बिमार राजनीति र उपचार
१८ भदौ २०६९
•
१८ मिनेट पाठ
बिमार राजनीति र उपचार
कहिलेकाहीँ व्यक्तिको बिमारीसम्बन्धी समाचारले पनि नेपालमा राष्ट्रिय महत्त्व पाउँछ। त्यसमा पनि राष्ट्रिय नेताकै रोगबारे खबर छ भने राष्ट्रिय महत्त्व पाउनु अझ स्वाभाविक हुन्छ। राष्ट्रिय राजनीतिको बिग्रिएको स्वास्थ्यबारे जनचासो तीव्र भएको बेला नेकपा एमालेका अध्यक्ष झलनाथ खनालको शल्यक्रियाको खबर एकाएक बाहिर आयो।
एमालेका शीर्ष नेता खनालको पत्थरीसम्बन्धी शल्यक्रियाको खबर पनि पक्कै कम महत्त्वको थिएन। मृगौलामा रहेको पत्थरी पिसाब नलीमा गएर अड्किएपछि अध्यक्ष खनालको सफल शल्यक्रिया गरिएको रहेछ। नेपाल र भारतका शल्यचिकित्सकबाट उनको पत्थरीको सहजै शल्यक्रिया गरिएको खबर सुन्दा खुसी लाग्यो। मनमा आशापूर्ण प्रश्न उठ्यो, खनालको सफल शल्यक्रिया भएझैं राष्ट्रिय राजनीतिमा लागेको पत्थरीको सहज अपरेशन होला? अर्काे सवाल पनि उठ्यो, राष्ट्रिय राजनीतिमा लागेको रोगभन्दा अघि एमालेमा लागेको रोगको निदान (डाइग्नोसिस) र उपचार होला?

नेपाली राजनीतिका सर्जन अरु होइनन्, नेपालकै राजनीतिक पार्टीका नेताहरू नै हुनुपर्ने हो। तर, कुनै विज्ञताविना मानार्थ डाक्टरको पगरी गुथ्दै हिँड्नमा रुचि लिने राजनीतिक सर्जनहरू भने घरीघरी दिल्ली दौडिन्छन्, आफ्नै मृगौला, मुटु र दिमागको उपचार गर्ने निहुँमा। हुन त कहिलेकाहीँ शंका उठ्छ, जो आफैं मानसिक र शारीरिकरुपमा बिरामी छन्, उनीहरुले कसरी राष्ट्रिय राजनीतिमा लागेको पत्थरीको शल्यक्रिया गर्न सक्लान्? जसले आफ्नै पार्टीमा लागेको रोगको शल्यक्रिया त टाढाको कुरा, रोगको निदानसमेत गर्न सकेका छैनन्, उनीहरुले जनताले ठूलो पीडाका साथ भोग्दै आएका राष्ट्रिय रोगको उपचार कसरी गर्लान्?
जे/जस्तो शंका भए पनि राष्ट्रिय राजनीतिमा रोगको उपचारका लागि संवाद सुरु भएको छ र संविधान सभाको पुनर्स्थापना वा ताजा निर्वाचनबारे सहमतिको प्रयास थालनी भएको छ। यस्तो बेला पार्टीको आन्तरिक राजनीतिमा राजनीतिक सर्जकबीच एक-एक मुद्दामा संवादको जति जरुरत् छ, उनीहरुबीच राष्ट्रिय रोगको निदान र उपचारबारे पनि आन्तरिक सहमति अत्यावश्यक छ। तर, अति नै आत्मकेन्द्रित रहेका र निजी स्वार्थमा लम्पट देखिएका हाम्रा नेताहरू भने आन्तरिक र राष्ट्रिय राजनीतिको उपचार पनि आफैंलाई केन्द्रमा राखेर गर्नमा बेसी रुचि लिइरहेका छन्। संविधान सभाको निर्वाचनमा जितेकाहरू संविधान सभाको पुनर्स्थापनाको पक्षमा उभिनु र हारेकाचाहिँ ताजा चुनावको पक्षमा लाग्नु भनेको आत्मकेन्द्रित उपचार पद्धतिमा लाग्नुबाहेक केही हुन सक्दैन। त्यसैले निदान र उपचार हाम्रै राजनीतिक नेतृत्वको दृष्टिकोण र मनस्थितिबाट थाल्नु जरुरी हुन्छ। यसको निदान र उपचार सम्बन्धित पार्टीमा लोकतान्त्रिक पद्धति, प्रक्रिया र संस्कृतिको थालनीबाट हुन सक्छ। यसका लागि पार्टीका आलोचनात्मक चेतना भएका आम सदस्य, समर्थक र शुभेच्छुकजनको प्रयास आवश्यक हुन्छ अनि आवश्यक हुन्छ, आम जनताको निरन्तर निगरानी र खबरदारी पनि।

संवादहीनता कति खतरनाक?
त्यसो त नेपालका राजनीतिक पार्टीका नेताबीच, पार्टीभित्र र बाहिरका नेताबीचको संवादको स्तर आमरुपमा निकै निम्छरो छ। तर, संविधान सभा विघटन भएको तीन महिनापछि भए पनि पार्टीका नेताबीच औपचारिक र अनौपचारिकरुपमा संवाद सुरु हुनु सुखद् कुरा हो। संवादहीनता र गतिरोध कायम रहिरहनुभन्दा छलफलको थालनी हुनु शुभसंकेतै हो। तर, यस्तो शुभसंकेत प्रत्येकजसो पार्टीभित्र भने देखिएको छैन, बरु संवादहीनता नै ठूलो समस्याका रुपमा छ। नेता र कार्यकर्ताबीच त संवादहीनता असाध्यै ठूलो रोगका रुपमा विद्यमान छँदैछ, नेतृत्व र शीर्ष तहका नेता त्यस रोगबाट अछूतो छैनन्।
सामान्यतः सम्वाद कर्ममा खप्पिस एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालमा अर्काे पार्टी नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य किरणसँग संवादमा जति रुचि र सक्रियता देखिन्छ, त्यति आफ्नै सहकर्मी र कार्यकर्तासँग रहेको अनभूति गर्न गाह्रो भइरहेको छ। ती सहकर्मी र कार्यकर्तासँग संवाद भए पनि 'वन वे ट्राफिक' को जस्तो एकालापमा गएर टंुगिनासाथ 'प्याट्रोन-क्लाइन्ट रिलेसन्स' (संरक्षक र संरक्षितको सम्बन्ध) विकास हुन थालिहाल्छ, यस्तो डर पनि छ।
एकीकृत माओवादीकै उपाध्यक्ष तथा प्रधानमन्त्री डा. बाबुराम भट्टराईमा रहेको अन्तर्मुखी स्वभाव र संवादहीनताको संस्कृति पार्टीभित्र मात्रै होइन, सरकार सञ्चालनमा पनि देखिँदा अविश्वासको स्थिति निर्माण हुने गरेको छ। इरान भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंह र उनका सल्लाहकारहरुसँग भेटवार्तामा आफू एक्लै बस्न रुचाएको सन्दर्भ सम्वाद कर्ममा पनि सवादहीनतामात्रै होइन, सहकर्मीप्रति पनि अविश्वास प्रकट गरेको उदाहरण हुन सक्छ। भ्रमणमा साथै गएका आफ्नै पार्टीका उपाध्यक्ष, उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई समेत द्विपक्षीय संवादमा नराखी उनले सामान्य कूटनीतिक र राजनीतिक मर्यादालाई पनि बेवास्ता गरेको प्रतीत हुन्छ। भनिन्छ, अविश्वासको जगमा सम्वादको वातावरण र प्रेमको घर निर्माण हँुदैन, माओवादी नेतृत्व पंक्ति पनि त्यसबाट अछूतो छैन्। यस्तो अवस्थामा आत्मकेन्द्रित गुटबीचको तालमेल र अन्तर्संघर्षले सम्वादलाई मात्रै होइन, सहकर्मलाई नै औपचारिक र अन्ततः खोक्रो बनाउन बेर छैन। हुन त सार्वजनिक उपभोगका लागि तीनै गुट समाप्त पार्ने उद्घोष गरेका अध्यक्ष र उपाध्यक्षद्वयले भर्खरै पार्टी फुटेको र नेकपा-माओवादीजस्तो प्रतिस्पर्धी पार्टी बनेको सन्दर्भमा संवादहीनता कति खतरनाक हुन्छ भन्ने तथ्य यति छिटो नबिर्सनुपर्ने हो।

पार्टी फुटबाट नसिक्ने नेतृत्व
