राजनीतिक निकासको उल्झन
१६ भदौ २०६९
•
२७ मिनेट पाठ
राजनीतिक निकासको उल्झन
लामो समयको अन्तरालपछि पुनः प्रमुख दलका शीर्ष नेताहरु सहमति खोज्न वार्ताको टेबलमा बसे। वार्ताको टेबलमा हसिलो अनुहार बनाएर फोटो खिचाए। परिस्थिति गम्भीर बन्दै गएकोमा चिन्ता प्रकट गरे।
निकासका लागि सहमति आवश्यक रहेको र त्यसको विकल्प नभएकामा सहमति जनाए। यसै महिनाको अन्त्यसम्ममा कुनै न कुनै विकल्प (विषय वा प्रकृया) मा सहमति जुटाउने कुरामा एकमत भए। बैठकको निर्णयको प्रतीक्षामा रहेका सञ्चारकर्मीलाई हसिलो मुद्रामा वार्ता सकारात्मक भएको सन्देश दिँदै बिदा भए। उक्त समाचार आमसञ्चार माध्यममा महत्वसाथ प्रकाशन र प्रशारण भयो। सधैँझंै उक्त सुखद् समाचारले आममानिसमा 'केही हुने' आशा पलाएको छ। समाचार विश्लेषण, लेख र टिप्पणीको क्रम सुरु भएको छ। तर यो आशा पनि त्यसरी नै दुःखद् अवसान हुनेछ, जसरी पहिलेदेखि नै हुँदै आएको छ। यस अर्थमा नेपाली राजनीतिमा अहिले आशा र निराशाको नयाँ शृंखला सुरु भएको छ।




राजनीतिक दलका शीर्ष नेतृत्वले केही गरिरहेको देखाउनका लागि सहमतिको कुरा गरे पनि सहमति वा निकास त्यति सहज देखिँदैन। संविधान नबनाइकन संविधान सभा अवसान हुनुले एकैसाथ निकै धेरै जटिलता र चुनौती थपिदिएको छ। उक्त परिस्थितिको कल्पना राजालाई पछारेका लोकतन्त्रवादी र तहल्का मच्चाएर शान्ति प्रकृयामा आएका शक्तिहरुले निर्माण गरेको अन्तरिम संविधानमा भेटिने कुरा पनि भएन। अनि त्यस्तो अवस्थामा के गर्ने र कसरी अघि बढ्ने भन्ने कुरा संविधानमा खोजेर भेटिने कुरा पनि होइन। संवैधानिक र कानुनी प्रबन्धविना नयाँ निर्वाचन हुन सक्तैन भन्ने कुरा पहिले नै स्पष्ट थियो। सरकारले संविधान सभाको निर्वाचनको विकल्पमा जान खोज्दा नै उक्त विषय बहसमा आइसकेको थियो। त्यसमाथि संविधान सभाको निर्वाचन सरकारको एक्लो निर्णयबाट हुने कुरा पनि थिएन। तर पनि सरकारले जानिबुझिकनै एकलौटी ढंगले निर्वाचनको मिति घोषणा गर्योट। किन यसो गरेको थियो र अब सरकार त्यो बाटोबाट फर्कन तयार भयो कि भएन? भन्नेमा स्पष्ट नभई सहमतिको कुरा गर्नु र आशावादिताको सन्देश सम्प्रेषण गर्नु आत्मरति मात्र हो। अहिले पनि जेठ १४ को परिस्थिति र सत्ता गठबन्धनको मनोविज्ञानमा उल्लेख्य परिवर्तन आएको कुनै संकेत देखिँदैन।

सहमतिको प्रयास : समय लिने चाल
मुलुक गम्भीररुपमा संवैधानिक र राजनीतिक संकटमा फसेको अनुभूति सबैलाई हुन थालेको छ। अहिलेको संकट राजनीतिक दलहरुको सामान्य प्रयासबाट मात्र समाधान हुने देखिँदैन। सहमतिका लागि जिम्मेवार भूमिकामा रहेका शक्तिमध्ये अहिले पनि कतिपयका लागि संकट उपयोगी नै लागिरहेको छ। प्रधानमन्त्रीले एक वर्ष पुगेको उपलक्षमा दिएको देशबासीका नामको सन्देशले पनि उक्त यथार्थता उजागर गरेकै छ। वर्तमान संकटबाट लाभ लिन खोज्ने प्रवृत्ति नेपाली राजनीतिभित्र मात्र होइन, बाहिर पनि बलशाली छ। नेपालको स्थायित्व र प्रमुख शक्तिको एकतामा भन्दा अस्थिरता र विभाजनलाई आफ्नो अनुकूल ठान्ने बाह्य शक्तिको मानसिकता नेपाली राजनीतिमा पहिलेदेखि नै प्रकट हुँदै आएको हो। संंविधान सभाको अवसानमा त्यो प्रवृत्ति नांगोरुपमा प्रकट भएको थियो। अहिले राजनीतिक दलहरुले सहमति खोजिरहँदा त्यस्ता पक्षको प्रभावबारे लेखाजोखा पनि गरेको देखिँदैन।

