'नेताजात्रा' र नेतृत्व भञ्जन
२९ साउन २०६९
•
१८ मिनेट पाठ
'नेताजात्रा' र नेतृत्व भञ्जन
नेपाली समाज मूलतः मूर्तिपूजक संस्कृतिले बलियोसँग जरा गाडेको समाज हो। नेपाली समाजमा एउटा न एउटाको मूर्ति बनाई पूजा गर्ने संस्कार र परम्परा प्रभावशाली छ। कुनै व्यक्तिलाई देवीदेवता बनाएर, उसको मूर्ति निर्माण गरेर पूजा नगरेसम्म आफूमा क्षमता सृजना नै हुँदैन भन्ने मानसिकता अझै बलियो छ। कसैको मूर्ति बनाउन पाइएन भने कुशको भए पनि मूर्ति बनाएर, गुरू थापेर, पूजाआजा गर्ने प्रवृत्ति महाभारतकालका एकलव्यमा मात्रै भएको प्रवृत्ति होइन। भूपी शेरचनले 'हामी' कवितामा भनेझैं कुनै नै कुनै द्रोणाचार्यको मूर्ति नबनाई आफ्नो खुबी, सीप र क्षमता विकासै हुँदैन भन्ने एकलव्य प्रवृत्ति हाम्रा मनमस्तिष्कमा पनि गढेर बसेको छ।
आफ्नो क्षमतामाथिको आत्मविश्वासको अभावका कारण हामीलाई कुनै न कुनै देवताको खाँचो भइरहन्छ, चाहे त्यो देशी होस् या विदेशी। हुन त समस्याग्रस्त समाजमा धार्मिक आस्था भएका मानिसलाई देवीदेवताको आवश्यकता हुनु अनौठो होइन। त्यसको प्रतिविम्ब राजनीतिमा पनि देखिन्छ, राजा/महाराजाहरूको देवत्वकरणका रूपमा। धार्मिक राज्यको राजनीतिमा कुनै राजा/महाराजालाई देवताका रूपमा पूजाआजा गर्ने चलन कति गहिरोसँग हुँदोरहेछ, त्यसको प्रमाण नेपाली समाज आफैं हो। राष्ट्रनिर्मातादेखि राष्ट्रपितासम्म 'आइकन' बनाएर शाहवंशीय राजा/महाराजाको देवत्वकरण देखे/भोगेको नेपाली समाजले त राजनीतिक नेताहरूको पनि देवत्वकरण गरेकै थियो, 'नायक' खोज्ने क्रममा। बीपी कोइरालालाई महामानव, कृष्णप्रसाद भट्टराईलाई सन्त नेता, गणेशमान सिंहलाई लौहपुरुष र सर्वमान्य नेताको पगरी त्यत्तिकै गुथाइएको होइन। यस्तो देवत्वकरणबाट पुष्पलाल श्रेष्ठदेखि मदन भण्डारी र पुष्पकमल दाहाल 'प्रचण्ड'लाई समेत मुक्ति नदिइनुको पनि आफ्नै कारण छ। कोही मालिक, कोही दास हुने, कोही संरक्षक, कोही संरक्षित हुने अनि कोही पितातुल्य अभिभावक हुने र कोही बालसुलभ मायाको भोका हुने समाजको अन्तरसम्बन्धले देवत्वकरण अनिवार्य बनाउँछ।
नेताहरूलाई सिकार गर्ने खेल
भनिन्छ, जहाँ विश्वास हुन्छ, त्यहाँ अन्धविश्वास पनि हुन्छ। विश्वास र अन्धविश्वासबीच पातलो धर्कोले विभाजन गर्ने भएकाले समाजमा अविश्वासको अस्तित्व पनि नहुने कुरै भएन। नेपाली समाजमा पनि विश्वास-अन्धविश्वासको धारासँगै अविश्वासको धारामा पनि छ, भलै त्यो तिरतिरे धारोकै रूपमा किन नहोस्। धार्मिक समाज र धार्मिक राज्यमा देवत्वकरणको धारा बलवान हुनु स्वाभाविकै हो। यहाँ सन् १८४५ मा व्यक्त भएको कार्ल मार्क्सको प्रसिद्ध सूत्रात्मक भनाइ स्मरणीय छ, 'हरेक युगमा शासक वर्गको विचारकै बोलवाला हुन्छ।' त्यसको अर्थ शासित वर्गको विचारको अस्तित्व नै हुँदैन भन्न खोजेको होइन तर त्यस्तो विचारको प्रभुत्व हुँदैन। देवत्वकरणका सम्बन्धमा पनि शासक वर्गको विचारभन्दा भिन्न मतको अस्तित्व नकार्न सकिँदैन। धार्मिक-सांस्कृतिक क्षेत्रमा बुद्ध र चार्वाकहरूले हिन्दु धार्मिक मतबाट गरिएको देवत्वकरणको विपक्षमा थालेको अभियान आफैं त्यसको द्योतक हो। राजनीतिक क्षेत्रमा पनि राजा/महाराजाहरूको देवत्वकरणविरुद्ध थालिएको लोकतान्त्रिक आन्दोलन त्यसकै प्रतीक हो। तर, विडम्बनाको कुरा, लोकतान्त्रिक आन्दोलनका नेताहरूलाई पनि देवत्वकरणको शिकार बनाउने गरिएको छ, 'नायक'कै खोजीको सिलसिलामा।
पुरानो सत्ता, शक्ति र सम्पत्ति प्रतिष्ठानका मठाधीशहरूका लागि लोकतान्त्रिक नेताहरूको शिकार प्रिय खेल हो। त्यस्तो खेलमा खली भइसकेका ती मठाधीशलाई राम्ररी थाहा छ, कुनै नेतालाई महात्मा वा महामानव बनाउनुको अर्थ हो- त्यस्ता नेतालाई लोकबाट पूरै अलग्याउनु, जनताबाट त्यस्ता विशिष्ट नेता निर्माण हुनै सक्दैन भन्ने सन्देश प्रवाहित गर्नु। उनीहरूका अनुभवसिद्ध ज्ञानले भन्छ- कुनै व्यक्तिविशेषलाई सर्वोच्चको पगरी गुथाउँदै लोकको बलबुद्धिमा चल्ने लोकतान्त्रिक आन्दोलनको साख र शक्तिसमेत गिराउन सफल भइयो भने आफ्नो वैचारिक-सांस्कृतिक प्रभुत्व कायम राख्न सकिन्छ र आफ्नो सत्ता, शक्ति र सम्पत्तिको साम्राज्य पनि यथावत् राख्न सकिन्छ।




'प्रचण्ड'बिनाका पुकदा
पुरानो सत्ता, शक्ति र सम्पत्ति मुठ्याएर बस्ने विभिन्न प्रतिष्ठानका मठाधीशहरू अनेक खेल खेल्न माहिर हुन्छन्। उनीहरूका लागि एउटा लोकतान्त्रिक आन्दोलनका नेताहरूलाई देवत्वकरण गर्नु जसरी एउटा सांस्कृतिक खेल हो, दानवीकरण गर्नु पनि त्यस्तै अर्काे सम्भ्रान्त क्रीडा पनि हो। यस्तो क्रीडाको विशेषता हो, कुनै नेतालाई देवताबाट रातारात दानव बनाइनु अनि दानवलाई देवता बनाइनु। अंग्रेजी शब्दकोशमा तीन वटा अक्षरको गठजोडले यस्तो सम्भ्रान्त क्रीडाको प्रकृति बुझ्न सजिलो बनाउँछ, किनभने जीओडी : गड र डीओजी : डगबीच धेरै भिन्नता हुँदैन। गडलाई डग बनाउन वा डगलाई गड बनाउन दुइटा अक्षर उल्टोपाल्टो गरे पुग्छ। र, त रातारात देवता बनाइएका कुनै नेतालाई बिहान उठ्दासम्ममा दानव बनाइएको थाहापत्तै हुँदैन।
उदाहरण खोज्न टाढा जानुपर्दैन, पछिल्लो चरणमा पुष्पकमल दाहाल 'प्रचण्ड' र बाबुराम भट्टराई पनि यस्तै खेलको सिकार भएका छन्। सम्भ्रान्त वर्गको क्रीडा-संस्कृतिबाट प्रभावित आफ्नै पार्टीपंक्तिका नेताहरूबाट जनयुद्धकालमा देवत्वकरण गरिएका पुष्पकमल दाहाल 'प्रचण्ड'लाई सबैभन्दा पहिले मिडिया र मध्यम वर्गले प्रचण्डबाट 'पुकदा' बनाएका थिए। आफ्नो नाम 'प्रचण्ड' राख्ने आत्मनिर्णयको अधिकारसमेत खोसिएका प्रचण्डलाई पछिल्लो पटक उनकै पार्टीपंक्तिको 'क्रान्तिकारी विचार समूह'ले दानवीकरण गरेको छ। त्यही समूहबाटै बनेको नेकपा-माओवादीले त मूर्तिभञ्जनको क्रममा उनको र भट्टराईको पुतला दहनै गर्न भ्याएको छ। हिजो देवत्वकरण गर्ने र आज दानवीकरण गर्ने मस्तिष्क र हात एउटै हुनु कुनै सुखद् संयोगमात्रै पक्कै होइन, नियमित आकस्मिकता हो।
नेतृत्वभञ्जन र पुत्लादहन
एकीकृत माओवादीभित्र र बाहिर प्रचण्डपछि देवत्वकरण र दानवीकरण गरिएका नेता डा. बाबुराम भट्टराईको दुर्गति पनि यस्तै सम्भ्रान्त क्रीडाको शिकार भएका नेताहरूको भन्दा भिन्न छैन। जनयुद्धकालमै आफ्नै एकसेएक 'लाल'हरूबाट 'भारतका दलाल'का रूपमा विभूषित भट्टराईलाई प्रधानमन्त्री बनाउने वैद्य समूह वा नेकपा-माओवादीदेखि नेपाली कांग्रेस र एमालेलगायत् दर्जनौ दलका युवा संगठनले उनलाई लेण्डुप दोर्जेले जस्तै राष्ट्रियता बेच्दै सिक्किमीकरण गरेकोजस्तो सस्तो आरोपमा प्रताडित गर्दैछन्। हिजो भारतलाई प्रधान-शत्रु घोषणा नगरिएकामा नेतृत्वको दानवीकरण गर्ने र पार्टी नै फुटाउने नेकपा-माओवादी आज एकातिर भारतलाई प्रधान-शत्रु नभन्ने मनःस्थितिमा पुगेको छ अर्कातिर अन्य दलभन्दा अगाडि बढेर भट्टराईलाई राष्ट्रघाती दलालको संज्ञा दिँदै उनको पुत्लादहनसँगै सत्ताच्युत गर्न कामचलाउ राष्ट्रपतिलाई नयाँ राजा बन्न बिन्तीभाउ पनि गर्दैछ। भट्टराई प्रधानमन्त्री भएको दिनदेखि उनको देवत्वकरणका लागि आकाश-धर्ती एक गर्ने मध्यम वर्ग र मिडियाको चरित्र पनि पार्टीपंक्तिको आचरणभन्दा भिन्न छैन। आज उनलाई पनि 'जुन जोगी आए पनि कानै चिरेको' भन्दै दानवीकरण गर्न ज्युज्यान छाडेर लागेका मध्यम वर्ग र मिडियामा सत्ता, शक्ति र सम्पत्तिका प्रतिष्ठानकै क्रीडाको छायाँ देखिनु अस्वाभाविक होइन। तर, आफूलाई मार्क्सवादी, लेनिनवादीमात्रै होइन, माओवादी भन्नेहरूमा त्यही सम्भ्रान्तवर्गीय क्रीडाको संस्कृति हुनुचाहिँ अस्वाभाविक हो।
धार्मिक आस्था भएका राज्य र शासकहरूले देवता बनाए, मूर्ति बनाए अनि पूजाआजा गरे। तर धार्मिक आस्था नभएका जनवादी वा समाजवादी राज्य र त्यहाँका शासकहरूले पनि आफ्ना नेताहरूलाई देवत्वकरण गर्न कुनै कसर बाँकी राखेनन्। मूर्तिपूजक नेपाली समाजमा जन्मिएका मार्क्सवादी, लेनिनवादीमात्रै होइन, माओवादी भन्नेहरूमा सम्भ्रान्तवर्गीय क्रीडाको संस्कृति हुनुमा त्यही सांस्कृतिक विरासतले काम गरेको हुनुपर्छ। उदाहरणका लागि अन्ना लुई स्ट्रङका अनुसार, कार्ल काउत्स्कीलाई गद्दार घोषणा गर्ने लेनिनको लाशलाई मस्कोको रेडस्क्वायरमा विशाल समाधि बनाएर सुरक्षित राख्ने र धार्मिक प्रकृतिका रुसी जनताको विश्वासलाई भजाउने काम स्तालिनले थालेका थिए। चीनमा पनि देङ सियाओ पिङले माओ त्सेतुङको मृत देहलाई तियानआन मेन स्क्वायरमा सुरक्षित राखेर रुसी अनुभवकै सिको गरेका थिए। मृत देहलाई समाधिस्थलमा सुरक्षित गर्नुको नेपथ्यमा अरु धेरै कारणसँगै देवत्वकरणको नियत पनि लुकिरहेको तथ्य सबैलाई थाहा छ।
नेताहरूका विशाल समाधि र मूर्ति बनाएर पूजाआजा गर्ने देवत्वकरणको संस्कृतिमा मार्क्सवाद खोज्न निकै गाह्रो छ। मूलतः शासकवर्गीय सम्भ्रान्त क्रीडाको संस्कृतिमा द्वन्द्वात्मक वस्तुवादको अंश भेट्टाउन पनि मुस्किलै छ। पुरानो सत्ता, शक्ति र सम्पत्तिका प्रतिष्ठानबाट प्रायोजित यस्तो संस्कृतिमा कुनै पनि नेतालाई अन्तरद्वन्द्वमा नहेर्ने र अन्तरसम्बन्धमा नदेख्ने प्रवृत्ति छ। उनीहरूलाई पनि समय र अवस्थाबाट चटक्कै कटाएर हेर्ने अनि वस्तुगत र आत्मगत परिस्थितिसँगको द्वन्द्वमा हेर्न नखोज्ने प्रवृत्ति न वस्तुवादी हो, न त द्वन्द्ववादी नै। समय, परिस्थितिसँगको अन्तरसम्बन्ध र अन्तरसंघर्षलाई बिर्सेर कुनै नेतालाई हर्कुलसजस्तै ठान्नु वा हर्कुलसले जस्तो काम गर्न सकेनन् भन्दै दानवै मान्नु अतिरञ्जना मात्रै हो।
गाईजात्रा होइन, नेताजात्रा?
कुनै पनि एक नेतामा सिनेमामा अन्याय-अत्याचार गर्ने खलनायक वा उसको अन्याय-अत्याचारविरुद्ध एक्लै लड्ने नायकको छवि खोज्ने प्रवृत्ति मूर्तिपूजाकै पुनरावृत्ति मात्रै हो। यस्तो मूर्तिपूजाकै अर्काे पाटो हो- 'नेताहरूले देश खाए, मुलुक बेचे, परिवर्तनको सपना साटे, ती कुकुर र गधा हुन्' भन्दै गाईजात्राभरि 'नेताजात्रा' देखाउने निकै तल्लो सांस्कृतिक स्तरको प्रचारबाजी पनि। गाईजात्रा र टेलिसिरियलमा नेतृत्वभञ्जनबाटै कमाउधन्दा गरिरहेका नकल्चीहरूका अभिव्यक्तिमा पनि मिडियाकर्मीहरूमा जस्तै सत्ता, शक्ति र सम्पत्तिका प्रतिष्ठानबाट पोषित विचारकै दुर्गन्ध ह्वास्सै गन्हाएको छ। आफ्ना प्रायोजक व्यवसाय, उद्यम र प्रतिष्ठानका कमजोरीविरुद्ध चुँसम्म पनि बोल्न नसक्नेहरूले प्रदर्शन गरेको नेताजात्रामा दानवीकरण त देखाइएको छँदैछ, दानवीकरण नगरिएका पक्षहरूको देवत्वकरण पनि छ। यस्तो प्रदर्शन पुरानो सत्ता, शक्ति र सम्पत्तिका प्रतिष्ठानका लागि स्वादिष्ट मानसिक भोजनको स्रोत हुनु स्वाभाविकै हो।
यहाँ देवत्वकरणका सम्बन्धमा आफ्नालाई देवता र अरुकालाई दानव ठान्ने धेरैजसो व्यक्तिमा हुने द्वैधता पनि विचारणीय छ। त्यस्तै द्वैधताबाट आलोचनात्मक चेततिरको विकासक्रम पनि उल्लेखनीय छ। उदाहरणका लागि नामुद साहित्यकार पारिजातमा भएको विकासक्रमलाई लिन सकिन्छ। राल्फाकालमा चे ग्वेभाराको पूजा गर्ने पारिजात दिदीले मार्क्सवादबाट दीक्षित हुने क्रममा तीसको दशकमा मोहनविक्रम सिंह र निर्मल लामालाई 'गडफादर' नै मान्न थालेकी थिइन्। चालीसको दशकमा सिंहबाट मोहभंग भइसकेपछि पारिजात दिदीले गणेशमान सिंहलाई 'हाम्रो सर्वाेच्च नेता होइन' भन्दै देवत्वकरणको विरोध गरेकी थिइन्। यस्तो विकासक्रमले देवत्वकरण वा दानवीकरणको मिथक तोड्न र आलोचनात्मक चेत अभिवृद्धि गर्न मद्दत दिन सक्छ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस