकदम कम समयभित्र बनेनन् यस्ता सडक भने झन्झन् सानो र खुला हुँदैगएको विश्वग्रामभित्र खाते देशका भुस्याहा नागरिकको हैसियत हुनेछ हाम्रो।
थरीथरीका संयोगले अनेक अनुहारका 'नेता' भनिने प्राणीहरू यस्ता सडक बनाउने उत्तरदायित्व बोक्न पुगेका छन्। यिनीहरू स्वयंकै निम्ति भने अविद्याबाट विद्यासम्म, अविवेकबाट विवेकसम्म, पाखण्डबाट पारदर्शितासम्म, बेइमानीबाट इमानदारीसम्म पुर्‍याउने आन्तरिक मार्गहरूको आवश्यकता छ। बनाइरहनु पर्ने सडक हैनन् यी। यस्ता दीव्य मार्ग त सदासर्वदा तयारै छन्। ती लुकेका पनि छैनन्, युगौँ युगदेखि स्पष्ट देखिने गरी विद्यमान छन्। तर यस्ता फराकिला र उज्याला सडकमा हिँड्न नेतालाई सहज छैन। अत्यन्त कष्टकर प्रतीत हुन्छन् तिनलाई यी बाटाहरू। जबसम्म ती स्वयं आँफैले हिंड्नुपर्ने बाटामा हिंड्ने आँट गर्दैनन्, देशका निम्ति तिनले उपयुक्त बाटो बनाउन पनि सत्तै्कनन्।
अचम्मको छ मान्छे भन्ने प्राणी। साधुको भाषामा बोल्दा ऊ आफूलाई सैतान र भगवानको मिश्रण बताउला। क्रान्तिकारीको भाषामा बोल्दा ऊ आफूभित्र विपरीतहरूको एकताको कुरा गर्ला। कुनै बेला कविका शब्दमा 'जुनसुकै बादलमा चाँदीको घेरा हुन्छ' पनि भनिदिन्छ ऊ।
खै! कुन 'ईश्वरांश'ले गर्दा हो कुन्नि, घना बादलमा लागेको चाँदीको कुन उज्यालो घेराले गर्दा हो कुन्नि, बजेट नआएको बेला पनि, सर्वत्र गन्जागोल भइरहेको यस्तो बेला पनि, एउटा राम्रो काम गरेछ सरकारले - ट्रान्स युरेशिसा इनफर्मेसन नेटवर्क (युरोप र एसिया जोड्ने संचार संजाल) को चौथो चरण (टीईआईएन ४)मा नेपाललाई प्रवेश गराउने प्रतिबद्धता जनाएर र यसको तेस्रो चरणको शुल्क तिरिदिने निर्णय गरेर।
देशका निम्ति बनाउनै पर्ने अत्यन्त महत्वपूर्ण सडकको शिलान्याश हो यो। खासै उल्लेख्य लगानी नभएको, मिडियाका निम्ति खासै 'सेन्सेसनल' मूल्य नभएको, धेरैका लागि उपयोगिता थाहा नभएको यो सरकारी निर्णयले एक पटक फेरि उज्यालोको सानो बीउ रोपेको छ। यस देशका निम्ति अलिकति आशा जन्माएको छ। उज्यालोका धेरै बीउहरू कुहिएर जाने गरेको यस देशमा, सम्भावनाका धेरै भ्रूण तुहिएर जाने गरेको यस देशमा यो शिलान्यासले कति सार्थकता ल्याउने हो त्यो हेर्न बाँकी छ। तर केही उल्लेख्य काम भएको हो यो, केही राम्रो कुरा त भएको हो यो।
संसारभरका वैज्ञानिक अध्ययन­अनुसन्धानकर्तलाई जगतकल्याणका निम्ति सार्थक सम्पर्कमा बाँधिराख्ने अत्यन्त महत्वपूर्ण काम गरिरहेकाछन् संचारका विभिन्न विश्वसंजाल ले। सन् २००० मा जम्मा भएका युरोप र एसियाका केही अगुवाले दुई महादेशबीचमा अनुसन्धान कार्यका लागि द्रुत गतिको इन्टरनेट सम्बन्धको आवश्यकताबोध गरे । एक वर्षपछि २००१ मा कोरिया र फ्रान्सबीच द्रूत गतिको प्रतिबद्ध इन्टरनेट सम्बन्ध जोडियो। यसको सफलतापछि यति राम्रो कुरालाई द्विपक्षीयमात्र नराखी क्षेत्रीय स्तरको सञ्जालमा विकास गर्ने प्रयत्न भयो र सन् २००६मा ट्रान्स युरेसिया संचार संजालको दोस्रो चरणको सुरु भयो। चीन, जापानजस्ता शक्तिशाली एसियाली देशहरू त्यो सञ्जालमा प्रवेश गरे र युरोपका करिब सबै देशलाई जोड्ने सीईएएनटी भनिने अर्को सञ्जालसँग यी एसियाली मुलुकहरू जोडिए। सन् २००८ मा यो सञ्जाल ले फेरि चोला फेर्‍यो र टीईएएन ३ का रूपमा अझ धेरै एसियाली देशहरूलाई अँगालोमा बाँध्यो। सन् २००९ मा त यो दक्षिण एसियासम्मै आइपुग्यो। दोस्रो चरणदेखि नै केही नेपाली प्राविधिक तथा संचार प्रविधिमा चासो राख्ने नेपालीहरूले परबाट ताक हेरेर बसिरहेका थिए। जसरी भए पनि आफ्नो देशलाई यस सञ्जालको तेस्रो चरणमा नपसाई हुँदैन भनेर अनेक कसरत गरिरहेका थिए। यसको महत्वबोध सरकारलाई होस् भनेर पनि उनीहरू प्रयत्न गरिरहेका थिए। वस्तुतः यो उत्तरदायित्व राज्यको नै हुनुपर्ने हो। तर सबैले बुझ्नसक्ने कारणहरूले गर्दा यो काममा अगुवाइ सरकारले हैन, नागरिक समाजको त्यो सानो अंशले गर्नुपर्‍र्यो। जेहोस्, जसरी होस्, जसका कारणले होस्, सुरुदेखि नै नेपाल त्यो सञ्जालको सदस्य हुनसक्यो।
तर, पसेरमात्रै त पुग्ने हैन। अडिन सक्नु भने सहज थिएन। सदस्यताका निम्ति तिर्नुपर्ने शुल्कमा गरिब नेपालका लागि ८० प्रतिशत मिनाहा भए तापनि २० प्रतिशतमात्रै तिर्नु पनि 'कमिलालाई केको पहिरो' जस्तो थियो उत्साही व्यक्तिहरूको त्यो समूहका लागि। सुरुमा केही उत्साही संस्थाका उत्साही व्यक्तिका भरमा यता उताबाट केही रकमको जोहो गरेर पैसा तिरे पनि बारम्बार त्यसै गरिरहन सम्भव भएन। 'अब त सरकारको साथ चाहियो' भन्ने बुझाउन धेरै गाह्रो पर्‍यो। तथापि, लामो प्रयत्नपछि अन्ततोगत्वा सरकारले उचित निर्णय लिएको छ। र साँच्चै नै धन्यवादको पात्र भएको छ।
के हुन्छ त यो संजालमा प्रवेश गर्दा? देश विकासमा के मद्दत गर्छ यसले? खान दिन्छ? ओखति दिन्छ? बत्ति बल्छ? मट्टीतेल दिन्छ? शान्ति हुन्छ? 'यस्ता धेरै प्रश्नहरू आउन सक्लान्। यिनको छोटो र सरल उत्तर दिन सजिलो छैन। यस सञ्जालमा प्रवेश गर्नुले मात्रै सबै कुरा समाधान हुने पक्कै हैन। तर एकर्कालाई कोपराकोपर गर्न र धारे हात लगाएर सराप्न छोड्ने हो भने, असफलताका लागि दोष जति अरूलाई पन्छाउन छोड्ने हो भने र यो संजाललगायतका अवसरहरूको सदुपयोग गर्ने हो भने धेरै कुरा हुनसक्छ। ठूलाठूला प्रकोपहरूसँग जुझ्नका निम्ति यस्ता सञ्जालहरूको प्रयोग भएको छ। स्वास्थ्य सेवाका निम्ति संयुक्त अन्तर्राष्ट्रिय प्रयासमा यस्ता सञ्जालहरूले सघाइरहेका छन्। यस शताब्दीमा बढ्दो जनसंख्याका निम्ति खान पुर्‍याउन कसरी उत्पादन बढाउने भनेर जुटिरहेका मानिसलाई यस सञ्जालले मद्दत गरिरहेको छ। ऊर्जाको समस्या कसरी हल गर्ने भनेर जुटेका असल मानिसहरू पनि यस्ता सञ्जालको उपयोग गरिरहेकाछन्। संसारभर छरिएका कलाकार, साहित्यकारलगायतका सर्जकहरूलाई नजिक बनाउने र सिर्जनाका अनगिन्ती इन्द्रेणी तयार गर्ने प्रयत्न यस्तै सञ्जालहरूमार्फत् भइरहेको छ। अर्थात्, अहिलेको भन्दा उन्नत, सुन्दर, न्यायपूर्ण संसार बनाउन यस्ता सञ्जालहरूको उपयोग भइरहेको छ।
हामी नेपाली यस यज्ञबाट बाहिर बस्यौँ भने, भावी पुस्ताले के भन्ला?
राष्ट्रवाद र देशभक्ति अरूलाई सराप्नुमा हुँदैन बरु आफ्ना जनताका निम्ति केही गर्ने चाहनामा हुन्छ। विज्ञान­प्रविधिले धनी र गरिबबीचको खाडल पूर्न सघाउँछ। शोषण अत्याचारलाई निर्मूल पार्ने नाममा विज्ञान प्रविधिलाई नै छेक्ने गतिविधी गर्दा राष्ट्रघात हुनेमात्रै हैन अन्याय, शोषण र अमानवीकरणलाई नै टेवा पुगिरहेको हुन्छ। आफूले जे जानेको छ, त्यसलाई कर्ममा अनुवाद गर्नुमा, हरेक अवसरलाई आफ्नो कालखण्डमा उपयोग गर्नुमा हुन्छ देशभक्ति। देशभक्ति वा कुनै पनि आकर्षक नाराको नाममा अरूलाई सरापेरमात्रै बस्ने, दोष जति अरूलाई थोपर्ने, आफ्नो उत्तरदायित्व अरूमा स्थान्तरण गर्नेजस्ता कसरत भनेको ज्यादै पुराना, सस्ता, घटिया र निरर्थक राजनीतिक अभ्यास हुन्। परम्परागत राजनीतिमा भइरहेका खुट्टा तानातानका हास्यास्पद खेलहरूले न साँच्चैको लोकतन्त्र हुर्काउन मद्दत गर्छन्, न शोषणरहित न्यायपूर्ण समाजको निर्माण गर्न।
यो देश प्रशस्त सम्भावना भएको सुन्दर देश हो। धेरै कुरा हुनसक्छ यहाँ। नगरेका थोरै कुरा गरे पुग्छ। गरिरहेका थोरै कुरा छोडे पुग्छ। अलिकति उज्यालोको खेती गर्न थालौँ। विविधताबीच समानता खोज्न थालौँ। एकार्कालाई सराप्न छोडौँ। जुनसुकै निहूँमा, जुनसुकै रूपमा देखापर्ने पाशविकतालाई निषेध गरौँ। आशा छ। अझै पनि धेरै आशा छ।

प्रकाशित: २५ श्रावण २०६९ ०३:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App