संवैधानिक जटिलताका कारणले खल्बलिएको शक्ति सन्तुलनबीच आफ्नो भूमिका विस्तार गर्न चाहने प्रवृत्तिले पनि नेपाली राजनीतिमा ठाउ" पाउन थालेको छ। सरकार र राष्ट्रपतिबीचमा द्वन्द्व सृजना गर्ने कोसिस पनि सुरु भएको छ। अध्यादेशका माध्यमबाट शासन गर्ने सरकारको प्रयासले पनि त्यो समस्या बढेर गएको छ। गणतन्त्रको पहिलो संस्थाका रुपमा रहेको राष्ट्रपतिलाई विवादमा पारेर अघि बढ्न खोज्ने प्रवृत्तिले पनि जटिलता थपेको छ। यसबीचमा राज्यका संवैधानिक अंग निष्त्रि्कय र निष्प्रभावी बनाएर अघि बढ्ने चाहना पनि त्यत्तिकै बलशाली छ। सरकार र सर्वोच्च अदालतबीच पनि दूरी बढेको छ। संवैधानिक अंगहरुमा पदाधिकारी रिक्त हुँदै जाँदा लोकतान्त्रिक व्यवस्थाको रिढ नै भाचिँदैछ। कामचलाउ सरकार अंकुशविना अघि बढ्न खोज्दैछ। सत्ताविरुद्ध हतियार उठाएको एमाओवादीका लागि यस प्रकारको परिस्थिति अघि बढ्नका लागि अनुकूल महसुस भएको छ। यस्तो अवस्थामा सहमतिको सम्भावनाको कुरा गर्नु आ-आफ्नो अनुकूल परिस्थिति निर्माणका लागि समय लिने चालमात्र हो।

वर्तमान संवैधानिक र राजनीतिक संकटबाट निकासका लागि प्रमुख शक्तिबीच सहमति आवश्यक भए पनि त्यो कसरी प्राप्त हुन्छ भन्ने मुख्य विषय हो। अहिलेसम्म दलबीच छलफल नै नभएको र नसुल्भि्कएको विषय पनि हो यो। राजनीतिक सहमति परस्परको लाभ वा भयबाट निर्माण हुने विषय हो। नेपालको राजनीतिमा सहमति भयबाट ज्यादा निस्सृत हुने गरेको छ। कुनै पनि सहमतिले सहमत हुने पक्षलाई लाभ हुने वा उसको भय सम्वोधन हुने अवस्था सृजना गर्न सक्नुपर्छ। तर अहिले लाभ पनि नदेख्ने, भयको अनुभूतिसमेत नभएको अवस्था छ। भयको अनुभूति नभई भय सम्बोधनका लागि सहमति खोजी गर्ने कुरा पनि कुनै पनि पक्षका लागि बाध्यात्मक देखिँदैन। साँच्चै सहमति निर्माण गर्ने हो भने सबैभन्दा पहिले तुलनात्मक लाभको खोजी वा जबर्जस्त भय निर्माण गर्न सक्नुपर्छ। तर, दुवै अवस्था निर्माण नभई सहमतिको कोसिस मृगमरीचिका मात्र सावित हुनेछ।

संवैधानिक गतिरोध यति जटिल अवस्थामा पुगेको छ कि अब केही समय यस्तै अवस्था रहने हो भने अन्तरिम संविधान मृत घोषणा गर्दा हुन्छ। वर्तमान अन्तरिम संविधानलाई मृत घोषणा गर्दा समस्याको समाधान सहज हुने देखिन्छ। त्यसले दलबीच नयाँ अन्तरिम संविधानको बाटो खोलिदिनेछ। तर सहमतिको अभावमा त्यो पनि त्यत्तिकै कठिन र दुरुहपूर्ण छ। संविधान क्रियाशीलताको बाटो पनि त्यति सजिलो छैन। बाधा अड्काउका माध्यमबाट नयाँ व्यवस्था गर्न सकिँदैन। पुरानो धारामा टेकेर गरिने नयाँ व्यवस्थावाट अहिलेको गतिरोधको पूर्ण निकास सम्भव छैन। पुनर्स्थापनालाई सहज विकल्पका रुपमा देखाउने गरिएको छ। त्यो पनि संविधानवाद प्रतिकूल हुन्छ। अन्तरिम संविधानले संविधानको अन्तिम व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई दिएको छ। सर्वोच्चको फैसला र नजिरका आधारमा संविधान सभा पुनर्स्थापना उचित र सम्भव देखिँदैन।

विगतको प्रतिनिधि सभा पुनर्स्थापना र अहिलेको संविधान सभा पुनर्स्थापना एउटै होइन। हिजोको जस्तो राजाको ठाउँ राष्ट्रपतिको छैन। राजाले आफूमा निहित राजकीयसत्ता र सार्वभौमसत्ताका नाममा संविधानको सीमाबाहिर जाने गरेका थिए। त्यसले पनि एक प्रकारको संवैधानिक मान्यता पाएको थियो। तर नागरिक राष्ट्रपतिबाट त्यस प्रकारको भूमिका अपेक्षा गर्न सकिने कुरा पनि भएन। साथै, राजनीतिक सहमतिको नाममा संविधानको व्यवस्था विपरित जान सकिने र मिल्ने कुरा पनि भएन। यस अर्थमा पनि दलहरुले राजनीतिक निर्णयबाट संवैधानिक गतिरोधको निकास खोजिरहँदा संविधानको व्यवस्था प्रतिकूल जान मिल्ने कुरा भएन। संविधानको रक्षक र पालनकर्ताका रुपमा रहेका राष्ट्रपतिले सहमतिका नाममा त्यसलाई उपेक्षा गर्ने कुरा पनि आउँदैन। सर्वोच्चले यस सन्दर्भमा अन्यथा केही नभनेकाले पुनर्स्थापना पनि सम्भव देखिँदैन।

यस्तो स्थितिमा वर्तमान संवैधानिक र राजनीतिक संकटको निकासका लागि सबैभन्दा पहिले सत्तारुढ दल त्यसका लागि सकारात्मक हुनुपर्छ। अहिलेको अवस्थामा राजनीतिक दलहरुको सहमतिमा सरकार र राष्ट्रपतिको सहकार्यबाट नै संवैधानिक गतिरोध अन्त्यका लागि भूमिका खेल्न सम्भव हुन्छ। त्यसका लागि प्रमुख दलहरु सहभागी भएको संयुक्त सरकार गठन गर्ने र त्यसलाई एक हदसम्मको व्यवस्थापिकाको अधिकार दिने कुरा एउटा बाटो हुन सक्छ। कार्यकारीलाई व्यवस्थापिकाको अधिकार दिँदा उत्पन्न हुने जटिलता आफ्नो ठाउमा छँदैछ। संविधानको क्रियाशीलताका लागि संसद अपरिहार्य छ। अन्तरिम संविधान निर्माणसँगै राजनीतिक दलहरुको सहमतिमा अन्तरिम संसद गठन गरिएको थियो। उक्त संक्रमणकालीन धाराको पुनर्स्थापनाले पनि समस्या समाधानमा सहयोग पुर्याठउन सक्छ। तर त्यसका लागि पनि प्रमुख दलबीच सहमति आवश्यक पर्छ। तर अहिले सरकारको नेतृत्व गरिरहेको दल र सत्ता गठवन्धन दलहरु त्यस प्रकारको सहमति निर्माणका लागि तयार भइहालेका छैनन्। उनीहरुले हिजो जे कारणले संवैधानिक र कानुनी प्रबन्धविना नै संविधान सभाको नयाँ निर्वाचन घोषणा गरे, ती कारणमा आधारभूत परिवर्तन नआई त्यो काम पनि अघि बढ्न सक्तैन। संविधानको संरक्षक र पालनकर्ताको हैसियतमा रहेको राष्ट्रपतिले यथास्थितिमा प्रमुख दलको सहमतिविना केही गरिहाल्ने अवस्था पनि देखिँदैन। अनि माओवादी र राष्ट्रपति दुवैलाई बाध्य पार्नेगरी प्रतिपक्षी दलहरुले पनि दबाब सृजना गर्न सकेका छैनन्। अहिलेसम्मको अवस्था हेर्दा उनीहरुले त्यस प्रकारको दबाबका लागि खासै पहल गरेकोसमेत देखिन्न।

अतिवादी एजेण्डाको दबाबमा माओवादी
सहमतिको प्रमुख पक्षका रुपमा रहेको सरकारको नेतृत्व गरिरहेको माओवादी अहिले पनि विगतका आफ्नै अतिवादी एजेण्डाको दबाबमा छ। ती एजेण्डा छाड्ने वा लचिलो हुनेबित्तिकै वैद्य समूहको वैचारिक हमलाको त्रास छ। कांग्रेस एमालेको दबाबभन्दा वैद्य समूहको वैचारिक हमलाको त्रास प्रचण्ड-बाबुराममा बढी देखिन्छ। त्यसमाथि मधेसी मोर्चा र भारतको समेत समर्थन पाएका कारण उसले आफ्नाविरुद्ध कुनै ठूलो खतरा वा जोखिम अनुभूत गर्नुपरेको छैन। संविधानको क्रियाशीलताका लागि राष्ट्रपतिले चाल्न सक्ने कदम पनि नेकाभित्रको विवाद र भारतको अनिच्छाका कारण सम्भव नरहेको माओवादी बुझाई छ। यस्तो अवस्थामा माओवादीका तर्फबाट देखाइएको लचकता छवि सुधार्ने र बजेटका लागि अनुकूल वातावरण सृजना गर्ने कुरामा लक्षित हुनु स्वभाविक हो। तर प्रतिपक्षी दलहरुले समेत यही महिनाको मसान्तसम्म कुनै न कुनै प्रकारको सहमति हुन्छ भनेर विश्वास गर्नु र तद्नुरुपको सन्देश सम्प्रेषण गर्नु एक प्रकारको कमजोरी नै हो। यस प्रकारको कमजोरीले नेपाली राजनीतिलाई नकारात्मक दिशातिर लैजाने सम्भावना बढाइदिनेछ।

माओवादी र सत्तारुढ गठबन्धनको नियतको भण्डाफोर गर्दै वैचारिक र राजनीतिक वातावरण र दबाब सृजना गर्ने जिम्मेवारीमा रहेका दलसमेत आफ्नो भूमिकाका लागि तयार भइसकेका छैनन्। नेकपा (एमाले) असन्तुष्ट जनजाति नेताहरुको समस्या व्यवस्थापनमा ब्यस्त छ। विकल्प दिने जिम्मेवारीमा रहेको र विगतको पाँचबुँदे सहमतिका आधारमा नयाँ सरकारको नेतृत्वको दाबी गर्ने ठाउँमा रहेको नेपाली कांग्रेस सत्ताको नेतृत्व कसले गर्ने भन्ने आन्तरिक कलहमा नराम्ररी नै फसेको छ। सरकारको नेतृत्वका लागि माओवादीको समेत समर्थन खोज्ने प्रवृत्ति नेकाको शीर्ष नेतृत्वमा हावी भएकाले ऊ माओवादीको सर्वसत्तावादी क्रियाकलापविरुद्धको आन्दोलन नेतृत्व गर्ने अवस्थामा छैन। एमाले वैचारिकरुपले नेकाको तुलनामा अनुकूल अवस्थामा रहेको भए पनि अहिले नै नेतृत्व दावी गर्ने अवस्था छैन। यस्तो अवस्थामा सर्वसत्तावादविरुद्धको सडक आन्दोलन समेत नेतृत्वविहीन जस्तै छ। नागरिक समाजका नाममा परिचालित समूहको ठूलो हिस्सासमेत माओवादीको भ्रम र मायाजालबाट अझै मुक्त भइसकेको छैन। युवा विद्यार्थीले केही प्रयास गरिरहेको भए पनि उनीहरुको एक्लो प्रयासले मात्र सडक तातिहाल्ने देखिँदैन।

बाह्य शक्तिको दबाब
सहमति वा आन्दोलनको एजेण्डा वा रोडम्यापका विषयमा पनि काफी अन्योलता छ। संविधान सभा अवसानपछि संविधानको क्रियाशीलताका लागि अन्तरिम संविधान आफंैमा समस्या कनेको छ। व्यवस्थापिका संसदको अभावमा संविधानका अंगहरुले निरन्तरता पाउने अवस्था देखिँदैन। नयाँ निर्वाचन गराउने निर्वाचन आयोग आफंै पदाधिकारीविहीन हुँदैछ। नयाँ नियुक्तिको प्रकृयासमेत संविधानतः अवरुद्ध छ। अन्य सवैधानिक अंग पनि रिक्त भएको वा रिक्त हुँदै जाने अवस्था छ। कामचलाउ सरकारमाथि अंकुश लगाउने सबै प्रकारका अंग निष्त्रि्कय भएको अवस्थामा त्यसको चरम दुरुपयोग हुने अवस्था छ। त्यस स्थितिमा बाह्य शक्तिहरुको दबाबसमेत सरकारमाथि बढ्ने र त्यसले उक्त दबाब झेल्न नसक्ने अवस्था आउँदैछ। त्यसमाथि बाह्यशक्तिको नांगो दलाली गरेर आफ्नो कुर्सीको रक्षा गर्ने बाबुराम भट्टराईको कोसिसले समेत परिस्थिति झनै जटिल र संवेदनशील देखिन्छ। यस्तो अवस्थामा सहमति वा आन्दोलनको स्पष्ट एजेण्डा वा रोडम्याप अघि सार्न सकेको अवस्थामा पनि त्यसले आन्दोलनको पक्षमा वातावरण तयार गर्न सक्छ। तर प्रतिपक्षी दलहरु विशेषगरी नेपाली कांग्रेस त्यसप्रति निकै उदासिन देखिन्छ। यसले पनि समस्या उत्पन्न गरेको छ।

पार्टी विभाजनपछि आफ्नो शक्ति सुदृढ बनाउनका लागि पनि एमाओवादीलाई अझै केही समय सरकारमा रहिरहनु आवश्यक छ। प्रमुख दलबीच सहमति हुँदा सत्तामा आफ्नो हैसियत र वर्चश्व गुम्ने त्रास मधेसी मोर्चालाई छ। त्यस कारणले पनि मधेसी मोर्चा वर्तमान गठवन्धन कायम राखिरहन चाहन्छ। त्यसमाथि नेपालको संक्रमण र अस्थिरताका बीचबाट आफ्नो रणनीतिक योजनाका लागि अनुकूलता देख्ने बाह्यपक्षको बुझाईले पनि वर्तमान सत्ता समीकरणलाई टिकाउन सहयोग पु्र्या इरहेको अवस्था छ। एमाओवादीबाट अलग्एिको वैद्य पक्ष र मधेसी मोर्चाबाट अलग भएको शरदसिंह भण्डारी पक्ष पनि नेका र एमालेसँग मिल्दा आफ्नो राजनीतिक आधार गुम्ने त्रासमा छन्। नेकाभित्रको अन्तरकलहले राष्ट्रिय राजनीतिमा उसको भूमिका निकै कमजोर र निरीह बन्दैछ। एमालेभित्र पनि सत्ताका लागि भन्ने प्रचारका कारणले नेकाका लागि भर्यामङ किन बन्ने भन्ने धारणा प्रवल छ। यस्तो स्थिति र बुझाईमा परिवर्तन नल्याई न सहमति सम्भव छ न सशक्त सडक आन्दोलन नै। सहमतिका नाममा आशा जगाउने काम गरिरहेका प्रमुख नेताहरुले यस प्रकारको सत्य बुझ्नु आवश्यक छ।

संवैधानिक र राजनीतिक संकट निकासको उल्झन यसरी बढ्दैछ। उल्झन बढ्दै र संकट जटिल बन्दै गएको अवस्थामा प्रमुख दलका शीर्ष नेतृत्वबाट आएको वार्ता सकारात्मक भएको सन्देशले आम नागरिकलाई तत्काल केही राहत त दिएको छ तर त्यसले भविष्यमा नकारात्मक मनोविज्ञान विकास हुने खतरा त्यत्तिकै छ। निश्चय नै शीर्ष नेतृत्वले भनेझैं सहमति आवश्यक छ, सहमति अपरिहार्य पनि छ तर सहमतिका जटिलता र उल्झनका गाँठो नफुकाई गरिने वार्ताले सहमति हासिल गर्न सकिँदैन। असहमतिको कारण र अन्तर्यको राम्रो विश्लेषण नगरी, सहमतिको आधार तयार नगरी सहमतिको पक्षमा गरिने अलापले सहमतिलाई झनै दुरुह बनाइरहेको छ। वर्तमान स्थितिको निरन्तरता केही समयसम्म रहिरहने हो भने नेपाली जनमानसमा सहमति भन्ने शब्दप्रति नै वितृष्णा पैदा हुन जानेछ।

विकल्प : सडक आन्दोलन
सत्ता र प्रतिपक्षको अडान र मानसिकताको विश्लेषण गर्ने हो भने सडक आन्दोलनका विकल्प देखिँदैन। सत्तारुढ दलहरुको दृष्टिकोण परितर्वनका लागि पनि सडक आन्दोलन आवश्यक छ। सडक आन्दोलनले संविधान क्रियाशीलताका लागि राष्ट्रपतिलाई समेत नैतिक दबाब र बल प्राप्त हुनेछ। तर त्यसका लागि आन्दोलनकारी शक्तिबीचको एकता र आन्दोलनका एजेण्डामा स्पष्टता आवश्यक पर्छ। असोज १८ पछिको प्रतिगमन विरोधी आन्दोलनको असफलताबाट पाठ सिकेर माघ १९ पछिको आन्दोलनमा जसरी अघि बढ्न सफल भयो, त्यसबाट अहिले शिक्षा लिन सक्नुपर्छ। शान्ति, लोकतन्त्र, संघीयता, समावेशीकरण र नयाँ संविधान नेपाली राजनीतिको संक्रमण व्यवस्थाका आधार हुन्। जेठ १४ को माओवादी कदमले ती सबै एजेण्डा अनिश्चित बनेका छन्। राजनीतिक दलबीचको द्वन्द्व र असहमतिले ती एजेण्डा अझै टाढा हुने यथार्थतासँग नेपाली जनतालाई साक्षात्कार गराउन सकिएको अवस्थामा आन्दोलनका पक्षमा जनमत तयार हुनेछ। तर आन्दोलनरत् राजनीतिक दलहरुसमेत अहिलेसम्म त्यसका लागि अग्रसर देखिएका छैनन्। उनीहरुमा आन्दोलनमा जनताको साथ नपाइने हो कि भन्ने त्रास छ भने अर्कोतिर माओवादी सहमतिका लागि तयार भइहाल्छ भन्ने आश पनि छ। माओवादीको सत्ताकब्जाको योजनाप्रति भने राष्ट्रपतिले असफल बनाइहाल्छन् भन्ने विश्वास छ। यी र यस्तै कारणले पनि मुलुकले निकास पाउन कठिन भएको छ।

मुलुकमा उत्पन्न गतिरोध तोड्ने हो भने राजनीतिक दलहरुले आ-आफ्नो मार्गचित्र अघि सार्न सक्नुपर्छ। प्रतिपक्षी दलले पनि सहमतिको प्रस्थान विन्दु सहमतिको संयुक्त सरकार भनिरहेको अवस्थामा उक्त सरकारले राष्ट्रिय राजनीतिक एजेण्डाहरुको सम्वोधन कसरी गर्नेे भन्ने सन्दर्भमा स्पष्टता दिन सक्नुपर्छ। राजनीतिक सहमतिका नाममा पटकपटक संवैधानिक प्रकृयाभन्दा बाहिर जाने कुरा उपयुक्त हुँदैन। त्यसले लोकतन्त्रलाई नै कमजोर बनाउनेछ। वर्तमान अन्तरिम संविधानलाई क्रियाशील बनाउने उपयुक्त बाटो के हो भन्ने कुरा पनि आउनुपर्छ। व्यवस्थापिका संसदको अभावमा अन्तरिम संविधान क्रियाशील हुने अवस्था छैन। व्यवस्थापिका संसदको अधिकार सहमतिको सरकारले प्रयोग गर्ने कि नयाँ अन्तरिम संसद गठन गर्ने वा नयाँ अन्तरिम संविधान जारी गर्ने भन्ने सन्दर्भमा पनि स्पष्टता आवश्यक छ। अन्यथा सहमति खोजीका नाममा सम्प्रेषण हुने गलत सन्देशले संवैधानिक र राजनीतिक गतिरोध र उल्झन बढ्दै जानेछ र नेपाल एक असफल राष्ट्रका रुपमा विश्व मानचित्रमा दर्ज हुनेछ। वर्तमानको शान्ति, आँधी आउनुपूर्वको सन्नाटा जस्तै हो, जुन परिस्थितिप्रति समयमै सचेत बनौं।
लेखक एमाले सचिव हुन्।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस