बाबुराम भट्टराईलाई संविधान बन्दैन भन्ने थाहा थियो। जेठ १४ गतेकै घटनाक्रम सम्झौँ न। तराईमा दुई प्रदेशभन्दा बढी खोज्ने हो भने संविधान बन्दैन भनेर उनी बिहान बालुवाटारमा जंगिए। राष्ट्रपतिकहाँ पुगेर सहमति नभएको अवस्थामा विकल्पको प्रस्ताव ल्याउँछु भने। फर्केपछि अरू दलका नेतासँग कुराकानी गर्नै खोजेनन्। अगुवा जनजाति सभासद् संविधानै नआउने हदसम्म हाम्रो अडान छैन है भन्न बालुवाटारै पुगे। बहुपहिचानका प्रदेशसहितको संविधान बन्नसक्ने समय र सम्भावना थियो।
बाबुराम मन्त्रिपरिषद्मात्र संविधान नल्याउन कटिबद्ध भइदियो। दलबीचको पाँच बुदेमा ११ प्रदेशको सहमति हुँदा पाँच प्रदेश तराईमा पर्दै थिए। त्यो सहमति गरेर विजयकुमार गच्छदार र महन्थ ठाकुरले मधेसी कार्यकर्ताको अवगाल पनि बेहोरे। त्यो सहमति पालना गर्दा नेपाली कांग्रेसको नेतृत्वमा चुनावी सरकार बन्नेवाला थियो। एकातिर तराईमा बहुप्रदेश, अर्कातिर सत्ता छाड्नुपर्ने परिबन्द!
बाबुरामले असहमतिको यात्रा सुरु गरे। त्यसका लागि उनले दलहरुलाई जिल्याउनुपर्ने थियो। विपक्षी नेताहरुलाई सिंहदरवार डाकेर भेट्दै नभेटी ढोका थुनेर मन्त्रिपरिषद्को आकस्मिक बैठक गरे। पाँच बुँदेका आधारमा मन्त्री बन्न आएका एमाले प्रतिनिधि बाहिरिए। शान्ति र संविधानका लागि बनेका प्रधानमन्त्रीले अर्को संविधान सभा निर्वाचनको निर्णय गराए। निर्वाचन आयोगलाई पत्र लेखे, राष्ट्रपतिलाई बोधार्थ पठाइदिए।
न संविधान संशोधन गरी निर्वाचनसम्बन्धी कानुन बनाउने कर्तव्य पूरा गर्न खोजे। न ऐतिहासिक संविधान सभालाई असफल तुल्याएको र दलीय सहमतिलाई धोका दिएकामा माफी मागे। राजनीतिक नैतिकता ख्याल गरेको भए त्यही दिन पद छाडिसक्नु पर्थ्यो।
त्यहीँबाट उनको बिलखबन्द झन् चुलियो। निर्वाचन निर्विकल्प हो। असहमतिहरुलाई जनतामाझ प्रस्तुत गर्ने स्वाभाविक लोकतान्त्रिक प्रक्रिया थियो त्यो। सुरुतिर उनले त्यही सन्देश दिए। निर्वाचन गराएरै छाड्छु भन्ने गरे। संसदीय परिपाटीमा अभ्यस्त विपक्षी दलहरुले निर्वाचनको घोषणा स्वीकार नगर्नु, मंसिरमै गर्नुपर्छ भनेर अडान नलिनु कमजोरी थियो। प्रमुख विपक्षी त झन् सधैं चुनावको पक्षमा उभिने र अडिने गर्नुपर्छ। तर उनीहरु चुनावका लागि संविधान संशोधन, कानुन परिमार्जन, निर्वाचन आयोगका पदाधिकारी नियुक्ति, आचारसंहिता निर्माणजस्ता मूलभूत प्रश्नतिर गएनन्, बाबुरामलार्ई बालुवाटारबाट बहिर्गमन गराउने एक सूत्रीय नीतिमा अल्मलिए। उनीहरु अहिले
जनतामाझ पुग्ने दायित्वतिर होइन, बाबुरामका अध्यक्ष पुष्पकमल दाहालको भाषण सुन्न र तिनको जवाफ सोच्न समय खर्चिरहेका छन्।
निर्वाचनकालमा सत्ता भनेकै निर्वाचन आयोग हो, बहादुरभवन हो, बालुवाटार होइन। आयोगले प्रशासन, प्रहरी र राज्यस्रोत साधनको पनि अनुगमन गर्छ, निर्देशन दिन्छ। निर्वाचन घोषणापछि आचारसंहिता लागु गर्न सरकार बाध्य हुने बेला विपक्षीहरुले चुनाव मिति र प्रक्रियाको विरोध गर्दा चुनावी माहोल त बनेन नै, कामचलाउ सरकार कार्यकारीमा परिणत हुन पायो। पदमुक्त भनिएका प्रधानमन्त्री पूर्ण कार्यकारीमा फर्किन र फेरिन पाए। बाबुरामका पक्षमा मधेसी दल त थिए नै, विपक्षीसमेत उनैका हिमायती बन्नपुगे।
बाबुरामले चुनाव घोषणाको निर्णय पालना गर्नुपर्ने थियो। त्यसका लागि दलहरुलाई सहमत तुल्याउन सम्पूर्ण प्रयत्न गर्नुपर्ने थियो। पहिला त गल्ती र बदमासी गरे-गरे, अझै पनि उनी पुराना गल्तीबाट सिक्ने र सच्चिने मनःस्थितिमा देखिँदैनन्। राष्ट्रपतिले पदमुक्त भनिदिइसकेपछि राजीनामा गर्छु, सहमतिको उम्मेदवार देऊ भन्न कसरी मिल्छ? उनले भन्न मिल्दैन। अध्यक्ष दाहाल के भन्छन्, विपक्षीहरु के भनिरहेका छन् भन्ने मुख्य प्रश्न रहेन। राष्ट्रपतिले पदमुक्त भनेपछि कामचलाउ सरकार राखिरहेको अर्थ अर्को व्यवस्था नभएसम्मलाई हो। अर्को व्यवस्था भनेको निर्वाचनै हो भनेर उनले अर्थ्याउनुपर्ने थियो। पुरानो संविधान सभाबाट जति गर्दा पनि संविधान बन्न सकेन, नयाँ संविधान सभा चाहिन्छ भन्ने निष्कर्षमा पुगिसकेपछि त्यसको निर्वाचन गर्ने दायित्व निर्णयकर्ताको हो।
निर्वाचन घोषणा गरेपछि, घोषित मितिमा चुनाव हुन नसक्ने भनेर आयोगले जवाफ दिएपछि उनले त्यतिबेलाचाहिँ किन राजीनामा दिएनन् त? संविधान नबनेपछि र मंसिर ७ मा चुनाव नहुने पक्का भएपछि पो उनले राजीनामा घोषणा गर्न सुहाउँथ्यो। त्यो पनि राजनीतिक प्रयोजनका अर्थमा। राष्ट्रपतिले उनलाई पदमुक्त भनिसकेका थिए, सभासद् नरहेको अवस्थामा प्रधानमन्त्री पद पनि तिम्रो रहेन भनेर।
बाबुरामको बिलखबन्दको कारण के हो भने उनी सत्य बोल्न सक्दैनन्। संविधान किन बनेन भन्ने खुलस्त पार्न सकेका छैनन्।
यथास्थितिवादी र परिवर्तनकारीबीचको द्वन्द्वले संविधान बनेन भनेर पुग्छ? संघीयता नचाहनेहरुले संविधान बन्न दिएनन् भनेर गाली गर्दैमा सत्य प्रकट हुन्छ? संघीयताको कसैले विरोध गरिरहेको थिएन, कति प्रदेश कसरी भन्नेमात्र छलफल चलिरहेको थियो। पाँच बुँदेले प्रष्ट गरिसकेपछि त्यसको पालना गर्न नचाहनेहरु संघीयता विरोधी कि चाहनेहरु? त्यस्ता प्रश्न विपक्षीले गर्न पनि सकेनन्। उनीहरुको त आवाज र तर्क तथा त्यसको विश्वसनीयता खुम्चिसकेको छँदै थियो। बाबुराम पाँच बुँदेले गर्दा संविधान नबनेको हो भन्न सक्दैनन्
। उल्टै अहिले त्यही पाँच बुँदेका आधारमा अझै सहमतिको गुञ्जायस छ भनेर ढाँट्छन्। आफैँ नयाँ निर्वाचनको घोषणा गर्छन् र आफैँ संविधान सभा पुनर्स्थापनाको विकल्प पनि स्वीकार्छन्। यो विरोधाभाष नै उनको विलखबन्दको स्रोत हो।
नेताले सत्य बोल्ने साहस गर्न सकेन भने राजनीति सफा हुन सक्दैन। धमिलो परिवेशमा मतदान केन्द्रहरु देखिँदैनन्। जनता ओझेलमा पर्छन्। मंसिरको विकल्प टर्नु भनेको चैत खुल्नु हो। चैतका लागि जनतालाई आकर्षित गर्ने बेला दलबीच सहमति गराएर लैजाने भन्नुको तात्पर्य पुनः जनमत नलिने र अँध्यारा कोठामा सत्ताको लोभलालच बाँड्नु हो। मतभेदहरु जनादेशबाट सल्ट्याउने साहसको अभावले विपक्षीहरु जस्तै बाबुराम पनि विलखबन्दमा परेका छन्।
बाबुराम महत्वाकांक्षी छन्। कम लोकतान्त्रिक परिपाटीमा बढी विकास निर्माणको गति हुइँक्याउन सकिन्छ भन्ने दर्शनका पक्षधर हुन्। सत्तामा बसेर पूरा बजेट पनि ल्याउन नपाउने, ठोस काम गरेर देखाउन पनि नसक्ने अवस्थाले उनलाई बिथोलेको छ। सिंहदरवारभित्र फोटो झुन्ड्याउनेमा आफू पनि सीमित भएको उनले चाल पाइसकेका छन्। निर्वाचनबाट पुनः सत्तामा फर्किने आशा झिनो हुँदै गएको मनोदशा व्यक्त गर्न विवशः छन्। पृथ्वीनारायण शाह र बीपी कोइरालापछि नेपाल बनाउने नेपाली नेता भनेर चिनिने उनको भित्री लक्ष्य हो। डबल अंकको दीगो आर्थिक वृद्धिदर उनको मूल नीति हो। तर त्यसका लागि उनले देशलाई गुमराहमा राख्ने होइन, आफ्नो लाचारीको छायाँ राजनीतिमा पार्ने होइन, सत्य बोल्ने, विश्वासको वातावरण बनाउने र जनताकहाँ जाने प्रबन्ध गर्ने हो।
आशाको सञ्चार विपक्षीले गर्नुपर्ने हो तर विपक्षीहरुको घनघोर अलमलले आफूलाई साथ दिएको पनि बाबुरामले बुझ्न सकेका छैनन्।