सम्वादको मामिलामा 'महान् लोकतान्त्रिक ऐतिहासिक पार्टी' नेपाली कांग्रेसको परम्परा पनि माओवादी नेतृत्वको भन्दा महान् र गौरवशाली रहेको छ। ९-९ महिनासम्म पार्टीका बैठकमै सहभागी नहुने, भेटघाट र छलफल त टाढाको कुरा, फोन सम्पर्कसमेत नगर्ने अनि सभापतीय फैसलाको नाममा मनपरी हुकुम चलाउने पद्धति र प्रवृत्ति कांग्रेसका लोकतान्त्रिक ऐतिहासिक परम्परै भइसकेको छ। सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवाका मुख्य दुई गुट, ती गुटवरपर रहेका अनेक स्याटेलाइट (उपग्रह)जस्ता उपगुट र तिनका नेतापिच्छे भिन्न स्वार्थको मिलन र टुटन नै पार्टी कार्य र क्रियाशीलताको द्योतक भएको छ। त्यसैले नै होला, कांग्रेसजनमै व्यापक शंका व्याप्त छ : कांग्रेस नेतृत्वबाट पार्टीभित्र र बाहिरको रोगको उपचार कसरी सम्भव होला? यस्तै गम्भीर प्रश्न उठाएका वरिष्ठ नेता शेरबहादुर देउवाले पनि आन्तरिक सम्वाद र सहकार्यमा वरिष्ठता देखाउन सकेका छैनन्। कोटरी बनाएर हुकुम चलाउनमा रुचि लिने र पार्टीभित्र सत्ताशक्तिको अभ्यास गर्ने सभापति कोइरालाले देखाउँदै आएको गरिष्ठ सम्वादले प्रेम, विश्वास र सहकार्यको लोकतान्त्रिक संस्कृतिलाई मलजल गरेको छैन, शंका, अविश्वास र विभाजनबाहेक अरुलाई टेको दिएको छैन।
पार्टी फुटबाट 'जुट'को स्थितिमा पुगेको नेपाली कांग्रेसले जसरी विभाजनबाट कुनै पाठ सिकेको छैन, त्यसरी एमालेले पनि आफू र अरुका विभाजनबाट कुनै शिक्षा लिएको अनुभूति हुँदैन। फुटेपछि फेरि जुटेका एमाले र कांग्रेसले माओवादीको पछिल्लो फुटलाई आफ्नो विजयको रुपमा स्वीकारेका भए ठूलो भ्रान्ति पालेको ठहरिने छ। किनभने आत्मकेन्द्रित स्वार्थहरुको गठबन्धनजस्तो बनिसकेका सबै पार्टी अनेक गुटलाई जोड्ने गाँठो अलिकति खुस्किन थाल्यो कि विभाजन अनिवार्य हुँदै आएको छ र त्यसलाई सैद्धान्तिक राजनीतिक आवरण दिनमा कोही पनि कम छैनन् नै। माओवादीमा कोरिएको पार्टी विभाजनका रेखा कांग्रेस र एमालेमा विद्यमान मात्रै होइन, क्रियाशीलसमेत छ। पार्टीभित्रको संवादहीनताको संस्कृति र नोकरशाही व्यवहारले त्यसैलाई मलजल गरिरहेका छन्।

नोकरशाही व्यवहार र ओलीकरण
प्रत्येकजसो पार्टीलाई प्राइभेट लिमिटेडजस्तो चलाउने र राजनीतिलाई निजीकरण (प्राइभेटाइज्ड) गर्ने परम्परा बसिसकेको स्थितिमा एमालेमा रहेका ब्युरोक्रेटहरुले पनि संवाद र सहकार्यलाई वास्ता गर्न नसक्नु अनौठो होइन। एकल पहिचानसहितको संघीयता र संघीयतासहितको संविधानको मुद्दालाई पार्टीले किन छाडेको भन्दै उपाध्यक्ष अशोक राईलगायत् आदिवासी जनजाति र मधेसी मूलका नेताहरुले प्रश्न उठाउँदा उल्टै प्रश्नकर्तालाई नै नोकरशाही ढंगले कारबाही गरिनु त्यसैको निकृष्ट उदाहरण हो। ती प्रश्नकर्तालाई कारबाही गरिएन भने पार्टीभित्र माधव नेपाल-ईश्वर पोखरेलको गुट बलियो हुन्छ भन्ने चाल सुँघ्न भ्याएका तृतीय उपाध्यक्ष खड्गप्रसाद शर्मा ओलीको गुटले अध्यक्ष खनालको गुटलाई दिएको दबाब, द्विपक्षीय गुटको मिलेमतोसँगै कारबाहीमा सहकार्यले एकातिर आदिवासी जनजाति र मधेसी मूलका नेतालाई अलग्गै पार्टी निर्माणतिर धकेलेका छन्। अर्काेतिर तिनले प्रेमपूर्ण सम्वाद, पार्टीका नीतिमाथि पुनर्विचार र तलदेखि माथिसम्मको पार्टी पंक्तिमा विचारविमर्शको साटो नोकरशाही कारबाही नै गर्न थालिएपछि अध्यक्ष झलनाथ खनालको पनि 'ओलीकरण' गरेका छन्। अनिर्वाचित नेताहरुले गुटगत समीकरणका आधारमा पार्टीलाई जांगे कट्टुको खल्तीमा हाल्ने र पार्टी नीतिलाई नै शरीरको मैलोजस्तो ठान्ने प्रक्रिया र प्रवृत्तिको अर्काे नाम हो- ओलीकरण। अब अध्यक्षलाई मात्रै होइन, पार्टीलाई समेत ओलीकरण गरियो भने पार्टी फुट अनिवार्य हुन्छ।
तीन-तीन महिनासम्म बैठक बहिष्कार हुँदा पनि आदिवासी जनजाति र मधेसी मूलका नेताहरुसँग कुनै सम्वाद नहुनु र वार्ताको थालनी पनि निष्कर्ष र आशाहीन हुनुमा नेतृत्वको ओलीकरणको मात्रै होइन, जातीय पहिचानबारे शीर्ष नेतामा रहेको दृष्टिहीनताले काम गरेको छ। पार्टीका काम-कारबाहीमा नफर्किने भए कडा कारबाही गरिने धम्की दिने नोकरशाही प्रवृत्ति र जातीय पहिचानबारे सही विचार दिन नसक्ने दृष्टिहीनताकै प्रकृतिले राष्ट्रिय राजनीतिक रोगको निदान र उपचारलाई बाधा पुर्‍याइरहेको छ। आफ्नो पार्टीभित्रका रोगलाई निदान र उपचारलाई पनि दलबीचको राष्ट्रिय सहमतिको ह्याङ्गरमा झुन्ड्याउने दोस्रो तहका नेताहरुको 'डायलग एण्ड डिले' प्रवृत्ति तथा अमेरिकादेखि भारतसम्म चाहार्दैमा फुर्सद नपाएका शीर्ष तहका नेताहरुको बेवास्ताले राष्ट्रिय समस्या मात्रै होइन, आन्तरिक समस्यालाई हल गर्ने सुविधा दिएका छैनन्।
'जातीय' मुद्दा र 'जातिवादी' मुद्दाबीच आकाश-जमिनको अन्तर भएको, एकल पहिचानभित्र पनि बहुल पहिचानलाई निषेध गर्ने र वर्गीय समस्या सम्बोधनै नगर्ने नीति र नियत कुनै पनि समुदाय, पार्टी र आन्दोलनकारीको नभएको तथ्यमात्रै बुझियो भने पनि अबको राष्ट्रिय सम्वाद कर्ममा आमूल परिवर्तन आउन सक्छ। होइन, यसबारे बुझै पचाइएको हो भने त्यस बुझपचाईलाई मात्रै फ्याँक्ने हिम्मत गरियो भने पनि राष्ट्रिय राजनीतिक रोगबारे राजनीतिक सर्जनबीच सहमतिको मिलनविन्दु भेटिन्छ।
जे होस्, आपसी सम्वादका लागि कामचलाउ सरकारको राजीनामा जस्तो हास्यास्पद सर्त राख्ने तथा कमचलाउ प्रधानमन्त्री र मन्त्रीहरुलाई छुवाछुत र भेदभाव गर्ने 'लोकतान्त्रिक प्रवृत्ति र मार्क्सवादी-लेनिनवादी संस्कृति' त्यागिएको हो भने सहमतिका विन्दुको खोजाई सही दिशातिर गएको मान्न सकिन्छ। कामचलाउ राष्ट्रपतिलाई उक्साउनेजस्तो मूर्खतापूर्ण भिडन्तकारी प्रयासलाई थाँती राखिएको हो भने सबै राजनीतिक विकल्पको ढोका पक्कै खुल्ने देखिन्छ। संविधान सभाको पुनर्स्थापनाबाट होस् वा संविधान सभाको निर्वाचनबाट होस्, राजनीतिक गतिरोधजन्य रोगको शल्यक्रिया गर्ने काममा हामीसँग हाम्रै राजनीतिक सर्जनहरू सक्रिय र सफल हुनुको कुनै विकल्प छैन। शल्यक्रियाको चाबी दिल्ली दरबार वा शीतलनिवासमा मात्रै गएर खोज्ने प्रवृत्तिले भने ब्रिटिस साम्राज्यकालीन जंगबहादुर राणाको नयाँ क्लोनिङ मात्रै जन्माउन सक्छ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस