राष्ट्रिय सहमतिको बहाना
१२ भदौ २०६९
•
१० मिनेट पाठ
राष्ट्रिय सहमतिको बहाना
अन्ततः तीन दलका नेताले सहमतिमै अघि बढ्ने प्रण पुनः एक पटक गरेका छन्। यसका साथै देशमा राजनीतिक अन्योलताले पूर्णविराम पाउने आशा जनतामा फेरि एक पटक पलाएको हुनुपर्छ। तर राष्ट्रिय सहमतिको आवश्यकता नेपालमा सरकारको गठनसँग प्रमुखरुपमा जोडिएर आउने गरेको छ।
सरकारको राजीनामा मागिरहेका र सरकारमा टिकिरहने दुवैले राष्ट्रिय सहमतिकै शब्द भट्याइरहेका हुन्छन्। तर दुवैको मनसाय सरकारमा अडिनु र त्यसलाई ढाल्नु नै रहँदै आएको छ। अहिले पनि बाबुराम सरकारलाई ढालेर राष्ट्रिय सहमतिको सरकार बनाउने माग विशेषगरी कांग्रेस र एमालेबाट हुँदै आएको छ भने पहिला राष्ट्रिय सरकारको ग्यारेन्टी गरेमात्र त्यसका लागि तयार हुने मनसाय प्रधानमन्त्री तथा मन्त्रीहरूले व्यक्त गरिसकेका छन्।
प्रचण्डदेखि माधव नेपाल हुँदै झलनाथ खनाल र अहिले बाबुराम भट्टराई सरकारसम्म विवादको मुख्य विषय नै राष्ट्रिय सहमित रहँदै आएको छ। जसले गर्दा मुलुकमा व्यापक राजनीतिक ध्रुवीकरण बढ्दै गएको थियो। जसका कारण राष्ट्रिय सहमति जस्तो निकै चर्चामा आएको र आवश्यक विषय ओझलमा पर्ने शंकासमेत बढेको थियो। यस्तो अवस्थामा तीन दलका नेताहरू एक स्थानमा आउनुले पक्कै पनि संवादहीनताको स्थितिमा रोक लगाउने आशा देखाएको छ। यहाँनेर बिर्सन नहुने कुरा के हो भने राष्ट्रिय सहमतिको आवश्यकता अहिले पनि वर्तमान सरकार ढाल्न र यसलाई जोगाउनका लागि बताउने गरिँदैछ।
देशमा राष्ट्रिय सहमतिको सम्भावना भने निकै न्युन रहेकाले होला, सरकारमा बस्नेहरूले पहिला राष्ट्रिय सहमतिको स्थिति तयार पारेरमात्र सरकार गठनको कुरा गर्न विपक्षीलाई चुनौती दिइरहेका छन्। अझ सरकारका केही मन्त्रीबाट त स्पष्टरुपमै वर्तमान सरकारलाई नै राष्ट्रिय सहमतिको सरकारको रुप दिन सक्ने उद्गार आएको थियो। यहाँ कांग्रेस-एमालेका लागि राष्ट्रिय सहमतिको सरकार भनेकै बाबुरामलाई राजीनामा गराउने भन्ने हो। तर अहिलेसम्म राष्ट्रिय सहमतिको नाममा सरकार परिवर्तन मात्र भएका छन्। जनताका लागि एउटा सरकार गएर अर्को आउने मात्र भएको छ। राष्ट्रिय सहमति भने झनै ओझलमा पर्दै गएको छ। त्यसो त हरेक राजनीतिक दलहरू आफैँमा एक ढिक्का भएको स्थितिमा मात्र राष्ट्रिय सहमतिका लागि वातावरण सहज बनाउन सकिन्छ तर यहाँ त हरेक दलभित्रै पहिले सहमति आवश्यक देखिएको छ।
एनेकपा माओवादीबाट मोहन वैद्य (किरण) को नेतृत्वमा अलग्गिएर नयाँ दल स्थापनापछि पनि माउ पार्टीमा विवाद पूर्णरुपमा साम्य भएको छैन। नेकपा-माओवादीको गठनले माउ दलभित्र अध्यक्ष पुष्पकमल दाहाल र बाबुराम भट्टराईबीचको तुष केही समयका लागि कम गरेको होला तर पूर्णरुपमा समाप्त भने पार्न सकेको छैन। पार्टीभित्र अझ पनि दुवै नेता आफ्नो पकड बलियो बनाउने अभियानमा लागिपरेका छन्। अझ सातौँ विस्तारित बैठकपछि नारायणकाजी श्रेष्ठ जस्ता माओवादी विद्रोहपछि एकीकृत भएका समूहका नाइकेहरू पनि पार्टीभित्र उदयीमान शक्तिका रुपमा देखिएका छन्। विशेषगरी नारायणकाजी श्रेष्ठको स्थिति बलियो भएपछि भविष्यमा त्यस पार्टीमा पुनः त्रिकोणीय शक्ति संघर्षको स्थिति नदेखिएला भन्न सकिन्न।
अर्कोतर्फ नेपाली कांग्रेसभित्र पनि शेरबहादुर देउवा र रामचन्द्र पौडेल पक्षधरबीचको शीतयुद्ध कायमै रहेको अवस्था छ। त्यसमा सभापति सुशील कोइरालाको आफ्नै शिविर छ। उता एमालेभित्र पनि माधवकुमार नेपाल, झलनाथ खनाल र केपी ओलीबीच कहिले द्विपक्षीय त, कहिले त्रिकोणीय संघर्षको स्थिति देखा परिरहन्छ।
अहिले तीन दल एकापसमा बसेर छलफल अगाडि बढाउने कुरा सकारात्मक सुनिएको छ। तर यस बैठकमा राष्ट्रिय सरकार निर्माणको प्रसङ्ग आउनासाथ अहिलेसम्म तीनै नेताहरूले कल्पना नगरेको तरङ्ग नेपाली राजनीतिमा उत्पन्न हुने पक्का छ। यसको चर्चाले पार्टी-पार्टीबीच मात्र नभई पार्टीभित्र सुसुप्तावस्थामा रहेका विवाद मुखरित हँुदै जाने स्थिति आउनेछ। र, त्यो धेरै सीमासम्म देखिन पनि थालेको छ। कांग्रेस र एमालेले 'राष्ट्रिय सहमतिको वातावरण बनाउनका लागि' भनेर भट्टराई सरकारको राजिनामा माग्न थालेपछि नै अब सरकार बनाउने पालो कांग्रेसको भन्दै आएका माओवादी अध्यक्ष दाहालले बोली फेरेर वर्तमान सरकार नै २५ वर्षसम्म टिक्न सक्ने चेतावनीसमेत विपक्षी दलहरूलाई दिइसकेका छन्।
उता सरकार गठनको कुरा उठ्नासाथ कांग्रेस तरंगित हुने गर्छ। विशेषगरी शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीच भइरहको प्रधानमन्त्री को हुने भन्ने हानथापमा पछिल्लो पटक सभापति सुशील कोइरालाको नाम पनि जानेर अथवा नजानेर ल्याइएको छ। आफ्ना दुवै नेताबीच प्रधानमन्त्री बन्ने विषयलाई लिएर उत्पन्न विवादलाई साम्य पारेर दुवै पक्ष सहमत हुने बाटो खोज्नुको साटो कोइराला स्वयंको नाम प्रधानमन्त्रीको उम्मेदवारका रुपमा आउने हो भने पार्टीभित्रको अन्तरद्वन्द्व झनै बढेर जान सक्ने आंकलन धेरैले गरेका छन्। तर कसैकसैले भने देउवा र पौडेलबीचको विवादको समाधानका रुपमा नै कोइरालाको नाम प्रधानमन्त्रीका लागि प्रस्ताव गरिएको बताएका छन्।
उता केही अघिसम्म कांग्रेसलाई नै सरकार बनाउने पालो दिनुपर्छ भन्दै आएको एमालेका नेता ओलीले अवसर पाए आफूले झनै राम्रो सरकार मुलुकलाई दिने भनेर राष्ट्रिय राजनीतिमा छलफलको नयाँ बहस जन्म दिइसकेका छन्। उता मधेसवादी दललाई फुट्नका लागि खासै कारण नचाहिने तथ्य अहिलेसम्मका उदाहरणले छर्लङ्ग पारिसकेका छन्। यस्तो अवस्थामा तीन दलका नेता एकै स्थानमा बस्न थालेको समाचार स्वयंमा सकारात्मक भए पनि यसको आयु भने राष्ट्रिय सरकार निर्माणको प्रसङ्ग आउनासाथ छर्लङ्ग हुनेछ।
विडम्बना मान्नुपर्छ, नेपालमा राष्ट्रिय सहमतिको नाममा दलहरूभित्र आन्तरिक र बाह्य विवाद बढ्ने गर्छ। किनभने दलबीच अहिलेसम्म देखिँदै आएको सहमति र असहमति दुवै राष्ट्रिय मुद्दाका लागि नभई व्यक्तिगत तथा दलगत स्वार्थका लागि हुँदै आएको छ। दलबीचको सहमति बढीमा केही समय सरकारमा टिक्नका लागि हुने गर्छ भने असहमतिले पनि सरकार ढाल्ने विषय नै प्रमुख बनाउने गरेको छ। दुवै अवस्थामा देश र जनताको वास्तविक मुद्दा ओझलमा पर्दै गएको छ।
त्यसैले पनि यदि मुलुकमा राष्ट्रिय सहमतिको सरकार बन्ने स्थिति आएछ भने पनि त्यसले दलभित्रको आन्तरिक स्थिति नबिथोलिएला भन्न सक्ने स्थिति छैन। किनभने सहमतिको नाममा अहिलेसम्म गठन भएका सरकार वास्तवमा अहसमतिको भएको प्रमाणित हुँदै आएको छ। अब दलबीच सहमति भएर नयाँ सरकार गठन भएको खण्डमा पनि त्यसले राष्ट्रिय सहमतिका लागि मार्ग प्रशस्त गर्ला भन्ने कुनै संकेत अहिलेसम्म देखिएको छैन। किनभने अहिलेसम्मको स्थितिले राष्ट्रिय सहमति वास्तवमा सरकारमा जाने र टिकिरहनेबीचको द्वन्द्वको बहाना मात्र देखिएको छ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस